ठूला स्तनधारी जनावरहरुको संरक्षणमा पछिल्लो समय नेपालले सफलता हासिल गरिरहेको छ।
मध्यपहाडी भू-भागमा वनजंगलको विस्तार सँगसँगै जनावरहरुको संख्या मात्र नभई पछिल्लो समय जनावरबाट हुने जनधनको क्षति पनि उत्तिकै बढेको तथ्यांकहरूले देखाउँछन्।
मान्छे र वन्यजन्तु बीचको द्वन्द्व समयमै नरोक्ने हो भने प्रकृति र मान्छे दुवैलाई ठूलो क्षति पुग्न सक्छ।
पछिल्लो १ वर्षमा मात्र गोरखा जिल्लामा १ दर्जनभन्दा बढी वयस्क चितुवाकै मृत्यु भएको घटना छ। मानव बस्तीमा चितुवाको आवातजावत बढ्दो छ।
म स्थानीय तहमा काम गर्ने एक वन अधिकृत भएकाले मान्छे र वन्यजन्तु बीचको द्वन्द्वका घटनाकाबारे नजिकबाट जानकार छु।
हरेक दिनजसो वन्यजन्तुबाट हुने क्षति, उद्धार, राहत लगायतका विवरण संकलन र कानुनबमोजिम आवश्यक कारवाही गर्नु मेरो दैनिकी बनेको छ।
यो काममा लागिरहँदा वन्यजन्तु सम्बन्धी ज्ञान, उद्धार क्षमता, जनस्तरको संरक्षण सचेतना र राहत कार्यक्रमका प्रभावकारिताबारे मनमा अनेक प्रश्न उठ्छन्।
यो प्रश्नले त्योवेला अझ बढी झकझकाउँछ, जब कुनै वन्यजन्तु पासोमा परेको खवर आउँछ र तत्काल सिमीत ज्ञान, उपकरण र प्राविधिक क्षमतामा उक्त जनावरको सुरक्षित उद्धार गर्नुपर्ने हुन्छ।
मलाई धेरैजसो फोन डढेलो लागेको, वन्यजन्तुले बालीमा क्षति पुर्याएको, मानिस घाइते बनाएको वा मारेकोजस्ता आउँछन्। तर पछिल्लोसमय वन्यजन्तु आक्रमण गरेको र पासोमा परेकोलगायत फोनहरू आउन थालेका छन्।
हालसालैको कुरा गरौं, वैशाख पहिलो साता हो। मेरो मोबाइलमा फोन आयो, गोरखाकै गण्डकी गाउँपालिका वडा नम्बर ४ बाट रहेछ। सानो दर्बुङ भन्ने गाउँमा चितुवा खोरमा परेकोबारे त्यो फोन थियो। उद्धार गर्न तुरून्तै आइदिनुपर्यो भन्ने फोन एक जना स्थानीयले गर्नुभएको थियो।
त्यसबेला हामी गोरखामा थिएनौं। तनहुँको बन्दिपुरमा एउटा कार्यक्रम थियो। त्यसमा भाग लिएर म र डिभिजनल वन अधिकृत अशोककुमार श्रेष्ठ गोरखा फर्कने कार्यक्रम थियो। हामी तत्काल दर्बुङ पुग्ने अवस्था नभएकोले अरू कर्मचारी साथीहरूलाई नै चितुवा हाल्ने खोरसहित जान भन्यौं।
साथीहरू चितुवा भएको ठाउँ पुगे पनि खोरबाट चितुवा निकाल्न नसकेको जानकारी आयो। चितुवालाई लठ्याएर मात्रै खोरबाट बाहिर निकाल्नुपर्ने थियो। वन कार्यालयले उक्त किसिमले उद्धार गर्न सक्ने क्षमता नभएकोले राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनबाट प्राविधिक किरण रिजाल र तीर्थ लामालाई बोलाउनुपर्ने भयो। उहाँहरूलाई खबर गरियो।
वन्यजन्तु संरक्षणको जिम्मा पाएको डिभिजन वन कार्यालयमा पर्याप्त उपकरण, वन्यजन्तु उद्धार क्षमता तथा जनशक्ति नभएकोले नै वन्यजन्तु उद्धार गर्ने अधिकांश समय खिन्न महसुस हुन्छ।
कहिलेकाहीँ त उपकरणलगायतको अभाव हुँदा वन्यजन्तु नै बचाउन नसकेका पनि घटना छन्। कोषका प्राविधिक आएपछि हामी पनि दर्बुङतर्फ गयौं।
करिब दुई घण्टा गाडीमा यात्रा गरेपछि बुढीगण्डकी नदी किनार दर्बुङ गाउँ पुगियो। हामी चितुवा भएको ठाउँ पुग्दा साँझ भइसकेको थियो। पानी पनि पर्दै थियो। कोषका साथीहरूले चितुवा लठ्याउनुभयो। चितुवा लठ्याएर १५ मिनेटपछि खोरबाट निकाल्न सकियो।
यतिन्जेल चितुवा हेर्न गाउँलेहरूको भिड लागिसकेको थियो।
दर्बुङमा चितुवाले केही दिनमा १० वटाभन्दा बढी बाख्रा मारेको रहेछ। हैरान भएका गाउँलेहरूले आफैँ परम्परागत खोर बनाएर चितुवा थुनेका थिए।
एक जना बा भन्दै हुनुहुन्थ्यो- हाम्रो बाख्रा खाने चितुवा यही हो! बाख्रा खाने चितुवा खोरमा परेको यही हो कि अरू कुनै त्यो त यकिन भएन नै।
कानुनअनुसार हेर्ने हो भने कुनै पनि वन्यजन्तु मार्ने, पक्राउ गर्ने तथा घाइते बनाउनु गैरकानुनी हो। र यसो गरेमा सजायको भागीदार हुनुपर्छ। गाउँलेहरूले बाख्रा मारेपछि खोरमा चितुवा थुन्नुपरेको बताउने गर्छन्। कानुनका दफा एकातिर महत्वपूर्ण छन् तर जनताका दु:ख र हैरानी अर्को पक्ष छ।
तर हामीले स्थानीय गाउँलेहरूलाई चितुवालगायत जनावर यसरी थुन्न नमिल्ने भनेर भन्यौं। कानुनअनुसार थुन्न मिल्दैन भन्यौं र अबदेखि थुन्न हुन्न है भनेर सम्झाएका पनि छौं।
गाउँलेहरूले परम्परागत खोरमा थुनेको चितुवा सामान्य घाइते पनि थियो। हामीले लगेको उद्धार गर्ने खोरमा राखेर त्यो चितुवा चितवन पठाइयो।
चितुवा लिएर हामी फर्कंदा बाटोमा मानिसहरू भेला भएका थिए- चितुवा हेर्न। हामीले गाडी चालकलाई बाटोमा कतै पनि गाडी नरोक्न भन्नुपर्यो। स्थानीयलाई चितुवा हेर्ने मात्र होइन यसबारे जान्ने र बुझ्ने रहर पनि रहेछ भन्नेचाहिँ मैले थाहा पाएँ।
गोरखामा गत आर्थिक वर्षमा चितुवाको आक्रमणबाट तीन सयभन्दा बढी पशुचौपायको क्षति भएको तथ्यांक छ। कार्यालयका तर्फबाट स्थानीयलाई राहत स्वरूप गत आर्थिक वर्षमा २० लाखभन्दा बढी रकम पनि उपलब्ध गराइएको छ।
चितुवा यसै गाउँ परेर बाख्रालगायत घरपालुवा जनावर खाएको भने होइन। यसका केही कारण छन्। जलवायु परिवर्तनका कारणले पानीका मुहान सुकेका छन्। जंगलमा खाना र पानी पर्याप्त नपाएर पनि गाउँ नजिक चितुवा डुल्न थालेको छ।
हाम्रा खेतबारीहरू पनि बाँझा छन्। यसले गर्दा जंगल र बस्तीको दुरी छोटो भएको छ। तर यस्ता कारणहरू देखाएर मात्रै वन्यजन्तु र मानिसबीच द्वन्द्व कम गर्न सकिन्न।
ए म त अरू कुरामा भुलेँ कि क्या हो! तपाईंहरूलाई त्यो चितुवाको खबर सुनाउन भुलेछु- हामीले दर्बुङबाट उद्धार गरी पठाएको चितुवा चितवनमा तन्दरूस्त भइसकेको छ।
मैले यो दर्बुङमा चितुवा उद्धार गरेको घटनालाई यस लेखमा प्रतिनिधि घटनाका रूपमा राखेको हुँ। गोरखा र यसका छिमेकी जिल्ला तनहुँलगायतमा पनि खोरमा चितुवा परेको र चितुवाले आक्रमण गरेका घटना आइरहेका छन्।
अन्तिममा, बासस्थानको संरक्षण तथा व्यवस्थापन गर्ने र पानीका मुहानहरू र कृतिम पोखरी जंगमै निर्माण गरिदिने हो भने चितुवा हत्तपत्त गाउँ पस्ने थिएन।
अनि चितुवाका आहारा प्रजातिका जीवजन्तुको संरक्षणमा मानिसले ध्यान दिनुपर्छ। त्यस्ता जीवजन्तु मार्ने तथा चोरीशिकारी गरिदिनुभएन भन्ने हो। यसो भयो भने मात्रै वन्यवन्यु र मानिसबीच द्वन्द्व कम गर्न सकिएला कि जस्तो लाग्छ।
(लेखक डिभिजन वन कार्यालय गोरखामा कार्यरत छन्)