अष्ट्रेलियाबाट नेपाल आएकी सुप्रिया महर्जन लकडाउनमा परेकोले फर्किन नपाएपछि त्यही बेलामा गहना व्यवसायमा लागेको एउटा फिचर स्टोरी केही दिनअघि सेतोपाटीमा छापिएको थियो।
उनको त गहना व्यवसाय पुर्खौली भएकोले उक्त व्यवसायमा छिर्न त्यति कठिन भएन होला। उनले बजारीकरणलाई विद्युतीय बनाइन्। यस्तै यो महामारीमा पनि व्यवसाय स्टार्टअप गर्ने वा संकटकालीन अवस्थाको बजारले मागे अनुसार आफ्नो पेसा वा व्यवसायलाई तात्कालीन रुपमा समायोजन गर्ने युवा तथा व्यवसायी थुप्रै छन्।
हुन पनि लकडाउनको सबैभन्दा बढी असर यस्तै अनौपचारिक साना तथा मझौला खाले व्यवसायलाई पर्दो रहेछ। तर यसरी व्यवसायलाई बजारको माग अनुसार समायोजन गरी ताजगी राख्नेमा स-सानादेखि ठूला व्यवसायसम्म छन्।
केही महिना अघि एउटा अटोमोबाइल्सका ठूला व्यापारीले सेनिटाइजरको व्यापारमा कैफियत गरेका कारण मुद्दा समेत खेप्नु परेको थियो। यही मौकामा मास्क र सेनिटाइजरका नयाँ उद्योग व्यवसाय पनि सुरु भए। नेपाली ब्राण्डका मास्कको त अन्तर्राष्ट्रियकरण समेत भयो।
तसर्थ संकटकालीन अवस्था मानव सभ्यताका लागि घातक त हो नै तर यसले थप अवसर पनि ल्याएको हुन्छ। यसले एकातिर मानव सभ्यताको विकास के-कति उत्थानशील (रिसाइलेन्स) छ भन्ने जाँच गरेको हुन्छ भने अर्को तर्फ जीवन रक्षा र जीविकोपार्जन सुरक्षाका लागि नवीनताको खोजि गर्न पनि प्रेरित गर्छ।
वास्तवमा यस्तो महामारीको अवस्थामा पनि यस्ता के-कस्ता प्रयासहरु भए भन्ने खोजि गरी संप्रेषण गर्न जरुरी छ जसले गर्दा मानसिकरुपमा पीडा खेपेर बसिरहेका युवाहरुलाई उत्प्रेरणा बन्न सक्छ, ‘जीवन रक्षा र जीविकोपार्जन सुरक्षा‘ को आधारशीला बन्न सक्छ।
संकटको बेला जब नियमित पेसा वा व्यवसाय चल्दैन वा चलाउन सकिँदैन, त्यस्तो बेला बजारले खोजे जस्तो पेसा वा काममा अस्थायी रुपमा संलग्न हुनु पर्ने अवस्थालाई गिग इकोनोमी भनिन्छ।
यसको नेपाली शब्द भए जस्तो लाग्दैन तथापि यसलाई ‘मौकाको अर्थतन्त्र’ भन्न उपयुक्त होला। वास्तवमा उद्यमशीलता वा व्यवस्थापनका विद्यार्थीलाई जुनसुकै व्यवसायिक योजना वा रणनीति बनाउन सिकाउँदा जोखिमको आकलन महत्वपूर्ण मानिन्छ र जोखिमको प्रतिकार्य गरी व्यवसायलाई गति दिन वेकल्पिक क्रियाकलाप र व्यवसायिक विविधीकरणको समेत योजना बनाइन्छ।
भलै अहिलेको महामारी अकल्पनीय थियो तथापि व्यवसायका लागि संकट नियमित आकस्मिकता हुन। तसर्थ उद्यमशीलताको यो एउटा महत्वपूर्ण हिस्सा हो। जब यस्ता संकट देखा पर्छन, बजारमा वस्तु वा सेवाको मागको संरचनामा पनि परिवर्तन आउँछ।
ठूलो चुनौति भनेको नयाँ माग के सृजना भएको छ भन्ने पहिचान गर्नु हो। यस्तो बेला कतिपय नयाँ माग देखिँदैनन अर्थात् सुषुप्त हुन्छन्। कतिपय अवस्थामा त वस्तु उत्पादन वा सेवा प्रवाह गरेपछि मात्र त्यस्ता माग उजागर हुन्छन्। तसर्थ यस्ता सुषुप्त वा लुकेका माग प्रक्षेपण गर्न सक्नु नै यस्तो अर्थतन्त्रको ठूलो खुबी हो।
मेरो टोलमा एउटा केश काट्ने पसल थियो मधेश तिरका भाइहरुको जहाँ म नियमित केश काट्थेँ। लकडाउन हुँदा वित्तिकै दुई/तीन दिन त पसल पूरै बन्द भयो। तर केही दिनमै त्यो पसल अगाडि त भाइहरुले फलफूल बिक्री पो गर्न थालेछन्।
बिहान झिसमिसेमै कालिमाटी गएर ल्याउँदा रहेछन्। टोलमै फलफूल पाउने भएपछि टोलबासीलाई पनि सजिलो। किन्नेहरुको संख्या पनि उल्लेख्य देखिन्थ्यो।
चोकको किराना पसल लकडाउनले गर्दा बन्द भयो। लुकिछिपी खोल्दा पनि ग्राहक नआउने, प्रहरीले देखे गाली गर्ने मात्र हैन कारबाही नै गर्दो रहेछ। एकदिन तिनै साहुजीले घरको घन्टी बजाए। उनले त एउटा भ्यानमा सामान राखेर घरघरमा पुर्याएर बेच्ने काम पो थालेछन्।
यसो गर्दा दुई/चार पैसा बढी लिए पनि कसैले अन्यथा मान्ने कुरा भएन। व्यापार राम्रो भएको झल्को दिने गरी मुस्कुराएर चाहिएको सामान टिपाउन फोन नम्बर भएको कार्ड थमाएर गए।
तरकारी पसल कि बैनीले ठेलामा तरकारी राखी टोलटोलमा घुमाएर बेच्न थालिछन्। एकदिन बिहान चोकमा माछा लिन निस्केको त एक जना बहिनी माछा बिक्री गर्न बसेको देखेँ। मोलतोल गरी माछा काट्दा सहजै अनुमान भयो उनी पेसेवर माछा व्यवसायी होइनन्।
स्थानीय उनी पहिला अरु नै पेसामा संलग्न रहिछन्। उक्त नियमित पेसा नचल्ने भएपछि चोकमै माछा बेच्न थालिछन्। भन्दै थिइन् ‘अब त यही पेसा अंगाल्नु पर्ला।’
अलि पर एक जना अधबैँसे मान्छे बन्द सटरको अगाडि हरिया मकै बेच्न बसेका थिए। उन्ले वास्तवमा घर बनाउने काम गर्दा रहेछन्। तर यो बेला घर बनाउने काम बन्द भएपछि डेरामा त्यसै बस्नुभन्दा यहाँ मकै बेच्न बसेका रहेछन्।
मैले सोधेँ ‘मकै लिन त कालिमाटी जानु पर्छ होला?’ उनी भन्दै थिए ‘हैन, भ्यानले यही ल्याइदिन्छ।’ अर्थात यस्तो ‘मौका अर्थतन्त्र’ को वितरण श्रृंखला पनि बनीसकेको रहेछ।
त्यसको अलि पर एउटा ब्युटिपार्लर रहेछ। पसल त बन्द थियो तर सटरमा होम सर्भिसका लागि फोन नम्बर र इमेल लेखिएको ठूलो सुचना टाँसिएको थियो। मेरा छिमेकिी एउटा नाम चलेको होटलका सेफ हुन्।
होटल त बन्द भइहाल्यो तर उनले आफ्नै घरको ग्यारेजमा बिहानैदेखि विभिन्न परिकार बनाएर टोलमा सप्लाई गर्छन्। मिठो खानाको आकर्षणले बिहानैदेखि छिमेकीहरु त्यही लिन आएको देखिन्छ।
यो व्यवसायले उनका सबै परिवारलाई व्यस्त बनाएको छ। कतिपय बाझो जग्गा अहिले हरियाली देखिन्छन्। यी मात्र हैन, ठूला उद्योग व्यवसायले समेत यस्तो बेलामा आफ्नो उत्पादन लाइन बदलेको उदाहरण छन्।
सरकारले कोभिड-१९ संक्रमण रोकथामका लागि ओषधि उपकरण ल्याउन गरेको ठेक्का आह्वानमा भौतिक निर्माणको ठेक्कापट्टा गर्ने ठेकेदारको ठेक्का परेको समाचार सुनिएको थियो। यी सबै मौका अर्थतन्त्रका उदाहरणहरु हुन्।
गिग इकोनोमीका लागि सूचना प्रविधीको क्षेत्र अति नै उपयोगी छ। त्यसैले त यही मौकामा व्यापारका विभिन्न विद्युतीय प्लेटफर्महरु सृजना भएका छन्। वास्तवमा यी सृजनाहरुले उपभोक्ताको व्यवहारमै परिवर्तन गरेको छ।
विद्यालय र कलेजहरुले विद्युतीय तथा अन्य दूर शिक्षण विधि अवलम्बन गरेका छन् भने यस सम्बन्धी विभिन्न सफ्टवेयरहरु विकास भई उपलब्ध छन्।
जूम जस्ता विद्युतीय माध्यमबाट बैठक सभासम्मेलन गराउने एपहरुले त बजारमा तहल्कै मच्चाएका छन्। अहिले लगानिका अन्य क्षेत्रहरु खुम्चिएको बेला विद्युतीय माध्यमबाट हुने भएकोले घरमै बसी शेयर कारोबार गर्नेहरुको संख्या बड्दो छ भन्ने कुरा नेप्से परिसूचकले नै जनाएको छ।
त्यसैगरी डेरिभेटिभ मार्केटमा वस्तु व्यापार पनि घरमै बसी गर्न सकिने हुँदा यो पनि लगानीको सम्भाव्य क्षेत्र हुन सक्छ। अरु त अरु घर वरिपरि टिकटक बनाउँदा बनाउँदै कति युवायुवती टिकटक कलाकार नै भइसकेका छन् भने नयाँ-नयाँ छोटा चलचित्रहरु पनि प्रशस्तै भेटिएका छन्।
उनीहरु ठूला पर्दाका कलाकारभन्दा कम छैनन्। एक जोडीले त एउटा धर्मग्रन्थलाई नै कलात्मक तरिकाले अडिओ/भिडिओमा रुपान्तरण गरिदिए जुन एक ताका सबैभन्दा बढी डाउनलोड हुने युट्युब सामाग्रीमा परेको थियो।
व्यवसायमा मात्र हैन यो त परोपकारी वा समाजसेवी संस्थामा झनै लागु हुँदो रहेछ। कतिपय संघ/संस्थाहरुले आफ्नो नियमित काम छोडी सडकमा उद्धारमा जुटेको त कतिपय अक्सिजन सिलिन्डरको खोजिमा लागेको हामी देखिरहेका छौँ।
मानवीयता यी संस्थाहरुको जिम्मेवारी नै हो भने सामाजिक उद्यम जोगाउन पनि यसो गर्नु परेको छ। कतिपयलाई सेवा संचालनको खर्च जुटाउन समेत।
हालसालै धुर्मुस सुन्तली फाउण्डेशन पनि क्रिकेट रंगशालाको काम थाती राखी अक्सिजन सिलिन्डरको खोजिमा लागेको समाचार आएको थियो। लकडाउनका कारण सहयोगी हातहरु आश्रममा आउन कम हुने नै भयो।
त्यसको विकल्प स्वरुप मानव सेवा आश्रम आफैले मास्क उत्पादन गरी बिक्री गर्न थालेको छ। आश्रित लक्ष्मीनारायणहरुका लागि सीप विकास पनि हुने भयो, आश्रमलाई आम्दानी पनि।
यस्तो अवस्थामा सबैभन्दा बढी ज्ञान सृजना हुने गर्दछ। यो समयमा कति पुस्तकहरु लेखिए होलान्, कति साहित्य तथा कलाकृतिहरु सृजना भए होलान्। म आफैले पनि करिब एक दर्जन कार्यपत्रहरु तयार गरेँ भने त्यतिकै संख्यामा लेखहरु प्रकाशित गरे जुन नयाँ विषय कोभिड-१९ संक्रमणको प्रभाव सम्बन्धी छन्।
यो अवधीमा विशेषगरी महामारीलाई प्रतिकार गर्ने तरिका, सामाजिक उत्थानशीलता, स्वास्थ्य सेवा लगायतका विभिन्न क्षेत्रमा ज्ञान उत्पादन भएका छन् जसको अस्तित्व दीर्घकालीन मात्र हैन, उदाहरणीय तथा अविनाशी हुन्छ।
कतिपय तालिम केन्द्रहरुले अनलाइन तालिम तथा परामर्श उपलब्ध गराएर ज्ञान विस्तार गर्ने तथा सीपलाई पुनर्ताजगी गर्ने कार्य गरेका छन्। वास्तवमा कोभिड-१९ संक्रमणको महामारीले विश्वभरि नै जीवनयापन र जीविकोपार्जनमा नयाँ शैलीकै विकास गरेको छ।
यसरी सामान्य अवस्थामा कहिले फर्किने भन्ने यकिन नभएको परिस्थितिमा ‘पर्ख र हेर’ को अवस्थामा बसी रहनुभन्दा मौकाको अर्थतन्त्रमा आफूलाई समाहित गरी जीविकोपार्जनको सुरक्षा गर्नु नै श्रेयसकर हुन्छ।
यसले एकातिर युवाहरुमा हौसला जगाइराख्छ भने आर्थिक क्षतीबाट पनि जोगाउँछ। नियमित व्यवसायमा भन्दा यसमा अलि जोखिम त होला तर प्रतिष्पर्धा पनि तुलनात्मक रुपमा कम हुने हुँदा फाइदा पनि राम्रै हात लाग्न सक्छ।
कतिले त यही मौका व्यवसायलाई नै आफ्नो नियमित व्यवसायको रुपमा स्थापित गरेको उदाहरणहरु पनि पाइन्छ। सबैभन्दा ठूलो कुरा त व्यक्ति मानसिक रुपले चलायमान र सृजनशील रहिरहन्छ।
अझै महत्वपूर्ण कुरा त यस्ता क्रियाकलापमा संलग्न हुनुले युवाहरुमा भविष्यप्रति जगाइराख्छ। महामारीको अवस्थामा देशकै अर्थव्यवस्था जोगाउनका लागि यो नै एक महत्वपूर्ण उपाय हो। तसर्थ सरकारले पनि यसतर्फ ध्यान दिनु जरुरी छ।
तथापि यस्तो बेलामा लुकेको अर्थात भूमिगत अर्थतन्त्र पनि सक्रिय हुने ठूलो सम्भावना हुन्छ। गिग-व्यवसायीमा जीविकोपार्जन जोगाउनेभन्दा पनि उपभोक्ताको बाध्यताको मनोवेज्ञानिक प्रयोग गरी नाफाखोरी हुने जस्तो अमर्यादित अभ्यास जाग्न सक्छ।
शान्ति, सुरक्षा कमजोर हुने हुँदा यो अवस्थामा विभिन्न अनैतिक, हिंसात्मक तथा अपराधिक क्रियाकलाप पनि बढ्न सक्छन्। त्यसका लागि उपभोक्ता जागरुक हुने, नागरिक सचेत हुने, टोल सुधार समितिहरु सक्रिय हुने त छँदै छ, सरकारी तवरबाट निगरानी र परामर्शको सख्त आवश्यकता पर्दछ।