सोमबार मोबाइलमा आदर्श मिश्राको एउटा भिडियो हेरेको थिएँ। उनले भिडियोमा नारायणी अस्पतालमा डायलासिस मेसिन बिग्रिएको र अब आफ्नो बाबालाई कहाँ लगेर उपचार गर्नू भनेर चिन्ता प्रकट गरेका थिए।
‘सम्बन्धित निकायले वास्ता गर्दैन, नारायणी अस्पतालको मेसिन बनाउन पोखराबाट इन्जिनियर आउनुपर्ने रे! कहिले आउने हो नि थाहा छैन’ भन्दै आँखाभरि असह्य पीडा लुकाउँदै एउटा भिडिओ सामाजिक संजालमा राखेका थिए।
हिजो मंगलबार मोबाइल हेर्दा ‘आदर्श मिश्राको बाबाको निधन’ भन्ने समाचारले फेसबुकको वाल ढाकिसकेको रहेछ। त्यो समाचारले स्तब्ध बनायो। छोरोले मेरो बाबालाई बचाउछु भन्ने आश जीवितै राख्दाराख्दै पनि बाबाको सास जीवित रहन सकेन।
एकाएक मेरो कानमा आदर्शले मेरो बाबालाई ‘के गरौँ?’ भन्ने त्यो गुहार र उसको मुहारमा देखिएको त्यो विवशता र सहाराहीनता तछाडमछाड गर्दै झलिक्न थाले। यो घटनाको लागि जिम्मेवार को? कस्ले जवाफ दिने?
अस्पताल, सरकार कि आमनागरिक मरे हामी नागरिकनै जवाफदेही? कि आज यो देशमा एक मध्यम वर्गीय साधारण नागरिक भएको सजाय पाउनुभएको आदर्शको बुवाले?
म पनि एक बाबाको सन्तान हो। एकचोटि आफूलाई आदर्शको ठाउँमा राख्ने प्रयत्न गरेँ। बचाइदेऊ भनेर गुहार माग्दामाग्दा आफ्नै अगाडि आफ्नो बाबाले संसार छोडेको त्यो क्षण कति पीडादायक हुन्छ होला, सायद हामी महशुस गर्न सक्दैनौं। आज आदर्शलाई पर्यो, भोलि यही दिन हामीलाई नपर्ला भन्न सकिँदैन।
आज मलाई हर कोही नेपाली नागरिक सहाराहीन टुहुरा जस्तै लाग्न थालेको छ। कोही उपचारको लागि अस्पताल नपाएर अलापविलाप गरिरहेका छन्, कोही एक मुठी सास माग्दामाग्दा नपाएर काल पर्खिएर बसिरहेको छन्, कोही लकडाउनमा बिहान साँझ दुई छाक जुटाउन नसकेर आफ्नै जीवनलाई धिकार्दै छन्।
कोही औषधि किन्ने पैसा पुराउन नसकेर आफ्ना सन्तान गुमाएका छन्, र कत्तिले एउटा डायलासिस गर्ने मेसिन नपाएर आदर्शले जस्तै आफ्ना पिता गुमाएका छन्। यहाँ मर्ने त मरेकै छन् तर बाच्ने पनि पटक-पटक मरेर बाच्नुपरेको छ।
हरेक नागरिकले गुहार मागेका छन, रोई कराइ गरेका छन्। कस्ले सुन्दिने? भर्खरै आएको आफ्नो गीतमा प्रकाश सपुतले ‘सक्नेले गर, नसक्ने पर’ भनेका थिए तर यहाँ त सक्नेले गर नसक्ने मर भन्ने अवस्था आएको छ।
बिहान साँझ ज्यालामजदुरी गर्ने हरुको चुलो निभेको छ, लाखौं विद्यार्थीहरु आज आफ्नो गन्तव्य अन्योलतामा परेको देखेर पीडाले छटपटी रहेका छन्। आफ्नो अगाडि भविष्य एक अन्धकार रात जस्तो जुन पछि एक शुभ बिहानी पनि आउँछ है भन्ने आश उनीहरुमा मरिसकेको छ।
छोराछोरी र घरपरिवारको जीवन चलाउन केही व्यापार-व्यवसाय आट्नेहरु निल्नु न ओकल्नुको अवस्थामा छन। तर यो दुख व्यथा बुझिदिने को? यहाँ सरकार कहाँ छ? एकापट्टि आमनागरिकको मलाई बचाइदेऊ, मलाई अक्सिजन लेऊ भन्ने चित्कार छ र अर्को तिर मलाई मेरो कुर्सी लेऊ कि लेऊ भन्ने समाचार छ।
यस्तो अवस्था देख्दा म जस्ता हर युवालाई पिरोल्छ होला तर विडम्बना एउटा मूर्ति जस्तै एक बन्द कोठा भित्र बसेर त्यही सामाचार पढ्नु बाहेक अरु केही गर्न असर्मथ छु।
अनि सोच्छु सरकारमा बसेकाहरु जति तह बढ्दै गयो त्यति मानवता घट्दै जान्छ हो? कि कुर्सीको स्वार्थले उनीहरुलाई दृष्टिविहीन र कानो बनाएको छ? नभए आज नेपाली नागरिकको सहाराहीन अवस्था, उनीहरुको दुखको चित्कार यिनीहरुको कानले किन नसुनेको?
उनीहरुको अथाह पीडा यिनीहरुको आँखाले किन अदेखेको? आज माहामारी भनेर लकडाउन गर्दा सयौं नेता सर्वोच्चमा एकैचोटि रिट हाल्न जाँदा कोरोना सर्दैन, के यो रोग सरकारमा बस्नेलाई नलाग्ने भनेको छ हो?
छैन भने नियम कानुन आमनागरिक मात्र होइन, सबैलाई लागु हुनु पर्ने त। नागरिकलाई नजरबन्द जसरी राखेर आफू आफ्नै स्वार्थमा लिप्त हुन कुन नैतिकताले दिन्छ होला? कुन जन्मको के गल्तीको परिणाम भोगिरहेका छौँ खोइ हामी?