जनवरीको एक दिन मेरो साथी र म लैनचौरको बाटो हुँदै आउँदैथियौं।
परबाटै नारायणहिटी दरबारपट्टिको पेटीमा रहेको रूखमा आँखा पुगे। देखें रूखहरूमा स-साना सेता टाटाहरू।
सोचें ‘शायद च्याउ उम्रेका होलान्।’
तर जति जति नजिक हुँदै गएँ, त्यो सेता टाटाहरूले एक आकार लिँदै गयो र अन्तत: प्रष्ट भयो। ती सेता पुतली थिए, कागजको ! आश्चर्यचकित बन्दै त्यो दृश्य मैले मेरो साथीलाई देखाएँ।
तब उनले भने, ‘बालुवाटार अकुपाइ मुभमेन्टमा सहभागी हुनेहरूले यहाँ पनि लगाएछन्।’ मैले, ‘ए!’ भनें।
त्यसपछि ती सेता पुतली फेरि न त मैले अन्य ठाउँमा नै देखेँ न त अरू कसैले नै त्यसबारे कुरो गरेको सुनेँ।
ती सेता पुतलीहरूको कुरा मेरो त्यो एक शब्दको बुझाइमा नै सीमित रह्यो।
सीमित मात्रै होइन त्यो प्रसङ्ग मेरो मनमष्तिष्कबाट नै विलय भैसकेको थियो।
तर होइन रहेछ। संयोगवश मार्च महिनाको दोस्रो हप्तामा नागरिक न्युज अनलाइनमा प्रकाशित सुकृत नेपालको लेख ‘मिलनको पुतली प्रेम’ पढ्न पुगेँ।
त्यो लेख मनछुने खालको थियो। मलाई धेरै नै भावुक बनायो त्यस लेखले।
लेख पढिसकेपछि मिलन राई भन्ने नाम सुनेको, भेटेको र चिनेको लाग्यो। तुरून्तै गुगलमा सर्च गरें र उनको सेतो पुतली अभियान सम्बन्धित फेसबुक पाउन सफल भएँ। उत्सुक हुँदै हेरेँ। सेता पुतलीका फोटाहरू प्रशस्तै थिए तर उनको फोटो थिएन त्यहाँ। अकस्मात एक फोटोले मेरो ध्यानाकृष्ट गर्यो।
फोटोमा भएको बैजनी रङ्ग देखेपछि मलाई विश्वास भयो कि सेतो पुतलीका प्रेमी मिलन राई र मैले एक पटक भेटेर लामो कुरा गरेको मिलन राई एकै व्यक्ति हुन्।
उत्साहित बन्दै मैले मेरो परिचयसहित हाम्रो भेटको प्रसंग उल्लेख गर्दै एक म्यासेज पठाएँ।
उनीसँगको भेट पनि एक संयोग थियो। केही वर्षअघि उनी पुस्तक खोज्दै ठमेलस्थित पिल्ग्रीम्स बुक हाउस आइपुगेका थिए।
चित्रकार तथा चित्रकलाको बारेमा उपन्यास खोज्दै रहेछन्। तब मैले ओहान पामुकको ‘माई नेम इज रेड’ भन्ने पुस्तकको बारेमा भनेँ।
किनकी चित्रकलासम्बन्धी त्यही एक पुस्तक मात्र मैले पढेकी थिएँ।
अरू पनि पुस्तक थिए होलान् तर त्यो मेरो जानकारीमा थिएन। म चित्रकार होइन तर पनि चित्रकलामा रूची राख्ने हुनाले उनले त्यसै विषयउपर उपन्यास खोजेको हुनाले मैले नि उत्सुक हुँदै कुरा गरेँ। चित्रकारसँग कुरा हुँदा रङको प्रसङ्ग आउनु स्वभाविक हो। कुराकानीकै क्रममा बैजनी रङ उनलाई सबभन्दा मनपर्ने रङ्ग भनेका थिए।
साथै मनपर्नुको कारण पनि भनेका थिए।
त्यसपछि फेसबुकमार्फत् उनीसँग निरन्तर कुराकानी हुनथाल्यो। उनले विभिन्न ठाउँमा सेता पुतली लगाएको फोटो देखेर मलाई पनि उनको त्यो कार्यमा सहयोग गर्न मन लागिरहेको थियो। भनिन्छ नि भगवानले भन्छ रे, ‘तँ चिता, म पुर्याउँछु।’
शनिबारको दिन, साप्ताहिक बिदाको दिन हुने हुनाले प्राय:जसो मानिसहरू घरमै आराम गरेर बिताउँछन्। सधैंजसो केही न केही काम परेर वा विशेषत: विभिन्न कार्यक्रममा सहभागी बन्न म भने घर बस्न नपाई बाहिर नै गएको हुन्छु।
शनिबारको दिन बुद्ध जयन्ती परेको थियो। एक विशेष दिन। तर मेरो भने कुनै विशेष कार्यक्रम बनेको थिएन। बिहानै एक सानो कार्यक्रममा पुगेर आएपछि म फुर्सदमा नै थिएँ। धेरै दिनपछि फेसबुक खोलें। सेतो पुतलीको पेजमा एक आह्वान देखेँ।
‘बुद्ध जयन्तीको उपलक्ष्य पारेर सातदोबाटोदेखि कलंकीसम्मको रूखहरूमा सेता पुतली लगाउने।’
चक्रपथ विस्तार योजना अन्तर्गत सम्बन्धित सरकारी निकायको आदेशानुसार सातदोबाटोदेखि कलंकीसम्मको रूखहरू काट्न चिन्ह लगाएको रहेछ।
यसै क्रममा १२३९ रूख त्यो विकास योजनाको शिकार बन्न गइरहेको छ।
‘रूख बचाऔं, पर्यावरण जोगाऔं’ भन्ने सन्देश बोकी मिलन राईले त्यो अभियान दिउँसो १ बजेदेखि सातदोबाटोबाट थालनी गर्ने निधो गरेका रहेछन्।
उनको र सेतो पुतलीको बारेको लेख पढेर म निक्कै प्रभावित भएकी थिएँ। त्यसैले उनको सेतो पुतली अभियानमा मलाई पनि सहभागी हुने इच्छा त थियो नै समय पनि अनुकूल भएकोले मैले त्यहाँ जाने निधो गरें। बाह्र बजिसकेको थियो। हत्त न पत्त तयार भएर सातदोबाटोतर्फ हानिएँ।
मिलनलाई फोन गरेर ‘म पनि सहभागी हुन्छु,’ भनेँ।’ हुन्छ आउनु न,’ उनले भने। तर सार्वजनिक सवारी साधनको भर पर्नुपर्ने मेरो बाध्यताले, नारायणटारबाट सातदोबाटो पुग्न निक्कै समय लागेको थियो। म पुग्दानपुग्दै साथीहरूले अघि नै केही रूखहरूमा पुतली लगाउन भ्याइसकेका थिए। तर केही ढिला भए नि उनीहरूको समूहमा सामेल भएर रातो चिन्ह भएका रूखहरूमा मैले पनि सक्दो सेतो पुतली लगाउन थालेँ।
दुई चार रूखहरू काटिइसकेका रहेछन्। त्यो देखेर मन दुख्यो। खिन्न मन लिएर त्यही काटिएको ठुटाहरूमा पनि पुतली लगाइदियौं। ठुटोमा नै बसेर भए नि पुतलीले प्रेम र शान्तिको कामना गरिरहन्छ भन्ने सन्देश दिनुथियो।
कुनै पनि कुरालाई हेर्ने, ग्रहण गर्ने अनि बुझ्ने सबैको आ-आफ्नै दृष्टिकोण, सोच अनि अनुभूति हुन्छ।
व्यक्तिमा निहित यही क्षमताले नै कुनै पनि वस्तुको महत्व अनि प्रभावको अनुपात अलग-अलग व्यक्तिमा अलग-अलग हुनेगर्दछ। सेतो पुतली पनि त्यस्तै हो।
कसैलाई यो महत्वहीन लाग्ला तर सेतो पुतली धेरै कोणबाट अर्थपूर्ण लाग्छ, मलाई।
मेरो बुझाइमा सेतो पुतलीमा भएको सेतो रङ– शान्तिको प्रतीक, प्रेमको प्रतीक, प्रकाशको प्रतीक, पवित्रताको प्रतीक, निश्चलताको प्रतीक, निर्दोषिताको प्रतीक, सम्भावनाको प्रतीक, इमान्दारिताको प्रतीक, आशाको प्रतीक, विश्वासको प्रतीक, कोमलता अनि पूर्णताको प्रतीक।
त्यस्तै पुतली– प्रकृतिको घोतक, सुन्दरताको घोतक अनि हर्ष, प्रसन्नता र आनन्दको संवाहक पनि।
त्यति मात्र नभै पुतली संघर्षशील जीवनको घोतक पनि हो। एक सुन्दर पुतली बन्न उसले जीवनका चार कठिन चरण पार गर्नुपर्छ। अनि मात्रै प्रकृतिको सुन्दरतम् देन बन्नपुग्छ। सेतो पुतलीको बारेमा सबैको आ-आफ्नै बुझाइ होलान्। आफ्नै ढङ्गले यसलाई अर्थ्याउलान्। तर सही या गलत अथवा पूर्ण या आंशिक, मैले बुझेको सेतो पुतलीको अर्थ भने यही हो।
हामीले पुतली लगाइरहँदा धेरै आँखाहरू जिज्ञासु बनेका थिए। कौतुहल बनेका थिए। कतिपयले मौन प्रश्न गरिरहेका थिए भने कतिपयले आफ्नो जिज्ञासा शान्त पार्न हामीलाई सोधेका थिए, ‘यो के हो ?’ ‘किन लगाएको ?’ ‘यो रूख काट्नलाई हो ?’ आदि आदि।
हामीले भने उनीहरूको प्रश्नको उत्तर दिएर जिज्ञासा शान्त पार्ने सकभर कोसिस गर्यौं। अनि कतिले पुतली मागे भने साम्मुन्ने परेका साना नानीहरूलाई हामीले नै पुतली दियौं।
साँझको छ बजिसक्दा लगभग तीन दर्जन युवाहरूको उत्साहजनक सहभगिता तथा सहयोगमा हजारौं सेता पुतलीहरू धोबिखोलासम्मका सयौं रूखहरूमा बास बसिसकेका थिए, सकरात्मक सन्देश बोकी। म भने प्रसन्नचित्तसाथ घरतिर लागें, साथमा केही सेता पुतली बोकी।
बौद्ध पुग्दा सात बजिसकेको थियो। त्यस दिन बुद्ध जयन्ती भएकोले साँझ फर्कंदा बौद्धस्तूप पनि जान्छु भन्ने मनस्थिति बनाएर नै दिउँसो घरबाट निस्केको थिएँ। झन् त्यस दिन त जुनै हालतमा जानु थियो किनकि सेता पुतली बौद्ध परिसरमा लगाउने मैले निधो गरिसकेको थिएँ।
बौद्ध पुगेपछि माइक्रोबाट ओर्लिएँ र ब्यागबाट एउटा सेतो पुतली निकालेर सबैभन्दा पहिले बौद्धको प्रवेशद्वार अगाडिको फलामेबारमा राखिएको प्रवेशसूचक सानो बोर्डमा टाँसी दिएँ। त्यसपछि मुख्यद्वार हुँदै बौद्ध परिसरमा प्रवेश गरेँ।
बेलुकीको समय अनि विभिन्न रङको प्रकाश संयोजनमा नुहाएको बौद्धस्तूप, क्यानभासमा बनाएको एक सुन्दर चित्रकला झैं प्रतीत भैरहेको थियो।
हजारौं बौद्ध धर्मावलम्बीहरू आएका थिए। कोही कोरा लगाउँदै स्तूप परिक्रमा गरिरहेका थिए भने, कोही मन्त्रोचारण गर्दै हातमा लिएको त कोही स्तूपमा रहेको माने घुमाउँदै परिक्रमा गरिरहेका थिए।
मैले भने सबभन्दा पहिले एक अर्को पुतली मानेमा टाँसिदिएँ र मन्त्रोचारण गर्दै र माने घुमाउँदै, म पनि स्तूप परिक्रमा गर्न थालें।
अनि त्यसपछि स्तूपमाथि चढ्न भनी स्तूपपछाडि रहेको ढोकाबाट भित्र प्रवेश गरें। तर सबै जना ओर्लँदै थिए।
जाडो महिनामा छ बजेपछि अनि गर्मी महिनामा सात बजेपछि स्तूपमाथि बस्न नपाउने नियम छ। तर पनि म भने हातमा सेतो पुतली बोकी छेउ लागेर भीड कम हुने प्रतीक्षामा बसेँ।
सबै जना ओर्लिसकेपछि म स्तूपमाथि जाने सिँढी उक्लन थालेँ। पालेले मलाई रोक्यो। मैले हातमा भएको पुतली देखाउँदै भनें, ‘म यो प्रेम र शान्तिको प्रतीक पुतली लगाएर आउँछु।’ तब पालेले ‘हुन्छ जानुस्।’ भनेर मलाई जाने अनुमति दियो।
स्तूप परिक्रमा गर्दै र खुसी हुँदै आफूसँग भएका सेता पुतली सम्भव भएसम्मको ठाउँहरूमा लगाउन थालेँ।
हजारौं धर्मावलम्बीहरू तल परिक्रमा गर्दैथिए भने म एक्लाई थिएँ यसरी बौद्धमाथि परिक्रमा गर्ने अनि सेतो पुतली लगाउने। वास्तवमा नै अद्भुत अनि अविश्वसनीय क्षण थियो, त्यो !
परिक्रमा पूरा गरी पुतली लगाइसकेपछि देखें, स्तूपको माथिल्लो भागमा रहेको बुद्धका मूर्तिहरूमा केही व्यक्तिहरू मिलेर मैनबत्ती बलिरहेका। केही सेता पुतली अझै बाँकी थिए। मलाई त्यहाँमाथि पनि पुतली टाँस्न मन लाग्यो। त्यही अभिप्रायले म दुई तीन सिँढी उक्लँदा एक जनाले मतिर हेर्यो।
मैले भने, ‘म यो सेतो पुतली त्यहाँ राख्न चाहन्छु।’
हातमा रहेको सेतो पुतली देखाएँ।
उनले ‘आउनुस्। आउनुस्।’ भन्यो।
उत्साहपूर्वक म माथि उक्लिएँ अनि पुतली टाँसिदिएँ।
दुई लामागुरू मन्त्रोच्चारण गर्दै हुनुहुन्थ्यो र त्यहाँ उपस्थित विदेशी पहुनालगायत अन्य व्यक्तिहरू मैनबत्ती बाल्दै मूर्ति अगाडि राख्दैथिए।
मलाई पनि मैनबत्ती बाल्न मनलाग्यो। तर मसँग पुतलीमात्र थिए, मैनबत्ती थिएन। मैले लामाज्यूसँग मैनबत्ती मागें र बालेर मूर्ति अगाडि राख्न थालेँ।
उत्तरतिर पुगेपछि बेस्सरी हावा चलेर हामीलाई मैनबत्ती बाल्न धेरै गाह्रो परिरहेको थियो। तर पनि हामीले मैनबत्ती बालेर बुद्धको मूर्ति अगाडि राख्न सफल भयौं। लामा गुरूज्यू अनि अन्य सबैलाई टाउको निहुँराउँदै नमन गरेँ अनि धन्यवाद भनेँ। त्यसपछि ओर्लिएर बाँकी रहेको माने घुमाएर तलबाट पनि स्तूपको परिक्रमा पूरा गरी म घर फर्किएँ।
थाहा छैन हाम्रो यस अभियानले कुनै सकारात्मक परिणाम ल्याउँछ, ल्याउँदैन। हामीले सेता पुतली टाँसिदिएको रूखहरू शायदै नकाटिएलान्। तर पनि विश्वास छ र हामी आशावादी छौं कि हाम्रो यो प्रयासले जनमानस, सम्बन्धित निकाय र सबै सरोकारवालाहरूलाई विकास र विस्तारको निहुँमा रूख काट्नु हुन्न, प्राकृतिक सम्पदाको सकेसम्म संरक्षण र सम्बर्द्धन गर्नुपर्छ, पर्यावरण प्राणाली बिथोलिन गएमा पृथ्वी र मानव जीवनमा नराम्रो असार पर्छ, भन्ने जस्ता सन्देश दिन केही हदसम्म सफल भएको हुनुपर्छ।
अफिस आउँदा जाँदा माइक्रोबाट अहिले पनि देख्छु, बौद्धको प्रवेशद्वार अगाडिको फलामेबारमा अवस्थित प्रवेशसूचक सानो बोर्ड्मा बास बिसाएको त्यो एक्लो सेतो पुतलीले आजसम्म त्यहीँ बसेर प्रेमको वकालत गर्दैछ। शान्तिको जागरण फैलाइरहेको छ। अनि आशा जगाइरहेछ।
यसरी मैले सेता पुतलीको साथमा एक विशेष दिन बिताउने अवसर पाएँ। लाग्यो मेरो दिन सार्थक बन्यो।
****
यी मेरा अनुभूति सात वर्षअघि लेखिएको हो। जब जब बुद्ध पूर्णिमा आउँछ, त्यस दिनको झझल्को अझ बढी आउँछ। र त्यो हाम्रो अभियान, सेता पुतली र बौद्धको माथिल्लो भागमा भएका बुद्धका मूर्तिमा मैनबत्ती बालेको दृश्य, मेरो मानसपटलमा फिल्मझैं चलमलाउन थाल्छन्।
विकास र विस्तारको नाममा चक्रपथमा भएका १२३९ रूखले काटिनु नै थियो, काटिए। त्यसको प्रमाण अहिलेको चक्रपथको चौडा र फराकिलोपन हो। त्यो ठिक या बेठिक भन्ने कुरा अर्कै बहसको विषय हो।
पर्यावरण जोगाउन ‘एक रूख बराबर पाँच रूख रोपौं’ भन्ने नारा धेरै पढेको र सुनेको छु। तर त्यो नारा भट्याउनमा मात्र सीमित देखेँ। यसरी नै विकास र विस्तारको नाममा काठमाडौंभित्रका बाटो वरपरका धेरै रूख पनि बलि चढेको देखेकी छु।
अनि अर्को कुरा हामी सानो हुँदा सामाजिक शिक्षा हो कि महेन्द्रमाला पुस्तकमा पढेको ‘हरियो वन नेपालको धन’ पाठ थियो।
यस पाठको मूल कुरा नबुझेर अन्तिम शब्द ‘धन’ मात्रलाई सम्झेर वनलाई वास्तवमै धन आर्जन गर्ने विषयमात्र बनाएकोजस्तो लाग्छ।
वन जोगाउनुभन्दा विकास र बिस्तारको नाममा जसरी हुन्छ विनाश गर्नमा लागेकाजस्ता देखिन्छन्, एक तप्काका व्यक्तिहरू। राष्ट्रिय आयोजना ठानिएको निजगढ अन्तरराष्ट्रिय एयरपोर्ट निर्माणलाई एक ज्वलन्त उदाहरणको रूपमा लिन सकिन्छ।
भू-क्षय, बाढी, पहिरो, अल्प-वृष्टि, पर्यावरण प्रदूषण, जलवायु उष्णता आदिका कारक तत्व वन विनाश र प्रकृति दोहनलाई लिन सकिन्छ।
अहिले त झन् कोरोना कहरले हाम्रो जीवनमा अक्सिजनको कति महत्व छ भन्ने कुरा पुष्टि गरिसकेको छ।
अझै पनि समय घर्किसकेको छैन। सेतो पुतलीले दिन खोजेको सन्देशलाई मनन गरी हामी सचेत र जागरूक बन्न सके भावी पुस्तालाई बस्नयोग्य एक स्वास्थ्य पृथ्वी हस्तान्तरण गर्न सक्नेछौं।