कोरोनाको कहर छ। जनतामा बाँच्ने रहर छ। निषेधाज्ञाको पर्खालले चुलो धिपधिप बलिरहेको छ। कतिबेला बेकम्माको हुरीले आगो सहित चुलो उडाउने हो ठेगान छैन। कोरोनाले बितन्डा मच्चाइरहेछ। विज्ञानको शक्तिलाई कोरोनाले खिसीटिउरी गरिरहेछ।
ए साँच्चै मैले भुलेछु। खोप बनिसकेको छ। खोप सीमित शक्तिको खोपामा शैर गर्दै छ। खोपमै राजनीति छ। खोपमा मात्र के भनूँ? राजनीति अहिले घर-घरमा छ। समूह-समूहमा छ। कहाँ त्यति मात्रै हो र? खाँदा, बस्दा, उठ्दा, सुत्दा कतिबैलै पनि राजनीतिले विश्राम लिएको छैन। ट्विटर, फेसबुक, टिकटक, युट्युव जता हेर्यो उतै राजनीति।
धन्य छौ राजनीति तिमी। र त सामाजिक सञ्जालका वालहरू रंगिन छन्। कोही राता, कोही झन् राता, कोही हरिया, कोही दक्षिण पन्थी, कोही शरणपन्थी, कोही मरण पन्थी, कोही मतियार, कोही हतियार, कोही सँधियार, कोही ढोँगी, कोही जोगी। जय होस् राजनीति।
तिमी महान् छौ। कहिले उठाउँछौ, कहिले उडाउँछौ, कहिले थचार्छौ। तिमीलाई कत्ति फुर्सद छैन। सांसद होस् कि संसद्, घरबार होस् कि सरकार। यत्रतत्र सर्वत्र तिमै्र चर्चा परिचर्चा छ। लौ मैले लेख्दालेख्दै बाटो बिराए कि? काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर त भएन। म पनि कतै राजनीतिमा त बहकिइनँ। अछुतो रहनै नसिकिने।
मैले के भन्दै थिएँ कुन्नि? अँ, कोरोना। समय हेरी हेरी नयाँ-नयाँ भेरियन्टमा कोरोनाले पुर्नजन्म लिँदै छ। के कोरोनाले निसास्सिएका जनताले पुर्नजन्म पाउलान्? आफन्तलाई पनि नजिक पर्न नदिने कोरोनाको निष्पट अँध्यारोमा जनताले आशाको दीप खोजिरहेछन्। राजनीतिको हुरीले आकाशमा बादल उडिरहेको छ। न पानी पर्छ। न बादल हट्छ। कोरोनाले निसास्सिएका जनतालाई यो मौसमले गला दबाउँदै छ।
के भो? के भो? तिनाउमा बाढी आयो रे। हँ, तिनाउमा बाढी आयो। के भो त? बग्ने उनै हुन्, मर्ने उनै हुन्। गरिबको दुर्दशालाई धनीले आकाशबाट चियाइरहेछ। आकाश जस्तै अनन्तमा आशाको त्यान्द्रो देखिन्छ।
आहा! जीवन बाँच्छ कि? आशा पलाउँछ। आशा मनमा खेल्न नपाउँदै बतासले आशाका त्यान्द्रोलाई उडाएर कता लैजान्छ, लैजान्छ। जतिसुकै हेरे पनि त्यो देखिँदैन। त्यो भेटिँदैन। उड्दा उड्दा आशाको त्यान्द्रो सिंहदरबार गएर ठोकिन्छ।
जनता त्यही आशाको त्यान्द्रोलाई आँखा नझिम्काइकन हेर्दछन्। कठै! आँखा बन्द नभइकन जनताको पार्थिव शरीर प्लास्टिकको पोकोमा आफन्तभन्दा टाढा हेर्न, देख्न, भेट्न नपाइकन अलप हुन्छ। श्वास चल्दा कहिल्यै कल्पना नगरेको सम्मान स्वरूप सलाम पाउँछ। सायद, ऊ दफन गरिएको ठाउँबाटै सिंहदरबारलाई सम्झेर अट्टहास हाँसिरहेको छ।
फेरि सिंहदरबार। राजनीतिको कुरा गर्दिनँ भन्यो फ्याट्ट आइहाल्छ। हिजो घरमा आँटो सकियो भन्दै थिई बुढीले। आज बाटो सकियो। जताततै निषेधाज्ञा छ। हिजोसम्म एउटा निषेधाज्ञा थियो। आजबाट चुलोमा निषेधाज्ञा लागु भएको छ।
दिनभर पसिना बेचेपछि र आफ्नो क्षमताअनुसारको काम साटेपछि त खल्ती भरिने हो। खल्तीले आज दुखेसो गरिरहेको छ। आज मैले तँलाई केही दिन सकिन्न। तँ पनि त काममा गएको छैनस्। कुरा मनासिब छ। आफ्नो खल्ती रित्तो भए पनि आपतमा त देशको खल्तीले ढाडस दिनुपर्ने। ढाडस दिनुपर्ने? देशको खल्तीमा सत्ता र शक्तिको खेल खेल्ने खेलाडीहरूले आडेस लगाएर बसेका छन्।
हैन मलाई आज के भइरहेछ? राजनीतिको कुरा गर्दिनँ भन्यो फ्याट्ट आइहाल्छ। छोडौँ यी कुरा। यो कोरोना पनि पक्षपाती रहेछ। गरिबको छाउरोलाई दाउरै सम्झिन्छ त। केही गन्दै गन्दैन। जसको चुलो बल्न छोडेको दिनौँ भइसक्यो।
जसको घरमा अक्सिजन सिलिन्डर त के पानी भर्ने राम्रो भाँडो त छैन। के यी जनतालाई थाहा होला? म लोकतान्त्रिक गणतान्त्रिक मुलुकको नागरिक भनेर। कतै लोकतन्त्र लोपातन्त्र र गणतन्त्र गाँडतन्त्र त भएन? होइन, होइन। सत्तामा बस्नेले पो हो कुरा नबुझेको। अरूले त त्यसो गरेका छैनन् नि।
सायद बुझेरै होला, सत्ता बाहिर बस्नेहरूको बोली अलि चर्को छ। प्रतिगमन विरुद्धको आवाज छ। अनुयायीहरूको कोकोहोलो छ। कोरोना महामारी र जनताको चुलो पनि यिनीहरूको प्राथमिकतामा छैन। नियमित आकस्मिकताको धुनी बालेर सिंहदरबारलाई यिनीहरू पोलिरहेछन्।
जनअभिमतको बिक्री गरिरहेछन्। वादप्रतिवादको रोइलोमा सिंहदरबार अस्तव्यस्त छ। जोडघटाउमा औँला भाँचिरहेको छ। अहिले १९ पुग्यो एकछिनपछि बीस। अर्को देखाउँछ, धारे हातले इस्!
हैन, मलाई किन औडाहा भैरहेको छ हँ आज! अनलाइन पढाउन पर्ने, छोरीको लागि औषधि ल्याउनपर्ने। मोबाइलमा नोटिफिकेसनको घण्टी बज्यो। हेरेँ। कोरोनाको दोस्रो भेरिएन्टका कारण शिक्षकको मृत्यु भएकाले आजको पठनपाठन बन्द गरिएको छ।
मनमनै सोचेँ कतै, म आफैँ पनि…! होइन, केही हुँदैन। म आत्मविश्वासले पूर्ण हुन खोजेँ। अनलाइन क्लास नभएपछि फेसबुक खोलेँ। आँखा रसाएँ। मन भक्कानियो। शरीरमा रिँगाटा लागे झैँ भयो। तर सम्हालिएँ।
फेसबुकका वालका चित्रहरूले मन दुखी बनायो। आज यतिमा कोरोना संक्रमण, यतिको मृत्यु। कतै अक्सिजन नपाएर, कतै सिटामोल नपाएर, कतै कोरोनाको आक्रमणमा एक्कासि हृदयघातले चिथोरेर। अनि सेयर गरिएका समाचार पढ्छु। कोरोना महामारी उच्च बिन्दुमा।
हातले स्क्रिन तल सार्दै थियो। फेरि मन कुँडियो। सत्ता जोडघटाउमा राजनीतिक दल, खोपको अभावमा जनता अलमल। पानी माथिको उबानो बन्ने होडबाजी। तैँ रानी मैँ रानी को भर्ला कुवाँको पानी!
एकअर्काप्रतिको आक्रोश र दोषारोपण। खै, कहाँ छन् जनताका प्रतिनिधि? कहाँ छन् जनमुखी राजनीतिक दल? सत्ता, शक्ति र पदको दलदलमा अल्झिएका छन् सब। जनताका संरक्षक, अभिभावक र आफन्त भन्नेहरूले सही गन्तव्य पक्रिन सकिरहेका छैनन्।
सबैमा मेरो गोरुको बाह्रै टक्का। यताबाट हेर्यो यो राम्रो। उताबाट हेर्यो त्यो राम्रो। नराम्रो यहाँ कोही छैन। सबैका भ्रम ठूला छन्। त्यसैले त कार्यकर्ता भजनमा व्यस्त। कोरोना कहरको व्यवस्थापन दिनप्रतिदिन भइरहेछ अस्तव्यस्त।
राजनीतिका कुरा लेख्दिनँ भन्यो। फेरि आइहाल्छ। बोल्दिनँ भन्यो, मुख बन्दै नहुने। के भा’को हो मलाई यस्तो? अहिले सत्ताको खेल होइन, कोरोनालाई फेल गराउने समय हो। भोटको राजनीति गर्ने बेला होइन, खोपको बन्दोबस्ती गर्ने बेला हो।
जनता कोरोनाको उकुसमुकुसबाट उम्केर चैनको श्वास फेर्न चाहन्छन्। दलहरू एकअर्कालाई दलदलमा फसाउने खेलमा होइन, कोरोनाको डरलाग्दो भेलमा मिलेर जुधेको हेर्न चाहन्छन्।
प्रतिगमन र अग्रगमनको गहिराइ जनतालाई बुझ्न गाह्रो परिरहेको छ। कोरोनाबाट जीवित रहे जनताले प्रतिगमन र अग्रमनको नतिजा दिने नै छन्। लौ एकाएक उहाँ मुस्कुराउनु भो। उहाँ भन्दै हुनुहुन्छ, ‘जनता जनार्दन।’