सामान्य जीवनमा आउने परिस्थितिभन्दा विपत्तिजन्य अवस्थामा तनावले बढी नै असर गर्दछ। शारीरिक, मनोवैज्ञानिक, सामाजिक, आर्थिक लगायतका विभिन्न क्षेत्रमा यसले नकारात्मक असर पार्ने गर्दछ।
अग्रंपक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, कर्मचारी, नेतृत्व वर्गहरु पनि यसको शिकार हुने गर्दछन्। विपत्तिको बेला उनीहरुको शारीरिक र मनोवैज्ञानिक आवश्यकतालाई भने धेरैले बिर्सने गर्दछन्।
कोरोना भाइरसको यस महामारीमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरु, पत्रकार, कर्मचारीहरुले अग्रपंक्ति रहेर देश र जनताको सेवा गरिरहेका हुन्छन्। रातदिन भन्न पाएका छैनन्। आफ्नो व्यक्तिगत जीवन भन्न पाएका छैनन्।
दैनिक जसो संक्रमित व्यक्तिको हेरचाह, उनीहरुको समस्या, पीडा सुन्दैमा दैनिकी बितिरहेको छ। घर परिवारको इच्छा, आवश्यकताभन्दा हरेक कुराहरु टाढै भएका छन्।
समस्यामा रहेका व्यक्ति वा आफन्तको समस्या देख्दा, सुन्दा र आफै अनुभव गर्दा सेवाप्रदायक वा अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरुलाई पनि तनावको भावना जाग्रित हुन सक्छ।
संक्रमित परिवारका सदस्यहरुको गुनासा, आक्रोश, रिससँग सामना गर्नु पर्दा उनीहरुलाई तनाव बढ्ने, चिन्ताको भावना विकास हुने, बेकार कस्तो पेसा रोजेछु भन्ने जस्ता भावनाहरु विकास हुन सक्छन्।
असामान्य अवस्थामा काम गर्नु पर्दा खाना रुची घट्ने, निन्द्रामा गडबडी हुने, बेचैन महशुस हुने, ध्यान दिन नसक्ने, काम गर्न रुची नआउने, अरुसँग बोल्न मन नलाग्ने, काम गर्न जाँगर नआउने जस्ता भावनाहरु अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरुमा आउन सक्छ।
साथै सोच जस्तो आराम र सेवासुविधाहरु नपाउँदा अग्रपंक्तिमा कार्यरतहरुलाई कामप्रतिको लगाव घट्न सक्छ। सोचाइ, भावना, व्यवहारमा बढी नै उतारचढाव हुने गर्दछ।
असहज परिस्थितिमा केही दिन भावनात्मक उथल पुथल हुनु सामान्य मानिए पनि त्यसको असर दीर्घकालीनरुपमा रहिरहेको छ, सोचाइ, भावना, व्यवहार, शरीर, सम्वन्धमा नकारात्मक प्रभाव पारेको छ भने समस्या हुन सक्छ। समस्यामा रहेका व्यक्तिहरु प्रति आक्रोशको भावना बढ्न सक्छ।
दिनरात नभनी सेवा गरेका छौँ, जस नदिने भनि सेवाग्राही माथि नै रिसका भावनाहरु बढ्न सक्छन्। यस आलेखमा अग्रपंक्तिमा कार्यरत व्यक्तिहरुले विपत्तिजन्य अवस्थामा कसरी तनावलाई व्यवस्थापन गर्ने भन्नेमा केन्द्रित रहने छ।
१) आफूमा आएको प्रतिकृयालाई ध्यान दिने
सामान्तया तनावको बेला प्रायः व्यक्तिहरुको मन, शरीर र व्यवहारले विभिन्न प्रतिकृयाहरु देखाउँछ। चिन्ता लाग्ने, चाँडै रिसाउने, मनस्थिति छिटो छिटो परिर्वतन भइरहने, खाना खान मन नलाग्ने, अरुसँग बोल्न मन नलाग्ने, काम गर्न मन नलाग्ने, बेकार यस्तो पेसा छानेछु भन्ने सोचाइ आउनु, एक्लोपनको महशुस गर्ने जस्ता लक्षणहरु मनमा देखिन सक्छ।
त्यसैगरी चाँडै थकाइ लाग्ने, शरीर कमजोर भए जस्तो महशुस हुने, टाउको दुख्ने, मुटु धड्कन अनियमित हुने, निस्सासिएको जस्तो महशुस हुने, पेट पोल्ने, हात खुटा अनौठो प्रकारले दुख्ने जस्ता असरहरु शरीरमा देखिन्छन्।
त्यसैगरी व्यवहारमा थकित देखिने, छटपटाइरहने, तनाव कम गर्ने नकारात्मक सामना गर्ने व्यवहारहरु प्रयोग गर्ने जस्ता लक्षणहरु व्यवहारमा देखिन्छन्। निन्द्रामा पनि गडबढी हुनसक्छ।
त्यसैले विपत्तिमा आफ्नो शरीर, मन, व्यवहारमा आएका प्रतिकृया एवं परिर्वतनलाई ध्यान दिनु पर्छ। आफूलाई के भइरहेको छ भन्ने विषयमा सचेत भयो भने समस्या व्यवस्थापन गर्न सजिलो हुन्छ।
२) सकारात्मक सामना गर्ने व्यवहारको विकास गर्ने
समस्यासँग जुध्नका लागि व्यक्तिले प्रयोग गर्ने शैली, व्यवहार वा बानीलाई सामना गर्ने व्यवहार भनिन्छ। सामान्यतय सामना गर्ने व्यवहार दुई प्रकारका हुन्छन्। पहिलो सकारात्मक। दोश्रो विध्सात्मक।
मनका कुराहरु मन मिल्ने साथीसँग सुनाउने, समस्यामा केन्द्रित छलफल गर्ने, आस्था अनुसार पूजा गर्ने, टेलिभिजन हेर्ने, रेडियो सुन्ने, खेतबारीमा काम गर्ने, किताब पढ्ने आदि व्यवहारहरु सकारात्मक सामना गर्ने व्यवहार हुन्।
जसले गर्दा व्यक्ति आफैलाई फाइदा पुग्छ भने अरु व्यक्तिहरुलाई पनि असर गर्देन। त्यसैगरी कोही व्यक्तिहरुले तनाव भएको बेला नकारात्मक सामना गर्ने व्यवहार गर्दछन् जसले व्यक्ति आफैलाई र अरुलाई पनि फाइदा गर्दैन।
विध्सात्मक व्यवहार भित्र रिसाउने, झगडा गर्ने, लागु पदार्थ सेवन गर्ने आदि व्यवहारहरु पर्दछन्। सामान्य अवस्थाभन्दा विपत्तिका बेला व्यक्ति सोचाइ र भावनाहरुलाई छिटो प्रभाव पार्दछ।
त्यसैले परिस्थितिलाई परिर्वचन गर्न सकिँदैन, मनस्थितिलाई सकारात्मकरुपमा सामना गरी मनस्थिति राम्रो बनाउन प्रयास गर्नु पर्छ। तनावका लक्षणहरु पहिचान गर्ने वित्तिकै सकारात्मक सामना गर्ने व्यवहारमा ध्यान दिन सके जस्तोसुकै परिस्थिति भए पनि व्यक्तिको मनलाई कम प्रभाव पार्न सक्छ। साथै स्व हेरचाह गर्नु पर्छ।
३) स्व-हेरचाहमा ध्यान दिने
आफूले आफैलाई माया गर्नुलाई स्व-हेरचाह भनिन्छ। स्वहेरचाह भित्र शारीरिक हेरचाह मात्र नभई मनोवैज्ञानिक हेरचाहलाई पनि उत्तिकै चासो र ध्यान दिन जरुरी छ।
स्व-हेरचाह निम्न अनुसार गर्न सकिन्छ।
क) सुरक्षामा ध्यान दिने
अंग्रपक्तिमा काम गर्ने व्यक्तिहरु प्रायः जोखिममा पर्दछन्। दैनिक संक्रमित व्यक्ति र उनीहरुको आफन्तसँग संलग्न भई कार्य गर्दा संक्रमणको डर बढी हुन्छ।
मास्क एवं अन्य सामानहरु लगाउँदा लगाउँदा बोर लाग्ने, श्वास फेर्ने कठिन भयो भनेर बेला बेला खोल्ने गर्दा संक्रमणको सम्भावना बढी हुन्छ। केहिले काहीँ सुरक्षाका मापदण्डलाई लागु गर्न बिर्सन्छौँ।
त्यसैले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी व्यक्ति आफैले शरीरिक सुरक्षामा केहिल्यै सम्झौता गर्नु हुँदैन। आफ्ना सहकर्मीहरुलाई व्यवस्थापन पक्ष एवं सहकर्मीहरुले सुरक्षा मापदण्डमा ध्यान दिन बेलाबेला स्मरण गराइरहनु पर्छ।
एक जना सहकर्मीमा संक्रमण भयो भने अन्य सहकर्मीहरुमा सर्ने सम्भावना बढी हुन्छ।
ख) पानी र खाना प्रशस्त मात्रामा लिने
अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरुले खानेकुरालाई प्राथमिकता दिनु पर्छ। आफू स्वास्थ्य भएमात्र अरुलाई सहयोग गर्न सकिन्छ। विपत्तिजन्य अवस्थामा परिस्थितिले व्यक्तिको मन र शरीरलाई छिटै कमजोर बनाउन सक्छ।
त्यसैले शरीरलाई सन्तुलित बनाइराख्न नियमित खाना खानु पर्छ। कामको व्यवस्थताले कतिपय अवस्थामा खाना खाने र पानी खाने समय नहुन सक्छ। त्यसैले सहकर्मीहरुको आपसी सहमति र समझ्दारीमा खाना र पानीको प्रबन्ध मिलाउनु पर्छ।
व्यवस्थान पक्षले पनि आफ्ना कार्मचारीको खाना खाने र पानी खाने विषयमा प्राथमिकता दिनुपर्छ। नियमित र सन्तुलित खानाले रोगसँग लड्न सक्ने क्षमता अभिबृद्धि गर्छ। विपत्तिमा शक्ति छिटै ह्रास हुने हुँदा शक्तिलाई बचाइराख्न पनि नियमित भोजन र पानी आवश्यक हुन्छ।
आफ्नो कार्यालयमा खाना खाने व्यवस्था छैन भनेपनि समय मिलाएर खाना खानु पर्छ। त्यसको प्रबन्ध मिलाउनु पर्छ।
ग) निन्द्रामा ध्यान दिने
दिनभरि काम गर्दा शरीर थाक्छ। दिउँसोभरिको असहज परिस्थितिको याद आउन सक्छ। त्यसैले गर्दा निन्द्रा गडबडी हुनसक्छ। असामान्य अवस्थामा त हाम्रो निन्द्रा गडबढी हुन्छ भने विपत्तिजन्यमा झनै धेरै असर गर्छ।
शरीरको लागि खाना जति महत्व छ, निन्द्रा उत्तिकै महत्व छ। असहज परिस्थितिको सामना गर्दा एक/दुई दिन निन्द्रा नलाग्नु, निन्द्रमा गडबडी हुनु स्वाभाविकै भए पनि दुई/तीन दिनभन्दा बढी लगातार निन्द्रा परेको छैन। निन्द्रामा गडबडी भएको छ भने त्यसले हाम्रो शरीरलाई कमजोर बनाउँछ।
निन्द्रा राम्रो नपर्दा कामको प्रभावकारीता घट्छ। त्यसैले राति कम्तीमा ६/७ घण्टा निदाउन जरुरी छ। कोही व्यक्ति निदाउनको लागि औषधिको सेवन गर्दछन्।
औषधिले केही समय सहयोग गरे पनि दीर्घकालीनरुपमा फाइदा नगर्न सक्छ। केही चुनौतीको सामना गर्ने वित्तिकै औषधिको सहारा लिनुपर्छ। औषधि बाहेक सकेसम्म अन्य वैकल्पिक उपायहरु प्रयोग गर्न सकिन्छ।
उदाहरणका लागि सुत्नुभन्दा अगाडि चिया, कफी, पेय-पदार्थ सेवन नगर्ने, हल्का गहिरो श्वासप्रश्वास विधिको प्रयोग गर्ने, १०० बाट १ सम्म उल्टो मनमनै गन्ने (१००, ९९, ९८, भन्दै १ पुर्याउने), आफूलाई मन पर्ने संगीतमा रमाउने, आस्था अनुसार भगवानका मन्त्रहरु जप्ने, आफ्ले गरेको सकारात्मक पक्षलाई बढी जोड दिने आदि गर्न सकिन्छ।
यस्ता अभ्यासहरु नियमित गर्दा निदाउन सजिलो हुन्छ। त्यसैले बेड आराम गर्न वा सुत्नका लागि हो, सोच्नका लागि होइन भन्ने भावनाको विकास गर्नु पर्छ। तर हामी जब बेडमा जान्छौँ आफूले गर्न नसकेका, अप्ठ्यारा विषयहरु धेरै सम्झने गर्दछौँ जसले गर्दा हाम्रो निन्द्रालाई प्रभावित बनाउँछ।
घ) प्रेरणा दिने र लिने
विपत्तिजन्य असामान्य अवस्था हो। यस्तो बेला अग्रंपक्तिमा रहेर काम गर्ने व्यक्तिहरुले आफू र सहकर्मीहरुबीच एकअर्कोलाई प्रेरणा दिनुपर्छ। प्रेरणाले काम प्रति लगाव जगाइराख्छ। मनोवैज्ञानिकरुपमा स्वास्थ्य रहन सहयोग गर्छ।
सहकर्मीहरुबीच एकले अर्कोको भावनाहरु सुन्ने र सुनाउने, चुनौति सबैको साझा समस्या हो, सबै मिलेर लाग्नु पर्छ भन्ने भावनाको विकास गर्ने गर्नु पर्छ। विपत्तिको बेला जो-कोही आत्तिन्छन्। आत्तिएको बेला काममा प्रभावकारीता नआउन सक्छ।
त्यसैले काम सुरु गर्नभन्दा पहिले छोटो बैठक बस्ने। रमाइलो पक्षलाई बढी जोड दिने। एकले अर्कोलाई सहयोग गरेको पक्षलाई उजागर गर्ने गर्नुपर्छ। आफूलाई गाह्रो भएको बेला सहयोग माग्ने र लिन पछाडि हट्नु हुँदैन।
व्यवस्थापकले पनि सहयोग प्रणाली, समस्या र गुनासाहरु सुन्ने, तुरुन्तै सम्बोधन गर्ने, सहकर्मीहरुको भावनाहरु पोख्ने, एकअर्काको माया, सहयोग, हेरचाह गर्ने खालको वातावरण निमार्ण गर्न पर्दछ। जसले गर्दा चुनौती भए पनि मनोवैज्ञानिकरुपमा अग्रपंक्तिमा कार्यरत व्यक्तिहरुको काम गर्ने जोस र जागरमा कमी आउँदैन।
ङ) सेवाग्राहीहरुका भावनाहरु सुन्ने
कोरोना भाइरसका कारण धेरै व्यक्तिहरुलाई समस्या भइरहेको छ। आफू संलग्न भएका केसहरु सधैँ सफल हुन्छ भन्ने छैन। सफल भएन भनी आफूलाई दोषी र आत्मग्लानी हुने सोचाइ राख्नु हुँदैन। सेवा प्रभावकारी भएन भनेर अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरुलाई दोष आउन सक्छ।
संचार माध्यम्मा समाचारहरु आउन सक्छन्। नागरिक आक्रोशित हुनु स्वभाविकै। उनीहरुको गल्ती होइन। सहयोग माग्नु जनताको अधिकार हो। यस्तो बेला उनीहरु धेरै पीडामा हुन्छ। पीडाको बेला उनीहरुसँग तर्क विर्कत, वादविवाद गर्नभन्दा उनीहरुका कुराहरु ध्यान दिएर सुन्ने र शान्त्वना दिनु पर्छ।
आदर सत्कार गर्ने, पीडामा रहेकाहरुलाई बस्न दिने, पानी खान दिने जस्ता व्यवहारले सेवाप्रदायकप्रति सकारात्मक भावनाको विकास गराउँछ। कतिपय अवस्थामा प्रयोग गरिने नकारात्मक सम्बोधन र शब्दहरुले बिरामी र आफन्तहरुको मनोबल घट्न सक्छ।
कोरोना भाइरस एक अवस्था हो। बिरामी हुनु उसको गल्ती होइन। निको भएर सामान्य जीवनमा फकर्ने सक्ने भएकाले सबैको सकारात्मक व्यवहार र उर्जाले बिरामी, उसको आफन्तलाई हौसला जगाउँछ। विपत्तिमा प्रेरणा र शान्त्वना मन र शरीरलाई सन्तुलित राख्ने एक अचुक औषधि हो।
च) परिवारसंग सम्पर्कमा रहिरहने
कामका सिलसिलामा कयौँ दिनदेखि तपाई घर जानु पाउनु भएको छैन होला। नियमित घर जानु भए पनि संक्रमण सर्छ कि भन्ने चिन्ता आफैँ वा परिवारका सदस्यहरुलाई हुन सक्छ।
यस्तो बेला परिवारका सदस्यहरुसँग नियमित फोन वा इन्टरनेट मार्फत सम्पर्कमा रहिरहनु पर्छ। हामी सुरक्षित छौँ। सुरक्षितरुपमा काम गरिरहेका छौं भन्ने जानकारी दिनु र नियमित कुराकानी भएमा परिवारका सदस्यमा रहेको चिन्ता विस्तारै घट्छ।
साथै सकेसम्म काम गर्दा आफूले अनुभव गरेका पीडा, भयानक दृश्यहरुको भिडिओ, तस्बिरहरु सुनाउने वा देखाउने गर्नु हुँदैन। आफूले काम गर्ने क्रममा बनाएको टिकटिक वा भिडिओहरुले व्यक्तिलाई थप प्रेरणा थप्छ।
डरलाग्दा दृश्य र अनुभवले व्यक्तिलाई सजिलै तनावमा लैजान सहयोग गर्छ। यदी सुनाउन मन छ भने अवस्था सामान्य भएपछि मिलाएर सुनाउन सकिन्छ। नियमित काम र घर भइरहेको छ भने सुरक्षालाई बढीभन्दा बढी ध्यान दिने।
बालबालिकाहरु, बुढाबुढीबाट केही समय टाढै रहने। आफूले केही दिन असज परिस्थितिको सामना गर्न सक्यौँ भने हामीले आफ्ना आफन्त, नातेदारलाई बचाउन सक्छौँ।
त्यसै परिवारका सदस्यहरुसँग भावनाहरु सुनाउने र सुने गर्न जरुरी छ। संक्रमित भइहाल्यो भने पनि कसरी बच्ने भनी पूर्वतयारी हुन जरुरी हुन्छ।
विपत्तिजन्य हाम्रो नियन्त्रणमा छैनन्। विपत्तिको अवस्थालाई अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरुले मात्र पार लगाउँछन् भन्ने छैन। उनीहरु आफै जोखिममा पर्न सक्छन्।
त्यसैले महामारीको अवस्थालाई सबैले स्वीकार गर्नु जरुरी छ। हरेक व्यक्तिले शारीरिक सुरक्षामात्र ध्यान नदिई मनोवैज्ञानिक पक्षलाई उत्तिकै ख्याल गर्नु पर्छ।
विपत्तिलाई नियन्त्रण गर्न नसके पनि शारीरिक र मनोवैज्ञानिक प्रतिकृयालाई भने नियन्त्रण गर्न सकिन्छ भन्ने सोचाइको विकास गर्नु पर्छ। साथै हरेक पक्षले अग्रपंक्तिमा रहेर कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, कर्मचारी, नेतृत्व वर्गको प्रेरणा, शक्ति, रुचीलाई नघटाउन प्रेरणा थप्नु जरुरी छ।
संक्रमितको व्यवस्थापनको साथै अग्रपंक्तिमा कार्यरतहरुको शारीरिक र मनोवैज्ञानिक स्वास्थ्य पनि ख्याल गर्न जरुरी छ। विपत्तिको बेला उनीहरुको मन र शरीरलाई सन्तुलन कायम गराइराख्न अन्य अवस्था जस्तै सेवामा प्रभावकारीता बढ्ने छ।