किशोरावस्थादेखि जब महिनावारी हुन थाल्यो, तबदेखि महिनावारी भएको समयमा कतै हिँड्न डुल्न नपरोस् भन्ने लाग्थ्यो । कतै घुम्न जादाँ होस्, या कामको सन्दर्भमा फिल्ड भिजिट, मिलेसम्म महिनावारीको बेला नपर्ने गरि योजना बनाउँथे।
हाइकिङ वा ट्रेकिङ जाने कति वटा प्लान त महिनावारी भएकै कारणले क्यान्सिल गर्नुपर्यो। महिनावारीको बेला मलाई यात्रा गर्न निकै झन्झट लाग्ने गर्थ्यो। स्वास्थ्यको हिसावले भोग्नुपर्ने शारीरिक तथा मानसिक चुनौती एकातर्फ छन् भने, यात्रा गर्दा महिनावारी स्वच्छता तथा सामाग्रीको व्यवस्थापनमा समस्या हुनु अर्को चुनौती हो।
नेपालमा सबैतिर सफा र महिलामैत्री शौचालयको उचित व्यवस्था नहुँदा यात्रामा अधिकांश महिलाले समस्या भोग्नुपर्छ। महिनावारी स्वच्छता सामाग्रीको उचित व्यवस्थापनका लागि शौचालयमा डस्बिन नहुँदा कयौं पटक प्रयोग गरिसकेको प्याड, त्यहीँ शौचालयमा अव्यवस्थित फ्याक्ने अथवा प्लास्टिकमा पोको पारी आफ्नै झोलामा राख्नुपर्ने बाध्यता छ। यो मेरो मात्र व्यक्तिगत भोगाइ नभई, धेरै महिलाहरु यात्रा गर्दाको तितो यथार्थ पनि हो।
स्नातकोत्तर अध्ययको सिलसिलामा जब २०१७ मा नेदरल्यान्डस् पुगेँ, त्यहाँ मैले अर्को चुनौतीको सामना गर्नुपर्यो। महिनावारीको समयमा साइक्लिङ। साइक्लिङ डच जीवनशैलीको पर्याय भएकाले साइक्लिङ नगरी साध्य लाग्दैनथ्यो। किशोरावस्थादेखि नै महिनावारीको समय मलाइ रगतको बहाब धेरै हुने गर्दा, चुहावटबाट बच्न, अलि सजक भई सुतीको कपडामाथि स्यानीटरी प्याड लगाई, बाक्लो प्याड प्रयोग गर्थेँ। त्यसो गर्दा साइक्लिङ गर्ने क्रममा मलाई धेरै नै असहज भयो। यो कुरा एक दिन मैले मेरो क्लासमेट क्लारालाई सुनाएँ। उसले पनि आफूले पहिला त्यस्तै समस्या भोगेको र अहिले मेन्सुरल कपको प्रयोगले धेरै सहज भएको अनुभव सुनाइन्।
मेन्सुरल कप र ट्याम्पूनको बारेमा मैले सुनेको र देखेको त थिएँ तर प्रयोग गर्ने सोच भने कहिल्यै आएन। स्यानीटरी प्याडको नै यति बानी परिसकेको थियो कि अन्य सामग्री प्रयोग गर्नेबारे न त सोच बन्यो न त आँट नै। एक दिन मेन्सुरल कपबारे इन्टरनेटमा राम्रोसँग अध्ययन गरेँ। आखिर किनेपछि प्रयोग गर्ने आँट पनि अवश्य आउला सोचेर, त्यस दिन बजार गएर मेन्सुरल कप किनेँ। तर किनेको ४ महिना बितीसक्दा पनि त्यसलाई प्रयोग गर्न हिम्मत जुटाउन सकिनँ। क्लाराले भने मलाई बेलाबेलामा मेन्सुरल कप कसरी सुरक्षित प्रयोग गर्ने भिडियो पठाएर झक्झकाइ रहन्थीन्। म चाहिँ ‘क्लारा, नेक्स्ट पिरियड, फर् सियोर्’ भन्दै अर्को महिनालाई पोष्टपोन्ड गर्थेँ।
एक दिन शनिबारे बिदा पारी, मेन्सुरल कप प्रयोग गर्ने निर्णय गरेँ। त्यतिबेला मेरो महिनावारी भने भएको थिएन। महिनावारी नभएको बेला ट्रयाल् गर्दा, पछि महिनावारी हुदाँ प्रयोग गर्न मनोबल बढ्छ कि जस्तो भान भयो। प्रयोगअघि, यूट्यूबमा सुरक्षित प्रयोगबारे ४/५ पटक भिडिया हेरेँ। त्यसपछि, भएसम्मको सबै हिम्मत बटुलेर, लामो सास फेरि, कप इन्सर्ट गरेँ। पहिलो पटक भएकोले थोरै दुखाईको अनुभव हुनु स्वभाविक थियो। तर हिड्डुल गर्न भने धेरै नै अफ्ठा्यारो महशुस भयो। त्यो दिन लगभग दुई घण्टा जति मात्र कप लगाएँ।
भोलिपल्ट क्लारालाई आफ्नो अनुभव सुनाएँ। क्लारा सुरुमा त मुर्छा परेर हासिन्। ऊ सँगको कुराकानीपश्चात मात्र बल्ल मैले महशुस गरे कि, अघिल्लो दिन मैले मेन्सुरल कप आधि मात्र इन्सर्ट गरेको रहेछु, जसको कारणले मलाई हिड्न साह्रै नै असहज भएको थियो। अर्को महिनावारीमा सहि तरिकाले पक्कै पनि कपको प्रयोग गर्छु भन्ने अठोट चाहिँ मनमनै लिएँ। त्यस महिना जब महिनावारी भयो, फेरि पनि सारा हिम्मत जुटाई, मेन्सुरल कपको प्रयोग गरेँ। यसपालि भने, पहिलो पटक जस्तो दुखाई र असहजता त्यती महशुस गरिनँ। कपको प्रयोग गरे तापनि सावधानी अपनाएर लिकेज हुने डरले स्यानीटरी प्याडको प्रयोग पनि सँगै गरेकी थिएँ।
पहिलो प्रयोग हुनाले, कपलाई निकाल्न र सफा गर्न भने अलि झन्झट लागेको थियो। क्लाराले मलाई यसको बानी पर्न कमसेकम तीनदेखि चार मेन्सुरल साइकल लाग्छ भनेर पहिल्लै भनेकी थिइन्। सफा गर्दा, कपमा जम्मा भएको रगत देख्दा, महिनावारी हुदाँ आफ्नो शरीरबाट यति धेरै रगत बग्छ भनेर प्रत्यक्ष हेर्दा, एक छिन त कहालीनै लागेर आयो। प्याडको प्रयोग गर्दा यी कुरामा खासै ध्यान दिइराख्न पर्दैनथ्यो। यद्यपी, मलाई महिनावारी भएको तेस्रो दिनमै, पहिला भएको असहजता सबै हराएर गईसकेको थियो।
महिनावारी हुन थालेदेखि नै, मेरा लागि ‘महिनावारी’ प्रत्येक महिना एउटा ठूलो पहाडको रूपमा खडा हुन्थ्यो, जसलाई पार गर्न मलाई निकै कठिन लाग्दथ्यो । शारीरिक दुखाइ, कमजोरी र कति पटक त तल्लो पेटको दुखाइ सहन नसकेर भाउन्न भई अस्पतालमा भर्ना समेत भएको छु । स्कुलमा हुदाँ पढाईदेखि अतिरिक्त क्रियाकलापमा अब्बल मानिने म, महिनावारीको समयमा भने मेरो आत्मविश्वास ह्वात्तै ओरालो लाग्थ्यो। ऊर्जाले भरिएका मेरा पङ्खहरु, महिनावारीको समय कुजिएको जस्तो अनुभव हुन्थ्यो।
सुरूवाती महिनाहरुमा बिल्डिङ धेरै हुने गर्दा कहिले तन्नामा त कहिले स्कुलको स्कर्टमा दाग लाग्ने गर्दथ्यो। पछिल्ला केहि वर्षसम्म पनि मलाई मेरो लुगामा दाग लागेर कसैले देख्ने पो हो कि भन्ने चिन्ताले मन पिरोली रहन्थ्यो। बिहान सम्झिदाँ राति नै मन पोलेर आउथ्यो। राति सुत्दा, शरीरले कोल्टो फेर्न खोजे पनि, दिमागले भने स्टेफ्रिको विज्ञापनमा जस्तो ‘सावधान’ भनेर सिठ्ठी बजाइरहन्थ्यो। हुन त, त्यो बेलामा हामीलाई सिकाइएको पनि त्यहीँ थियो। महिनावारी स्वच्छता व्यवस्थापनको बारेमा भन्दा पनि के छुन हुने नहुने, भान्छा नर्छिने, मन्दिर र पूजा कोठा नर्छिन, छुट्टै बस्ने अनि मानौं ओछ्यानमा वा लुगामा दाग लाग्यो भने त ठूलै गल्ती वा पाप नै गरे जस्तो मानिन्थ्यो। बसीरहेको ठाउँबाट, जुरुक्क उठ्नुपर्दा, वर्षातको बेला, खहरे खोलामा एक्कासी बाढि आएको जस्तो अनुभूती हुन्थ्यो । लुगामा पो लाग्यो की भनेर मनमा चिसो पस्थ्यो। नजिकैको साथीलाई कानमा खुसुक्क पछाडी लुगामा दाग लाग्या छ छैन हेर्न लगाउँथेँ। मैले यी सबै बेलिबिस्तार लगाउनु कारण के हो भने, महिनावारीका बेला यी साना साना, झिना मसिनाझै लाग्ने कुराले बिशेष गरि किशोरीको मस्तिस्कमा र आत्मविश्वासमा धेरै असर पुगिरहेको हुन्छ।
मेन्सुरल कपको प्रयोग पछि मेरो लुगामा दाग लाग्ने डर पनि हटेको छ । रगत र पसिनाले भिजेको प्याड लगाएर हिँडडुल गर्दा जुन किसिमको असहजता महशुस हुन्थ्यो, कपका प्रयोगपछि यी सबै समस्याहरुको हल हुँदै गए। मेन्सुरल कप आफ्नो शरीर भित्रै (योनीको भित्तामा), रहि रगत जम्मा हुने हुँदा, गन्धको समस्या हुँदैन र सँगै शरीरबाट रगत बगेको पत्तो नै हुँदैन। आजकल त मेन्सुरल कपको प्रयोग यति सहज लाग्छ कि, कहिले काहिँ त मेन्सुरल कप लगाएको छु भन्ने नै बिर्सन्छु।
स्यानिटरी प्याडको तुलनामा कपको क्षमता पनि धेरै हुने गर्दा प्याड जस्तो बारम्बार फेरि राख्नुपर्ने बाध्यता पनि हटेको छ। त्यसै गरि दुई वर्ष अघि, एक हप्ताको छुट्टिमा, काठमाडौंमा स्वीमिङ क्लास लिएको थिएँ। स्वीमिङ क्लासको पहिलो दिनमै महिनावारी भयो। मैले मेन्सुरल कपको प्रयोग नगरेको भए, त्यो एक हप्ताको छुट्टिमा मैले स्वीमिङ सिक्ने सपना महिनावारीकै कारणले थाती राखी, पछि सार्नु पर्ने थियो। यी त केबल प्रतिनिधि घटना मात्र हुन्। मेन्सुरल कपसँगको विगत तीनवर्ष देखिको सहयात्राले मेरो जीवन धेरै सकारात्मक परिवर्तन ल्याएको छ।
मेन्सुरल कपको प्रयोग अर्को पाटो भनेको महिनावारी हुने बेलामा सामाग्री जुटाउने झन्झट पनि रहेन। कहिले काँहि जतिसुकै पूर्व तयारी गरे पनि, महिनावारीको दिन तल माथि हुदाँ, चाहिएको बेला आफूसँग प्याड नहुँदा, दौडिएर पसल जानुपर्ने बाध्यता सधैं रहिरन्थ्यो। स्नातक पढ्ने दोहोरानमा होस्टेल बस्दा नजिकैको पसलमा प्याड किन्दा हामी एक अर्कालाई जिस्काउँदै ‘पिरियड सपिङ्?’ भनेर सोध्ने गर्दथ्यौं। महिनावारी भएको पहिलो र दोस्रो दिनलाई एक थरि, रातिको समयमा एक थरि, त्यसपछिका दिनलाई एक थरि गरि मासिक रुपमा कम्तिमा पनि ५०० देखि ७०० प्याड खरिदमै खर्च हुने गर्दथ्यो। मेन्सुरल कपको प्रयोग पश्चात मलाई यो झन्झट लिई राख्नु परेको छैन । औसतमा दुई हजार रूपैया पर्ने मेन्सुरल कप ‘वान टाइम इन्भेस्टमेन्ट’ हो र कम्तिमा पनि १० वर्ष पुनःप्रयोग गर्न सकिन्छ। आज भोलि नेपालमै पनि बिभिन्न ब्रान्ड अनुसार अझ सुपथ मुल्यमा मेन्सुरल कप किन्न सकिन्छ। यसरी आर्थिक रूपमा हेर्दा पनि मेन्सुरल कपको प्रयोगले औसतमा कम्तिमा पनि चारदेखि ६ हजार वार्षिक वचत हुने देखिन्छ।
मेन्सुरल कपको सबैभन्दा महत्वपूर्ण फाइदा भनेको यो वातावरण मैत्री छ। मेन्सुरल कपलाई कम्तिमा पनि १० वर्ष पुनःप्रयोग गर्न सकिन्छ। हरेक महिनावारीमा प्रयोग गर्नुअघि राम्रोसँग उमालेर निर्मलिकरण भने गर्नुपर्दछ। ठोस फोहर व्यवस्थापनको सन्दर्भमा, प्रयोग गरिएका स्यानिटरी प्याड र डाइपरको व्यवस्थापनको समस्या नेपालमा मात्र नभई विश्वका अन्य मुलुकको पनि छ।
गाउँघरमा प्याडको व्यवस्थापनको चुनौती अर्कै छ। न त जलाएर जल्न, न त कुहिने नै। शहर बजारमा भने नगरपालिकाको गाडीमा फालेपछि चिन्ता लिन नपर्ने। तर अन्ततः त्यसले वातावरणमा प्रतिकूल असर गर्छ। विगतका दिनमा मैले हरेक महिनावारीमा कम्तिमा पनि २० वटा प्रयोग गरिएका प्याड कुनै न कुन रुपले वातावरणमा फ्याक्नुपर्दथ्यो । आजकल मैले मेन्सुरल कप र जरूरी पर्दा पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याडको प्रयोग गर्ने हुदाँ, अहिले म बजारमा पाइने स्यानीटरी प्याडमा कत्ति पनि निर्भर छैन। कहिले काहिँ विगत १५ वर्षदेखि हरेक महिनावारीमा म आफू एक जनाले मात्र उत्पादन गरेको फोहर (स्यानिटरी प्याड)को हिसाब गर्छु। अहिले त्यो भार वातावरणलाई दिनु नपर्दा, मेरो आत्मालाई शान्ति मिलेको छ।
नेपालमा पनि मेन्सुरल कपका प्रयोग बिस्तारै बढ्दै छ, विशेष गरी शहरी क्षेत्रका युवामा। अहिले सामाजिक सञ्जालमा मेन्सुरल कपको प्रयोग बारे सूचना आदन प्रदान तथा आफ्ना अनुभव सुनाउनेको संख्या बढ्दो छ। मैले पनि दुई वर्ष अघि ‘मे २८, महिनावारी स्वच्छता दिवसका दिन’ इन्स्टाग्राम र फेसबुकमार्फत आफ्ना अनुभव सुनाएकी थिएँ। मलाई मेरा थुप्रै महिला साथीले मेन्सुरल कपको बारेमा थप जिज्ञासा गरे भने केही पुरूष साथीले पनि यस विषयमा चासो देखाए।
मैले पनि यस बारेमा सक्दो सूचना दिने प्रयास गरेँ। केहि दिन र त्यस पछि केहि महिनामा, मलाई ‘मेन्सुरल कपको प्रयोग गर्न इन्स्पाएर गरेकोमा धेरै धन्यावाद’ भनेर ४/५ वटा म्यासेज आए। म निकै खुसी भएको थिएँ।
अर्कोतर्फ भने मेरा नजिकैका साथिहरू र दिदी बहिनीलाई भने कपको बारेमा सुनाउँदा डरले पहिल्लै ‘म त सोच्न पनि सक्दिनँ’ भन्ने प्रतिक्रिया पनि दिएँ। आफ्नो शरीरको अति नै सवेदनशील अंगमा, कुनै वाहिरी बस्तु शरीर भित्रै राख्ने कुराको कल्पना गर्दा, जो कोहीलाई पनि डर लाग्नु स्वभाविक नै हो। भविष्यमा प्रजनन् स्वास्थ्यमा असर पो गर्छ कि, भन्ने त्रास पनि धेरैमा रहन्छ। तर विभिन्न अध्ययन अनुसार कपको निर्मलिकरण र हातको सरसफाइमा ध्यान दिई राम्रोसँग निर्देशन पालना गर्ने हो भने मेन्सुरल कपका फाइदा धेरै छन्।
इन्टरनेटमा यसबारे सन्दर्भ सामग्री सजिलै उपलब्ध छन् भने यसबारे जानकार स्वास्थ्य विषेशज्ञसँग पनि सल्लाह लिन सकिन्छ । अहिले त नेपालमा पनि विभिन्न अनलाइन स्टोरमा यसको खरिद सजिलै गर्न सकिन्छ गर्न।
महिनावारीको बारे अझै पनि खुलेर कुरा नगर्ने र स्यानिटरी प्याड किन्दा पत्रिकाले बेरबार पारेर लुकाउने प्रचलन रहेको हाम्रो नेपाली समाजमा मेन्सुरल कपको प्रयोगबारे खुलेर पैरवी गर्न अझै केहि समय त अवश्य लाग्ला। तर भ्रमहरुका पछि नलागी यस बारे राम्ररी अध्ययन गरी सकरात्मक परिवर्तनलाई प्रोत्साहन दिनु ,आजको पुस्ताको जिम्मेबारी हो। यसो भन्दै गर्दा स्यानिटरी प्याड नराम्रो, यसलाई प्रयोग गर्दै नगरौं पनि भन्न खोजेको होइन । तर पुनःप्रयोग गर्न सकिने र वातावरणमैत्री भएकाले मेन्सुरल कपको फाइदाहरु धेरै छन्। बजारमा पाइने स्यानिटरी प्याड जस्तो ‘सिङ्गल युज प्लास्टिक’ को सट्टा ‘जिरो वेस्ट’ मेन्सुरल कपको प्रयोग गर्नु भनेको पर्यावरणमा ‘कार्बन फुटप्रिन्ट’ न्यूनीकरणको एउटा दिगो उपाय र अवसर पनि हो।
सुरूमा डर लाग्नु र आत्तिनु एकदमै स्वाभाविक हो। म पनि त्यस्तै आत्तिएको थिएँ। मेन्सुरल कपको प्रयोग गरेकाहरुको अनुभव सुन्ने हो भने प्रायले एउटै कुरा सुनाउँछन्। पहिलो तीन/चार महिना नआत्ति मेन्सुरल कपको प्रयोग गर्नुहोस्, त्यस पछि ‘यु विल नेभर गो ब्याक् टु स्यानिटरी प्याड।’
आउनुहोस् यसपालिको ‘महिनावारी स्वच्छता दिवसको’ अवसरमा मेन्सुरल कपकोबारेमा अध्ययन गरौं। यसको प्रयोगबारे आफ्ना साथीभाइ, दिदी-बहिनी, घरपरिवारमा कुराकानी गरौं। आखिर परिवर्तन भनेको यस्तै स–साना कुराबाट नै हुने हो, आफैंबाट हुने हो।
लेखक अधिकारी, खानेपानी, सरसफाई तथा स्वच्छता परियोजना, नेपाल ग्रामीण पुनर्निर्माण संस्था, आर.आर.एन, चितवनकी कार्यक्रम संयोजक हुन्।