विवाह नामक संस्थाले अधिकांश महिलालाई पुरुषको वंश धान्ने, सन्तान जन्माउने मेसिन र सित्तैमा काम गरिदिने घरेलु मजदुर बनाइरहेकै छ। विवाहपछिको केही वर्ष धेरै महिलाको जीवनको लय भत्किन्छ। उनीहरू आफूले कमाएको नाम, दाम र प्रतिष्ठा सबै बिर्सेर गुमनाम हुँदै जान्छन्। जुन मेरो जीवनमा पनि केही वर्षसम्म भयो।
***
छोरी जन्मिँदा अशिक्षित र चेतनाको अभाव भएका विकटका मान्छे होइन डाक्टरसमेत डराइरहेका थिए। यो समाज कहिलेसम्म छोरीसँग डराइरहला? कहिलेसम्म छोरीले मान्छे भएर जन्मन र बाँच्न यो निषेध तोडिरहनु पर्ला ? तिमी त छोरा भएर जन्मिनुपर्ने नि भनेर भन्दा उनको आक्रोस सहितको असहमतिपुर्ण जवाफ हुन्छ ,‘म कान्छा होइन कान्छी हो, कान्छा त छोरालाई पो भन्छ ...।’ उनको यस किसिमको जवाफले म भित्रभित्रै खुसी हुन्छु र प्रश्न गर्छु किन यो समाजले छोरीलाई छोरी जस्तै भएर बाँच्न दिँदैन?
**
गृष्म ऋतुमा गर्मिएको दिन। बिहानको ११ नबज्दै पोखराको आकाशमा घाम चर्किएको थियो। चर्को घाममा पनि सेती बगरमा मजदुरहरू बालुवा बोकिरहेकै थिए। सेती किनारकै पारीपट्टिको आकाशमा फरकफरक रङ र आकारका दुइटा धुँवाको मुस्लो उडिरहेका थिए। ती दुई मुस्लोमध्ये एउटा भर्खरै जल्दै गरेको र अर्को लगभग जलिसकेको लासको मुस्लो थियो। जीवन दर्शन बुझ्नका लागि सेती बगरको यहीँ दृश्य काफी थियो। सडकमा मानिसको आवत–जावत उस्तै हतारोको देखिन्थ्यो। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसुती वार्डको बरन्डाबाट उत्तरतर्फको काहुँको धरहराले यी सबै गतिविधिलाई साक्षी बसे जसरी नियालिरहेको थियो। सराङकोट डाडाँमा पर्यटकहरू प्याराग्लाइडिङमा चरा उडे जसरी उडिरहेका थिए। दक्षिणतर्फको फेवाताल माथिको शान्ति स्तुप भने शान्त र स्निग्ध देखन्थ्यो।
बेलाबेलामा माछापुच्छ्रे हिमालको चिसो हावालाई चर्को घामको रापले तातो बाफको डल्लो बनाएर ल्याउँथ्यो र निधारमा जोडले हानेर जान्थ्यो। बाह्य परिवेशका यी सबै गतिविधि सदा झैं उहीँ र उस्तै भए पनि मलाई भने आजको दिन अलिक असामान्य लाग्दै थियो। मनमा एक किसिमको भय र बेचैनिले चिटचिट पसिना आइरहेको थियो। वरपर मलाई माया गर्ने परिवारका सदस्य हुँदा पनि डरडर जस्तो र नितान्त एक्लो अनुभव भइरहेको थियो।
हो, सबै मेरो साथमै हुँदा पनि म एक्लै मृत्युसँग लड्न गइरहेकी छु जस्तो लागिरहेको थियो। बेलाबेलामा अनलाइन र छापा मिडियातिर आइरहने गर्भवती र सुत्केरीको मृत्यु सम्बन्धी समाचारको स्मृतिले मलाई नराम्ररी डसिरहेको थियो र मलाई जीवनप्रति एक्कासी अझै बढी माया लागेर आएको थियो। मैले मेरो सपनालाई टिठलाग्दो किसिमले अझै नजिकबाट नियालिरहेकी थिएँ। त्यहीँ समय थियो जतिबेला मैले मास्टर्स अध्ययनको दोस्रो वर्षको भर्याङ उक्लदै थिएँ र एकै वर्षमा अघिल्लो वर्षको चार अनि दोस्रो वर्षको छ सहित १० वटा विषयमा उत्तीर्ण भएर अभ्यास शिक्षण अनि थेसिस सकेको थिए।
त्यतिबेला म सपनालाई लिएर अलिकति स्वार्थी जरुर भएकी थिएँ। मैले मेरो गर्भको शिशुलाई डाक्टरले दिएको डेटभन्दा एक हप्ता अगावै जर्बजस्ती शल्यक्रियाद्वारा जन्माउँदै थिएँ। शल्यक्रिया मेरो रहर थिएन तर पहिलो सन्तानको पालामा पनि शल्यक्रिया गरिएकाले यसपटक नर्मल डेलिभरीभन्दा शल्यक्रिया नै ठिक हो भन्ने मलाई हेरिहनु भएको डाक्टरको सुझाव थियो। जसरी नि शल्यक्रिया नै गर्नुपर्ने भएपछि एकहप्ता अगावै गर्दा नि खासै फरक पर्दैन भन्ने सुझाव पाएपछि मैले त्यहीँ वर्षे बिदाको बीचमा सन्तान जन्माएर केही तङ्ग्रीएपछि बाँकी रहेको केही दिनको अभ्यास शिक्षण पूरा गर्नुपर्ने थियो।
अहिले दस वर्षपछि पनि कहिलेकाँही सम्झन्छु के एउटी आमाले यति कठोर निर्णय गर्न जरुरी थियो? हो जरुरी थियो, यदि यस्तो नगरेको भए मेरो सपना भत्किन सक्थ्यो। म रहन्थे तर मेरो सपना रहन्थेन र मलाई पटकपटक मेरो मातृत्वप्रति नै वितृष्णा लाग्न थाल्थ्यो।
उसो त विवाहपछिको केही वर्ष धेरै महिलाको जीवनको लय भत्किन्छ। उनीहरू आफूले कमाएको नाम, दाम र प्रतिष्ठा सबै बिर्सेर गुमनाम हुँदै जान्छन्। जुन मेरो जीवनमा पनि केही वर्षसम्म भयो। देख्दा सामान्य देखिने र अन्यहरूको समस्यामा गणना भइरहेको यहीँ मातृत्व जिम्मेवारीले संसारमा महिलालाई पुरुषभन्दा पछाडि पारिरहेको छ। सत्य त यो हो कि संसारका कैयौं आमाहरूले यस्तो निर्णय गर्ने मौका समेत पाउँदैनन् र यसरी नै आफ्ना सपनाहरूको बलिदान मातृत्व दायित्वका नाउँमा चढाइरहन्छन्। तर मलाई कुनै पनि हालतमा यो परिस्थिती स्वीकार्य थिएन। यो वा त्यो बहानामा म मेरा रहर र सपनाहरू भत्किएको हेर्न चाहन्थिन।
हो, यिनै सपना र रहरहरूकाबीच माइतीघरका बाउ, आमा, दाजुभाइ, दिदीबहिनी, आफन्त, साथीभाइ र सबैभन्दा बढी साँढे तीन वर्षकी ठुली छोरीलाई सम्झेर अनायासै मेरा आँखाबाट आँसु बगिरहेको थियो। छोरीलाई सम्झेर त्यो आँसु त्यसै बगेको थिएन। बरु उसको पनि मेरो जस्तै सुदुर भविष्यको स्त्रीत्व–मातृ दायित्व सम्झिएर रोएकी थिएँ।
विवाहपछि पनि एक इन्च परवर्तन नहुने पुरुष जीवन र आकाश –धरती जत्तिकै फरक पर्ने महिला जीवन, उसको सपना र अस्तित्व के होला? यी सबै सोच्दै गर्दा वाक्क भएकी थिएँ म।
ठिक त्यतिबेलै एकजना नर्सले हाम्रो चाहनाअनुसार नै एउटा पत्रमा हस्ताक्षर गर्न बोलाइन्। पहिले मैले र त्यसपछि मेरो श्रीमानले पालैपालो उक्त पत्रमा हस्ताक्षर गर्यौ। हस्ताक्षर गर्दागर्दै मेरो आँखा पत्रको दायाँ शिरानमा पर्यो। जहाँ लेखिएको थियो, मिति २०६८ जेठ १५ गते। यहीँ दिन थियो नेपाल सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक मुलुक घोषणा भएको। नेपाली जनताले शान्ति र समृद्विको सपना देखेको दिन। नेपाली महिलाले पनि मान्छे भएर बाँच्न पाउने आशा अनि सपना देखेको दिन। हो यहीँ सपनाको बिजारोपण भएकै दिन म भने नेपाली समाजले स्थापित गरेको मानकलाई अलिकति भए पनि भत्काउँदै थिएँ। त्यस्तो मानक जुन मानक एक दशक अघि त के? अहिलेका शिक्षित भनिने धेरै महिलाले पनि भत्काउने हिम्मत गर्दैनन्। अनि त्यस्तो हस्ताक्षर जुन हस्ताक्षरले केही मिनेटपछि जन्मिने मेरो दोस्रो सन्तान नै मेरो जीवनको अन्तिम सन्तान हुने निश्चित गरेको थियो चाहे त्यो छोरा होस् या छोरी।
र मैले अब उप्रान्त मेरो कोखलाई सन्तान उत्पादनको कारखाना र प्रयोगशाला हुनबाट जोगाएकी थिएँ। त्यतिबेला मेरो निर्णयले सबैभन्दा बढी मेरो बाउ(म बडो सम्मानपूर्वक बाउ भन्छु र तिमी नै सम्बोधन गर्छु, यदि यहाँ बा, बुवा वा बाबा यी शब्द लेखे भने त्यो मेरा लागि बनावटी र झुट हुन जान्छ ।)र आमा चिन्तित हुनुहुन्थ्यो।
मलाई याद छ बाउ मसँग नराम्ररी रिसाउनुभएको थियो भने आमा रुनुभएको थियो। उहाँहरूलाई कहिँ न कहिँ ब्राहमणवादी पितृसत्ताले नराम्ररी गाँजेको थियो। नाती नजन्माइ छोरीको घरबार बस्दैन भन्ने उहाँहरूलाई डर थियो किनकी हामी मधेसको ब्राहमण समुदायमा हुर्किएका थियौं। नत्र हाम्रो गुरुङ समुदायमा त छोराको तुलनामा छोरीको महत्व बढी हुने गर्छ।
मैले महिला कोखलाई सन्तान उत्पादनको कारखाना र प्रयोगशाला यसकारण लेखेकी छु कि हाम्रो समाजमा अधिकांश महिलाले आफ्नो जीवनकालभरि छोराको चाहनामा दुईदेखि छ पटकसम्म गर्भपतन गराउन बाध्य हुन्छन् र आफ्नो जीवनलाई नै जोखिममा पारिरहेका हुन्छन्।
अझै डरलाग्दो तथ्यांक त यस्तो छ कि छोराको चाहनामा भ्रुण हत्या गर्नेमा शिक्षित, शहरीया र स्वास्थ्य क्षेत्रमै कार्यरत पनि छन्। त्यति मात्र होइन, गर्भ निरोधक औषधीको प्रयोग र स्थायी बन्ध्याकरण गर्नुपर्ने जिम्मेवारी पनि महिलामाथि नै थोपरिएको छ। अधिकांश पुरुष यो जिम्मेवारीबाट जोगिन खोज्छन् ,हामीले समाचारमा पढ्दै आएकै छौं। विवाह नामक संस्थाले अधिकांश महिलालाई पुरुषको वंश धान्ने, सन्तान जन्माउने मेसिन र सित्तैमा काम गरिदिने घरेलु मजदुर बनाइरहेकै छ।
कतिपय महिला अझै पनि छोरा नै किन नहोस् जवान भइसक्दा समेत लोग्नेले अर्की श्रीमती ल्याउलान् कि भन्ने त्रासमा वर्षौदेखि गर्भ निरोधक औषधीको प्रयोगद्वारा शरीरलाई रोगको भकारी मात्र गराउँदैनन् आउनै कैयौं छोरी पुस्तालाई यस्तै डर लाग्दो संस्कारको शिकार बनाउँछन्।
यसबारेमा द सेकेन्ड सेक्सकी चर्चित महिलावादी लेखक सिमोन द बोवुआरले सन् १९७२को सुरुवात र १९८२ सेप्टेम्बर बीचमा जर्मन पत्रकार एलिस स्वेर्जरलाई दिएको अन्तवार्ताको नेपाली संगालो ‘महिलासँग गुमाउनलाई केही छैन’ पुस्तकमा स्त्रीत्व र मातृत्वबारे भनेकी छन्, ‘मातृत्व महिलालाई गुलाम बनाउने सशक्त माध्यम हो, यसको अर्थ आमा भएकी सबै महिला गुलाम हुन्छन् भन्ने होइन। आज पनि मानिस महिलाको जीवनको प्रमुख र एकमात्र उद्वेश्य बच्चा जन्माउने मात्र हो भन्ने गर्छन्। वास्तवमै मातृत्व र स्त्रीत्वको यो नयाँ भाष्य महिलालाई त्यहीँ पुरानो दासत्वको अवस्थामा धकेल्ने नयाँ तरिका हो ।’
त्यस्तै गरी उनी गर्भ निरोधक औषधीबारे भन्छिन् ,‘यसले महिलाको स्वास्थ्यमा गहिरो हानी गर्छ। यस्तो औषधी वितरण सुरु भएसँगै गर्भधारणबाट जोडिने सारा जिम्मेवारी दबाबपूर्ण तरिकाले महिलामाथि थुपारिन्छन्। गर्भपतन र गर्भनिरोधक औषधीलाई पुरुषहरू आफ्ना लागि अतिरिक्त सुविधाका रुपमा पनि उपयोग गर्न सक्छन्।
हो, यो संसारमा पुरुषका लागि जति अतिरिक्त सुविधा छ त्यति महिलाका लागि छैनन् र सबै पुरुष त्यति अप्रिय र कठोर पनि छैनन्। कागजमा हस्ताक्षर गरेको करिब ४५ मिनेटमा जब म अप्रेसन रुममा अर्धचेत अवस्थामा थिएँ त्यतिबेला एउटा पुरुष आवाज मेरो कानमा ठोक्कियो, ‘गौरी तपाईंको त छोरी भयो, पहिलो बच्चा नि छोरी है? तपाई आफ्नो निर्णय सच्याउन पनि सक्नुहुन्छ, के गरौं?
त्यतिबेला मैले एक सेकेन्ड पनि विलम्ब नगरी जवाफ दिएकी थिएँ, ‘डक्टर म मेरो निर्णयमा अडिग छु तपाईं कागजमा लेखिएअनुसारको काम सम्पन्न गर्नुस्।’ अनि डक्टरले भनें ‘ब्रेभ गर्ल, अब तपाईंले पटकपटक यो दुःख पाउनुपर्ने छैन। हुन पनि हो हामी महिलाको दुःखको इतिहास करिबकरिब मानव सभ्यता जति नै लामो अनि गहिरो छ र यहीँ दुःखहरुसँग झेल्दाझेल्दै उनीहरूले आफैलाई बिर्सिन बाध्य हुन्छन्। मलाई त्यो समयमा डाक्टरको प्रश्नले खासै असर र महत्व राखेन। तर जबजब समय बित्दै गयो मलाई ती डाक्टरको ब्रेभ गर्ल भनेको वाक्य र मेरो हस्ताक्षरित पत्रमाथि किन पुर्नविचार गर्न भनेका होलान् भन्ने प्रश्नले घेरिरह्यो।
छोरी जन्मिँदा अशिक्षित र चेतनाको अभाव भएका विकटका मान्छे होइन डाक्टरसमेत डराइरहेका थिए। यो समाज कहिलेसम्म छोरीसँग डराइरहला? कहिलेसम्म छोरीले मान्छे भएर जन्मन र बाँच्न यो निषेध तोडिरहनु पर्ला ?
मलाई छोरा या छोरी चाहिएको थिएन बस् दुई सन्तान चाहिएको थियो। त्यो चाहना पूरा हुँदैछ भन्ने कुराले मात्रै पनि म खुसी थिएँ। तर समाजलाई अंश खाने र वंश धान्ने छोरा चाहिएको थियो। उनीहरू बधाई दिँदै निकै सहानुभूतिका साथ मिलाएर भन्थे,‘पीर नगर्नुस् छोरी पनि छोरा जस्तै हो, छोरा नै सम्झनुस्।’ त्यतिबेला मेरो टाउको सबैभन्दा बढी रन्थनिन्थ्यो। र यस्तै सम्झाई र रन्थन्याई आजसम्म पनि विवाह, पार्टी, भोजभतेर र कार्यक्रममा भोगिरहेकै छु। पुराना र केही नयाँ पुस्ताले समेत यस्तै भेटघाटतिर उनलाई कान्छा भनेर सम्बोधन गर्दै तिमी त छोरा भएर जन्मिनुपर्ने नि भनेर भन्दा उनको आक्रोस सहितको असहमतिपुर्ण जवाफ हुन्छ ,‘म कान्छा होइन कान्छी हो, कान्छा त छोरालाई पो भन्छ ...।’ किन हो कुन्नि उनको यस किसिमको जवाफले म भित्रभित्रै खुसी हुन्छु र प्रश्न गर्छु किन यो समाजले छोरीलाई छोरी जस्तै भएर बाँच्न दिँदैन ? किन उसको अस्तित्वलाई सहर्ष स्विकार्दैन? जबकी छोरी विना त यो सृष्टि नै अधुरो र अपुरो छ। खासमा अधुरो, अपुरो र बेकम्मा त हाम्रो शिक्षा प्रणाली, हाम्रो सोच र विश्व विद्यालयतहबाट वितरित सर्टिफिकेट नै छन्। जसले अझै पनि मान्छेलाई मान्छेको रुपमा स्विकार्न सक्ने सम्म पनि बनाएनन्।
यो बडो विडम्बना हो कि २१औं शताब्दिमा पनि लाखौं छोरीहरू गर्भमै तुह्याइन्छन्। जन्मिहाले पनि मान्छे भएर बाँच्नकै लागि संघर्ष गरिरहन्छन्। उसो त जीवनमा संघर्षले नै मानिसलाई निखार्छ अनि तिखार्छ। तिमी यहीँ संघर्षको बाटोमै सपनाको फूलहरू फुलाउँदै आउँदो छोरी पुस्ताको बाटोमा सुगन्ध छरिरहनु। गृष्म ऋतुकी गृष्मालाई ११ औं जन्मोत्सवको धेरै धेरै शुभकामना!