अफिसका सहकर्मी साथीहरुलाई कोभिड-१९ को दोस्रो लहरले क्रमशः संक्रमित बनाउँदै गएको थियो। पहिलो लहरको प्रकोपबाट जोगिएको यो ज्यान यसपालि अछुतो नरहने होकि भन्ने शंकाले घरी घरी सताउनु स्वाभाविक नै थियो।
अधिकांश बैंक कर्मचारीहरुले कोभिड भ्याक्सिनको पहिलो र दोस्रो डोज लगाइसक्दा पनि आफूले नलगाएको कमजोरी महशुस त्यतिखेर भयो जब कोभिडको दोस्रो लहरले जनजीवन झन्-झन् आक्रान्त बनाउन थाल्यो।
नेपाल सरकारले प्राथमिकतामा राखी भ्याक्सिन लगाउन आग्रह गरेको र बैंकको मानवश्रोत विभागले पटक-पटक जानकारी गराँउदा समेत बैंकका कतिपय कर्मचारीहरुले कोभिड-१९ भ्याक्सिनमा उदाशीनता देखाउनु निकै ठूलो भुल थियो।
जनजीवन त्रासदिपूर्ण बन्दै गएपछि वीर हस्पिटलमा गई चाइनिज भ्याक्सिनको पहिलो डोज लगाएँ। खोप लगाउनु अघि र खोप लगाएको भोलिपल्टसम्म आफू सदा झैँ निकै स्वस्थ भएको महशुस भइरहेको थियो।
आत्मबल यतिसम्म उच्च थियो कि मलाई कोरोनाले छुँदैन र छोइहाल्यो भनेपनि कुनै लक्षण नै देखिने छैन भन्ने सकारात्मक सोच मनभित्र भित्रै आइरहन्थ्यो। नियमित योग, ध्यान एवं स्वस्थ र सन्तुलित खानाले पनि मानिस भित्रको आत्मविश्वासलाई उँचो बनाइरहँदो रहेछ।
खोप लगाएको दोस्रो दिनको रात जिउ दुखेको एवं अचानक कमजोरी महशुस हुन थाल्यो। अफिस नगई घरमै आराम गर्न परिवारका सदस्यहरुले अनुरोध गर्दागर्दै पनि मैले अफिस जाने निर्णय गरें। अफिसमा आफू सचेत एवं संयमित भएर बसी, सुरक्षाका उपायहरु अपनाई आफूमा देखिएका लक्षणहरुको बारेमा आफ्नो विभागका कर्मचारीहरुलाई जानकारी गराएँ।
'यस्तो अवस्थामा घरमै आराम गर्नु उचित हुन्छ, अफिसको पिर नगर्नु हामी म्यानेज गरिहाल्छौ नि सर' भन्ने सल्लाह एवं सुझाव मेरा सहकर्मी साथीहरुबाट आइरह्यो।
निकै नै जिम्मेवार एवं गतिशील कर्मचारीहरु भएको अब्बल दर्जाको टिम भएमा जस्तोसुकै जटिल परिस्थितिमा पनि कार्यालय व्यवस्थापन गर्न कठिनाइ नहुने रहेछ। मिति २०७८ वैशाख १९ गते अफिस हाजिर भइसकेपछि अवस्था झन् कमजोर भएको महशुस सुरु हुने वित्तिकै कान्तिपुर डेन्टल अस्पताल बसुन्धारा पुगी पिसिआर जाँच गराएँ।
बेलुका घरमा खाना खाइसकेर सोफामा बस्दै टिभी हेर्दै गर्दा मोबाइलमा म्यासेज आउँछ र सिटी भ्यालु १४/१५ सहित कोरोना पोजेटिभ रहेको रिपोर्ट देख्नेबित्तिकै जुरुक्कै सोफाबाट उठी हतारमा श्रीमतीलाई सो खबर सुनाएँ।
हुन त लक्षण अनुसार कोभिड पोजेटिभ नै भएको हुनसक्ने अनुमान गरी रिर्पोट आउनु अगाडि नै म सचेत भई आइसोलेसनमा रहन सुरु गरिसकेको थिएँ।
कोभिड पोजेटिभको म्यासेज आउने वित्तिकै म कत्ति पनि अतालिनु परेन किनकि मलाई थाहा थियो, म बैंकर त्यो पनि ग्राहक सेवामा अग्रपंक्तिमा खटिने कर्मचारीलाई जुनसुकै बेला पनि कोभिड संक्रमित हुन सक्दछ।
म लगायत मेरो अफिसको टिम गत वर्षको कोरोनाको विषम परिस्थितिमा पनि उच्चस्तरको ग्राहक सेवा प्रदान गरी ग्राहकहरुको मन जित्न सफल भएका थियौँ। कुनै कर्मचारीमा हतासपन एवं मनोबल गिरेको अवस्था पनि थिएन।
विभागमा कर्मचारीहरुसँग सुरक्षाका उपायहरु सम्बन्धमा निरन्तर छलफल गरी अफिसमा मात्र नभई घर समाजमा पनि कसरी सुरक्षित रहने भन्ने विषयमा गहन छलफल पनि भइरहन्थ्यो तर महत्वपूर्ण र प्राथमिकतामा परेको ट्रेड फाइनान्स सम्बन्धी कार्यमा संलग्न भएकोले सकेसम्म ग्राहक सेवामा कुनै असर पर्न दिनु हुँदैन, बरु ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्ने कार्यमा हामी कटिबद्ध भएर लाग्नु पर्दछ भन्ने विषयमा हामीहरुमा मतऐक्यता नै थियो।
कोभिड पोजेटिभको रिपोर्ट पाएको सुरुको क्षणलाई रमणीय र सकरात्मक बनाउने सोच मेरो अन्तर्स्करणबाट आउन थाल्दछ। त्यसैले कोभिडलाई गम्भीर रुपमा नलिने प्रण गर्दै एकैछिन गीत बजाएर नाच्ने तीव्र इच्छा मनभित्र उत्पन्न हुन्छ।
सानो छोरालाई युट्युबबाट लोक गीत बजाऊ भन्ने बित्तिर्क 'रुकुमको हानमाया चौका दाउ हुकुमको' भन्ने लोक गीत बज्न सुरु हुन्छ। म नाच्दै गर्दा ठूलो छोराले मोवाइलबाट भिडिओ खिची मलाई झनै उर्जाशील बनाउन मद्धत गरेको क्षण रोचक थियो।
'यस्तो अवस्थाम के गरेको कान्छा, झन् गाह्रो हुन्छ नि!' भन्दै आमा मलाई सम्झाउन खोज्नु हुन्छ। आफ्नो सन्तानको माया र पिर कति हुन्छ त्यो आमाहरुलाई नै थाहा हुन्छ।
'आमा भई बोकी हेर सन्तानका पिरहरु, आमा भई बाँढी हेर सन्तानका खुसीहरु' भन्ने स्वर्गीय तारा देवीका यी मर्मस्पर्सी हरफहरु त्यसै लेखिएका होइनन्। जिउ अत्यन्त गलेको र ज्वरो आउन सुरु गरेको अवस्थामा १०-१५ मिनेट नाचेपछि यसको भिडिओ फेसबुकको माई स्टोरीमा अपलोड गरेँ।
नाचको बारेमा गज्जबका कमेन्टहरु भटाभट आउन थाले तर त्यो नाचभित्रको वास्तविक रहस्य भने अर्कै थियो जसलाई स्टोरी हेर्ने साथीहरुले कसरी महशुस गर्न र देख्न सक्छन् र?
मैले आफू कोभिड पोजेटिभ संक्रमित भएको सन्देश फेसबुक मार्फत अरुलाई जानकारी गराउन उचित देखिनँ। त्यसैले कोभिड संक्रमित भएको स्टाटस र फोटोहरु फेसबुकमा अपलोड गरिनँ।
यो महाव्याधिको बेलामा संक्रमणको नकरात्मक सन्देश सोसल मिडिया मार्फत अरुलाई जानकारी गराउँदा आफूलाई एकैछिन आनन्द आउला तर समाजमा त्यसको प्रतिकूल प्रभाव पर्दछ भन्ने विषयमा म सचेत थिएँ।
घरमा आइसोलेसनलाई कडा बनाउने सल्लाह श्रीमती लगायत परिवारका सदस्यहरुसँग गरे। छुट्टै कोठा, छुट्टै बाथरुम, छुट्टै भाँडाकुडाँ लगायत दैनिक प्रयोग गर्ने सामग्रीहरुलाई पूर्णयता आइसोलेट गरेँ। प्लान्ट लभर मेरी श्रीमतील मेरो कोठाभित्र यत्रतत्र अक्सिजन प्रदान गर्ने हरिया प्लान्टहरुका गमलाहरु ल्याएर राखेकी थिइन्।
सबैभन्दा ठूलो पिर मलाई आफ्नो भन्दा पनि वृद्ध बाबा-आमाको थियो। दुवैजना दीर्घरोगी भएको कारण उहाँहरुलाई यो संक्रमणबाट जोगाउने मुख्य चुनौती मेरै अगाडि आयो। बाबा-आमा दुवैलाई पनि छुट्टै कोठामा आइसोलेसनमा राख्ने निर्णय गरें। छुट्टै बाथरुम लगायत म संक्रमित बिरामीले गरेको आइसोलेसनको नियम उहाँहरुमा पनि लागु भयो।
घरको माथिल्लो तलाबाट तल आउने अनुमति उहाँहरुलाई थिएन। खाना, चिया खाजाको लागि भान्सामा प्रवेश प्रतिबन्द थियो। घरका अन्य सदस्यहरुसँगको भेट पनि प्रतिबन्ध थियो। घरी-घरी यो मनमा कोठा भाडामा बस्ने ती तमाम व्यक्तिहरु जसलाई पनि कोभिड पोजेटिभ भइरहेको हुनसक्छ, उनीहरु कसरी होम आइसोलेसनमा बस्दछन्? भन्ने जस्ता प्रश्नहरु आउन थाल्दछ।
एउटै कोठामा परिवारका सदस्यहरु बसी आफ्नो जीविका चलाउन बाध्य व्यक्तिहरुलाई कहाँ छ आइसोलेसन? परिवारको दैनिक गुजारा चलाउन सक्ने अवस्था छैन, हस्पिटलसम्म पुग्न सहज छैन, अस्पताल पुगिहाले पनि उपचार गर्ने पैसा छैन, सरकार लगायत विभिन्न तहबाट खोलिएका आइसोलेसन सेन्टरसम्म पुग्न उनीहरुको पहुँच छैन। विचरा उनीहरुको अवस्था कति दयनीय होला भन्ने कारुणिक तस्बिरहरु यो मनभित्र प्रस्फुटित हुन थाल्दछ।
पूर्ण रुपमा आइसोलेसनमा बसेको प्रथम ५ दिनसम्म स्वास्थ्य अवस्थामा ठूलो समस्या नदेखिएपनि त्यसपछिका दिन र रातहरु निकै नै कष्टकर भए। खोकिले बोल्न नै नसक्ने गरी च्याप्न थाल्यो। स्याँ स्याँको अवस्था, ज्वरो आएको, शरीर अत्याधिक दुखेको अनुभव मलार्ई भइसकेको थियो।
निकै राम्रो पारिवारीक सम्बन्ध भएका अत्यन्त सहयोगी ट्रमा सेन्टरका वरिष्ठ डाक्टर एवं मेरा प्रिय भाइ नविन पोख्रेल एवं बहिनी मेनुका खड्कासँग मैले मेरो स्वास्थ्य अवस्थाको बारेमा निरन्तर सरसल्लाह भने लिइरहेको थिएँ। सो बाहेक कोरोना जितेका साथीभाइहरुसँगको अनुभव पनि सापटी लिइरहेको थिएँ।
अवस्था कमजोर भएको महशुससँगै छोराले मेडिकलबाट हतार-हतार अक्सिमिटर लिएर आइपुग्दछ र अक्सिजनको मात्रा चेक गर्ने वित्तिकै मेरो होस उड्न थाल्दछ। किनकि अक्सिमिटरले अक्सिजनको लेभल ९० भन्दा कम देखाइरहेको थियो। डाक्टरसँग अस्पताल जाने परामर्श लिएपछि तुरुन्तै आफै स्कुटर चलाएर कान्तिपुर डेन्टल अस्पताल पुगेँ तर म त्यहाँसम्म कसरी पुगेँ भन्ने मलाई नै विश्वास थिएन।
किनभने खुट्टा पनि टेक्न नसक्नगरी गलेको मैले स्कुटर ड्राइभ गर्न खोज्नु मूर्खता नै थियो तर पछि मलाई लाग्यो त्यो मेरो दृढ आत्मविश्वासको प्रतिक थियो। कोभिडलाई पराजित गर्ने दृढ इच्छाशक्ति थियो र यो सुन्दर जीवन अझै धेरै जीउने असीम तृप्ती थियो।
कोभिड १९ सँग सम्बन्धित अत्यावश्यक परीक्षणहरु गरिसकेपछि आफ्नो स्वास्थ्य अवस्था त्यति खराब नरहेको र हस्पिटल भर्नाको लागि तत्काल आवश्यक नभएको डाक्टरको सल्लाह पाएपछि मेरो मन धेरै नै उत्साहित हुन पुग्दछ। दुई दिनसम्मको हस्पिटलसम्मको दौडाहामा स्वास्थ्यको महत्व के रहेछ भन्ने कुराले मनमा घोच्न थाल्दछ।
मानिसहरु मरिरहेको, लासहरु आर्मीले हस्पिटलबाट झिक्दै शवबाहनमा राख्दै गरेको, हस्पिटलमा आइसियू भेन्टिलेटरमा बिरामीहरु छटपटिइरहेको, बिरामीको लागि बेडको अभाव, एउटै बेडमा दुई/तीन जनासम्म बसेर अक्सिजन लिइरहेको एवं हस्पिटल संचालक एवं स्वास्थ्यकर्मीहरुको निरीह अवस्थाले मलाई महात्मा गान्धीको एउटा भनाइ याद आउन थाल्दछ 'वास्तविक धन भनेको स्वास्थ्य हो नकि सुन र चाँदीका टुक्राहरु।'
हुन पनि धनी र सम्पनशाली व्यक्तिहरुको धनसम्पत्तिले पनि उनीहरुलाई जीवन बचाउन नसकेका दृष्टान्तहरु दिन प्रतिदिन आइरहेका छन्। त्यसैले स्वास्थ्य कमजोर बनाई धन संग्रहमा मात्र तल्लीन हुनु नहुने र धनसम्पत्ति, पद, प्रतिष्ठाभन्दा धेरै माथि आफ्नो स्वास्थ्य रहेको हुन्छ भन्ने चिन्तनहरुमा म घोत्लिन थाल्दछु।
परिस्थिति झन्-झन् खराब हुने होकि भन्ने पिर पनि सँगसँगै मेरो मानसपटलमा आइरहेकै हुन्छ। श्रीमतीको काउन्सेलिङ, सल्लाह र अथक प्रयासले म भित्रको सकारात्म उर्जामा भने कति पनि कमी आइरहेको थिएन। परिवारको सक्रिय साथ सहयोग र मायाले पनि रोगसँग लड्ने प्रतिरोधात्मक शक्तिमा बढोत्तरी गर्न ठूलो मद्धत गर्दोरहेछ।
१८ दिनसम्मको होम आइसोलेसन बिर्सन लायक रह्यो। अव्यक्त नै भएपनि मेरो स्वास्थ्य अवस्थाको सबैभन्दा ठूलो पिर मेरी श्रीमतीलाई नै भएको आभाष मैले पाइरहेको थिएँ। दैनिक ६/७ पटकसम्म पानीको बाफ, मेडिकल सप्लीमेन्ट, गुर्जो लगायतका जडिबुटीहरुको निरन्तर प्रयोग, माछा मासु, फलफुल प्रशस्त झोलिला खानेकुराहरुको उचित एवं सन्तुलित प्रयोगले रोग प्रतिरोधात्मक क्षमतामा बढोत्तरी गर्न मलाई मद्धत गरिरहेको थियो।
लजिस्टिक सर्पोटको जिम्मेवारी भने ठूलो छोराको काँधमा परेको थियो। खाद्य सामाग्री, औषधि तथा भिटामिन सप्लिमेन्टहरु, फलफूल, माछा मासु लगायतका आवश्यक पर्ने सामाग्रीहरु जुनसुकै ठाउँमा पुगेर भएपनि छोराले ल्याउन सक्ने भएको देख्दा भित्र भित्रै मेरो मन फुरुंग भइरहन्थ्यो।
'छोरालाई केही नहोस्, छिट्टै नै निकोहोस् भगवान' भन्ने प्रार्थना बाबा-आमाले गरिरहनु भएको थियो। त्यसैगरी आफन्तहरुले पनि फोनमार्फत निरन्तर चासो एवं हौसला प्रदान गरिरहनु हुन्थ्यो। छरछिमेकमा आफू कोभिड संक्रमित भएको जानकारी नगराएपनि लामो समयको आइसोलेसन बसाइबाट मलाई कोभिड पोजेटिभ भएको बारेमा उहाँहरुले सहजै अनुमान गर्न सक्नुहुन्थ्यो।
समस्या बढ्दै गएपछि वैकल्पिक घरायसी उपायहरुको बारेमा युट्युबमा भिडिओहरु खोजी गर्न थालेँ। अनलाइन मीडियाहरु पढ्न थालें। डिप व्रिदिङ अभ्यास र प्राकृतिक भेन्टिलेटर (प्रोनिङ) का अभ्यासहरु सुरु गर्दै गएँ।
यतिसम्म कि दिनभरी ५-६ घण्टासम्म पनि प्रोनिङ पोजिसनमा रहेर समय बिताउनु पर्ने अवस्था आयो। त्यसैगरी पूरा रातभरि घोप्टो परेर सुत्नु पर्ने अवस्था पनि सहज थिएन।
पहिलेदेखि नै नियमित रुपमा शारीरिक व्यायाम, योग, प्राणायामहरु लगायत डिप व्रिदिङका अभ्यासहरुको बारेमा जानकार भएको कारण यो संकटको बेला ती उपायहरु मेरो लागि निकै नै लाभकारीसिद्ध भए।
समय बिताउने माध्यम अब सोसियल मिडिया बन्न पुग्दछ। तर फेसबुक लगायतका सोसियल मिडियामा कोभिड-१९ को नकरात्मक सन्देशमात्र हेर्दा मलाई ज्यादै नै उद्धेक लागेर आउँदछ। फेसबुकमा मानिसहरुका मरेका तस्बिरहरु र श्रद्घाञ्जलीका वक्तव्यहरु पोष्ट गर्न मानिसलाई कति हतार?
यो प्रकोपबाट छटपटाइरहेका संक्रमितहरुको लागि मृत्युका समाचार कति पिडादायी हुन्छन् र मनोबल कसरी कमजोर बनाउँदछ भन्ने कुरा स्टाटस सम्प्रेषण गर्नेलाई के थाहा? त्यसैकारण संक्रमण भएको ७ औँ दिनपछि मैले फेसबुक एकाउन्ट डिएक्टिभेट गरिदिएँ।
जसले मलाई मानसिक रुपमा केही हदसम्म तनावमुक्त गरायो। संक्रमित भएको १४/१५ दिनसम्म पनि स्वास्थ्य अवस्थामा खासै सुधार नहुँदा मानसिक रुपमा विकृत सोचाइहरु पनि मनभित्र उत्पन्न नभएका होइनन्। के अब यत्ति नै हो त जीवन? भन्ने जस्ता प्रश्नहरुपनि मनभित्र नउब्जिएका होइनन् तर पारिवारिक सहयोग, उच्च मनोबल एवं सचेतनाले गर्दा यो रोगले मलाई पराजित सकेन।
खासगरी मिक्सिङ, मेडिसिन, मनिटरिङ, मिल्स, माइन्डसेट र मुभमेन्ट टुवार्ड्स हस्पिटल जस्ता सिक्स ‘एम’ एप्रोच अनुशरण गरेको कारण यो रोगसँग संघर्ष गरी विजय हासिल गर्न सकेको अनुभूति मलाई भएको छ। त्यसैगरी साथीभाइ, सिनियरहरु, इष्टमित्र लगायतबाट पाएको सुभेक्षाले पनि यो वेलामा मनोबल उच्च बनाउन निकै ठूलो मद्धत गर्दो रहेछ।
म जस्ता कैँयन बैंकर कर्मचारीहरु अत्यन्त ठूलो जोखिम उठाएर ग्राहकलाई सेवा दिइरहेका छन्। रकम जम्मा गर्ने र झिक्ने, रकम ट्रान्सफर गर्ने, प्रतितपत्र, टिटि, बैंक जमानत जारी गर्ने लगायत अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यमा खटिएका कर्मचारीहरु प्रत्यक्ष रुपमा हरेक दिन ग्राहकको सम्पर्कमा बस्नुपर्ने हुन्छ र तरुन्तै सेवा प्रदान गर्नुपर्ने हुन्छ।
स्वास्थकर्मी र सुरक्षाकर्मी लगायतको जोखिमको बारेमा निरन्तर चासोका खबरहरु आइरहेका हुन्छन तर बैंकरहरुले पनि त यो संवेदनशील अवस्थामा आफ्नो स्वास्थ्यको जोखिम उठाएर ग्राहकहरुलाई अटुट रुपमा वित्तीय सेवा प्रदान गरिरहेका छ्न्।
त्यसैले उनीहरु पनि सम्मान एवं कदरका हकदार हुन्। बैँक कर्मचारीहरुको सुरक्षाको लागि अपनाइएका उपायहरु पनि पर्याप्त देखिँदैनन्। पर्याप्त सुरक्षाका उपायहरुको व्यवस्था नगरी कर्मचारीहरुलाई कार्यक्षेत्रमा खटाउँदा उनीहरुको मनोवलमा एवं घर परिवारमा समेत कस्तो प्रतिकूल प्रभाव परिरहेको हुन्छ भन्ने बारेमा गम्भीर रुपमा सोच्नुपर्ने हुन्छ।
स्वस्थ शरीर आत्माको लागि आगन्तुक कक्ष हो भने रोगी शरीर कैद। समयमै यो कुरामा ध्यान दिन सकिएन भने आइसोलेसन कैदी भई दुःख पाउने निश्चित प्रायः छ। स्वास्थ्य नै जीवनको मूल धन रहेछ।
सर्वप्रथम हामी आफैँ आफ्नो स्वास्थ्यको सम्बन्धमा सचेत र सजग बनौं। तपाईं हाम्रो जीवनको बारेमा चासो र चिन्ता लिने फुर्सद यो देशमा कसलाई छ र? सावधान! अक्सिजन र भेन्टिलेटर नपाएर मर्नु पर्ने देशमा छौं हामी। कमाउनै पल्केकाले अझै कमाउने अवसर पाइरहेका छन् र राजनीति गर्नेहरुकले सुन्दर नृत्य प्रस्तुत गर्ने अवसर।
नागरिकहरुको ज्यान गइरहेको छ भने सरकार केबल उनीहरुको दैनिक मृत्यु गणना गदै बसिरहेको छ। तसर्थ, बैंकहरुमा स्वास्थ्य सामग्रीहरुको उपलब्धतामा कत्ति पनि कन्जुस्याइँ नगरौँ, अत्यावश्यक सेवा प्रवाहमा कार्यरत कर्मचारीहरुलाई प्रोत्साहन गरी मनोबल उच्च बनाऔँ र यस्तो असहज परिस्थितिमा पनि ग्राहकहरुलाई अझ जिम्मेवारीपूर्वक सेवा प्रदान गर्ने प्रण गरौं।
(लेखक नेपाल बैंक लिमिटेड, प्रधान कार्यालय काठमाडौँका वरिष्ठ प्रबन्धक हुन्।)