फेरि एकपल्ट स्वास्थ्यकर्मी कुटिएको घटना समाचारमा जताततै छाएको छ। स्वास्थ्यकर्मी पनि रन्थनिएका छन्। तर स्थायी समाधानको सूत्र कसैले दिदैनन्। स्वास्थ्यकर्मीले ‘जेल विथाउट बेल’ चाहिन्छ भन्छन् , तर यो कहिलै लागू हुँदैन। लागू भए पनि आफन्त मर्दा आवेस र उत्तेजनामा आएर गरिने हर्कत निर्मूल हुन्छन् भन्ने के ग्यारेन्टी? यस्ता घटना टुङ्गिसकेपछि शान्त दिमागले गरिने सल्लाहबाट निस्कने निचोडले मात्र स्थायी समाधान आउनसक्छ। नत्र भने यस्ता परिदृश्यहरू आउने जाने भइरहन्छ।
कुनै पनि मान्छेलाई पिट्नु हुँदैन भनेर सबैलाई थाहा छ। पिट्नेलाई कारबाही गर्नुपर्छ भन्न पनि सबैलाई आउँछ। झन् अहिले दिनरात खटिएका स्वास्थ्यकर्मीको पक्षमा बोल्दा सबैलाई आनन्द आउँछ। तर यस्ता घटनाको स्थायी समाधान गर्ने जाँगर कसैलाई चल्दैन। हरेकपल्ट यस्तै हल्लाखल्ला दुई चार दिन चल्छ अनि सेलाउँछ।
कुनै स्वास्थ्यकर्मीले उपचार गरेका बिरामीहरू शतप्रतिशत बाँच्छन् वा उपचारको क्रममा कुनै जटिलता आउदैन् भनेर कसैले दाबी गर्छ भने या त त्यो स्वास्थ्यकर्मीले झुट बोलेको हुन्छ या त उसले धेरै बिरामीको उपचार गरेकै हुँदैन रे। यसबाट प्रष्ट बुझ्न सकिन्छ कि, स्वास्थ्यकर्मीले वा बिरामीका आफन्तजनले चाहँदैमा सबै बिरामीलाई बचाउन सकिँदैन। उस्तै रोग लागेका बिरामीलाई उही स्वास्थ्यकर्मीले उस्तै उपचार गर्दा पनि कसैलाई चाडो कसैलाई ढिलो ठिक हुने वा कसैलाई ठिकै नहुने हुन्छ। त्यसैले उपचार भनेको सम्भावनाको खेल मात्र हो।
हिँडेर आएको बिरामी वा अन्य कुनै रोग नभएको बिरामीलाई कुनै पनि सर्जरी आवश्यक पर्दा सर्जरी पश्चात हजार जनामा एक जनाको मृत्यु हुने आँकडा छ संसारभरि। सर्जनले जति बढी बिरामीको सर्जरी गर्यो उति यस्ता मृत्युको संख्या बढी हुने गर्छन्। एउटा सर्जनले तीन हजार जनाको सर्जरी गर्दा मृत्यु भएका तीन जनाका आफन्तले सर्जनलाई मरणासन्न हुनेगरि पिट्ने हो भने उसले कसरी अन्य बिरामीलाई सेवा दिन सक्छ?
विरामीको अवस्था जटिल भएर अस्पताल भर्ना भई उपचारको क्रममा मृत्यु हुँदा प्रायः कुटाइ खानु पर्दैन। अस्पताल गएपछि शतप्रतिशत ठीक भइहाल्छ भन्ने मानसिकतामा रहेका वा स्वास्थ्यकर्मीबाट भगवानबाट पाउने बरदानझैँ परिणामको चाहना गर्दा नसोचेको परिणाम आयो भने आवेग र उत्तेजना आउने सम्भावना रहन्छ।
स्वास्थ्यकर्मीलाई भगवानको दर्जामा राख्नु जरूरी छैन। वास्तविकता स्वीकार्नुको विकल्प पनि छैन। बेलैमा यस्तो चिन्तन परिवर्तन गर्न सकिएन भने गम्भीर परिणाम आउन सक्छ। अस्पताल लगेपछि सबै बिरामीलाई ठिक हुन्छ भन्ने मान्यता विकसित भयो भने के गर्ने? उपचारको क्रममा कुन् बेला कुटाइ खाइन्छ भन्ने पूर्वानुमान सजिलै गर्न सकिन्छ। ओपिडिमा बिरामी जाँच गर्दा सामान्य व्यवहार मात्र गरेको भए पनि प्रायः कुटाई खानु पर्दैन। चुरोटले क्यान्सरको जोखिम बढाउँछ, किन खाएको भनेर बिरामीलाई रूखो स्वरले हप्कीदप्की गर्यो भने चाहिँ पक्कै पिटाई वा गाली खान सकिन्छ। जटिल रोगको उपचारमा पनि राम्रोसँग काउन्सेलिङ गरिएको छ भने त्यति समस्या पर्दैन।
समाधान के त?
स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेलाई मुद्दा चल्नु, जेल हाल्नु वा कारबाही गर्नुको मतलब भविष्यमा यस्ता दुर्ब्यबहार गर्ने आट् कसैले नगरोस् भन्ने नै हो। तर यो पूर्ण समाधान होइन। कुटाई नै नखाने वातावरण बनाउनु चाहिँ बुद्धिमानी हो। बिरामीको मृत्युको घटना बताउनु अघि सुरक्षाको विधि अपनाउन अस्पतालमा भूतपूर्व सेना वा प्रहरीलाई त्यस्तो जिम्मा दिँदा उपयुक्त हुनसक्छ। कुटाई खानबाट जोगाउन सकिन्छ।
बिरामीका आफन्तलाई उपचार सम्बन्धि चित्त नबुझेमा वा आफन्तको मृत्युमा स्वास्थ्यकर्मी वा अस्पतालको कमजोरी छ भन्ने लागेमा निस्पक्ष छानबिन हुने व्यवस्था मिलाउनुपर्छ र रिपोर्ट अनुसारको कारबाही अगाडि बढाउनुपर्छ। यदि मृत्युको कारण स्वास्थ्यकर्मी वा अस्पताल रहेछ भने कारबाही गरेर देखाउन पनि सक्नुपर्छ। अनि मात्र आम मानिसमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीप्रति विश्वास पैदा हुँदै जान्छ।
बेलैमा स्वास्थ्यकर्मी र बिरामी पक्षबीच बेलाबखत आइलाग्ने यस्ता समस्याको समाधान निकाल्न सकिएन भने स्वास्थ्यकर्मी र आम मानिसले भविष्यमा अझ दुःख पाउदै जाने पक्का छ। अस्पतालले बाउन्सर राखेर आफ्नो सुरक्षाको ब्यवस्थापन गर्न खोज्यो भने, चिकित्सकले परेको बेला आफ्नो सुरक्षाको लागि गुन्डा पाल्न थाले भने साच्चै अन्यायमा परेका बिरामी र आफन्तले चुइक्क पनि बोल्न पनि पाउँदैनन्।