छोरोलाई स्कुल पठाउने तयारीकै क्रममा आमाले ‘बाबु, सक्स लगाऊ’ भन्दै एक जोडी मोजा हातमा हल्लाउँदै छोरातर्फ लम्किइन्।
उनकै भाषामा ‘सक्स’ लगाइदिँदै आमाले थपिन्, ‘मैले लन्चमा म्याङ्गो र केही नट्स राखिदिएकी छु, सबै फिनिस गर्नु है त।’ छोरो पनि के कम, ‘हवस् मामु, सबै फिनिस गर्छु,’ भन्दिहाल्यो ।
स्कुल जाँदैगर्दा बाटोमा चर्दै गरेको एउटा गाईलाई देखाउँदै आमाले भिनिन्, ‘छोरा, हेर काउ’ । छोराको पनि अंग्रेजी कहाँ कम थियो र? युकेजीमा अध्यनरत उसले बाटोमा सुतेको एक कुकुरलाई देखाएर फ्याट्टै भनिदियो, ‘मामु, हेरिस्यो त डग।’
दिउँसो खाजा खाने क्रममा शिक्षीका उसको नजिक आएर भनिन्, ‘रमेश, आँप खाएको? उसले मुख बिगार्दै जवाफ दियो, ‘होइन म्याम, म्याङ्गो खाएको।’
हाम्रो समाजमा अंग्रेजीका अतिरिक्त अन्य भाषाले पनि नेपाली भाषिक मर्यादालाई बञ्चरो हानेका छन्। छोरालाई बेटा, छोरीलाई बेटु र छोराछोरीले बाबुलाई पापा आदि यसका ज्वलन्त उदाहरण हुन्। यी प्रस्तुत गरिएका प्रतिनिधिमूलक घटनाले नेपाली समाजका विषेशत मध्यमवर्गीय परिवारलाई चित्रण गर्छन्।
छोराछोरीले अंग्रेजी वा अन्य भाषाका केही शब्द बोलिदिँदा, र ती भाषाका गीत गुनगुनाइदिँदा गर्वले छाती फुलाउने प्रवृति भएका आमाबाबु छोराछोरीको बोली फुट्न नपाउँदै रातोलाई रेड, नाकलाई नोज, औलालाई फिंगर जस्ता अंग्रेजी सिकाउन थाल्छन्।
काकालाई देखाएर अंकल र काकी, सानिमा, फुपूलाई आन्टी भन्नु त नवसंस्कृति नै भइसक्यो, जसकाकारण ठूला भइसक्दा पनि नानीबाबुहरू ‘पचास भनेको कति हो’ भनेर प्रश्न गर्ने गर्छन्।
आधुनिक र उच्चकुलीन बन्ने चाहना तथा अंग्रेजी मोहका कारण आफ्नो भाषा, मौलिक संस्कृति, धर्म, परम्परा र संस्कार जस्ता विषयमा अविभावक संवेदनशील नभएको हाम्रो समाजमा अनेकौं उदारहण छन्।
अझ भयाभव स्थिति त नेपाली आमाबाबुबाट विदेशमा जन्मिएका बालबालिकाको देखिएको छ। नेपाली राम्रोसँग बोल्न नजान्ने यी बालबालिकामा भाषा, संस्कृति, परम्परा मात्र नभई नेपालीपन समेत हराउँदै गएको अनेकौं उदाहरण नभएका होइनन्।
अझ विदेशमा जन्मिएकाहरू न त नेपाली नै हुन सक्छन्, र त उताकै जस्ता देखिन्छन्। उनीहरु त्यस देशका न त खाँटी नागरिक भए, न त नेपाली रहन सके। आफ्नै भाषा र संस्कृतिमा गर्व गर्ने प्रवृत्तिको कमी र मातृभाषा बोल्न अप्ठ्यारो लाग्यो भनी अन्य भाषाको सजिलोपन देख्ने नवविकसित चलनले परान्तमा यो दुबै लोप नहोला भन्न सकिन्न किनकि भाषा र संस्कृतिको अस्तित्व, हामीमै निर्भर हुन्छ।
अझ, भावीपुस्ताले आफ्नो मातृभाषामा आफूलाई अभिव्यक्त गर्न सक्दैनन् किनकि उनीहरूले आफना अनेकौं शब्दहरू गुमाइसकेका हुनेछन्।
कसैकसैले प्रश्न गर्लान् के भाषा हराउँदा हामी हराउँछौं? खुकुरीको चोट त अचानोलाई मात्र थाहा हुन्छ भनेझैं भाषा र संस्कृति हराएको पीडा उनीहरुलाई थाहा हुन्छ, जस्को भाषा र संस्कृति हराएकाको छ वा लोप हुँदै गएको छ ।
अझ, छोराछोरीहरुले वा नयाँ पुस्ताले आफनो भाषा बोल्न र आफनो संस्कृति छाडेको खण्डमा सम्पूर्ण नेपाली भाषी र नेपालमा आफ्नो मातृभाषा बोल्नेका लागि अभिशाप नै साबित हुने पक्का छ ।
जसले आफ्नो मातृभाषा बिर्सन्छ, उसले आफ्नो संस्कृति र सम्पदाको वास्तविकस्तरमा आनन्द लिन सक्दैन किनकि, भाषा र संस्कृतिले नै आफ्नो परिवार र समाजलाई बाँधेर राखेको हुन्छ ।
तर आफ्नो भाषाभन्दा पनि अंग्रेजी लगायतका अन्य विदेशी भाषालाई जोड दिइरहने हो भने ती दिनहरू नआउलान् भन्न सकिन्न। खासमा भन्ने हो भने केही अभिभावक आफ्ना बच्चालाई विश्वव्यापी नागरिक बन्न उत्प्रेरित गर्छन् र त्यो अंग्रेजी भाषाको माध्यमबाट ।
हो, अहिलेको विश्व परिवेशमा अंग्रेजी भाषा त अत्यावश्यक भइसकेको छ। यो भाषा सिक्न र जान्न अत्यावश्यक छ। सबैले अंग्रेजी भाषा सिक्नैपर्छ। राम्रोसँग बोल्न र लेख्न जानेको त झनै राम्रो।
अझ सके, आफना छोराछोरीलाई अन्य भाषामा पनि पोख्त बनाउँदा झनै राम्रो । तर, आफनो भाषालाई कम महत्व दिएर होइन, वा रातोलाई रेड र कुकुरलाई डगबाट सुरु नगरेरै पनि अंग्रजी जान्न सकिन्छ।
हो, हाम्रो भाषा नबुझ्ने देशमा वा अंग्रेजी बोलिने देशमा चाहिँ रातोलाई रेड भन्नैपर्छ। हाम्रो देशमा केही मध्यमवर्गका आमाबाबुहरु अंग्रेजीलाई जीवनको अर्को कौशलको रूपमा व्यवहार गर्छन्। के बुझ्न जरूरी छ भने अंग्रेजी एउटा भाषा हो। यसबाट तपाईंको बुद्धिमत्ताको परीक्षण हुन सक्दैन ।
यो भाषा बोल्दैमा वा औंलालाई फिंगर भनेर सिकाउँदैमा न त छोराछोरीको बौद्धिकताको मापन हुन्छ, न त अविभावककै। यो नसम्झौं कि, रातो रंगलाई रेड भनिएन भने आफूलाई हिनताबोध भयो भनेर। फेरि भन्न चाहेँ, नाकलाई नोज भन्दैमा श्रेष्ठता र उच्चवर्गको अनुभूति झल्किँदैन।
यसो भन्दैमा आफ्ना छोराछोरीलाई अन्य भाषा बोल्नै नलगाउने वा नसिकाउने भन्ने चाहिँ होइन । कुनै पनि व्यक्तिको संस्कृति, भाषा र परम्परा उनीहरुको पहिचान हो ।
सबैमा आ-आफ्ना भिन्नभिन्न भाषा, संस्कृति र परम्पराहरू हुन्छन्, जुन उनीहरू पालनाका साथै अभ्यास पनि गर्ने गर्छन् ।भाषा, संस्कृति र परम्पराले मूलतः हाम्रो पहिचान दिन्छन् ।
अस्तित्वको बोध गराउँन् र केही हदसम्म विचार र मौलिक जीवन जगतलाई झल्काउँछन् । यी हाम्रा सामाजिक विरासत हुन् । अन्त्यमा ‘लर्न एज मेनि ल्याग्वेजेज एज यु क्यान, बट नट एट दि कस्ट अफ योर ल्याङ्ग्वेज, कल्चर एण्ड ट्रेडिशन, अर्थात भाषा जति पनि सिकौं , तर आफनो भाषा, मौलिक संस्कृति र परम्परालाई बिर्सेर होइन।’
आफ्नो भाषालाई गोडमेल र मलजल गरी अन्य भाषाद्वारा उकेरा लगायौं भने मात्र आफ्नो भाषा , राष्ट्रियता र मौलिकता पिरामिड भई चुलिन्छ र राष्ट्र समृद्ध बन्छ।