कोभिड-१९ को दोस्रो लहरका कारण हाल विद्यालय र विश्वविद्यालय तहका पठनपाठन र परीक्षाका नियमित कार्यक्रमहरु प्रभावित भएका छन्।
विद्यालय र विश्वविद्यालयहरुले परीक्षा र पठनपाठनलाई निरन्तरता दिन वैकल्पिक विधि खासगरी डिजिटल पद्धतीको अवलम्बन गरेतापनि विविध कारणहरुले गर्दा डिजिटल सिकाइ प्रभावकारी बन्न सकेको छैन।
सिकाइका निम्ति आवश्यक पूर्वाधारको विकास नै नगरी बाध्यात्मक अवस्थामा सुरु गरिएको डिजिटल सिकाइको पहुँच र प्रभावकारीता दुवै पक्षबाट विश्लेषण गरी सिकाइका क्रममा हाल देखिएका अप्ठ्यारा र कमी कमजोरीहरु आगामी दिनमा सुधार गर्नु आवश्यक छ।
पाठ्यक्रमले निर्दिष्ट गरेका विषयवस्तुहरुको सिकाइ वा विद्यालय र विश्वविद्यालयहरुमा पढाइ हुने विषय वस्तुहरुलाई मात्र सिकाइको रुपमा लिने हाम्रो आधारभूत मान्यता र बुझाइलाई परिवर्तन गर्नु आजको प्रमुख आवश्यकता हो।
विद्यार्थीहरु लामो समयसम्म घरमा नै बसिरहनुपर्दा र शैक्षिक संस्थाहरुका नियमित शैक्षिक कार्यक्रमहरु पनि औपचारिक रुपमा सुचारु हुन नसकिरहेको यस परिप्रेक्ष्यमा आम विद्यार्थी र अभिभावकहरुमा एक प्रकारको चिन्ता र निराशा पैदा भएको छ।
पोहोर सालको लकडाउनमा लामो समयसम्म घरमै बसिरहनुपर्दा विद्यार्थीहरुमा विभिन्न किसिमका मानसिक समस्याहरु समेत देखिएको अध्ययन र घटनाहरुले देखाएका छन्।
विद्यार्थीको चिन्तालाई एकैछिन पर राख्ने र अभिभावकहरुको चिन्तालाई नियाल्ने हो भने उहाँहरुलाई आफ्ना छोराछोरीले विद्यालयमा पढेको कुरा बिर्सिएको, छोरा छोरीले धेरै समय सामाजिक संजालमा बिताएको, लामो समयसम्म परीक्षा हुन नसकेको, शैक्षिक सत्र खेर जान लागेको आदि कुराहरुले सताएको देखिन्छ।
तसर्थ, आफ्ना छोराछोरीलाई खाली समयमा शारीरिक र मानसिक रुपले स्वस्थ राख्न, अध्ययन गर्ने बानीलाई निरन्तरता दिन, रचनात्मक, जिम्मेवार र उत्तरदायी बनाउन अभिभावकहरुले सल्लाह, प्रेरणा र हौसला दिइ मार्गनिर्देश गर्न जरुरी छ।
यसका निम्ति सर्वप्रथम विद्यार्थी, अभिभावक र शिक्षकहरुमा शैक्षिक संस्थाबाट कुनै पनि विषयमा औपचारिक रुपमा लिएको ज्ञानमात्र पूर्ण हुन्छ भन्ने मानसिकता हट्न जरुरी छ।
विद्यालय तहमा विद्यार्थीहरुलाई विशेषगरी असल बानी व्यवहार र राम्रो संस्कार सिकाउने र विश्वविद्यालय तहमा व्यवहारिक, सीपमूलक र जीवन उपयोगी शिक्षा दिने कुरा नै हाम्रो शिक्षा प्रणालीको मूलभूत उद्धेश्य हो।
सर्वप्रथम घर परिवार, समाज र आफू वरपरको वातावरण नै विद्यार्थीहरुको धेरै कुराको पाठशाला हो भन्ने कुरालाई आत्मसाथ गर्न जरुरी छ। खासगरी अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई खाली समयमा राम्रो संस्कार, आनीबानी, आफूभन्दा साना र ठूलासँग बोल्ने तरिका र गर्ने व्यवहार र अन्य साधारण घरायसी कामहरु (खाना पकाउने, कपडा धुने, घर सफा गर्ने आदि) सिकाउन सक्छन्।
स्कुल कलेजको नियमित पढाइ बाहेक अन्य अतिरिक्त क्रियाकलापहरुमा पनि छोराछोरीको क्षमता अभिवृद्धि गर्न अभिभावकले प्रोत्साहन गर्नुपर्छ। रुची अनुसारका क्रियाकलापहरु जस्तै नाच्न, गाउन, अभिनय गर्न, कविता लेख्न, चित्र कोर्न आदिका लागि अभिभावकहरुले प्रेरित गर्नुपर्छ।
फुर्सदको समयमा पत्रपत्रिका, उपन्यास, अनुसन्धानमूलक लेख रचना खोज्न र पढ्नका निम्ति पनि सल्लाह दिनुपर्छ। त्यस्तैगरी गाउँघरमा धेरैजसो कृषि पेसामा संलग्न हुने भएकाले सिजन अनुसारका कृषिका कामहरु पनि सिकाउन सकिन्छ।
हाम्रो देश सामाजिक, सांस्कृतिक, भौगोलिक र प्रकृतिक विविधताले भरिपूर्ण भएकाले हामीसँग पाठ्यक्रममा समावेश गरिएका विषय बाहेक अध्ययन र सिकाइका निम्ति अन्य थुप्रै विषय वस्तुहरु छन्। ठाउँ विशेषको जातजाति, समुदाय, सामाजिक मूल्य मान्यता, रितिरिवाज, भेषभुषा, रहनसहन, संस्कृति, जीवनशैली आदि धेरै कुराहरुको अध्ययन गर्न सकिन्छ।
वरपरको पर्यावरण, प्राकृतिक स्रोत र साधनहरुबाट पनि धेरै कुराको जानकारी लिन सकिन्छ। कुनै पनि ठाउँको हावापानी, त्यहाँ पाइने बोट बिरुवा र जनावरहरु, पारिस्थितिक पद्धति, त्यस ठाउँको खेती प्रणाली आदि कुराहरुको अध्ययन गर्न सकिन्छ।
साथै खाली समयमा घरमै बसी विज्ञान र प्रविधिहरुको सदुपयोग गरी इन्टरनेटका माध्यमबाट विश्वमा भइरहेका हरेक क्रियाकलापहरुको जानकारी लिने, तथ्य र सूचनाहरुमा आफूलाई चुस्त राख्ने, नयाँ-नयाँ कुराहरुको खोजी गर्ने, पढ्ने, व्यक्तित्व विकास र क्षमता अभिवृद्धिका लागि राष्ट्रिय र अन्तराष्ट्रिय सेमिनार र कन्फेरेन्सहरुमा सहभागी हुने जस्ता कामहरु पनि गर्न सकिन्छ।
यसका निम्ति अभिभावक, शिक्षक र शैक्षिक संस्थाहरुको संयुक्त प्रयासमा विद्यार्थीहरुलाई स्वअध्ययन र सिकाइको वातावरण श्रृजना गरिदिनु आवश्यक हुन्छ। गाउँठाउँ, समाज, परिवेश, भूगोल र वातावरण बुझ्न सकेको खण्डमा मात्र व्यक्तिले विद्यालय र विश्वविद्यालबाट आर्जन गरेको शिक्षाले पूर्णता पाउँछ।
सिकाइ जीवनपर्यन्त निरन्तर चलिरहने नियमित प्रकृया भएतापनि सिकाइको दायरालाई विद्यार्थी जीवनदेखि नै फराकिलो बनाउँदै विद्यार्थीका फरक क्षमताहरु प्रष्फुटित गर्न सकरात्मक भूमिका खेल्न सकेमात्र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने योग्य र दक्ष जनशक्ती उत्पादन गर्न सकिन्छ।