गत जेठ ९ गते आइतबार म कार्यरत संस्था बिदा भएकोले केही फुर्सदमा नै थिएँ। जीविकोपार्जनका लागि सानो एउटा किराना पसल पनि राखेको थिएँ। पसलका लागि नजिकै रहेको होलसेलबाट केही सामान लिएर फर्कदै थिएँ।
समय बिहानको त्यस्तै नौ बजेको हुँदो हो, छिमेकी दाइकी आमाको देहवासन भएको कुरा सुन्नमा आयो। हुन त आमाको ८६ वर्षको उमेर, उमेर पुगेर नै निधन हुन पुगेको थियो।
महामारीले गर्दा कतै मृत्यु नै भइहाले पनि कोरोनाले नै त होइन भन्ने एक किसिमको शंका हुनु अहिलेका लागि खासै नौलो पनि भएन। एक कान दुई कान मैदान भनेझैँ मानिसहरूको झुण्ड देखा पर्दै गए तर शवको नजिकै हुने मुस्किलले दुई/तीन जना मात्रै थिए।
मोटर बाटो नजिकै घर भएकोले पनि सवारी चालकहरूले गाडी नै रोकेर कोरोनाले मृत्यु भएको भन्ने प्रश्नहरू तेर्स्याइरहे। लगभग एक घण्टा, त्यस्तै १० बजेतिर शव लिएर पशुपतितिर जाने भन्ने कुरा भयो।
घाटतिर जानका लागि खासै मान्छे तयार भएको पनि देखिएन। हुन त परिस्थिति नै त्यस्तै भएर पनि होला। मनले सोच्यो, के साँच्चै परिस्थिति अनुकूल हुन्थ्यो त मान्छेहरू घाटतिर जानका लागि तयार हुन्थे होला र!
अहँ, मेरो मनले पत्याएनँ किनकि काठमाडौँको समाज मिश्रित समाज हो। यहाँ वल्लो घरमा मृत्यु हुँदै गर्दा पल्लो घरमा बाजा पनि बजिरहेका हुन्छन्। यसलाई हामीले खासै नौलो पनि मान्नुपर्दैन तर यो कुराले सहरियाहरूमा अहम्, मानवीयता, र करूणा केही हदसम्म हराएको पो होकि भन्ने लाग्छ।
खैर! मान्छे कम हुने भएपछि मेरो मनले त्यो दृश्य देखेर घरमै बस्न मानेन अनि एकजना साथीसँग बाइकमा म पनि आर्यघाटतर्फ लागेँ।
निषेधाज्ञाले गर्दा बाटोमा जामसाम हुने कुरा पनि भएन। हामी अति नै छिटै पशुपति पुग्यौँ।
२०७७ को कोरोना महामारीदेखि लेख लेख्न बस्दै गर्दा म तेस्रो पटक आर्यघाट गइसकेको छु। यस पटक लास जलाउनका लागि मात्रै हामीले लगभग चार घण्टा पर्खनु पर्यो।
सद्गति गर्नका लागि सुरूमा रसिद काट्ने ठाउँमा नै हामीले लगभग दुई घण्टा पर्खनुपर्यो। रसिद काट्ने ठाउँमा पनि कर्मचारीसँग भनाभन भइरहेको थियो। एकजना मलामी साथीले धेरै नै समय पर्खेपछि पनि पालो नआएको विषयलाई लिएर भनाभन गरिरहेका थिए।
उनको भनाइअनुसार रसिद काट्ने कर्मचारीले फोनबाट नै आफ्नै मान्छेको आफ्नो पालोभन्दा अगाडि रसिद काटेको गुनासो गरिरहेका थिए। यस्तो परिस्थितिमा पनि भनाभन नै गर्नुपर्ने कस्तो अवस्था आयो भनेर दु:ख व्यक्त गरिरहेका थिए।
घाटमा हामी त्यस्तै ११/१२ जना रहेछौँ। आफूसँग मन मिल्ने अनि विचार मिल्ने साथी पनि नभएपछि मैले आफूलाई नितान्त एक्लो महशुस गरेँ। हामीमध्ये पनि केही मलामीहरू शवसँगै ब्रह्मनालतर्फ आवश्यक कार्य गर्दै थिए भने म र एकजना दाइ रसिदका लागि लाइनमा नै बसिरहेका थियौँ।
त्यो दिन गर्मी पनि उत्पातै भयो। अति गर्मी भएपछि त बाँदर पनि बागमतीको पानीमा पौडिँदा रहेछन्। त्यो दृश्य पनि हेर्न लायकको थियो।
लामो समयको पर्खाइमा म घरि यता त घरि उता गरिरहेँ। लास लिएर आउनेहरूको ताँती नै थियो। जलाउने ठाउँहरू पनि एकदेखि दश नम्बरसम्मका रहेछन्। बल्लबल्ल हाम्रो पालो तीन नम्बरमा पर्यो।
चार नम्बरमा भर्खरै ३४ वर्ष पुगेका एकजना नौजवानको मृत्यु भएको रहेछ। कोरोना नेगेटिभ आएर पनि अन्त्यमा उनको दु:खद् निधन हुन पुगेको रहेछ। त्यो कुरा रसिद लिने ठाउँमा तिनै युवाको शव जलाउन आउने मान्छेले कुरा गर्दै थियो।
त्यो घटनाले म विक्षिप्त भएँ। एउटी तीन वर्षकी छोरी पनि छिन् रे। त्यो सुन्दा त मन झनै अमिलो भएर आयो। जता हेर्यो मान्छेका मलिन र पीडादायी अनुहार मात्र देख्न र अनुभूत गर्न सकिन्थ्यो।
यसै बीचमा एकजना भारतीय प्रसिद्ध युवा कवि अभय कुमारले (जो नेपालस्थित भारतीय दूतवासमा कार्यरत थिए) ‘आर्यघाट’ शिर्षकमा लेखेको कविताका पङ्तिहरू मेरो मगजमा फनफनी नाँचिरहेका थिए।
कविता पंक्तिहरू:
जीवनको अन्तिम गन्तव्य हुँ म
यस धरतीमा
यद्यपि कोही आउँदैनन् आफै हिँडेर
मेरो शरणमा
कस्तो आनन्द! मलाई थाहा छ,
तर, शरीरलाई खरानी तुल्याएर
त्यसलाई आदि स्वरूप पञ्चतत्त्वमा मिलाउँदा
उनीहरूलाई पृथ्वीमा अस्तित्वको भारबाट मुक्त गर्दा
हरेक पल सुन्छु म
वेदना, विलाप र भक्कानाहरू
हरेक पल देख्छु म
आँसुमा डुबेका उदास अनुहारहरू-
विलाप गरिरहेका स्त्रीपुरूषहरू
र सुँक्कसुँक्क रोइरहेका बालबच्चाहरू
तर, मेरो अघोर कर्मको प्रशंसाका लागि
हँसिला देखिँदैनन् कतै अनुहारहरू
आखिर, कसले बुझ्ने विवशताका यी पहेँलीहरु?
‘जात्रा’ कविता सङ्ग्रहमा सङ्ग्रहित थुप्रै कविताहरूमध्ये कविको यो कविता मलाई सशक्त लाग्छ। तर मान्छेका लागि सबैभन्दा ठूलो पीडा आफ्नो आफन्त गुमाउँदा नै हुने हो।
उल्लेखित कविता पढ्दा जति मजा लाग्छ, घाटमा नै गएर ती पीडा मिश्रित मलिन दृश्य देख्दा उल्लिखित कवितामा भनेजस्तै आर्यघाटको पक्ष लिएर आफ्ना आफन्तलाई ढाडस दिन त निकै कठिन काम नै हो भन्ने लाग्छ। गरिहाले पनि कता-कता व्यक्ति कति रुखो अनि कडा हुन सकेको भन्ने पनि हुन्छ होला।
घाटमा जलाउने, जलाउन दाउरा बोक्ने, सोला बनाउने, जलाउने ठाउँ पानीले सफा गर्नेजस्ता काम छुट्टाछुट्टै व्यक्तिका जिम्मामा हुँदा रहेछन्।
जीविकोपार्जनका लागि मान्छेले के गर्दैन! तीन दशकदेखि लास जलाएर आफ्नो रोजीरोटी चलाउने कयौँ व्यक्ति पनि त्यहाँ थिएँ। कति त करारमा होलान्। लास गनेर पारिश्रमिक पाउने तिनले कुनै दिन शवको कमी हुँदा के सोच्दा हुन्!
शव जलाइसकेपछि ती सबैले आफ्नै तरिकाले पैसाकै अपेक्षा गर्दा रहेछन्। तिनीहरूका बीचमा पनि तेरोमा भिआइपी पो परेको छ, कति पाइस् त दस्तुर भन्नेजस्ता गफ पनि मज्जैले हुँदा रहेछन्।
त्यही बीचमा लास जलाएर सकिसकेपछि, कोइला निभाउन पानी हाल्ने काम हुँदै थियो। अर्को शव जलाउनका लागि तम्तयार पनि थियो। कोइलाहरूकै बीचमा हातका औँलाहरूले केही खोजेजस्तो पनि गर्दै थिए।
त्यो विषय मेरा लागि निकै कौतूहलको विषय बनेको थियो। नजिकै रहेका एकजना अंकलसँग सोधेपछि मात्र थाहा भयो। त्यहाँ त सुन खोजाइ पो भएको रहेछ।
त्यो घटनाले खगेन्द्र लागिछानेद्वारा अभिनित चलचित्र ‘पशुपतिप्रसाद’ को राम्रोसँग झझल्को दियो।
यो पैसा भन्ने बस्तु पनि अनौठो छ। चाहे जस्तोसुकै अवस्था, परिवेश र परिस्थिति किन नहोस्। पैसाका लागि मान्छेले के गर्दैन र! त्यसकै ज्वलन्त उदाहरण यो पनि एक थियो।
तर यति बेलाको परिस्थिति बेग्लै थियो। कुनै पूजा लगाएर अखण्ड किर्तन गरेजस्तो रातदिन लासको ओइरो लागेको कुरा हाम्रा तीन नम्बरमा परेका लास जलाउने दाइले गर्दै थिए।
त्यसमा पनि कोभिडले देहान्त भएका शवहरूलाई विद्युत शवदाह गृहमा जलाउने भन्ने कुरा सुन्नमा आएको थियो। तर पनि विद्युत शवदाह गृहभन्दा बाहिर नै लासहरू जलाइएको दृश्य प्रत्यक्ष देख्न सकिन्थ्यो।
यही बीचमा आफन्तले शव जलाउन नपाएको, पाए पनि असाध्यै शुल्क तिर्नु परेकोजस्ता हृदयविदारक घटना अनलाइन र अखबारहरूमा आइ नै रहेका थिए। तर हामीले त्यस्ता घटना त व्योहोर्नु परेन तर पालोका लागि भने धेरै नै समय लाग्यो।
खैर! जिन्दगी क्षणभङ्गुर छ र मृत्यु अकाट्य छ। ढिलो-चाँडो सबैको अन्तिम गन्तव्य आर्यघाट अथवा अन्य कुनै घाट नै हो। भरसक सबैलाई ढिलो नै आर्यघाट जान परोस् भन्ने कामना छ।