हरेक अचेतनाबाट चेतनातिर अगाडि बढ्नु नै शिक्षा हो। स्कुल र क्याम्पसबाट नै पूर्ण शिक्षा पाउन सकिन्छ भन्ने आम धारणा छ। शिक्षा भनेको कुनै विश्वविद्यालयबाट सर्टिफिलेट बटुल्नु मात्र होइन। आफ्नो जीवनको हरेक पक्षहरुलाई ठिकसँग सञ्चालन गर्न सक्नु पनि शिक्षा हो।
समाज परिवर्तनको लागि सबैभन्दा ठूलो लडाइँ शिक्षाको लडाइँ हो, तर नक्कल बाहेक केही भेटिँदैन हाम्रो शिक्षा प्रणालीमा। शिक्षा भनेको त रचनात्मक र सृजनात्मक हुनुपर्छ। अहिलेको हाम्रो शिक्षा प्रणाली भनेको केवल नोकर उत्पादन गर्न सिकाउने मात्र हो।
अहिलेको समयमा देशका कयौं युवाहरु आफ्नो शैक्षिक प्रमाणपत्र साथमा हुँदाहुँदै पनि अन्योलतामा अल्झिरहेका छन्। किनकि नेपाल यस्तो देश हो जहाँ सर्टिफिकेट हैन सेटिङले मात्र काम गर्छ जागिरमा होमिनको लागि। यही विवशताले गर्दा नै देशका कयौं युवाहरु डिग्रीसम्मको सर्टिफिकेट हातमा हुँदाहुँदै पनि त्यसलाई बन्दा बाकसभित्र राखेर ३५/४० डिग्रीसम्मको तापक्रम भएका खाडी मुलकमा गई आफ्नो डिग्रीभन्दा निकै तल झरी काम गर्न बाध्य छन्।
आखिर आफू मरेरै भएपनि आफ्नो परिवार अनि विशेषगरी देश त बचाउनु नै छ नि रेमिटेन्सको माध्यमबाट।
आजको हाम्रो शिक्षाले कामदार जन्मायो तर मालिक जन्माउन सकेन, आत्मनिर्भरता सकेन तर परनिर्भरता कोसौँ फड्को मारेको छ। आजको शिक्षाले महान विद्वान् त छँदै छ, माग्ने पनि बनाएको छ। हातमा सर्टिफिकेट त छ तर सीपको लेखाजोखा छैन।
सीप त छ तर केवल कागजी सर्टिफिकेटमा मात्रै। यो समस्या शिक्षा प्रणालीले त जन्मायो जन्मायो, अर्कोतिर सेटिङ अनि कामदारको भिख माग्न बाहेक अरु उपाय छैन। हातमा सर्टिफिकेटको भारी भएसँगै जीवनमा पनि जिम्मेवारिको भारी गह्रौ हुँदै जान्छ।
तर विडम्बना, हामी यस्तो देशको नागरिक हौँ जहाँ दुई दशकको शिक्षा अनि एउटा झोलामा नअट्ने सर्टिफिकेटको खात हुँदाहुँदै पनि ठाउँमा आफ्नो मान्छे नभएकै कारण आज कयौं युवाहरु बेरोजगारीको पीडा नचाहँदा नचाहँदै पनि खेप्न परेको छ।
आजको शिक्षाको हस्तान्तरण र रुपान्तरणको हविगतले दुरुस्तै समस्या बनेको छ। एकातिर गुणस्तरीय शिक्षाको नाममा कयौं ठगिएका छन् भने अर्कोतिर जो शिक्षित छैनन्, जसलाई शिक्षा प्रणालीको विकास कसरी गर्ने भन्ने कुराको ज्ञान नै छैन, उनीहरुनै विभिन्न मन्त्रीहरुको पदमा आशन गरेर देश आफ्नै शैलिमा चलाइरहेका छन।
दिउँसै सपना देख्छन् र जनतालाई सपना बाढिरहेका छन्। परिणाम आज अर्बौं बजेट बालुवामा पानी हाले सरह भएको छ।
हामीले अध्ययनको इतिहासमा थप सफलता हासिल गर्यौं अर्थात् स्नातकोत्तर पास गर्यौं। हातमा सर्टिफिकेटको खात लगायौँ। तर विडम्बना, आफूले सोचेको अनि क्षमता अनुसारको जागिर पाएनौँ। किनकि सबैजनाको ठाउँ आफ्ना मान्छे छैनन्।
बाबुआमाले जति गर्नु थियो गरिसके, अब आफू केही गर्न पर्छ भन्दै कयौँ युवाहरु सर्टिफिकेटले भरिएको झोला बोकेर हारगुहार गर्न बाध्य छन्। कामको लागि भ्याकेन्सी खुल्छ, हजारौँ युवाहरु त्याही होमिन्छन्। आफूले सकेको गर्छन् तर भित्रभित्रै सबै सेटिङ मिलेको हुन्छ।
एकैचोटि अन्तरर्बार्ता दिन मात्रै गए पुग्छ। सर्टिफिकेट भनेको केवल हात्तिको दाँत जस्तै भएको छ, सबै देखावटी। यहाँ कसरी पास गर्यो, मेहनत कति गर्यो, नम्बर कति छ, क्षमता कति छ भन्दा पनि कसैको चिनेजानेको भरमा जागिर पचाएका छन्। अहिलेको सत्य नै यही हो।
कयौँ नेपाली अभिभावकको पिर चिन्तानै एउटै छ- छोराछोरीको पढाइ त सकियो, अब जागिरको लागि कहाँ पठाउनु? पढेर कहिले सक्लान्, हातमा सर्टिफिकेट कहिले पाउलान् र कहिले राम्रो पैसा कमाउने जागिर खालान भन्ने सोचमा नै हजारौं आमाबुवाहरु डुब्न बाध्य छन्।
तर अफसोस्, त्येही सपना बोकेर अघि बढ्दै गरेका लाखौँ युवाहरु आफ्ना मान्छे ठाउँमा नभएकै कारण बेरोजगार बस्न परेको छ। यसको पछाडि एउटै मात्र कारण छ, सेटिङ।
नेपालमा जे गरे पनि हुन्छ, भनसुन गरेर जसरी गर्छौं भन्ने संकीर्ण सोचले झन्-झन् हामी पछि परिरहेका छौं। यो वाद र त्यो वाद, झन्डाको फेरबदल, व्यवस्थाको परिवर्तन र आरोप-प्रत्यारोपमै हामीले वर्षौंदेखि समय खेर फालिरहेका छौं। एकातिर देशमा मौका छैन भनेर धेरै दक्ष जनशक्ति बाहिरिएका छन् भने अर्को तिर भनसुन अनि सेटिङले बर्सेनि चलिरहेको छ।
कसैले थाहा नपाएको, नबुझेको होइन। ड्राइभर गाडीको सिटमा बसेको हुन्छ। स्टेरिङ गलत दिशामा मोडिरहेको हुन्छ तरपनि कोही कसैले 'ए गलत बाटोतिर गाडी किन मोडेको?' भनेर भन्ने आँट गर्दैनन्।
यही भएर त आज देशमा भनसुन अनि सेटिङले काम गरिरहेको छ। नेपामा हजारौको संख्यामा विद्यार्थीहरु छन् जसका सर्टिफिकेटहरु झोला भित्र राख्दा-राख्दा फोहोरको डंगुर जस्तै भएका छन्।
त्यसैले आजको समयमा यस्तो हुन जरुरी छ कि जुन वर्तमानमा मात्र हैन भविष्यलाई पनि प्रतिनिधित्व गरोस्। मानिस जबसम्म आफ्नो क्षमता अनि आफ्नो सर्टिफिकेट अनुसारको जागिर पाउँदैन अर्थात् पढाइको सही सदुपयोग हुँदैन, तबसम्म उस्ले गरेको त्यो त्याग, मेहनतको केही मान्यता रहँदैन।
वास्तवमा हाम्रो समाजमा शिक्षाले रोपेको भ्रम भनेको नै कागजी सर्टिफिकेट मात्रै हो भने त्यही सर्टिफिकेट हुँदाहुँदै पनि भनसुन अनि सेटिङ नभएकौ कारण योग्यता अनुसरको रोजगार प्राप्त नगर्नु अर्को असफलता हो।
हातमा सर्टिफिकेट नहुँदा पनि भनसुनकै भरमा अब्बल ठाउँमा पुगेको उदाहरण थुप्रै छन्। ठूलो उदाहरण त हामी हाम्रो देश चलाइरहेका नेताहरुलाई नै हेरौँ न। न पढाइ छ, न त सर्टिफिकेट नै, तर पनि देश चलेकै छ।
अन्ततः शिक्षामा नयाँ शैक्षिक पद्धति अवलम्बन गरी शिक्षालाई समयानुकूल सुदृढीकरण गर्नु नै आजको आवश्यकता हो। लार्भाका रुपमा रहेको व्यक्तिलाई सुन्दर पुतली भनाएर उडाउन सक्ने शिक्षाको खाँचो छ आज देशमा ना कि, भनसुनको भरमा सर्टिफिकेट बिक्ने हैन।