बाबा तपाईंले हामीलाई टुहुरा अनि आमालाई विधवा बनाएर संसार छाडेर जानुभएको करिब ७ वर्ष भयो। मेरा हरेक सपना पूरा गर्न आफ्नो हजार सपना तिलाञ्जलि दिने तपाईंको एउटा सपना पनि पूरा गर्न सकिन्। त्यसकारण हरेक पल तपाईंको सम्झना दिलाउने तस्बिरले मलाई पिरोल्छ।
आज फेरि कोरियाको कामले लखतरण भएर सुत्ने तरखर गर्दैगर्दा फेसबुकले एउटा फोटो सम्झायो। मैले कोरिया आएपछि भिडिओ कल गर्न मिल्ने मोबाइल किनेको थिएँ नि? त्यसबाट तपाईं र आमासँग पहिलोपल्ट भिडिओ कलमा बोलेको थिएँ। त्योबेला हाम्रो भिडिओ कलको स्क्रिनसर्ट फेसबुकमा पोस्ट गरेको थिएँ। आज त्यही फोटो 'योर मस्ट लाइक्ड फोटो अफ २०१४' भनेर फेसबुकले सम्झायो।
मेरो मानसपटलले फेरि त्यो दिन सम्झन पुग्यो। म फेरि त्यही कहालीलाग्दो दिन सम्झन बाध्य भए। सुनाउन कसलाई थियो र? तपाईं यस संसार छाडेर गएपछि परिवार सम्हाल्ने जिम्मेवारी मेरै काँधमाथि थियो। त्यही कहालीलाग्दो दिनको सम्झना आज यही लेखमार्फत स-बिस्तार पोख्दैछु।
जेष्ठको महिना थियो। तपाईं र आमा आफ्नो उपचारका निम्ति काठमाडौं आउनुभएको थियो। उपचार सकेर तपाईंहरू सकुशल घर फर्कनु भयो। एक हप्तापछि दिदीले मलाई सुनाउनुभएको थियो, 'पापा-ममा राम्रोसँग घर पुग्नुभयो रे।'
बुवा ठीक हुनुभएको खबर सुनेर म खुसी भए। मैले काम गर्ने कम्पनीमा एक हप्ता (डे सिफ्ट) दिनमा र एक हप्ता (नाइट सिफ्ट) रातिको ड्युटी हुन्थ्यो। त्यो बेला मेरो रातिको ड्युटी थियो। कोरियामा रातको करिब १२ बजेर ४१ मिनेट गएको थियो। म पानी पिउन भन्दै आराम गर्ने कोठामा गएँ। अनि यसो मोबाइल हेरेँ।
फोनमा इन्टरनेसनल कल भनेर धेरै पटक (मिस्ड-कल) आएको थियो। नभन्दै फेरि त्यही नम्बरबाट फोन आयो।
केही नसोचि फोन उठाएँ। उताबाट अत्तालिएको स्वरमा दिदीले रुँदै भन्नुभयो, 'पापा बित्नुभयो।'
म अवाक भएँ। केही जवाफ फर्काउन सकिन। दिदी बोल्दै हुनुहुन्थ्यो, 'के गर्ने भाइ? बहिनी रोएर बेहोश छ। गाँउमा भाइ पनि त्यस्तै छ रे।'
बुवा बित्नुभएको खबर सुन्नासाथ मसँग पनि बोल्न केही शब्द नै थिएन। मेरो मुख सुख्खा भइसकेको थियो। म आत्निन थाले, 'अब म के गरौं?'
त्यो पल मलाई लाग्यो, मैले सर्वस्व गुमाएँ। एकैछिन दिदीको कुरा सुनिरहेँ। उहाँ पनि सम्हालिन सक्ने स्थितिमा हुनुहुन्थेन। मनमा एकाएक लाग्यो- जस्तो परिस्थिति र पीडा भए पनि अब मैले होस सम्हाल्नु पर्छ।
थाहै नपाइ झरेका आँसु पुछ्दै मैले दिदीलाई सम्हाल्न खोजेँ। दिदीलाई सम्झाउन खोजेँ। एकैछिन कुरा गरेर फोन काटे।
दिदीसँग फोन काट्नेबित्तिकै मैले गाउँमा भाइलाई फोन गरे। तर कुरा हुन सकेन। फोनबाटै आफन्तजनसँग सम्पर्क राखेँ। उनीहरूसँग कुरा गरेँ। सम्हालिन भन्दै सम्झाए। फोन कै भर मैले सक्ने गरेँ। तर मलाई सम्हाल्नेचाहीँ को? त्यसमाथि परदेशको ठाउँ। म बाथरूम गएँ। ऐनामा आफैँलाई हेर्दै भक्कानिएँ।
रातिको ड्युटीमा दुईजनाले सातवटा मेसिन चलाउनु पर्ने थियो। मेरो डिपार्टतिर एकजना दाइ हुनुहुन्थ्यो। उहाँलाई खबर सुनाएँ। उहाँ पनि एकैछिन मौन हुनुभयो। तर त्यसबखत न त ती दाइले केही गर्न सक्थे। न त मैले नै केही गर्न सक्थे। दुवै जना फेरि काममा फर्कियौं। भोलिपल्टको अर्डरको सामान जसरी पनि पूरा गर्नु पर्ने थियो।
रातभर मनमा पीडा र नथामिएको आँसु लुकाएर काम गर्न खोजेँ। तर शरीरमा बल पटक्कै थिएन। शरीर सिथिल थियो। मनमा पनि अनेकन कुरा खेल्न थाले। म बुझ्ने भएदेखिको बुवासँगको सामीप्यता, उहाँसँग बिताएका पलहरू झल्झलि याद भयो।
मन नभए पनि मनलाई बुझाएर शरीरलाई उठाउदै मैले त्यो रात काम गरेँ। बिहानको साढेँ ७ भएको थियो। दिउँसोको सिफ्टका साथीहरू र साहु कम्पनी आइपुगे। म र सँगै काम गरिरहेको दाइ रातको काम बिश्राम लगाएर आफिसतर्फ लाग्यौं।
अफिसमा साहुसँग कुरा गरेँ। साहुलाई बुवा बितेको घटना सुनाएँ र नेपाल फर्कन छुट्टि मिलाइदिन अनुरोध गरेँ। त्यो बिहान साहुकै अघि मेरो आँसु झरेको थियो।
साहुले मेरो कुरा सुनेर नेपाल फर्कने टिकट मिलाउन भने। र जतिसक्दो चाढोँ जान भने। उनको बोलीमा संवेदना थियो। काम छाडेर आफूँ बस्ने कोठातिर लागे। अनि नेपाल फर्कन टिकट बुझेँ। दुई दिन पछिको मात्र टिकट पाएँ। त्यही दिनको लागि टिकट लिएँ र नेपाल फर्किने तयारी गरेँ। मनमा लागेको थियो, 'मेरो आदर्श जसको सपना पूरा गर्नु थियो आज उहीँ छैन। म कसलाई भेट्न घर जाँदैछु?
कोरिया जाने बेला दिदीलाई भनेको थिएँ, 'बाबाको दुःखका दिन गए। म धेरै मिहिनेत गर्छु। अनि हाम्रो बाबाको सपना पूरा गर्छु।'
म सधैं सम्झिन्थेँ- हामीसँग धन-सम्पती नभए पनि बाबा, आमा अनि परिवार साथमा छन्।
बाबा हाम्रो घरको खाबो हुनुहुन्थ्यो। १३ जना सदस्यको यति ठूलो परिवारको जिम्मेवारी उठाउनु भयो। हाम्रो लालन-पालन, शिक्षा-दिक्षामा दिनरात नभनि खट्नुभयो। आफ्नो सारा जिन्दगी नै हामी छोराछोरीका निमित्त अर्पण गर्नुभयो। कहिले भारी बोकेर त कहिले मेलापात गरेर बुवाले हाम्रो लागि सक्ने गर्नुभयो। उहाँको हरेक दुःख अनि पीडा मैले नजिकबाट देखेको छु।
बुवा तपाईं मेरो आदर्श। तपाईं नै मेरो 'आइडल' हुनुहुन्छ।
हामीलाई बाबाले सधैं भन्ने गर्नुहुन्थ्यो, 'तिमिहरू जति नै ठूलो भए पनि मेरो लागि सधैं बच्चै लाग्छ। म तिमीहरूको ढाल हुँ।'
अब मेरो ढाल को बन्छ बाबा?
मैले कहिल्यै भुल्न नसक्ने क्षण तब हुन्थ्यो जब हाम्रो घरमा मीठो केही पाक्थ्यो। मिठो भनेकै मासु त थियो बाबा त्योबेला। तपाईंले हामी सबै छोराछोरीलाई कचौंरामा मासु भाग लगाएर दिनुहुन्थ्यो। हामी सबैलाई मासु खुवाउनु हुन्थ्यो। अनि आफू सधैं पछि खानुहुन्थ्यो।
बाबा हामी हुर्किएपछि समेत तपाईं बिहानै चार बजे उठेर वस्तु सम्हाल्नुहुन्थ्यो। त्यो बेला हामी जवान भइसकेका छोराछोरीलाई किन उठाउनु हुन्थेनरु आफैँ घरमा खान के छ भन्ने हेर्नुहुन्थ्यो।
जब-जब दसैं आउथ्यो हामी दाजु(भाइलाई एउटै रंगको नयाँ सर्ट र सुरूवाल अनि दिदी-बहिनीहरूलाई एउटै रंगको कुर्था-सुरूवाल किन्दिनुहुन्थ्यो। आमालाई नयाँ लुङ्गी र चोली पनि किनिदिनुहुन्थ्यो। तर आफू जहिल्यै पुरानै दौरा सुरुवाल लगाउनु हुन्थ्यो। किन बाबा?
दसैंको टिक लगाउदा दिनुभएको आशिर्वाद, हामीलाई खुशी पार्न अरूको भारी बोकेर जोहो गरेर राखेका नयाँ ५, १० अनि २० रूपैंयाको नोट सबै याद आउँछ बाबा। त्यो दक्षिणा पनि 'घोडा किन्नु है' भन्दै दिनुहुन्थ्यो।
तिहारमा पनि दिदीबहिनीको हातको टिका हामीले लगाएको देख्दा तपाईं कति खुशी र सम्पन्न देखिनुहुन्थ्यो। कति खुशी र आनन्दको परिवार थियो बाबा हाम्रो।
जब हामी ठूला भयौं, कोही शहर त कोही परदेश लाग्यौं। त्यो रहर थिएन बाबा, बाध्यता थियो। पराई देशमा हुँदा जब-जब दसैं र तिहार आउथ्यो, तपाईं रूनुहुन्थ्यो रे। भन्ने गर्नुहुन्थ्यो रे, 'छोराछोरी वर्ष-दिनको दसैं-तिहारमा पनि आएनन्।'
म भाइ-बहिनीलाई फोनमा सोध्थे, 'दसैं कसरी मनायौं?'
जवाफमा भन्थे, 'बाबा रुनुहुन्छ दाइ। सबै छोराछोरी घर आएनन् भनेर नमीठो मान्नुहुन्छ।'
सुन्दा मलाई पनि निकै नरमाइलो लाग्थ्यो। घरको जेठो छोरो तर केही गर्न सकिन भन्ने लाग्थ्यो। म लाचार हुन्थेँ।
बाबा मलाई तपाईंसँग बसेर दु:ख-सुखका धेरै कुरा गर्न मन थियो। तपाईंको मुखबाट धेरै कुरा सुन्नु थियो। कति कुरा सिक्नु थियो। अनि तपाईंलाई मेरा कुरा सुनाउनु थियो। पुराना दिन भुलाएर सहज र सुखी जीवन दिन मन थियो।
बाबा कत्रो सपना थियो- लागेको ऋण तिरिसक्ने, अरूका जस्तै घर बनाउने अनि हरियो जस्ताले घर छाउने, तपाईं र आमालाई सँगै हवाइजहाज चडाउने। तर ती सपना अब पूरा भए पनि नमीठो हुनेछ।
तपाईं छँदै तपाईंको कुनै पनि सपना पूरा गर्न नसकेकोमा म निकै दुःखी छु। कस्तो अभागी छोरा रहेछु है बाबा मरु मेरा हरेक सपना पूरा गर्न आफ्ना हजारौं सपना त्याग्ने तपाईंको एउटा सपना पनि पूरा गर्न नसकेकोमा म अभागी भएँ।
मेरो गुनासो आज पनि यहि छ बाबा, तपाईं हामीलाई टुहुरो बनाएर यति चाडैँ किन जानू भयो? यदि फेरि यो धर्तिमा मेरो अर्को जन्म मानव भएर हुन्छ भने तपाईकै छोरा भएर जन्मिन पाँउ। ताकी तपाईको सपना पूरा गर्न सकुँ।
म परदेशमा भए पनि धेरै सपनामा हामी सँगै हाम्रो घरमा देख्छु। तपाई यस संसार छोडेर जानु ठीक ४ दिनअघि सपनामा खहरे खोलाको पुलमा हामी सँगै हिँडिरहेका थियौं। पुलको बीचमा पुगेपछी अचानक पुल बीच भागबाट चुडियो। तपाईं पारि र म वारि भए।
मैले तपाईको हात समातेर बचाउन लाखौं कोशिश गरे। मैले थेग्नै सकिन। तपाईको र मेरो हात छुट्यो। तपाई त्यही तल खसेर बिलिन हुनु भयो। म चुडिएको लाथ्थ्रो समाएर झुन्डिएर माथी आउने हरेक प्रयत्न गर्दै थिए। त्यसै बेला ब्युझिँएछु।
मेरो शरीर कापिरहेको थियो। पसिना(पसिना भएको थियो। सायद, तपाई हामीबाट विलीन हुनलाई रहेछ यस्तो सपना देखेको। ४ दिन नबित्दै त्यस्तो खबर सुने।
एकपटक जब म कोरियाबाट फर्केर छुट्टिमा नेपाल आएको थिए, आमालाई लिएर फाप्लु हुँदै गाउँ गए। जब घर पुगे, परदेशबाट घर फर्केर आउने छोराछोरीको बाटो हेर्ने कोही थिएन। छोरा तिमी आयौं भन्ने कोही थिएन।
छोरा परदेशबाट आउने खुशीमा केही तयारी थिएन। पहिले मीठो मसिनो खानेकुरा तयार पारेर पिढीको डिलमा बसेर म घरको बाटो माथीबाट आउँदै गर्दा भन्नुहुन्थ्यो, 'राजु त आइपुगिस्र? कस्तो छस्?'
भाइबहिनी हतार-हतार म आएको खबर आमालाई सुनाउन भित्र जान्थे। त्यस दिन त्यो आवाज खोज्दा कतै सुनिन। हिजो तपाईं हुँदा त्यो घर कति उज्यालो र आनन्दको थियो। सधैं आउन मन लाग्ने घर तपाई बीना किन बिरानो लाग्दै थियो?
घरको मातानको कोठामा झोला बिसाए र वरिपरि नियालेर हेरे। सबै झारले छोपिएको थियो। फलफूल सुन्तला, आम्बा, कागती, अरुबखडाका बोट, सबैले तपाई बिना फल दिनै छाडेछन्। कोही मरेछन्। घर-बारी घुमेर हेरेँ। तपाईं हुँदाको जस्तो हराभरा खेती थिएन त्यहाँ।
फर्केर घर भित्र छिरेँ। तपाईंले चलाउने खुकुरी हेरेँ। तपाई बिना खिया लागेर बसेको देखेँ। दूध दुहुने ढुंग्रो भर्याङको फेसामा झुण्डिएको थियो। तपाईले मलाई घर आउँदा दूध दिनुभएको सम्झेँ। मोही पर्ने ठेकी हेरेँ। सबै ध्वासे भएका थिए। तपाईंले बनाउनुभएको जुवा, हलो, डोको घरको तल्लामा उक्लिएर हेरेँ।
त्यो भकारी खाली अनि लथालिङ्ग थियो। मतानको दलिन, थाम जुन निर्माण गर्दा हामी आफैँले बुट्टा बनाएका थियौं सुम्सुमाए। हरेक कुराले तपाईंको आभास दिलाईराखेको थियो। काहीँबाट तपाईले बोलाउनु हुन्छ झैं लाग्थ्यो। यताउति हेरेँ। अह! कहीँबाट राजु भनेर बोलाउनु भएन।
आमा त्यस्तै केही नियाली राख्नुभएको थियो। तल-माथी हेर्दै घर सबै नियाल्नु भयो। मैले केही भन्न सकिन। म जस्तै आमाले पनि कसैलाई खोज्दै हुनुहुन्छ भन्ने आभास मलाई हुँदै थियो।
हामी खास काठमाडौंदेखि १ हप्ता गाउँ बस्ने गरि आए पनि ३ दिन बसेर फर्कियौं। तपाई बिना त्यो घर शून्य-शुन्य थियो। तपाई बिना हामी त्यो घरमा अधुरा-अधुरा थियौं।
अचेल त हाम्रो घरमा कोही आउँदैनन् अरे। पारी बाटोबाट हेर्दा झिलिमिली घर अचेल अन्धकार देखिन्छ रे बाबा।
तपाईंले भनेका सपना सबै पूरा गरेको छु बाबा अहिले। सबै ऋण तिरीसकँ। घर मतान हरियो जस्ताले छाए। ममीलाई हवाईजाहजमा चढाए। परिवारलाई सुख-दुःखले बस्ने काठमाडौंमा घर बनाएँ। भाइ-बहिनिहरू आ-आफ्नो ठाउँमा गरि खाँदै छन्।
तपाईंले छोडेर गएपछि मैले जति सकेको गरे। सबै परिवारलाई आगाडी बढाउन तपाईले सिकाउनुभएको संघर्ष, मिहिनेत, दु:खले पछि हट्न कहिले सिकाएन।
आज सम्झन्छु, यो सबै पूरा हुँदै गर्दा हामीसँग तपाई हुनुभएको भए...। तपाई बिना हामी सधैं अधुरो रहन्छौं।
बाबा, हामी छोराछोरी आमालाई कहिले दु:ख दिने छैनौं। हामीले सकेको खुशी सदा आमालाई दिने छौ। यो हाम्रो बाचा हो।
तपाई जहाँ हुनुहुन्छ, सधैं खुशी रहनु।
७ औ वर्ष तिथिको हार्दिक श्रद्धाञ्जली।