सधैँको हतारोले उनीसँग धेरै समय छुट्याएर गफिने मौका कहाँ मिल्थ्यो र! अफिस अनि घरको चटारोले भ्याइनभ्याई हुने।
मन नभएको पनि होइन, अत्याधिक व्यस्तताको बाबजुत निष्फिक्री भएर उनको निकट बस्दै गफिने अधिक चाहनाको हुटहुटी चलिरहेको थियो। मलाई राम्रोसँग थाहा नभएको पनि कहाँ हो र! समयले गति लिँदै जाँदा अहिलेको जस्तो मिठो भलाकुसारी अबका पछिल्ला वर्षहरुमा हुनै सक्दैन।
कोरोना भाइरसको संक्रमणकालीन अवस्था कसैको लागि भयानक बन्यो तापनि मेरो लागि भने उनको साथमा रहने एक ठूलो अवसर बनेर आयो। मेरो मनकी उनीसँग धेरै समय बिताउन पाउँदा जीवनको सबैभन्दा खुसीको पल जस्तै लागिरहेको छ।
हर्षविभोर पनि यस अर्थमा छु मेरो साथमा उनी छन् र पो यो पलको मिठो अनुभूति मलाई मिलिरहेको छ।
समाजले उनी र मेरो सम्बन्धलाई लिएर धेरै कुरा गर्दोरहेछ किनकि उनी मेरो लागि दोस्रो उपहार थिइन्। उनीजस्तै पहिलो उपहार मैले उनीभन्दा पहिले नै ग्रहण गरिसकेको थिएँ। त्यो उपहारलाई बाहिरी परिवेशको निम्ठरो सोचले कत्ति पनि छुन नसकोस भन्नेमा सजग तुल्याउँदै आएकी छु।
तर घरभित्र थुनिएर मात्र त बस्न कहाँ सकिँदो रहेछ र मान्छे? कतिले त मुखै फोरेर पनि भन्थे- ‘उनीको सट्टा ऊ भैदिएको भए!’ तर अरुलाई जे जस्तो लाग्यो या लागोस् मलाई त्यस्तो अनुभूति अहिलेसम्म एक पल पनि भएको छैन र नहोस पनि।
उनीलाई नै मैले हर दु:ख सुखको साथी सम्झिएको छु, सायद मेरा पीडाहरुमा मल्हमपट्टी लगाउनलाई नै उनी यस संसारमा मेरी भएर आइन्। उनले मेरो लागि बोलेका हरेक शब्द नै काफी छन् मलाई, चाहे खुसी भएर व्यक्त गरुन् वा मसँग अत्याधिक आक्रोशित भएर नै किन नहोस्। यसमा अरुको गुनासो किन?
निकै ठट्यौली पाराले बोल्ने उनको बानी सबैभन्दा मन पर्ने मलाई। हरेक प्रसंगहरुमा गहन रुपमा सोचेर उत्तरै दिन नसक्नेगरी मलाई प्रश्न गरी हैरान बनाउँछिन् उनले र पनि मलाई किन किन उनको त्यो प्रश्न गर्ने बानीले अनुत्तरित विजेता समान बनाइरहेको हुन्छ।
मेरो काखमा लुटपुटिएर न्यानो खोज्ने अनि गाला गालामा र्याल र थुक टाँसिने गरी जिब्रो खेलाउँदा पनि अहोभाग्य सम्झिन्छु म। घाँटीमा झुण्डिएर नाकमा नाक जोड्दै ‘आई लभ यू’ भन्दा सांसारिक सुखानुभूति भइरहन्छ। अनि झट्ट मनमा एउटै प्रश्न आउँछ ‘किन मानिस ‘उनी’ र ‘ऊ’को भ्रममा आफैलाई दुखित बनाउँछन् होला? मैले उनीबाट पनि त अथाह प्रेमानुभूति गरिरहेछु।
उनको चञ्चलताको कुराहरु त गरिसाध्य छैन। जति चकचक गरेपनि, रिसले भाँडाकुँडा फुटाए पनि, छिनको छिनमै कोठाहरु फोहोर गरेपनि सहन गर्न सक्ने क्षमता ममा बढ्दै गएछ। मलाई थाहा छ यो सबै उनकै मायाले गर्दा हो भनेर।
म उनीसँग निश्वार्थ भावले यति धेरै सर्त मान्न तयार भइसकेछु कि 'मलाई एउटा कुरा भन्नु न है अथवा दिनु न है' भनी सर्त राख्दा पनि नसोची अनि के होला भनी नसोधी हस् भनिदिने।
एकपटकको कुरा उनीसँग वार्तालाप चलिरहेको थियो। निकै कौतूहलतापूर्वक प्रश्न गरिरहेकी थिइन् उनले। मैले जानेसम्मका कुराहरु बताउँदै गइरहेकी थिएँ। उनलाई चित्त नबुझेमा उही प्रश्नको परिधिमा रहेर प्रतिप्रश्न गर्दै थिइन्।
एउटा जिज्ञासा यस्तो आयो 'यो संसारमा साँच्चीकै भगवान हुनुहुन्छ त?' मैले जिज्ञासा मेटाउने निकै प्रयत्न गरेँ यद्यपि उनको 'मानिसहरु जस्तै भगवान के' भन्ने प्रतिप्रश्न आयो।
मैले वीरबल र अकबरको कथा सुनाएँ। 'अकबरले वीरबललाई सोधेछन् यो संसारमा ईश्वर कहाँ छन् त यदि छन् भने हामीले सजिलैसँग किन देख्न नसकिएको हो? वीरबलले भने यो संसारको हरेक स्थानमा अनि हरेक वस्तुमा ईश्वर छन् भन्दै एउटा कचौरामा दूध ल्याएर देखाउँदै अकबरलाई भने- महाराज यसमा के देख्नुहुन्छ?
यसमा त केबल दूधमात्र न देखिन्छ तर दूधभित्र घिउ कसरी नदेखिने गरी बसेको हुन्छ? हो, यसैगरी सहज तरिकाबाट त ईश्वरलाई देख्न सकिँदैन केबल अनुभूति मात्र गर्न सकिन्छ।'
यति सुनेपछि उनले फेरी मलाई सोधिन्- दूधबाट त दही बनाएर सजिलै घिउ निकाल्न सकिन्छ तर सबै स्थानमा रहेको ईश्वरलाई हामीले देख्ने गरी कसरी निकाल्ने त?
रुप त मानिसको र ईश्वरको एउटै हो तर उसको व्यवहारले नै के हो अलग्याउन सकिन्छ भन्ने जवाफ दिँदा पनि उनले बुझ्न सकिनन्। सँगै बस्दा रहँदा उनका यस्तै कौतूहलताले म स्वयंलाई नै सोचमग्न तुल्याउँछ यद्यपि मसँग सबै प्रश्नहरुको सहज जवाफ कहाँ छ र जसले उनको जिज्ञासालाई तृप्त बनाउन सकोस्!
त्यही भएर त उनले एउटै प्रश्नको उत्तर कयौं पटक मसँग मागिरहेकी हुन्छिन् अर्थात खोजिरहेकी हुन्छिन्।
मेरो काखमा बसेर आकाशमा उडिरहेको चरा हेर्दै उनले भनिन्- हामी दुवै जना चरा हुन पाएको भए!
‘किन र?’ मेरो प्रश्न।
‘हामी दुवै जना जता मन लाग्यो उतै उडेर जान सक्ने अनि आकाशमा रहेका जुन तारासँग पनि भेट हुने कस्तो रमाइलो हुन्थ्यो होला है!’
उनको रमाइलो उत्तर थियो। विवेकशील प्राणी मानव भएर त प्राप्त नगरेको स्वतन्त्रता आकाशमा उड्ने पंक्षीमा खोज्नु स्वभाविक थियो या थिएन थाहा भएन। तर पनि उनको त्यो मिठो सपना कल्पनाले हामीलाई एकछिन आकाशमै पुर्यायो।
केही बेरपश्चात हामी नजिकै रहेको रुखको हाँगाबाट एउटा बचेरो झर्यो, उसको वरीपरि अन्य चराहरु कराउन थाले। बचेरो उड्न खोज्दै थियो तर सकिरहेको थिएन।
उनले त्यो देखेर भनिन् 'मलाई अघि चरा हुन रहर लागेको थियो नि तर अहिले मान्छे नै ठिक लाग्यो। किनकि त्यो बचेरोको नजिक बसेर अरु चराहरुले मलाई हजुरले गरेजस्तो माया दिन सक्दा रहेनछन्। बिरामी पर्दा उनीहरुले औषधि पनि खुवाउन जानेका छैनन् होला तर हजुरले मलाई कति माया गर्नुहुन्छ है?
म बिरामी भएँ भने औषधि नै नखुवाए पनि हजुरको हातले मलाई छुँदा मात्र सञ्चो हुन्छ नि किन होला!' हामी एकअर्कामा एकाकार भैसकेका रहेछौं। मैले उनलाई गरेको मायाको अनुभूति उनकै मुखारविन्दबाट सुन्न पाउँदा हर्षविभोर भएँ।
मैले उनलाई गरेको व्यवहारको उपज थियो त्यो भावना जुन उनले मलाई शब्दमा व्यक्त गरिन्। म आफैँमा विश्वस्त हुँदै उनलाई माया, सम्मान र संस्कार दिन सकेँ भने अवश्य पनि उनीबाट मलाई धोका हुने छैन, मलाई घात गर्ने उनको सोँच कदापि अंकुराउने छैन।
जीवित छँदासम्म काँधमा जिम्मेवारी लिँदै मरेपछि पनि मेरो लासमा दागबत्ती उनले दिन सक्छिन् भन्ने आश छ ममा। वर्तमानमा उनीप्रतिका मेरा व्यवहार र अपेक्षाले नै भविष्यको भाग्य कोरेको हुन्छ भन्ने प्रष्ट थाहा छ मलाई तर दुर्भाग्य यो कुरा सबैलाई बुझाउन किन सकिनँ?
समाजमा व्याप्त कुरीति, कुसंकार लगायत उनी प्रति गर्ने व्यवहार, राख्ने अपेक्षा र अमिट सोचले उनको वृद्धि विकासमा पुर्याएको असरप्रति बाबु-आमा भैसकेकाहरु नै अनविज्ञ भएको देख्दा दिक्क लाग्छ।
अर्को जुनी जे होला यो जुनीमा अहिले नै तिम्रो बालापनसँग भरपूर रमाएर आनन्द लिन सकूँ छोरी। म गर्व गर्न सकूँ छोरी हुनु अनि छोरीको आमा हुनुमा पनि।