राजनीति भन्नासाथ बन्द, हड्ताल, घुस, कमिसन, गुण्डागिरी, माफियागिरी, अपारदर्शिता, पुरानो पुस्ताको हालिमुहाली बुझ्ने नेपाली समाजलाई सालीन, शिष्ट, रचनात्मक, पारदर्शिता बुझाइदिने युवापुस्ताका राजनीतिक गुरु हुन् उज्वल थापा।
खास गरी पछिल्ला युवापुस्ताको राजनीतिप्रतिको अरुची र स्थानीयदेखि केन्द्रसम्म पुरानो राजनीतिक दलको कब्जा जस्तैको अवस्थामा थापाको राजनितिक उपस्थिती र खबरदारी वैकल्पिक राजनीतिको झिल्को बनेर गाउँ गाउँसम्म पुग्दैछ।
पार्टीको पूर्णकालीन राजनीति गरेर राजनीतिलाई अवसर ठान्दै सत्ताको चरम् दुरुपायोग हुँदा नेपाली राजनीति भ्रष्टाचार, कमिशनको चङ्गुलमा फसेको आजको यथार्थमा उज्ज्वलको राजनीतिमा आगमन समग्र राष्ट्र कै निम्ति आशाको संकेत थियो।
फलस्वरुप परम्परागत नेपाली राजनीतिक कोर्श गलत दिशामा हिँडिरहेको बुझ्ने युवाको रोजाइ बन्न पुग्यो विवेकशील नेपाली दल।
सामान्यतया पार्टीका कार्यालयहरु जुलुश, हड्ताल, बन्दको तयारी, प्रतिस्पर्धी दल विरुद्धको रणनीतिक केन्द्र बनिरहेको बेला उज्वलहरु भर्खरका युवाहरुलाई असल राजनीति र उध्यमशीलता सिकाउँदै हुन्थे विवेकशील नेपाली दलको कार्यालयमा।
ठूला दलहरुले नेपाल बन्द तथा आम हड्ताल गर्दा माइतीघरमा नेपाल खुल्ला छ लेखिएका प्लेकार्ड बोकेर हँसिलो चेहेरा सधैं उभिन्थ्यो, अनि त्यही चेहेरालाई पछ्याउँदै भर्खर राजनीति बुझेका, बुझ्दै गरेका युवाहरु भोलिको उज्वल बन्न राजनीतिक ताते ताते सिक्दै हुन्थे।
अक्सर विकसित देशहरुमा देखिने यस्ता प्रकारका रचनात्मक विरोध प्रदर्शनहरु हाम्रै देशको राजाधानीमा देखिनुले भोलिको राजनीतिक कोर्शलाई नै सकारात्मक प्रभाव पार्ने आश आम मानिसहरुले गर्न थालेका थिए।
उज्वलहरुले नै माइतीघरलाई रचनात्मक प्रदर्शनको हब बनाइदिए। त्यसैको प्रभाव प्रचण्ड, माधव नेपाल समूहसम्मलाई पर्यो, जुन वैकल्पिक राजनीति सुरु गर्ने उज्वलहरुको प्रभाव हो भन्दा अत्तियुक्ती नहोला।
१२ वर्ष सम्म सशस्त्र द्वन्द्वको नेत्रित्व गरेका अर्का नेता बाबुराम भट्टराई पनि आफ्नो त्यत्रो लामो राजनीतिक यात्रालाई वैकल्पिक राजनीतिमा ढाल्न नयाँ शक्ति नेपाल नामक दल खोलेर वैकल्पिक राजनीतिको वकालत गर्न थाले।
हाल विवेकशील साझाका अध्यक्ष रबिन्द्र मिश्रलाई समेत वैकल्पिक राजनीतिक धारमा समाहित गराउन उज्वलको उल्लेखनीय योगदान छ। हिजोआज नेपाल बन्दको श्रृंखलामा कमी आउनु, बन्दको घोषणा गरिहाले पनि त्यसको प्रभावकारीता काम हुँदै जानुमा पनि उज्वलको जित देख्नेहरु प्रशस्तै छन्।
उज्वल कोरोना संक्रमित भएर अस्पातल भर्ना भएदेखि उनको स्वास्थ्यलाभको कामनाहरु ओइरिएको देख्दा सहजै अनुमान लगाउन सकिन्थ्यो कि उनले सुरु गरेको अभियानको प्रभाव कहाँ-कहाँसम्म परेछ भन्ने कुरा।
अचम्मको कुरा त हिजो नेपाल बन्द गरेका पार्टीका सकृय नेता कार्यकर्ताहरु पनि स्वास्थ्यलाभको कामना गरिरहेका देखिन्थे, जुन एक किसिमले नेपालमा वैकल्पिक राजनीतिको उज्वल भविष्य देखाउने उज्वलहरुको प्रभाव मान्न सकिन्छ।
नेपाली समाजलाई मध्यमार्गी राजनीतिले जोड्नुपर्ने तर्क राख्ने उज्वलले नेपाली समाजलाई अन्तर्यमा गएर बुझेरै राजनीतिमा आएको बताइरहन्थे। उनले सुरु गरेको वैकल्पिक राजनीतिक धारलाई अहिलेको युवापुस्ताको काँधमा छोडेर गएका हुन्। जसलाई सही दिशा र कुशल नेत्रित्व दिने जिम्मेवारी आजको युवापुस्ता सामु छ।
जबसम्म राजनीति सुध्रिँदैन तबसम्म देश सुध्रिदैन, त्यसैले आजका हरेक पार्टीका युवा वर्गले उज्वललाई श्रद्धाञ्जली दिएर मात्र भन्दा उनले सिकाएको यात्रामा आफ्नो पार्टीलाई दिशा दिन मात्र सके पनि अहिले धमिलिएको राजनीतिमा सुधारका संकेतहरु देखिन्थे।
त्यसैले यदि साँच्चीकै श्रद्धाञ्जली दिने हो भने आफ्नो पार्टी नेत्रित्वलाई अब बन्द हड्ताल जस्ता कृयाकलापमा हाम्रो समर्थन रहँदैन भनेर युवाहरुले खबरदारी गरिरहनु पर्ने देखिन्छ। अलबिदा उज्वल!