परीक्षा सकिनै आँटेको थियो मेरो। दाइहरुको ताप्लेजुङमा सर्भेको काम निस्किएको छ भन्ने कुरा ३-४ दिन अघिदेखि सुनेको थिएँ।
जिन्दगीमा एकचोटि नि पुगेको थिइनँ ताप्लेजुङ। अझ पाथिभरा मन्दिरको अदभूत शक्तिबारे पनि पहिल्यैदेखि सुन्दै आको थिएँ। त्यसैले म पनि दाइहरुसँगै जान्छु भनेर अडान लिएको थिएँ। दाइहरुले पनि 'जाँदा तेरो परीक्षा सकियो भने जालास्' भन्नु भएको थियो।
मेरो परीक्षा ८ गते सकिन्थ्यो। तर धरानबाट ७ गते नै हिँड्नुपर्ने भयो। हामी खाजा अर्डर गरेर खाजा कुर्दै थियौँ। एक्कासी गाडी लिन आइसक्यो भन्ने खबर आयो।
मेरो पालो दाइहरुलाई परीक्षा सकियो भनेर ढाट्दिएँ। त्यसपछि त दाइले पनि 'ल छिटो तयार हो तँ त्यसो भए' भन्नुभयो। गर्मीमा पनि अलिक जाडो हुन्छ भन्ने सुनेको थिएँ त्यता। त्यसैले दुई जोर हल्का बाक्लो लुगा झोलामा कोचेर हामी निस्कियौँ।
चालक सहित हामी पाँच जना थियौँ टोलीमा। भेडेटार, तमोर, धनकुटा बजार, हिले हुँदै उकालो लाग्यौँ हामी। चालक बाहेक हामी सबै स्मोकर भएकाले कहिले गाडी भित्रै त कहिले बाहिर स्मोक गर्दै राति बसन्तपुर पुगियो।
पानी परेर झन् चिसो थियो बसन्तपुरमा। एउटा होटेलमा बस्ने कुरा भयो। सोही रात एउटा मन्त्री पनि त्यही होटेलमा परिवार सहित आएका रहेछन्। तर हामीले खासै मतलब गरेनौँ। उनीहरुले नि हाम्रो मतलब गर्ने कुरा आएन। संसार जो बेमतलबी भैसक्यो।
भोलिपल्ट बिहानै उठेर हामी फेरि उकालो लाग्न थाल्यौँ। पिच रोड छोडेर कच्ची बाटोतिर लाग्यौँ। तीनजुरे, गुफापोखरी छिचोल्दै अघि बढ्न थाल्यौँ। बाटोभरि लालिगुराँसको दृश्यले मन चङ्गा बनाइरहेको थियो।
यो ठाउँमा दाउरादेखि रक्सीसम्म लालिगुराँसकै बन्दो रहेछ। गाई-गोरु भैसिको सट्टामा चौरी मात्र पाउने। तीनजुरे, मिल्के, जलजला (टिएमजे) संरक्षण क्षेत्रमा पर्ने यो ठाउँमा विशेषगरी विभिन्न प्रजातिका लालिगुरास, सालक, हाब्रे (रेड पान्डा), निगाले, सभापोखरी लगायत विभिन्न सिमसार रहेछ।
माथिल्लो तामाकोशी होकि अरुण-२ प्रोजेक्टको ट्रान्समिसन टावरहरु पनि बाटो छेउ बन्दै थिए। भर्खर पाँच/छ महिना जति मात्र भएको रहेछ बाटो बनेको पनि। कच्ची बाटो बाहेक सबै कुरा राम्रो रहेछ।
काम ताप्लेजुङको एउटा गाउँपालिका मार्फत आएको रहेछ। प्राथमिक अस्पतालको डिपिआरको लागि। स्थानीय मानिसहरुलाई सोध्दै सोध्दै गाउँपालिका पुगियो। यो ठाउँमा एउटा सरकारी विद्यालय, गाउँपालिकाको अफिस र गनेर १९-२० घ र(अलि अलि पसल) मात्रै थियो।
त्यहाँबाट गाउँपालिकाको मानिसहरुले हामीलाई काम भको ठाउँमा पुर्याए। त्यही खाना खुवाए र डाक्टरको क्वार्टरमा बस्ने व्यवस्था मिलाएका रहेछन्। विचरा डाक्टर! एक महिना जति बसेर घर गएपछि आकै रहेनछ। २-३ जना नर्स र स्टाफले जेनतेन चलिराको रैछ अस्पताल।
हामीलाई काम गर्नको लागि एउटा सहयोगी दिइएको थियो। सहयोगी थियो अधबैंसे उमेरको। सबैले 'साहिला' भनेर बोलाउँदा रहेछन् उसलाई। होचो कदको तर ज्यादै मोटो। जुनसुकै बेला उसको नजिक गएपनि रक्सीको गन्ध ह्वास्सै आउने परैबाट।
हामीले काम गर्दा बेलाबेलामा ढुनमुनिँदै आएर भन्ने- 'सरहरुलाई केही काममा सहयोग चाहिए भन्नु है' भनेर। हामी काम भएमा 'यो गर्दिनु है दाइ' भनेर भन्थ्यौँ। नत्र 'पर्दैन केही' भनेर पठाइदिन्थ्यौँ। यति भनेपछि फेरि भट्टी तिर कुदिहाल्थ्यो ऊ।
बेलुका खाना खाएपछि हामीले तोङ्बा खाने निधो गर्यौ। साहिला दाइसँगै हुनुहुन्थ्यो। उहाँलाई नै पैसा दिँदै भन्यौँ- 'तपाईंं र हामी दुवैलाई लिएर आउनू। आज जम्नुपर्छ दाइ।'
हल्का मात लाग्दै गएपछि गफ हुन थाल्यो। हामीले त्यही साहिला दाइको जीवन बारे सोध्यौँ उहाँसँग।
छोटकरीमा त्यो दाइको कुरा यस्तो थियो- 'माथि मिरिङ्देन हो कि कताको गाउँबाट बसाइ सरेर आको उहिल्यै। एउटा छोरा काठमाडौँमा काम गर्छ। अस्ति बिरामी हुँदा गएको थिएँ जँचाउन छोराकोमा। पहिला म पनि औधी चुरोट खान्थेँ। फोक्सोमा खराबी देखिएपछि च्वाट्टै छोडेँ। अहिले सुर्तिले तलतल मेटाउँछु।
जिन्दगीमा कसैको अगाडि ठूलो पनि भइनँ र कसैको लात पनि खाइनँ। संकटकालमा माओवादीले दुइटा बाख्रा र सुंगुर खाइदियो। नगद पन्ध्र सय पनि लग्यो।
कान्छो छोरा मात्र छ घरमा अहिले। प्रायः मादल बजाएर नाच्दै बस्छ। तपाईंहरु त पढेर धेरै जान्नुभको छ। हाम्रो गाउँमा आएर काम गर्दिनुभाको छ। मैले त पढ्न नि पाइनँ। हजुरको काम नि जान्दिनँ। अरु केही काम भए गर्दिन्छु, तपाईंहरु बसुन्जेल।'
मात लाग्दा दिल खोलेर सुनाको उसको कहानी यति नै थियो। मनमा त मेरो धेरै कुरा खेलिरहेको थियो उसलाई भन्न र सोध्न, तर मेरो मुखबाट बोली नै निस्केन।
काम सकेको अन्तिम साँझ हामी फेरि छुटिँदा एकजना मिसकोमा एकछिन बस्यौँ। मिस त्यही नजिकैको सरकारी विद्यालयमा शिक्षिका हुनुहुँदो रहेछ। अहिले चलिरहेको हस्पिटलको लागि जग्गा पनि पहिले उहाँले नै दिनुभएको रहेछ। त्यो पनि नि:शुल्क।
फेरि अहिले हामीले बनाउन लाग्दा पनि अरु कसैले नदिएपछि उहाँले नै दिनुभएको रहेछ। आफूले गर्दा समाज अलिकति भएपनि विकास भएको देखेर खुसी भएपनि अरु स्थानीय र छिमेकीहरु उहाँ जस्तै विकासको काममा आ- आफ्नो तर्फबाट त्यति सहयोग गर्न नमानेको थोरै गुनासो पनि रहेछ उहाँलाई।
अब बचेको त्यही जग्गा कति काटिन्छ होला भनेर अलिक चिन्तित देखिन्थ्यो त्यो मिसको श्रीमान। हामीसँग त्यही विषयमा छलफल गर्न खोज्दै थियो ऊ। तर हामीले नक्सा तयार भइसकेपछि मात्र थाहा हुन्छ भनेर टारिदियौँ उसलाई।
हामी बसेको डाक्टरको क्वार्टर पानी पर्दा चुहिने रहेछ। यसमा केही अप्ठ्यारो त भएन नि सरहरुलाई भनेर सोध्दै थिए हामीलाई उसले। हामीले 'भएन त्यस्तो' भनेर जवाफ दियौँ।
ठट्टा गर्दै भन्यो फेरि- 'पहिलाको इन्जिनियरहरुले एक महिना त त्यो डाक्टरलाई हिलोमै सुताइदिए नि।'
उसको मन राख्दिन भएपनि हामी हल्का हाँसिदियौँ।
गाउँपालिका फर्किंदै थियौँ। रातको नौ बजिसकेको हुनाले झमक्कै अँध्यारो भइसकेको थियो। बाटोमा पुगेर एकछिन हिँडेपछि एउटा ट्र्याक्टर भेटियो। त्यसलाई रोकेर पालिकासम्म पुर्याइदिन भन्यौँ। चामल लोड गर्नुपर्ने भएकाले हल्का समय लाग्छ भन्यो ड्राइभरले। अरु विकल्प नभएकाले कुरेर भएपनि ट्र्याक्टरमै जाने विचार गर्यौं।
करिब आधा घन्टापछि चामल लोड भयो। ट्र्याक्टर दुइटा थिए। हामी अघिल्लो ट्र्याक्टरको पछाडि बस्यौँ। अलिक अघि पुगेपछि पछिल्लो ट्र्याक्टरको तेल सकिएर रोकिएछ त्यो। हामी चढेको ट्र्याक्टरलाई फेरि रोक्न लगाएर पछिल्लो ट्र्याक्टरको सहयोगीले तेल माग्यो।
हाम्रो ट्र्याक्टरको चालक ऊसँग झोक्कियो- 'के पारा हो यो तिमीहरुको? यस्तो रातिमा हिँड्ने भएपछि सबै कुराको बन्दोबस्त गरेर हिँड्नु पर्दैन?'
साहुले भनेको हो भनेपछि बल्ल तेल दिन सहमत भयो त्यो चालक।
त्यसैबखत अगाडिबाट एउटा एम्बुलेन्स आयो। एउटा सुत्केरी बच्चा पाउन नसकेर सदरमुकाम लान लाको रे। बाटो त उही थियो- 'कच्ची र एक लेन मात्र।'
साइड छोडिदिन भनेर भन्नको लागि हतारिँदै एम्बुलेन्सबाट झरेर एउटा मान्छे आयो। सायद चालक थियो ऊ एम्बुलेन्सको।
ट्र्याक्टरको चालकले भन्यो- 'पछाडि नि अर्को ट्र्याक्टर छ। त्यसलाई तेल दिएर साइड दिन्छु।'
एम्बुलेन्सको मान्छे आफ्नो समस्या बताउँदै अलि झोक्कियो। ट्र्याक्टरको ड्राइभरले उसलाई 'कस्तो कुरा नबुझेको हो' भन्दै धम्की दियो। झन्डै हान्देला जस्तो गर्यो।
अब एम्बुलेन्सको मान्छे केही बोलेन। दुइटै ट्र्याक्टरको काम नहुँदासम्म पर्खियो।
काम सकिएपछि सबै आ-आफ्नो बाटो लागियो। ट्र्याक्टरको ड्राइभर आफैआफै मुर्मुरिँदै थियो।
मलाई के गर्नु भइरहेको थियो। केही गरिनँ फेरि।
अहिले ती साइँला दाइ, मिसको परिवार, ट्र्याक्टर र एम्बुलेन्सको मानिसहरु के गर्दै होलान् है? त्यो विचरा सुत्केरीको के भयो होला? मलाई थाहा छैन। झन् तपाईंहरुलाई त कसरी थाहा होस्!
म त फर्किहालेँ केही दिनपछि। नढाँटी भन्नुपर्दा मलाई यो कुराभन्दा कोरोनाले गर्दा बन्द भएर पाथिभरा मन्दिर घुम्न नपाएको चिन्ता लागिरहेको थियो।
यस्तै केही थियो उनीहरुले बाचेको जीवन र भोगेको दुख। उनीहरुको व्यथाको जिम्मेवारी को होला खै? उनीहरुकै भाग्य वा हाम्रो सरकार?