विश्व स्वास्थ्य क्षेत्र कोभिड-१९ भाइरस र त्यसको भेरियन्टको कारण संकटमा छ। पछिल्लो आधा शताब्दीमा विश्वव्यापी रुपमा मानव जातिले स्वास्थ्य क्षेत्रमा भोगेको ठूलो चुनौती र महामारी हो।
कोभिड-१९ लाई खासगरी छिमेकी राष्ट्र चीन र केही अन्य थोरै मुलुक बाहेकले सही व्यस्थापन गर्न सकेको देखिँदैन र यसको कारण नेपाल जस्ता विकासन्मुख देशहरुको अर्थव्यवस्था निरन्तर धरासय हुने अवस्थामा पुगेको छ।
भाइरसको स्वभाव नै रुप परिवर्तन गरिरहने हुनेहुँदा यसको नियन्त्रण एकदम जटिल कार्य बनेको छ र यसको अन्त्य यसैगरी यही समयमा हुन्छ भनेर भविषयवाणी गर्न सकिँदैन। त्यसकारण यसको रोकथाममा गरिने कुनैपनि गल्ती मानव जातिको लागि भयानक हुन्छ नै।
यसको रोकथामको निम्ति आवश्यक विविध पक्षहरु मध्ये मेडिकल उपकरणहरुको सही छनौट, स्थापना र व्यवस्थापन पनि मुख्य पक्ष हो।
नेपालमा महामारीको दोस्रो लहर आएदेखि नै देशव्यापी देखिएको अक्सिजनको चरम अभाव र त्यसको सहजताको लागि संघीय र प्रदेश सरकारले गरिरहेको अक्सिजन उत्पादनमा ठूलो लगानीसँगै केही प्राविधिक अन्यौलता पनि देखापरेको हुँदा यसको चर्चा परिचर्चा गर्नु अपरिहार्य बनेको छ।
के हो अक्सिजन सिस्टम?
कतिपयमा अक्सिजन प्लान्ट, अक्सिजन सिस्टम र अक्सिजन कन्सट्रेटरको बारेमा अन्तर थाहा नहुँदा एक खालको भ्रम परेको देखिन्छ। सामन्यतया अक्सिजन सिस्टम भन्नाले अक्सिजनको स्रोत, डिस्ट्रिब्युसन, रेगुलेसन र कन्डिसनिङ, डेलिभरी, मनिटरिङ, विद्युत सप्लाई, फिलिङ सेन्टर र मर्मत सम्भार पर्छ।
अक्सिजन सिस्टम भित्र एउटा मात्र मेसिन हुँदैन। हरेक कामको लागि फरक युनिट र एकभन्दा धेरै उपकरण हुन्छन्। त्यसमा पनि फरक फरक कम्पनीका उपकरण हुनसक्छ र यसले आफै अक्सिजन उत्पादन गर्ने होइन।
हामी सबैलाई थाहा छ वातावरणीय हावामा २१% अक्सिजन रहेको हुन्छ, यसले वातावरणिय हावा जसलाई आम्बियन्ट एयर भनिन्छ। यही आम्बियन्ट एयरलाई स्रोतको रूपमा लिइन्छ र यसमा भएको अक्सिजनलाई प्रेसर स्विङ एड्जर्पसन अर मेमब्रेन सेप्रेसन टेक्निकबाट अक्सिजन छुट्टाउने काम गरिन्छ।
अक्सिजन उत्पादन गरेरमात्र हुँदैन, यो अक्सिजन मेडिकल ग्रेडको हुनुपर्छ। विश्वा स्वास्थ्य संगठन डब्लुएचओले स्वीकार गरेको इन्टरनेसनल फार्माकोपिया स्ट्यान्डर्ड अनुसार मेडिकल ग्रेडको अक्सिजन हुनलाई कम्तीमा अक्सिजन सिस्टमले दिने ग्याँसमा कम्तीमा ९०% भन्दा धेरै अक्सिजनको भोलुम हुनुपर्छ, त्यो स्वच्छ र ओइल फ्री कम्प्रेसरबाट उत्पादित हुनुपर्छ।
प्राबिधिक भाषामा अक्सिजनलाई यसलाई लाइफ सेभिङ अक्सिजन थेरापी सिस्टम भनिन्छ र यसको प्रयोग इमर्जेन्सी केयर, कैयौं श्वास प्रश्वास सम्बन्धी रोगहरु, सर्जरीमा र मुख्य रुपमा मान्छेको जीवन बचाउने प्रयोग हुने हुँदा सन २०१७ मा विश्वा स्वास्थ्य संगठनले अक्सिजनलाई अत्यावश्यकीय औषधिको रुपमा सामवेश गरेको छ।
कस्तो हुन्छ अक्सिजन सिस्टम प्राविधिक बनावट?
माथि उल्लेख गरिएजस्तै अक्सिजन सिस्टम भित्र अक्सिजनको स्रोतहरु चार प्रकार हुन्छन्। अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिन्डर, अक्सिजन जेनेरेटिङ प्लान्ट र लिक्विड अक्सिजन ट्यांक। यी सबै अक्सिजन उत्पादन गर्ने एकाइ हुन् र यी मध्ये कुनै एकको वा वैकल्पिक रूपमा अर्कोलाई समेत प्रयोग गर्ने गरिन्छ तर सबै एकै पटक एकै स्थानमा प्रयोगमा आउँदैनन्।
स्वास्थ्य संस्थाको आवश्यकता अनुसार कुन स्रोत राख्ने भन्ने निर्धारण गरिन्छ र यो कार्य विज्ञ बायोमेडिकल इन्जिनियरबाट गराउनु पर्दछ।
त्यसैगरी डिस्ट्रिब्युसन अन्तर्गत मेडिकल ग्याँस पाइपलाइन, टयुबिङ, र सिलिन्डर ट्रान्सपोर पर्दछन्। रेगुलेसन र कन्डिसनिङ अन्तर्गत रेगुलटर, फ्लोमिटर, हुमिडिफायर, डेलिभरीमा क्यानुला, क्याथेटर, मस्क र टयुबिङ, मनिटरिङ अन्तर्गत अक्सिमिटर र प्यासेन्ट मनिटर, विद्युत सप्लाई अन्तर्गत रेगुलर र वैकल्पिक सप्लाई, स्टयाबीलाइजर र सर्ज सप्रेस्सर वा भिएफडी, फिलिङ सेन्टर र मर्मत सम्भार पर्छ।
यी सबैको समस्टिगत रुप नै अक्सिजन सिस्टम हो। कतिपयले अक्सिजन कन्सन्ट्रेटर वा अक्सिजन जेनेरेटिङ प्लान्टलाई अक्सिजन सिस्टम बुझ्ने गर्छन् जुन बुझाइ खण्डित बुझाई हो।
कुन तहको अस्पतालमा कस्तो खालको अक्सिजन सिस्टम राख्ने?
नेपालमा स्थानीय स्तरमा सञ्चालित ५ वा १० शय्या क्षमताका प्राइमरी सेन्टरहरु, सेकेण्डरी तहका जिल्ला वा प्रादेशिक अस्पतालहरु, टर्सरी तहका केन्द्रीय अस्पतालहरु र केही विशषज्ञ अस्पतालहरु छन्।
यी सबै प्रकारका अस्पतालमा केही न केही मात्रामा मेडिकल ग्रेड अक्सिजनको जरुरत पर्छ र कुन तहमा कस्तो खालको अक्सिजन सिस्टम राख्ने भन्ने विषय सबभन्दा महत्त्वपूर्ण हुन्छ।
बजारमा अक्सिजन सिस्टमको मूल्य र गुणस्तरमा यति धेरै विविधता छ कि कतिपय राष्ट्रहरुले अक्सिजन सिस्टमको छनौट, खरिद, वितरण र सुरक्षित प्रयोगको सम्बन्धमा साझा चुनौती फेस गरिरहेका छन्।
यहाँनेर बायोमेडिकल इन्जिनियरहरुले महत्त्वपूर्ण भूमिका निभाउनु पर्दछ। अन्यथा राज्यको ठूलो लागानी खेर जान्छ।
कुन तहका अस्पतालहरुमा कस्तो खालको सिस्टम आवश्यक पर्छ भन्ने प्रोटोकल त छैन तर सामान्यतया प्राइमरी तहमा कम्तीमा अक्सिजन कन्सन्ट्रेटर र/वा सिलिन्डर र बढीमा सिलिन्डर र म्यानिफोल्ड सहित अक्सिजन ग्याँस पाइप लाइन आवश्यक पर्न सक्छ।
सेकेन्डरी तह वा जिल्ला सरह वा प्रादेशिक अस्पतालहरुमा कम्तीमा सिलिन्डर, म्यानिफोल्ड सहित अक्सिजन ग्याँस पाइपलाइन बढीमा अक्सिजन जेनेरेटिङ प्लान्ट र अक्सिजन, एयर र भ्याकुम सहितको ग्याँस पाइपलाइन आवश्यक हुन सक्छ।
टर्सरी लेबल वा केन्द्रीय अस्पतालहरुमा फिलिङ सहित अक्सिजन जेनेरेटिङ प्लान्ट, अक्सिजन, एयर र भ्याकुम सहितको ग्याँस पाइपलाइन वेकल्पिक स्रोतको रुपमा लिक्वड अक्सिजन ट्यांक आवश्यक पर्न सक्छ।
अक्सिजन सिस्टमको डिजाइन गर्दा के कुरामा ध्यान दिने?
अक्सिजन सिस्टमको आवश्यकता निर्धारण बायोमेडिकल इन्जिनियरहरुले गर्नु पर्दछ। यसका लागि सबैभन्दा पहिला अस्पतालहरुको हालको दैनिक खपत र निकट ५ वर्षमा हुन सक्ने सेवा विस्तार र हुने खपत वृद्धिको प्राबिधिक मूल्याकंन गर्न पर्दछ।
त्यसो गर्दा अस्पतालको शय्याको संख्या, ओटीको संख्या, आइसियू र एचडियूको संख्याको आधार बनाएर सोही अनुसार अक्सिजन जेनेरेटिङ प्लान्टको क्षमता निकाल्नु पर्द्छ।
एउटा उदाहरण हेरौँ। कुनै अस्पताल जसको प्रतिदिन खपत ३० सिलिन्डर (४७.२ लि जे टाइप )छ भने ६८००X३०= २०४,००० लि प्रतिदिन खपत हुँदो रहेछ भन्ने हिसाब आउँछ र झन्डै १४० लिटर प्रतिमिनेट (१४० एलपिएम) को अक्सिजन जेनेरेटिङ प्लान्ट आवश्यक पर्छ।
यसको साथै सिस्टम सञ्चालन गर्न उपलब्ध भौतिक पूर्वाधारको अवस्था, खरिद गर्दा वा सञ्चालन गर्दा लाग्ने लागत मूल्य, विद्युतको सहज उपलब्धता, मर्मत सम्भार तथा स्किलफूल जनशक्तिको उपलब्धता र भौगोलिक अवस्था- हिमाल, पहाड वा तराई के हो? समुन्द्र सतहबाट कति उचाइमा हो, आद्र्ता कति हो सो समेत अध्ययन गरिनुपर्छ।
उचाइअनुसार हावामा हुने प्रेसर र अक्सिजनको मात्रा कम धेरै हुने हुँदा प्राबिधिक रुपमा यो महत्त्वपूर्ण छ र अक्सिजन सिस्टम भन्नाले जेनेरेटिङ प्लान्ट मात्र होइन त्यसकारण अस्पतालमा पहिला नै ग्याँस पाइपलाइन भए नभएको वा नयाँ प्लान्टको क्षमता धान्न सक्ने पूर्वाधार भए नभएको बायोमेडिकल इन्जिनियरले फिल्ड मै गएर हेर्नु पर्छ। अनिमात्र डिजाइनको काम गर्नु पर्दछ।
अन्त्यमा, हाम्रो अवस्था कस्तो देखिएको छ भने, अक्सिजन प्लान्ट भनेर बजेट निर्धारण गरिएको हुन्छ तर अक्सिजन सिस्टमको लागि आवश्यक बाँकी पूर्वाधार, अध्ययन केही गरिएको हुँदैन।
जस्तो जेनेरेटिङ प्लान्ट खरिद गरिन्छ तर त्यसलाई सञ्चालनमा ल्याइने आवश्यक विद्युत र ग्याँस पाइप-लाइन हुँदैन। पाइप-लाइन छैन केबाट सप्लाई गर्ने? यो एकदम अव्यवस्थित खरिद भयो र यस्तो समयमा इन्जिनियरले सही सल्लाह दिन सक्नु पर्दछ अन्यथा राज्यको ठूलो लागानी खेर जान्छ।
(लेखक बायोमेडिकल इन्जिनियर्स सोसाइटी, नेपालका अध्यक्ष हुन्।)