सामाजिक अभियान्ता स्वर्गीय उज्वल थापाको शब्द सापटी लिँदै भनेँ- 'यो देश हाम्रो घर हो, डेरा होइन।'
यो भनाइमा निकै ठूलो आर्दश र आकाश जस्तै फराकिलो अर्थ पनि। तर पनि म अहिलेका केही युवाहरुले निकालेका आवाज र वकालतमा ठाडै असहमती जनाउँछु। अन्यथा नलागोस् यो लेखिरहँदा, मेरो लेखमा केही गुनासो भएमा मिल्नेसम्मको गाली गर्न तपाईंहरु स्वतन्त्र हुनुहुन्छ।
हिजो राति ११ बजे तिर म एकजना साथीले पठाएको लिंकमा जाने वित्तिकै त्यहाँ पोखराका २२ जना युवाहरु कुरा गरिरहेको पाएँ। विषय थियो- के छ पोखरामा गफ गरौँ न?'
विडम्बना युवाको सुरुआत नै गफबाट हुन्छ। करिब ३० मिनेट गफ सुनेँ र करिब करिब सबैको प्रोफाइल पनि हेरेँ। आफूलाई कमजोर आक्ने कोही पनि त्यो ग्रुपमा थिएनन्, सबैको प्रोफाइल दमदार थियो।
कुरा भयो पोखरा कसरी समृद्धि होला? अनि श्रृजनाचोकमा बनाउँदै गरेको आकाशे पुल पृथ्वी चोकमा हुनुहुँदैन थ्यो?
आज बिहानै त्यही ग्रुपमा ठुलै बहस चलाएका एक जना भाइलाई चिया पसलमा भेटेँ। २२० सिसीको बाइक रोकेर भित्र छिर्दै भने- ‘यो देशमा बसेर काम छैन।'
मैले चियाको सुर्को तान्दै भनेँ- ‘किन भाइ?'
उनले पनि भनिहाले- ‘यहाँ केही हुँदैन।’ खुब निराशाजनक भनाइ राखे।
बस्न इसारा गर्दै उनलाई पाठ पढाएँ- ‘भाइ तिम्रो घर झुपडी छ, तिम्रो बाबाको कमाइ त्यति छैन तर तिम्रो साथीको जस्तै महल बनाउन तिमीले बाबुलाई कर गर्यो भने बनाउन सक्छन् तिम्रो बाबाले?'
उनले खुसी हुँदै भने- ‘मेरो बाबाले पनि यही भन्नुहुन्छ।’
मैले फेरि थपेँ- ‘तिमीले चाहेजस्तो घर निर्माणका लागि आजका दिनसम्म तिमीले एक रुपैयाँ बाबालाई दिएका छौं वा दिने हैसियत बनाएका छौ?’
उनले उत्तर दिन चाहेनन्। दुई खिल्ली चिरोट मागेर भित्र अर्को कोठामा छिरे।
मेरो कन्सर्न यही नेर हो, हामी पनि गफ नै गर्ने हो भने देश कहिले बन्छ त? माफ गर्नु होला, यो लेखेर म देश बनाउँछु भन्ने अभियानमा छैन है। लेखेर पनि देश बन्दैन म पुरै क्लियर छु। तर पनि मैले जन्मेबाटै सिकेको यही गफ छ अनि के गरौं त?
जब हामी आफैलाई परिवर्तन गर्न सक्दैनौं अनि कसरी समाज र देशका बारेमा परिवर्तनका काम गर्न सक्छौं? सक्छौं त केवल उही पुराना गफ।
हो, हामीले गर्ने गफमा केही परिमार्जन भएको छ प्रविधिको। अमेरिका कसरी विकास भयो भनेर बुझ्न खोज्दैनौँ तर अमेरिकाले आफ्ना जनतालाई यस्तो सुविधा दिएको छ, प्रतिव्यक्ति आय यस्तो र युवा बेरोजगार भत्ता यति छ भनेर कुरा गर्छौं।
जापान कसरी समृद्ध भयो भनेर सोच्दैनौँ, जापानमा अहिले पाएको सुविधाको बारेमा गुगल हेर्दै गफ चुट्दै गर्छौं। आज भन्न भन लाग्यो- हे युवा! गफले चिउरा भिज्छ र?
म पृथ्वी नारायण क्याम्पसमा पार्ट-टाइम लेक्चररका रुपमा कार्यरत छु। मैले पढाउँदा मासिक सालाखाला १२ हजार कमाउँछु। हो, १२ हजारमा मेरो गुजारा चल्दैन, अनि मैले तत्कालीन क्याम्पस प्रमुख गेहेन्देश्वर कोइरालालाई भनेँ- ‘अब विदेश जानुपर्छ कि के हो सर! यसरी त कहिले पैसा कमाइएला र?’
उनले भने- ‘तपाईं बिहान क्याम्पस पढाउनु हुन्छ, दिनभरि अरु पनि काम गर्नु न? काम नगरी त कसरी पैसा आउँछ र!’ कड्किए सर।
१५ मिनेटको मौनतापछि फेरि भनेँ- यही बगरमा राम्रो मोटरसाइकल वर्कसप खोल्नुस् अनि हेर्नुस्। पैसा छैन भने लाग्ने सबै रकम म दिन्छु, काम गर्नु छैन त्यसै... विदेशमा पैसा फल्छ?'
आज पनि म यो कुरालाई मनन गरेको छु भलै मैले आजका दिनसम्म उल्लेख्य केही गरेको भने छैन। तर पनि काम गर्दा गर्दै सामान्य जागिर खाएर कमाउने पैसाले नतिरिने ऋण भने कमाएको छु। आज फेरि लाग्दै छ यो ऋण तिर्न त म विदेश नगई सम्भव छैन।
म पहिला पनि अमेरिकाको भिसा हापेर बसेका कारण आज विदेश जाने मोह छैन, बरु घर बनाउदिनँ। त्यो पैसाले ऋण मुक्त हुन्छु। हो, आजभोलि त्यही सोचेको छु।
ठूला-ठूला प्लेटफर्महरु अहिले युवाले पाउन थालेका छन् अनि आफै सृजना गर्ने गरेका छन्। त्यहाँ निकै मिठा कुरा हुन्छन्। म पनि सुन्छु युवाका कुरा। तर पनि एउटा ग्रामीण उखान छ नि- आँखाको तिरिमिरी.... को झ्याई' भने जस्तै।
साँच्चै भनेको रातभरि पब-जी खेलेर, बिहान १२ बजे गुड मर्डिङ भन्दै उठेर अनि गुगल हेर्दै समृद्ध मुलुकहरुको कुरा मिठो पाराले उदाहरण प्रस्तुत गरेर त्यसपछि साँझ नपर्दै भट्टीमा छिरेर रक्सीको सुर्कोसँगै हाकेको समृद्धिका गफले देश बन्दैन।
अब बर्खा लाग्न थाल्यो, समाऊ कुटो-कोदालो अनि खन्न थालौँ खेतबारीका काल्ला। कम्तीमा आफैँलाई खान पुग्ने धान त उब्जेला।
कस्तो गर्मी भएको भन्दै खाने कोकको बदलामा हामी आफैले उत्पादन गरेको कागती-पानी खाउँ न अनि रातभरिको ह्याङ पनि मेटिन्छ, आफ्नो उत्पादन पनि उपयोग हुन्छ।
विश्वका सबै गफ पाँच मिनेटका भाषणमा ठोक्न सक्ने युवाहरु, देख्नु भएको छ त कागतीको बोट? आत्मनिर्भर हुनका लागि के गरेका छौं एक पटक सोचौं त? बिहानदेखि सत्ने बेलासम्म हामीले खाएका प्रत्येक कुराहरु मध्येमा कति कुराहरु नेपालमा उत्पादन भएका होलान् हिसाब गरौं त?
नाई संघ कास्कीको पछिल्लो तथ्यांक अनुसार दैनिक कपाल काट्नेहरुको संख्या मात्रै २५ सय जना छन्। प्रत्येकले एक पटकमा कपाल काटेको न्यूनतम पनि एक सय लिने गरेका छन्।
यसरी हेर्दा दैनिक साढे दुई लाख रुपैयाँको कपाल काटिन्छ, जसमा पाँच जना मात्रै नेपालीले संचालन गरेका छन्। बाँकी सबै रकम भारत जान्छ। खै यसमा लाग्न सकिँदैन? जम्मा एक लाखभन्दा कम लगानीमै गर्न सकिन्छ यो व्यवसाय।
अनि कवाडी संकलनमा? यसमा त लगानी नै लाग्दैन। भन्सार विभागको पछिल्लो तथ्यांकमा १४ लाख २१ हजार किलो भारत निकासी भएको थियो। यसको रकम हिसाब गर्नुस् त सायद मेरो मोबाइलमा त उत्ति धेरै अंक अट्दैन, तपाईंहरुको स्मार्ट मोबाइलमा हिसाब हान्नुहोस्, सालाखाला २० रुपैयाँ प्रतिकिलोको दरमा।
यो हिसाब विरगञ्ज भन्सारमा पोखराबाट गएको कवाडीको मात्रै हो। तर विडम्बना, पोखरामा एक जना पनि व्यवसायिक कवाडी संकलक नेपाली छैनन्।
कृषिको कुरा त के गर्नु, केही वर्ष पहिला निर्यात गरिएको खाद्यान्न आज आयात गर्नु परेको छ। कारण यही त हो नि- यो देशमा बसेर केही हुँदैन।
अनि गाडीबाट दूध आउँछ भन्ने वातावरणमा हुर्किएकाहरुले दूधमा आत्मनिर्भर देशको उदाहरण नेपालको प्लेटफर्ममा गफ हानेर हुन्छ? तपाईंलाई थाहा छ गोबरको रंग कस्तो हुन्छ? अनि पशुको गन्ध कस्तो आउँछ?
त्यसैले अब ठूला-ठूला प्लेटफर्ममा आत्मनिर्भरता र विदेशी उदारहण दिँदै गफ चुट्न बन्द गरौं। आऊ हातेमालो गरौँ आत्मनिर्भरताका लागि अनि सुशासन आफै आउँछ। नत्र यस्तै गफले हो देश बिग्रने।
गफ गर्ने जिम्मा केपी शर्मा ओली, प्रचण्ड, शेरबहादुर देउवा, गगन थापा र रविन्द्र मिश्रहरुलाई दिउँ। हामी ठूला ठूला प्लेटफर्म बनाइ काम गरौं। धन हुनेले लगानी गरौँ। मन, जमिन हुनेले जग्गा दिउँ अनि केही नहुनेले श्रम गरौं अनि अबको २० वर्षमा देश पूर्ण समृद्ध हुनेछ अहिले हामीले गरेको गफजस्तै।
त्यसपछि हामीले पनि खोजौँला फिनल्याण्डका प्रधानमन्त्रीले सरकारी रकममा खाजा खाएको विषयमा त्यहाँ भएको अनुशन्धान जस्तै।