आजको विश्वमा कफीको नाम नसुन्ने सायदै कम मानिस होलान्। चिया जस्तै कफी पनि एक वैधानिक पेय पदार्थ हो। आठऔं शताब्दी तिर इथियोपियाको कफा भन्ने प्रान्तबाट बाख्रा गोठलाले पत्ता लगाएको कफी विश्वमा पेट्रोलियम पदार्थपछि धेरै आर्थिक कारोबार हुने बस्तुमा दोश्रो नम्बरमा पर्छ।
प्रत्येक दिनको तथ्यांक हेर्ने हो भने विश्वमा २ अर्ब २५ करोडभन्दा बढी कप कफी खपत भैरहेको अवस्था छ। आज विश्वमा सामान्य दिनचर्याको सुरुआत होस् या सामान्य भेटघाटदेखि परिवर्तनका योजनाहरु पनि कफी गफमै हुने गर्दछन्।
कफी संस्कृतिको विकास आज मानिस बासोबास गर्ने संसारका जुनसुकै कुनामा पनि पुगेको देखिन्छ। युवापुस्ता माझ अझै लोकप्रिय कफीलाई विश्वका कतिपय देशमा व्यक्तिहरुको मान प्रतिष्ठा र संस्कारसँग जोडेर हेर्ने चलन रहेको छ।
व्यवस्थित रुपमा १३ औं शताब्दीबाट मात्रै कफीलाई भुटेर तातो पानीसँग मिसाई खाने प्रचलन सुरु भएको इतिहास छ। सुरुमा यसलाई घरमा आउने पाउनाहरुलाई स्वागत गर्न र आफ्नो धार्मिक रीतिरिवाज सम्पन्न गर्ने समयमा प्रयोग गर्ने गरिन्थ्यो।
इतिहास अनुसार यमनमा इस्लामिक धर्म गुरु सुफिसले त रातको समयमा आफ्नो प्रार्थनालाई रातभर जगाइराख्न र शारीरिक उर्जा प्राप्तिको लागि खाने प्रचलन रहेको थियो। कफी कति विशिष्ट र मूल्यवान थियो भन्ने कुरा जान्नको लागि टर्की देशको इतिहासबाट थाहा हुन्छ।
टर्कीमा कफी बनाउन जान्ने विशेष गुण वा कलासँग त्यहाँका महिलाको वैवाहिक जीवन जोडिएको थियो। आफूले रोजेको पुरुषसँग विवाह गर्न मिठो कफी बनाएर खुवाउनु पर्ने चलन रहिआएको भेटिन्छ।
आफूलाई विशिष्ट देखाउन पनि कफी खाने प्रचलन नौलो होइन, कतिपयले यसलाई प्रकृतिको अनुपम उपहारको रुपमा पनि दाज्ने गर्छन् भने आफ्नो जीवनको गतिशील उर्जाको प्रमुख माध्यम मान्छन्।
जे होस् पारखीहरुको लागि कफी कति महत्त्वपूर्ण छ भन्ने जान्नको लागि डेबिड लिन्चको एउटा भनाइ 'ब्याड कफी इज बेटर देन नो कफी एट अल' अर्थात् नहुनुभन्दा खराब कफी हुनु उपयुक्त हुन्छ भन्ने भनाइले प्रस्टै थाहा हुन्छ।
विश्वमा सबैभन्दा बढी कफी सेवन गर्ने फिनल्याण्ड हो जहाँ एक व्यक्तिले प्रति वर्ष १२.२ केजी कफी खपत गर्छन्। दोश्रो र तेश्रोमा क्रमश: स्वीडेन (१०.१ केजी) र नर्वे (८.७ केजी) पर्दछन्।
नेपालमै पनि कफी उत्पादन हुने र पश्चिमा मुलुकहरुसँगको सामिप्यताले नेपालमा पनि आन्तरिक रुपमा कफी संस्कृतिको तीव्र विकास भैरहेको छ। नेपालमा विदेशी पर्यटकहरुले मात्र नभएर नेपाली कफी पारखीहरुले चार हजारभन्दा बढी कफी क्याफेहरु मार्फत कफीको आनन्द लिरहेका छन्।
हाम्रो गाउँघरतिर अझै पनि घाममा सुकेको कफीलाई ढिकी र जाँतोको सहायताले बोक्रा फाली हाँडीमा भुटेर कफी बनाई खाने प्रचलन रहेको छ। नेपाल लगायत विश्वमा विभिन्न जातहरुका कफीको खेती भएपनि गुणस्तर र स्वादका हिसाबले अरेबिका प्रजातिको कफीले ७० प्रतिशत हिस्सा ओगटेको छ।
कफीको यथार्थता: क्याफिन र प्रयोग
कफीको नाम लिने वित्तिकै क्याफिन जोडिएर आउछ। क्याफिन एउटा हाम्रो केन्द्रीय स्नायु प्रणालीलाई प्रभाव पार्ने एक प्राकृतिक रासायनिक तत्त्व हो जुन विभिन्न बालिहरुको पात, बिउ तथा ६० भन्दा बढी प्रजातिको फलफूलमा पाइने गर्छ।
अमेरिकी फूड एन्ड ड्रग्स एडमीनिस्ट्रेसन (एफडिए) संस्थाले प्रतिदिन बढीमा ४०० मिलिग्राम क्याफिन सेवन गर्न सकिने सिफारिस गरेको छ जुन ३-४ कप कफीमा पाइने गर्छ।
स्टारबक कफीले प्रयोग गर्ने सिंगल एक्सप्रेसो सट ३० एमएल कप कफीमा क्यफिनको मात्रा ५८ मिलिग्राम हुन्छ भने प्रख्यात लाते र क्यापुचिनो कफीमा क्याफिनको मात्रा ११६ मिलिग्राम हुन्छ।
कफीको सेवनबाट शरीरमा स्फूर्ति पैदा हुन्छ, थकान र अल्छीपनाबाट केही समयका लागि शरीरलाई चुस्त, दुरुस्त र मानसिक रुपमा सकृय रहन मद्दत गर्छ। कफीको सेवनबाट पाचन प्रणालीलाई मजबुत बनाउनुको साथै शरीरमा आवश्यक भिटामिन बि-२, बि-५, बि-३, पोटासियम, म्याग्नेसियम, फस्फोरस, म्यान्गानिज लगायतका भिटामिन र खनिजहरु प्रदान गर्छ।
नेशनल हेल्थ इन्स्टिच्युट, अमेरिकाबाट गरिएको अध्ययन अनुसार कफीको नियमित सेवनवाट मानिसमा भविष्यमा अल्जाइमर्स रोग हुने सक्ने जोखिमलाई ६५% ले कम गराउँछ भने पार्किन्सन रोग लाग्न सक्ने जोखिमलाई ३२-६०% सम्म कम गराउन मद्दत गर्छ।
त्यस्तै कफीको नियमित सेवनबाट टाइप-टु डायबेटिज हुने अवस्थालाई २३-६७% सम्म घटाउन सकिन्छ भने प्रतिदिन २-३ कप कफीको सेवन गर्नाले तौल घटाउन मद्दत गर्नुको साथै तरकारी तथा फलफूलको तुलनामा बढी एन्टीअक्सिडेन्ट पाइने हुनाले पेट, छाला, दात, लिभर लगायत विभिन्न रोगहरु लाग्नबाट बचाउनुको साथै मानसिक सक्रियता बढाइ तनाव/चिन्ता जस्ता रोगहरु हुन सक्ने जोखिमलाई २०% सम्म कम गर्न मद्दत गर्छ।
नयाँ अध्ययन अनुसार कफी पिउने महिलाहरुमा मुटुका विभिन्न रोगहरु, स्ट्रोक, मधुमेह तथा मिर्गौला रोगका कारण हुने मृत्युदर नपिउने महिलाको तुलनामा कम पाइएको छ।
कफीको फाइदा मात्रै नभएर यदि सेवनको मात्रा, तरिका र समय नमिलेमा वा बढी मात्रामा कफी सेवनको कारण निन्द्रा बिथोलिने, मुटुको धड्कन तेज हुने, चिन्ता बढ्ने, रिसाउने, झोक्किने, असुन्तलित आनी/बानी देखाउने जस्ता समस्याहरु देखिन सक्छ।
धेरैलाई गलत धारणा के रहेको छ भने कफीले तीव्र प्रेसर बढाउने गर्छ भन्ने लाग्न सक्छ तर सामान्य रुपमा कफीको सेवनले त्यस्तो समस्या देखिँदैन। १-२ एमएम/एचजी मात्रै बढ्न सक्ने अध्ययनले देखाएको छ। त्यस्तै गर्भवती महिला र बच्चालाई दूध चुसाइरहेकी महिलाले प्रतिदिन १ कपभन्दा बढी कफी सेवन गर्नु हुँदैन।
कफी कस्तो र कसरी खाने?
खासगरी विश्वमा विभिन्न प्रकारका कफीहरु उपलब्ध भएतापनि सबैभन्दा राम्रो फिल्टर ब्रिउ कफी नै हो जसलाई हामीले आफूलाई मनपर्ने विभिन्न प्रसोधनका विधिहरु अपनाएर ताजा रुपमा तयार गर्न सकिन्छ।
ताजा रुपमा भुटेर पिसेको धुलो कफीलाई ९०-९६°C सम्म पकाएर तयार गरिन्छ। विश्वमा कफी बनाउनको लागि एस्प्रेसो मेसिन, मोका पट, फ्रेन्च प्रेस, कफी ड्रीपर, एइरो प्रेस जस्ता उपकरणमा आफूले चाहेको कफी बनाउन सकिन्छ।
तर धेरै नेपालीहरुको रोजाइमा भने स्टारबक, नेसक्याफे, ब्रुगोल्ड जस्ता इन्स्टेन्ट कफीहरु पर्ने गरेका छन् जसलाई हामी तयारी पाउडर कफी पनि भन्छौँ। यो कफी तातो दूध वा पानीमा सजिलै घुल्ने, बनाउन पनि सजिलो, सस्तो र उपलब्धता पनि बढी भएकाले नेपाल जस्ता एसियाली मुलुकहरुमा यो कफी बढी प्रख्यात छ।
नेपाली कफी पनि फिल्टर शुद्ध कफी भएकाले यसको स्वाद र गुणस्तर पनि सन्तुलित रहेको छ। नेपाली कफी पनि विश्वमा विशिष्ट गुण भएको स्पेसियालिटी कफीको रुपमा चिनिन्छ। खासगरी कफी पिउँदा त्यसबाट आउने बास्ना, स्वाद, अम्लीयपना, बाक्लोपना तथा शुद्धता सन्तुलित भएमा त्यो कफी राम्रो मानिन्छ।
तर पनि विश्वमा व्यक्ति पिच्छे फरक स्वाद र गुण मन पर्ने भएकाले प्रसोधन प्रविधिमा फरक पारी विविधता ल्याउन प्रयास गरिएको छ। विश्वका केही ठाउँ विशेष अनुसार उत्पादन गरिएका कफीहरु जस्तो: जमैकाको ब्ल्युमाउन्टेन, हवाइ कोना कफी, कोलम्बियन कफी, कफी लुवाक आदि स्वादमा निकै भिन्न र महँगो मूल्यमा बिक्री हुने विश्वस्तरीय कफी मानिन्छन्।
हाम्रा बजारमा धेरै थरि कफीका ब्राण्डहरु उपलब्ध भएता पनि असली बास्ना र स्वाद पाउनको लागि चिनीको प्रयोग बिना अरेबिका फिल्टर कफी नै खानुपर्ने हुन्छ।
अन्त्यमा,
पक्कै पनि आजको विश्वमा सबै पुस्तामाझ कफी अपरिहार्य पेय पदार्थ बनेको छ। दैनिक रुपमा यसको सेवन गर्नाले दैनिक कार्यहरु स्वत:स्फूर्त रुपमा संचालन गर्न उर्जाशील बनाउने मात्र नभई मानिसको शारीरिक, मानसिक स्वास्थ्य सुधारका विविध पाटाहरुसँग पनि प्रत्यक्ष जोडिएको छ।
सम्भावित आयु नै लम्ब्याउन सक्ने गुण कफीमा रहेता पनि प्रतिदिन कति र कस्तो कफी खाने भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। हुन त मानिसको लिंग, उमेर अवस्था, कफीको प्रकार, स्वास्थ्य तथा शारीरिक अवस्था, वंशाणुगत गुण, क्याफिन सहन सक्ने क्षमता आदिले प्रतिदिन कति कफी सेवन गर्न सक्ने कुरा निर्धारण गर्छ।
जस्तो कि १२ वर्षभन्दा कम उमेरको बालबालिकाहरुले क्याफिनको मात्रा उच्च हुने कफी लगायत अन्य पेय पदार्थहरु पनि सेवन नगर्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ।
एक स्वास्थ्य वयस्क व्यक्तिले प्रतिदिन बढीमा ३-४ कप कफी सेवन गर्न सक्छ। कफीमा हुने क्याफिन कन्टेन्टले प्रतिदिन पिउने कप कफीको मात्रा निर्धारण गर्दछ।