अल्बर्ट आइन्स्टाइनको एउटा भनाई छ- 'एउटै कुरा बारम्बार दोहोर्याइरहनु र फरक नतिजाको अपेक्षा गर्नु पागलपना हो (इनस्यानिटी इज डुइङ दि सेम थिङ ओभर एन्ड ओभर अगेन, बट एक्स्पेक्टिङ डिफ्रेन्ट रिजल्ट।)
हाम्रो देशमा पटक पटक व्यवस्था परिवर्तन गर्ने र व्यवस्था परिवर्तनसँगै सबै कुरामा सुधार हुने अपेक्षा गरिन्छ। तत्काल रहेको व्यवस्था परिवर्तन गर्न सके सबै कुरा ठिकठाक हुने र देशमा रामराज्य नै कायम हुने जस्तो गरी हामी आन्दोलन गर्दछौं र सफल पनि हुन्छौं।
तर, छिट्टै हाम्रो आशा निराशामा परिणत हुन्छ। हामी हाम्रो सोच र व्यवहारमा परिवर्तन नगरिकनै व्यवस्थाको नाम र पात्रमा हुने परिवर्तनले देश विकास र सुशासनको अपेक्षा गर्दछौं। यथार्थ के हो भने हाम्रो सोच र व्यवहारमा परिवर्तन नगरी विकास र सुशासन खोज्नु उही आइन्स्टाइनले भने झैं पागलपना मात्रै हो।
प्रत्येक राजनैतिक आन्दोलन सँगै हामी अब देशले कोल्टो फेर्छ, देश विकास हुन्छ भन्ने आशा गर्दछौं। आन्दोलन पनि गर्दछौँ र परिवर्तन पनि हुन्छ। तर हामीले गरेको आशा छिट्टै निराशामा परिणत हुन्छ।
परिवर्तनको लागि जनताले जहिल्यै त्याग र बलिदानी गरेकै छन् तर परिवर्तनको फल प्राप्तिको कुरामा जनताले पटक पटक निराशा भोग्नु परेको छ। जब जब आन्दोलन हुन्छ तब तब उक्त समयमा एउटा व्यक्तिलाई हामीले सम्पूर्ण समस्याको रुपमा चित्रण गर्दछौँ।
मानौं कि उक्त व्यक्ति हट्ने बित्तिकै सबै कुराको समाधान हुन्छ। तर केही समयपछि शासनमा पुग्ने वित्तिकै पहिलेकै प्रवृत्तिको पुनरावृत्ति सुरु हुन्छ। त्यसैले मुख्य समस्या हाम्रो सोच र चरित्र नै ठूलो कुरा हो।
सही गन्तव्यमा पुग्नको लागि सही मार्ग हिँड्नु पर्दछ। हामी समृद्ध नेपाल चाहने तर हाम्रा क्रियाकलाप, हाम्रा छनौट सोही बमोजिम हुन नसक्दा विकास र समृद्धि हासिल गर्न सकिँदैन।
हाम्रो जस्तो देश जहाँ भूराजनीति र बाह्य कुराहरुले गर्दा विकास, परिवर्तन र सुशासनमा धेरै प्रभाव पारिरहेको हुन्छ नै। यद्यपि मुलुकभित्रको आन्तरिक विषयहरु जुन हाम्रो नियन्त्रणमा छ सो कुरामा मात्रै हामी इमान्दारीपूर्वक लाग्ने हो भने धेरै कुरा परिवर्तन र सुधार गर्न सकिन्छ।
नेपालमा अपेक्षित विकास हुन नसक्नु र सुशासन संस्थागत हुन नसक्नुमा विभिन्न कारण र समस्याहरु छन्। यस लेखमा तीमध्ये २ कुराः निर्वाचन र नियुक्तिमा उच्चतम योग्यता, उच्चतम नैतिकता, इमान्दारिता र अनुशासन भएका व्यक्तिलाई छनौट गर्ने कुरामा बेवास्ता गरिनुलाई उल्लेख गरिएको छ।
निर्वाचन र नियुक्तिभित्रका नराम्रा पक्षहरुले विकास र सुशासनमा नकारात्मक प्रभाव पारेको छ। त्यसैले हाम्रो देशमा हाल अभ्यासमा रहेको निर्वाचनमा उम्मेदवार छनौट प्रक्रिया र विभिन्न किसिमका नियुक्तिहरुमा व्यवहारिक रुपमा सुधार ल्याउन सके धेरै कुरामा संस्थागत सुधार भई हालको समस्या समाधान हुन सक्दछ। जसको बारेमा यहाँ चर्चा गरिएको छः
निर्वाचनसँग सम्बन्धित विषय
लोकतान्त्रिक व्यवस्थामा जनताको प्रतिनिधित्वको लागि निर्वाचन मार्फत जनप्रतिनिधि छनौट गरिन्छ। सोको लागि निर्वाचनमा भाग लिने उम्मेदवारमध्ये सक्षम र सबल व्यक्ति आफ्नो प्रतिनिधिको रुपमा छान्न पाउनु जनताको नैसर्गिक अधिकार हो।
तर, प्रत्यक्ष निर्वाचनसँग जोडिएर आउने मुख्यत दुईवटा कुराहरुः उम्मेदवारले टिकट पाउने विषय र उम्मेदवारले निर्वाचन जित्नको लागि पैसा खर्च गर्ने विषयको कारण नै जनताले आफ्नो वास्तविक जनप्रतिनिधि छनौट गर्न वञ्चित हुन्छन्।
कतिपय सन्दर्भमा पटक पटक परीक्षण भइसकेका तथा राजनीतिक रुपमा कम सक्रिय भए पनि आर्थिक क्षमता राम्रो भएका व्यक्तिहरुले टिकट पाउने अवस्था छ। जनताले राम्रामध्येबाट उत्कृष्ट प्रतिनिधि चयन गर्न पाउँदैनन्।
जसको कारण जनताले आफ्नो रोजाइको वास्तविक प्रतिनिधि छनौटको अधिकार नपाउने र त्यस्तो अधिकार सम्बन्धित दलको नेतृत्वमा रहन गएको देखिन्छ। यसको साथै निर्वाचनमा खर्च गर्न सक्ने क्षमता भएकालाई उम्मेदवारको योग्यता मान्ने जुन परिपाटी छ त्यसले वास्तविक प्रतिनिधित्वलाई ठूलो असर गरेको छ।
त्यस्तै समानुपातिक निर्वाचन तर्फ हुने नातावाद, कृपावादको कारण समेत समानुपातिक समावेशी सिद्धान्तको दुरुपयोग भएको पाइन्छ।
यस्तो अवस्थामा जब उम्मेदवारले टिकट नै नेताको निगाहमा पाउँदछ भने तब उसको प्राथमिकता पनि जनताभन्दा टिकट दिलाउने नेताप्रति नै हुन्छ। यतिमात्र नभई जुन आर्थिक सामर्थ्यको कारण निर्वाचनमा टिकट र मतदाता आकर्षित गरी चुनाव जितेको हुन्छ, उसले आफ्नो चुनाव खर्चको क्षतिपूर्ति अवश्य नै असुल गर्दछ।
त्यस्तो व्यक्ति राजनीतिक कम र व्यापारिक वा आर्थिक लाभको लागि बढी लागिपर्ने हुन्छ। यसले एकातिर इमान्दार रुपमा राजनीतिमा लागेकाहरुको मनोबल गिराउँदछ भने अर्कोतिर गैर राजनीतिक व्यक्तिले जनताको हितको लागि काम नगर्ने तथा वास्तविक समस्या समाधान गर्न सक्दैन।
जनताप्रति बफादार हुनुपर्ने जनप्रतिनिधि आफ्नो नेताप्रति बफादार हुने कुराले वास्तविक रुपमा हाम्रो विकास र सुशासनको उद्देश्य हासिल हुन सक्दैन।
निर्वाचित जनप्रतिनिधिले जनताको लागि कानुन, नियम र नीति निर्माण गर्नुपर्ने हुन्छ। त्यस्ता कानुन, नियम र नीतिहरु बनाउने क्रममा यदि कसैको स्वार्थ बाझिने अवस्थामा उक्त प्रकृयाबाट आफू अलग रहनुपर्ने हुन्छ।
दुर्भाग्य भनौं हाम्रो सन्दर्भमा स्वार्थको द्वन्द बाझिने कुराको यहाँ ख्याल नै गरिँदैन। जनप्रतिनिधिहरु/विधायकले आफ्नो स्वार्थ अनुकूल कानुन बनाउन उद्यत भएको कुरा पटक पटक उठ्दछ। जसको कारण राज्य र जनता दुवै मारमा परिरहेका हुन्छन्।
त्यसैले राजनीतिक नेतृत्वको सुझबुझ र फराकिलो सोच सहितको नेतृत्वबाट जनताको वास्तविक प्रतिनिधि छनौट गर्ने अधिकार निर्वाचन प्रक्रियाको सुधार मार्फत गर्नु आवश्यक छ।
नियुक्तिसँग सम्बन्धित विषय
संवैधानिक अंगहरुमा हुने नियुक्ति, न्यायपलिकामा हुने न्यायाधीश नियुक्ति र संस्थानहरुमा हुने नियुक्ति मुख्य आकर्षणका क्षेत्रहरु हुन्। राजनैतिक तथा संवैधानिक नियुक्ति पाएका व्यक्ति यस्ता हुन सकुन जसको नाम सुन्दा पनि सबैले श्रद्धा गर्न सकून्।
नियुक्ति पाउने व्यक्तिको अनुभव, योग्यता, क्षमता, निष्ठा र नैतिकता उच्च कोटीको हुन सकोस्। कोही पनि व्यक्तिको योग्यताको आधार न्यूनतम शैक्षिक योग्यता मात्र या नियुक्तिकर्ताको हितको लागि कुन समयमा के सहयोग गरेको थियो भन्ने नहुनुपर्ने हो।
तर, निर्वाचनमा झैं नियुक्तिमा पनि आफ्नो मान्छे नियुक्ति गर्ने र नियुक्तिमा समेत लेनदेन 'गिभ एण्ड टेक' को कुरा पटक पटक उठ्दछ। फलस्वरुप संविधानले तय गरेको नीतिहरु तथा आवधिक योजना लगायत सरकारले तय गरेका उद्देश्य हासिल हुन सक्दैन। स्वच्छ र योग्य नियुक्ति प्रणालीबिना विकास र सुशासन सम्भव हुँदैन।
संवैधानिक अंग जसले सरकारको हरेक क्रियाकलापहरुको खबरदारी गर्दछ, त्यस्तो निकायहरुमा सरकारको सुबिधालाई मात्र ख्याल गरेर नियुक्ति गरियो भने देशको विधि, पद्धति र कानुनको पालना नहुने र सुशासन कायम हुन नसक्ने हुन्छ।
त्यस्तै वर्तमान समयमा धेरै पेचिलो, चर्चा र विवादमा हुने न्यायाधीश नियुक्तिको विषय भ्रष्टाचार निवारण र सुशासनसँग प्रत्यक्ष जोडिएको छ। हेक्का रहोस एक पटक नियुक्त भएपछि सबैभन्दा लामो अवधि बीसौं वर्षसम्म (उदाहरणको लागि ४५ वर्षमा नियुक्ति पाउने व्यक्ति ६३ या ६५ वर्षसम्म सेवामा रहन्छ) सेवामा रहिरहन पाउने पद न्यायाधीश हो।
सोही कारण पनि न्यायाधीशको लागि नियुक्ति धेरै आकर्षित पद बनेको छ। त्यसैले न्यायाधीश नियुक्तिजस्तो महत्वपूर्ण विषयमा उच्चतम योग्यता, क्षमता, अनुभव, पेशाप्रतिको निष्ठा र समर्पणलाई विशेष ध्यान दिइनुपर्दछ।
हो, दलीय व्यवस्थामा कुनै विचार र आस्थाप्रति झुकाव हुनुलाई अन्यथा रुपमा लिइनुहुन्न। तर विज्ञता, बौद्धिकता र नैतिकतालाई राजनीतिक आस्थाले प्रतिस्थापन गर्ने र सोही अनुसार नियुक्ति हुने कुराले हाम्रा सुशासन, विकास र समृद्धिको चाहना पूरा हुन सक्दैन।
अन्त्यमा, यो सबै कुराको बावजुद समाधान के त? समाधान भनेको फेरि पनि राजनीतिक नेतृत्वको इमान्दारीता नै हो, निस्वार्थपना नै हो। योग्यता प्रणालीको सम्मान नै हो। आफ्नो मान्छे होइन कि राम्रो मान्छेको छनौट र नियुक्ति नै हो।
पद र पैसा क्षणिक हो, अस्थायी हो। स्थायी हुने त हाम्रा सत्कर्म हुन्। मेरो र आफ्नो भन्ने कुरालाई अलि टाढा राखी परिर्वतनको नेतृत्व गर्न पाउनु पनि राजनीतिक नेतृत्वको लागि ठूलो अवसर हो।
यस्तो अवसरलाई सदुपयोग गर्दै साँचो अर्थमा निर्वाचन मार्फत वास्तविक जनताको प्रतिनिधिलाई निर्वाचित गराउने र नियुक्ति मार्फत 'राइट म्यान इन राइट प्लेस' व्यवस्था गर्न सकियो भने विकास र सुशासन कायम गर्न सकिन्छ।