चौबीसैँ घण्टा भिडभाड हुने विमानस्थल कोभिडको पहिलो लहरमा जस्तै दोस्रो लहरमा पनि सुनसान छ। अति आवश्यक उडान चार्टर गर्न अनुमति भए पनि गत पहिलो लहरमा जस्तो यसपालि चार्टर उडान भएन।
सायद कोभिडले तहसनहस बनाएकाले सबैतिर आर्थिक संकटका कारण होला यस पटक यात्रुहरुले महंगो चार्टर भाडा तिर्न सकेनन्। उडानहरु नभएपछि प्रायः कोठामै बसाइ छ मेरो।
जाने आउनेहरुको चिनाजानीका आफन्तहरुले कहिले विमानस्थल खुल्छ भनेर दिनहुँ फोन भने गरिरहेका छन्। निषेधाज्ञा भने थपिरहेको छ। जेठ १३ गते टर्की र कतार अनि चाइनाका लागि १८ गतेदेखि उडान खुला गर्ने भन्ने समाचार आयो।
चाइना जाने आउने नेपालीहरु प्रायः हुँदैनन्। त्यसैले यी उडानहरु युरोप अमेरिका लक्षित देखियो। वैदेशिक रोजगारमा जाने आउनेहरुको आशा र प्रतिक्षामा अपमान भएको मलाई महशुस भयो। तैपनि आशा गर्छु र उनीहरुका आफन्तहरुलाई भन्छु- त्यतिन्जेलसम्म हेरुँ वैदेशिक रोजगार क्षेत्र (देश) का लागि पनि अवश्य खुला गर्ला।
रोजगारका लागि विदेशीएकाहरु कोभिडको कारण, आफन्तको मृत्यको कारण, रोजगार अवधि पूरा भएका कारण छुट्टी मिलाएर आएका छन्। उनीहरु उडान खुल्ने आशा र प्रतिक्षामा छन्।
जेठ १८ मा उडानसम्बन्धी अर्को सूचना त आयो तर उही तीन देशका लागि हप्तामा १० वटा उडानमात्र हुने गरी। सरकारको यस निर्णय श्रमिकहरुका लागि नभई सुकिलाहरुका लागि मात्र भयो।
सरकारको उनीहरुमाथि हेने दृष्टि र व्यवहारले म एकाएक गलेँ। मेरो मन अमिलो भयो। गत साल रित्तै फर्केर आएका, जेब्री झोला तथा कुम्लो कुटुरोमा दुःख लुकाएर आएका, काँचो सुन (गहना बनाएर मात्र ५० ग्रामसम्म ल्याउनु पाउने नियम छ) लिएर आउँदा रुँदै भन्सार तिरेको दाजुभाइ र दिदीबहिनीहरुलाई सम्झेँ।
यो साल आउनेहरु पनि निश्चय नै धनी छैन भन्ने मेरो अनुमान छ। निषेधाज्ञा गरेको पनि एक महिना बढी भइसकेको छ। जानेहरु भिसा सकिन लाग्यो भनेर आत्तिरहेका छन्।
उनीहरुले भनिरहेका छन्- वृद्ध आमा-बा, नाबालक सन्तान, सुत्केरी जहान पाल्नु छ, बिरामी आमा-बाको उपचार गर्नु छ, बाबुनानीलाई नयाँ नाना, दुई छाक खाना किन्नु छ। बन्दकी राखेको घरबारी उकास्नु छ।
उनीहरुको यस्तो हालत देखेर म निष्ठुरी हुन सक्दिनँ। उनीहरुको मायाले मेरो आत्मा जलिरहन्छ।
मलाई पनि माया लाग्छ उनीहरुको चुहिने छानोमुनि आयुको अन्तिम मानो कुरिरहेको ती वृद्ध आमाबाहरुको, आइरन चक्की किन्ने पैसा नभएका ती सुत्केरी भाउजूहरुको, फाटेको नाना लाएर बटुकोमा खाना मागिरहेको अबोध लालाबालाहरुको, विदेश जाँदा बन्दकी राखेको घरघुरेनहरुको।
जेठ १८ गतेकै दिन पाकिस्तानबाट चार्टर उडान आउने भएकाले म विमानस्थल पुगेँ। एयरलाइन्सका साथीहरुसँग भेट भयो। उनीहरुले पनि वैदेशिक रोजगारमा जानेहरुलाई अपमान भएको भने।
मैले पनि कुरा थपेँ- उनीहरुकै रेमिट्यान्सले देश चलेको छ, भूकम्पमा राहत, कोभिडको आतंकमा अक्सिजनको अभावले छटपटिँदा उनीहरुले गाँस काटेर परदेशबाट अक्सिजन पठाएका छन्। उनीहरुले तिरेको करले हामी कर्मचारीहरुले जागिर खाएका छौँ।
यति मात्र होइन, श्रम स्वीकृत गर्दासमेत उनीहरुले राज्यलाई शुल्क तिरेका छन्। युरोप अमेरिकातिरका नेपालीहरु कति त उतैकै नागरिक भएका छन्, कर पनि उतै तिर्छन्। त्यसैले राज्यले सोच्नुपर्ने र प्राथमिकता दिनुपर्ने त वैदैशिक रोजगारमा जानेहरुलाई हो।
तर कसले सोच्ने र, किन सोच्ने र! उनीहरु खरबे (खर्बौं) होइन, अरबे हो। लाहुरे होइन, चाउरे हो। डोरी लाहुरे हो। उनीहरु त केवल देशको ऐच्छिक मानव मात्र हुन्।
म रेमिट्यान्सले अर्थतन्त्र धानेको देशको मान्छे। रुँदै पचाँस ग्राम सुनको भन्सार तिरेको करले तलब खाने मान्छे। वैदैशिक रोजगारले जीविका धानेको गाउँटोलको मान्छे। उनै परदेशीलाई नै सम्झँदो रहेछु।
टर्की र कतार जाने आउने उडानहरुमा डोरीले बाँधेको जेब्री झोलाहरु, पोकापतौरोहरु रसीले कसेको कार्टुन बक्सहरु कतै छ कि भनेर हेरेँ तर कतै देखिएन। त्यहाँ त राम्रा-राम्रा सुटकेसहरुमात्र थिए।
सामान्य र अधर्ने पोशाक र चप्पल लगाएका, ढाका-टोपी लगाएका यात्रुहरु छन् कि भनेर खोजेँ तर कतै भेटिएन। त्यहाँ त सुकिला यात्रुहरुमात्र थिए। तिनीहरुको पासपोर्ट हेरेँ, स्थायी ठेगाना युरोप अमेरिकाको रहेछ। नेपाल भन्ने देश त पुर्ख्यौली देश पो रहेछ।
कतै बिराएँ कि भनेर फेरि दोहोर्याएर हेरेँ, खाजेँ तर जति हेरेँ पनि, जहाँ खोजेँ पनि भेट्दै भेटिनँ मैले परदेशीलाई। उनीहरु पनि गएछन् तर अमेरिका होइन, युरोप होइन र अरब पनि होइन। जहाजमा उडेर पनि होइन।
उनीहरु त विदेशमा बगाएको पसिना र घरपरिवारको दुखमा बगेको आँसुमा बग्दैबग्दै अन्त कतै गएछन्। यहाँ सम्पन्न आफन्त, विपन्न बिरानो हुँदो रहेछ। यहाँ त उनीहरुको राहत र अक्सिजनमात्र चल्दो रहेछ, उनीहरुप्रति माया कहिल्यै नचल्दो रहेछ।