यस पृथ्वी जगतको आधारभूत परिस्थितिय प्रणाली (इकोसिस्टम) किराहरुकै नियन्त्रणमा छ भन्दा अन्यथा नहोला।
मानव इतिहास र सभ्यतासँगै किराहरूले आध्यात्मिक, सांस्कृतिक रुपमा विशेष महत्व राखेको पाइन्छ।
दार्शनिक तथा वैज्ञानिक जीन-मार्क ड्रोविन भन्छन् कि किराहरूले मानवा सभ्यतासँग वैज्ञानिक, आर्थिक, र ऐतिहासिक र सौन्दर्य चेतमा समेत सम्बन्ध कायम गरी मानव र प्राणी जगतसँगको अन्तरसम्बन्धको धारणामा पुनर्विचार गर्न बाध्य पारे।
किराहरुको जीवनचक्र र उनीहरु एकआपसमा मिलेर कार्य सम्पादन गर्ने र मिलेर बस्ने आनीबानी नै मानव सभ्यताका लागि राम्रा उदाहरण बन्न पुगे।
मौरी वा कमिलाहरुलाई हेर्दा पनि हामीलाई लैंगिक, पारिवारिक, जीवन संघर्ष, श्रमको विभाजन, सामाजिक संगठन अनि व्यक्तिगत र सामूहिक बुद्धिमत्ताको प्रयोग कसरी गने भन्ने सम्बन्धमा हाम्रा धारणालाई विकास गर्न र पुनर्मूल्यांकन गर्न बाध्य पार्छ।
यसै सन्दर्भमा, कोर्नेल विश्वविध्यालयका विश्वविख्यात प्रोफेसर थोमस सेलीले मौरीहरुलाई प्रजातन्त्रको आदर्श मानेका छन्। उनका अनुसार मौरीले सामूहिक रूपमा र लोकतान्त्रिक निर्णय लिन्छन्।
नयाँ घर रोज्ने र यात्रा गर्ने, जीवन वा मृत्यु समस्याको सामना गर्न व्यापक छलफल गर्छन्। मौरीका रानीले सबै प्रक्रियालाई समेट्दै सामूहिक तथ्य पत्ता लगाउने, जोडदार बहस गर्ने र सहमति निर्माण गराउने गर्छ।
यसरी किराहरु मानव जीवनका हरेक पक्षसित जोडिन्छन र मानव सभ्यताको मार्ग चित्रण गर्छन्। पूर्वीय दर्शनमा समेत किराहरु र तिनका जीवनचक्रले गहिरो छाप छोडेको छ।
चन्डोग्या र बृहदारण्यक उपनिषदमा ‘मधु विद्या‘ अर्थात् मौरीहरुले मह संकलन गर्ने तरिका र महको रसको उदाहरण दिँदै जीवहरुको अस्तित्व, परिवर्तन र ब्रम्हा स्वरुपको व्याख्या गरिएको छ। यसरी हेर्दा किराहरु मानिसका लागि अध्यात्म शिक्षाका गुरु समेत मानिन्छन्।
पूर्विय सनातनी देवी देवता प्राय: मौरीको साथ सम्बन्धित थिए। विष्णु र कृष्णलाई माधव भनिन्छ अर्थात् महरुपी अमृतको प्रतिक मानिन्छ। विष्णुलाई कमलको फूलमा निलो मौरीको प्रतिनिधिको रुपमा मानिन्छ।
यसरी हेर्दा किराहरू र मानिसहरूबीचको सम्बन्ध लामो र जटिल छ। किरा र मानिसको सम्बन्ध परम्परागत औषधिको रुपमा पनि देखिन्छ। भारतवर्ष भित्र वा चिनियाँ सभ्यतामा समेत किराहरुलाई उपचारको रुपमा प्रयोग गरिएको लामो परम्परा छ।
मेक्सिकोका आदिवासीहरूले कलेजोको बिरामीको उपचार गर्न खपटे किराहरुको प्रयोग गर्थे। र मौरीको विष अक्यूपंक्चरको उपचारमा प्रयोग गरिने तरिका अहिले विश्वव्यापी नै बनेको छ। यो विशेषत रुमेटोइड (गठिया) र हड्डी गल्ने रोग (ओस्टेओपोरोसिस) पीडितहरूका लागि प्रयोग गरिने एउटा उपचार हो।
वैज्ञानिक अध्ययनको सिलसिलामा कुन किरा कसरी मित्र वा दुश्मनको रूपमा पहिचान गर्ने भन्ने विषयमा वैज्ञानिकहरुबीच पनि लामो समयदेखि विवाद रहिआएको छ।
हालसम्म वैज्ञानिकहरूले किराका करिब १० लाख प्रजाति पहिचान गरेका छन्। तर कतिपय वैज्ञानिकको अनुमान छ कि करिब ३० लाख प्रजाति किराको पहिचान हुन बाँकी नै छ।
किराका यति धेरै प्रजातिमध्ये जम्म्मा एक हजारभन्दा कम प्रजातिका किराले मात्रै रोग सार्ने वा बालीनालीलाई हानी पुर्याउने गर्छन्। अर्थात् पृथ्वीका ९९ प्रतिशतभन्दा बढी किराहरू मानिसका शत्रु होइनन्।
हाम्रो अन्नबालीको लागि कुनै किरा हानिकारक भएकै आधारमा मात्र त्यसलाई हानिकारक वा शत्र किराको रुममा चिन्नु वृहत वैज्ञानिक दृष्टिकोणले नकारात्मक देखिन्छ। किनकि त्यस्ता हानिकारक मानिएका किराहरुले अर्को तर्फ परिस्थितिय प्रणालीमा सकारात्मक योगदान पुर्याइराखेका हुन्छन् भने कुनै कुनैले वातावरणीय परिवर्तनको सूचकको रुपमा पनि काम गरिरहेका हुन्छन्।
यस पृथ्वीको जैविक विविधताको महत्वपूर्ण स्वामित्व किराहरुले नै लिन्छन्। किराहरू नहुने हो भने विश्व अर्थतन्त्रको कल्पना नै गर्न सकिन्न र सबै परिस्थिति प्रणाली ध्वस्त हुनेछ।
त्यसैले मानिसको खाद्य उत्पादनको महत्वपूर्ण आधार पनि किराहरु नै हुन्। तिनीहरूले माटोमा समेत पोषक चक्र सृजना गर्ने, परागकण फैलाउने, माटोको संरचना र उर्वरता कायम राख्ने, पारिस्थितिय प्रणाली मार्फत अन्य जीवहरूको जनसंख्या नियन्त्रण गर्ने र अन्य जीवहरुका लागि प्रमुख खाद्य स्रोतको रुपमा पनि उत्तिकै महत्वपूर्ण भूमिका खेलेका हुन्छन्।
साथसाथै अर्कोतर्फ किरा र मानव समुदायको लामो सम्बन्ध वातावरण पहिचानको निम्ती पनि देखिन्छ। दैनिक २४ घण्टामाहुने मौसमी वा दिन रातको परिवर्तनका संकेतहरू (सर्काडियन घडी) जस्तो कि प्रकाश र तापक्रमको परिवर्तन आदिको सन्केत गर्न सक्ने क्षमता समेत किराहरु सित हुन्छ।
मानिसमा जस्तै किराहरुमा पनि दैनिक २४ घण्टाको व्यवहारमा पनि परिवर्तन हुन्छ। उदाहरणको लागि आफ्नो हिँडाइ, खानपिन, सम्भोग, र अन्य शारीरिक जीवन चक्रिय क्रियाकलापहरू पनि यिनीहरुलाई चन्द्र-सूर्यको दैनिक परिवर्तनले ठूलो प्रभाव पार्छ|
वर्तमान जलवायु परिवर्तनले जसरी मानव जीवनलाई असार गरेको छ, त्यसरी नै किराहरुलाई समेत असार पारेको पाइन्छ। किराहरु जलवायु परिवर्तनका सूचक समेत मानिन्छ।
जलवायु परिवर्तनको समस्याको सन्दर्भमा किराहरु पृथ्वीको एक स्थानबाट अर्को स्थानमा मानिसले झैँ आफ्नो रैथाने स्थान परिवर्तन गरेको पाइएको छ। जलवायु परिवर्तनको कारण भूमध्य क्षेत्रीय स्थानहरुका किराहरु उत्तर गोलार्ध तिर बसाइ सर्ने गरेको वेज्ञानिक तथ्य पाइन्छ।
नेपालको सन्दर्भमा तराई क्षेत्रमा मात्र पाइने कयौँ पुतलीहरु उच्चहिमाली क्षेत्रतिर बसाइ सरेको संकेत देखिन्छ। यसरी किराहरुले स्थान परिवर्तन गर्दै जाँदा स्थानीय जैविक विविधताको संरक्षणमा कस्तो असार पर्ला भन्ने पनि वैज्ञानिक जगतको चिन्ताको विषय छ।
उदाहरणका लागि उत्तर अमेरिकी वनहरुमा मात्र ४५० प्रजातिका पहिले त्यहाँ नपाइने तर अन्तबाट आएका किराहरु पाइएका छन्। उनीहरूले नयाँ वातावरणमा धेरै विनाश गरेको पाइन्छ। त्यसरी आउने किराले प्रत्येक वर्ष ४ खर्ब ७० अर्ब डलरभन्दा बढीको वनजंगल वा खेतीवाली क्षति गरेको तथ्य छ।
कुन वर्ष कुन आगन्तुक किराले कस्तो प्रकारको समस्या निम्त्याउँछ भन्ने कुरा वैज्ञानिकहरुले समेत सजिलै अनुमान लगाउन सक्दैनन्।
वासिङटन विश्वविद्यालयको नेतृत्वमा रहेको एउटा अनुसन्धान टोलीले किराहरु र तिनीहरुले खाने बोटबिरुवा बीचको अन्तरक्रिया अध्ययन गरेर नयाँ नयाँ वातावरणमा आउने किराहरूले कस्तो व्यवहार देखाउँछन् भनेर व्यापक वैज्ञानिक अध्ययन गरेका थिए।
उनीहरुको अध्ययनको बारेमा प्रख्यात जर्नल ‘इकोलोजी एण्ड इभोलुसनमा’ प्रकाशित गरेका थिए। त्यसैले नेपाल जस्तो देशमा पनि जलवायु परिवर्तनको सन्दर्भमा किराहरुले स्थानीय परिस्थितीय प्रणालीमा कस्तो प्रभाव पार्छन् भन्ने कुरा अध्ययनको विषय बनेको छ।
आगन्तुक किराहरुले स्थानीय परिस्थितीय प्रणालीमा पाने अल्पकालीन र दीर्घकालीन असरका बारेमा विस्तृत रुपमा बुझ्न वैज्ञानिकहरुलाई निकै अध्ययन गर्नु पर्ने देखिन्छ।
हालसालै बेलायतबाट प्रकाशित हुने 'पिपुल एण्ड नेचर' भन्ने जर्नलमा प्रकाशित लेखमा समेत यस्ता आगन्तुक किराहरुको मानिस र वातावरणका लागि फाइदा र बेफाइदाको बारेमा निकै चाख लाग्दा तथ्यहरु प्रकाशित गरेको पाइन्छ।
त्यसैले भर्खरै सकिएको विश्ववातावरण दिवसको सन्दर्भमा किराहरुको संरक्षण नै पृथ्वी र वातावरणको संरक्षण हो भन्ने बुज्नु जरुरी छ।
साथै महामारीको रुपमा हालसालै देखिएको लामखुट्टे द्वारा सारिने डेंगी जस्ता रोगको प्रकोपलाई बेलैमा नियन्त्रण गर्न समेत नेपाल जस्तो देशले जलवायु परिवर्तन साथै मानिसजन् कृयाकलाप कति जिम्मेवार छन्, बेलैमा विस्तृत अनुसन्धान गर्नु पर्ने देखिन्छ।
(लेखक त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र विभागका सह-प्राध्यापक हुन्।)