साधारणतया दृष्टिलाई व्यक्तिले कति सफा र स्पष्ट देख्न सक्छ भनेर परिभाषित गरिएको भेटिन्छ। यसलाई चिकित्सकीय भाषामा भन्नुपर्दा भिजुअल एक्युटी भनिन्छ।
२०/२० अर्थात् ६/६ को एक्युटी परिमाणले व्यक्तिको दृष्टि स्पष्ट भएको निर्धारण गरिएतापनि यो परिभाषा धेरै आयामबाट संकुचित छ।
व्यक्तिले देखेको बस्तुको स्पष्टताको परिमाणभन्दा पनि आफूले वातावरणमा घटेको घटनालाई के देखेँ भनेर बुझ्नु र त्यस बुझाइलाई आफ्नो दैनिक कार्यको निर्देशनकका निमित्त प्रयोग गर्नसक्ने क्षेमतालाई नै दृष्टि भनिन्छ।
दृष्टि भनेको प्रकाशबाट आएको भिजुअल इन्पुटहरुलाई व्यवस्थित गरी वातावरणमा अर्थात् भिजुअल वर्ल्डमा भएका चिजहरुबीचको स्थानिक सम्बन्ध पहिचान गरी वास्तविकताको आन्तरिक प्रतिनिधित्वको निर्माण गर्नु हो।
यसरी बनेको प्रतिनिधित्व आफैमा अपूर्ण भएका हुनाले अरु इन्द्रियको सहायतामा दृष्टिले थप जानकारी प्रदान गरी कार्यहरु सटिक तरिकामा कार्यान्वयन गर्न निर्देश गर्छ।
जब केही दृश्यात्मक सीपहरु कत्ति पनि विकसित भएका हुँदैनन् या पूर्णरुपमा विकास भएका हुँदैनन्, बच्चाहरुलाई स्कुलमा हुने पढाइ-लेखाइमा तथा अन्य सिकाइ र वयस्कहरुको लागि काम गाह्रो र तनावपूर्ण बन्दै जान्छ।
त्यस्तै फोकोस गर्ने क्षमता, दुवै आँखाको समन्यव प्रयोग, आँखाको मांसपेशीको सीपमा विकार आएमा नजिक तथा दूरीमा हेर्न असुविधा, थकान, आँसु आउने, आँखा मोल्ने र बारम्बार झिम्काउने, टाउको दुख्नु, एउटा आँखा बन्द गर्नु, डबल दृश्य देखिनु, आँखामा डेडोपना, अक्षरहरुको क्रम बिर्सिनु जस्ता धेरै समस्या देखा पर्दछन्।
पत्ता नलागेका र पत्ता लगाइकन पनि समाधान नभएका माथि उल्लेखित समस्याले विभिन्न व्यवहारात्मक समस्या जस्तै एडिएचडीमा देखिने लक्षणहरु पनि समान रुपमा दर्पण गर्छन्। यस्ता समस्याको विस्तृत दृष्टि परीक्षा गरेर त्यस अनुरुप नै सो समस्याको भिजन थेरापी मार्फत समाधान गर्नुपर्छ।
के हो भिजन थेरापी?
भिजन थेरापी चलिरहेका प्रमाणमा आधारित वैज्ञानिक अनुसन्धानद्वारा समर्थित दृष्टि प्रकृयाहरुको विशेष उपचार हो। यो थेरापी डाक्टर/दृष्टि विशेषज्ञको निगरानीमा विशेषज्ञको क्लिनिकमा गरिन्छ।
कहिले काहीँ समस्याको जटिलता अनुसार क्लिनिकमा गरिएको थेरापीलाई सहायता गर्न घरमै आभ्यास गर्न पनि सल्लाह गरिन्छ। यस्ता अभ्यासहरु प्रत्येक व्यक्तिको व्यतिगत दृष्टि आवश्यकता अनुसार डिजाइन गरिएको हुन्छ।
यस्तो थेरापीको निमित्त विशेषत: लेन्स, प्रिस्म, फिल्टर, थ्री-डी गतिविधि, कम्प्युटराइज्ड सफ्टवेयर, ग्रोस मोटर र फाइन मोटर गतिविधिहरु, रिफ्लेक्स इन्टिग्रेसनका गतिविधिहरु, ब्यालेन्स बोर्ड र भिजुअल एबिलिटी विकास र सुधार गर्न बनेका विभिन्न उपकरणहरु प्रयोग गरिन्छ।
कुन उमेरका समूह भिजन थेरापीद्वारा लाभान्वित हुन सक्छन्?
थियोरी अफ न्यूरोप्लास्टिसिटी सम्बन्धित गरिएका धेरै अनुसन्धानले प्रशिक्षणको साथसाथै चोटपटकको प्रतिक्रियाको रूपमा न्यूरोनल सर्किटको कर्टिकल र सबकोर्टिकल रिवायरिङका हुने पुष्टि गरेका छन्।
सरल भाषामा भन्नुपर्दा मस्तिष्कमा स्नायुप्रणालीको सञ्जालको विकास र पुर्नस्थापन कुनै पनि उमेरमा हुन सक्ने धेरै अध्ययनले प्रमाणित गरेका छन्। तसर्थ बालबालिकादेखि मृत्युभन्दा अघि सबै उमेरका समूहलाई भिजन थेरापी उत्तिकै लाभदायी छ।
भिजन थेरापीको मुख्य उदेश्य के हो?
भिजन थेरापीमा गरिने गतिविधिका शृंखलाले मुख्यतः व्यक्तिमा आधारभूत दृश्य सीपहरुको विकास र सुधार गर्दछ। त्यसैगरी थेरापीको माध्यमबाट व्यक्तिविशेषको कामलाई सजिलो र आरामदायी बनाएर दक्षताको सुधार गर्छ।
साथै भिजन थेरापीको अर्को उदेश्य वातवरणमा भएको दृश्य जानकारीको व्याख्या तथा प्रोसेसिङलाई प्रशिक्षणका मार्फत परिवर्तन गर्नु पनि हो।
भिजन थेरापीबाट को-को लाभान्वित हुन सक्छन्?
निम्न उल्लेखित व्यक्तिहरू भिजन थेरापीबाट लाभान्वित हुन सक्नेछन्:
१) दुवै आँखाको समन्यव प्रयोग सम्बन्धित समस्या भएका बच्चा/वयस्कहरु
२) आँखाको लेन्सद्वारा फोकस गर्ने सीप सम्बन्धित समस्या भएका बच्चा/वयस्कहरु
३) आँखामा डेडोपना र अल्छे आँखाको समस्या भएका बच्चा/वयस्कहरु
४) तनाव प्रेरित दृष्टि सम्बन्धित समस्या भएका व्यक्तिहरु
५) टाउको/मस्तिष्कको चोटपटकपश्चात दृष्टिमा आउने समस्याको समाधान र पुनर्स्थापना जरुरी भएका व्यक्तिहरु
६) स्ट्रोक /प्यारालाइसिस पश्चात दृष्टि सम्बन्धित समस्याको समाधान र पुनर्स्थापना जरुरी भएका व्यक्तिहरु
७) विशेष आवश्यकता भएका बच्चाहरूमा जस्तैः अटिजम स्पेकट्रम डिसअर्डर, सेरेब्रल पाल्सी, डाउन सिन्ड्रोम, अटेन्सन डेफिसिट हाइपर एक्टिभिटी डिसअर्डर भएका दृष्टि सम्बन्धित समस्याको पहिचान र पुनर्स्थापना जरुरी भएका बच्चा/वयस्कहरुहरु
८) लर्निङ रिलेटेड डिसअर्डर जस्तैः डिसलेक्सिया, डिसग्राफिया भएका बाल बच्चा/वयस्कहरुहरु
९) जन्मजात, विकासात्मक वा प्राप्त दृष्टि समन्धित समस्या भएका बच्चा/वयस्कहरु
१०) विभिन्न कारणहरुबाट विकासात्मक ढिलाइका कारण पुनर्स्थापना जरुरी भएका बच्चाहरु
११) जन्मजात दृष्टि सम्बन्धित समस्याले भिजन इस्टिमुलेसन र पुनर्स्थापना जरुरी भएका बच्चाहरु
१२) सन्तुलन र समन्वयमा समस्या भएकाहरु
१३) खेलकुद र मनोरञ्जन सम्बन्धित दृष्टि समस्या भएका या सम्बन्धित खेलमा जरुरी हुने गुणहरुको सुधार र दक्षता विकासमा रुचि भएका।
यदि कुनै व्यक्तिको दृष्टि सम्बन्धित सीपमा कौशलता पर्याप्तरुपमा विकसित भएको छैन या दृष्टि अन्य इन्द्रियहरुसँग समन्यव गर्न असफल हुन्छ, त्यस समस्याले उसको जीवनयापनको धेरै क्षेत्रहरुमा द्विविधा आमन्त्रित गर्दछ।
दुर्भाग्यवश स्कुल स्क्रीनिङ र सामान्य आँखा चेकअपमा दृष्टि सम्बन्धित धेरै सीपहरुको परीक्षण गरिएको हुँदैन। सामान्यता यस्तो स्क्रीनिङमा केवल आँखाको संरचना र भिजुअल एकुटीमात्र जाँच गरिन्छ।
आफ्नो बच्चा तथा आफ्नो आँखा सम्बन्धित कुनै पनि समस्या देखिएमा डेभलपमेन्टल अप्टोमेट्रिस्टसँग विस्तृत आँखाको परीक्षण गर्नुपर्छ।
परीक्षण पश्चात दृष्टिमा केही समस्या देखिए विशेषज्ञले भिजन थेरापीको पद्धतिबाट सो समस्याको हल हुने सल्लाह दिए सोही अनुरुप उपचार सुरु गर्नुपर्छ।