कोभिड १९ का बारेमा धेरै संवादहरू भइरहेका छन्। भाइरसका बारेका केही कुराहरू पत्ता लागेका छन्। तर खोज्नपर्ने कुराहरु अझै धेरै छ। हाम्रो देशमा मात्र नभएर विकसित भनिएका देशमासमेत स्वास्थ्यमा लगानी धेरै छैन।
संसार मनोरञ्जनमा धेरै लगानी गर्छ। त्यस कारण पनि कोरोनामात्र होइन अरु धेरै भाइरसका बारेमा हामीलाई धेरै थाहा छैन। संकटको बेलामात्र यसको आवश्यकता महसुस हुनेभए पनि प्राय हाम्रो जस्तो विकासोन्मुख देशमा संकट टरेपछि समस्या बिर्सने गरिन्छ। यसकारण हाम्रो तयारी पूर्ण हुँदैन। अन्तमा मारमा पर्ने सोझा गरिब जनतामात्र हुन्छन्।
कोभिड १९ का कारण हाम्रो गाउँ छिमेकमा अथवा आफ्नै घरमा आकस्मात कोही अनपेक्षित आफन्त र छिमेकीको मृत्यु भएको हामी सबैले देखे सुनेकै छौँ। अस्पताल महिनौ बस्न परेको, आइसियूमा धेरै दिन बस्न परेको धेरै उदाहरण छन्। यो दोस्रो लहरमा सिकिस्त बिरामी हुनेको संख्या उल्लेख्य छ।
यस्तो लाग्छ, कोभिडले नछोएको कुनै घर छैन। मृत्युदर पहिलाको भन्दा सामान्य बढी भए पनि धेरै मानिसमा सङ्क्रमण भएका कारण मृत्युको संख्या बढी देखिएको हो। यो लहरमा वृद्ध वृद्धामात्र नभएर युवायुवतीको पनि पहिलाको भन्दा बढी मृत्यु भएको छ। वृद्धवृद्धाले खोप पाइसकेकाले मृत्युदरमा केही सुधार आएको पक्कै हो। खोपको प्रभावकारीता राम्रो भएको हामी सबैले अनुभव गरिरहेकै छौ। खोप लगाएका मानिसलाई कोभिड नलाग्नेदेखि कोभिड लागिहाले पनि प्रायलाई रोगले सिकिस्त नबनाउने देखिएको छ।
महामारीको सुरूका अवस्थामा ढल्कदै गरेको उमेर, पुरूष जात र दीर्घ रोग भएकामा बढी जोखिम हुने बताइएको थियो। तर अरू कुनै रोग नभएका पनि मृत्युको मुखमा पुगेको प्रसस्त उदाहरण छन्।
दीर्घरोगीलाई केही नभएको उदाहरण पनि प्रसस्त छन्। तसर्थ यी जोखिमका उदाहरणले मात्र रोगद्धारा हुने जोखिमको सम्भावना बताउन सकिदैन। भाइरसले अचम्म रूपमा मानिसलाई छानेको आभास हुन्छ। त्यसकारण मानिसमा जिनको (वंशानुगत) जोखिम पनि हुन्छ भनेर अनुमान लगाउन सकिन्छ। सामान्यतया रोगहरू कि त वंशानुगत जिनका उपज हुन्छन् कि, हामीले बाँच्ने गरेको वातावरणको प्रतिफल हुन्छन् (रोगजस्तै मानिसको सोच र व्यवहार पनि कि जिनको, कि वातावरणको उपज हुन्छ।)। कोभिड १९ पनि यो नियमबाट अछुतो रहन सक्दैन।
युवाको ठूलो जमातले खोप लगाउन पाएको छैन। यस कारण युवामा मृत्युदर बढेको हुनपर्छ। युवाहरु घर बाहिर बढी जाने गरेकाले पनि उनीहरूलाई सङ्क्रमण बढी देखिएको हो। लेखकले काम गर्ने अस्पतालमा २५ वर्षको केटोको मृत्यु भएको उदाहरण छ। एकै परिवारका (एक जिनेटिक लाइनका) सदस्यलाई यो रोगको प्रकृतिमा एकरूपता आएको अनुभव छ। कुनै परिवारका हजुरबा, बुवा र नातिको मृत्यु भएका उदाहरण हामीसँग छ। कुनै परिवारलाई रोग लागे पनि केही भएको छैन, कुनै परिवारलाई रोग लागेकै छैन।
त्यस्तै एकै परिवारका दाजुभाइको मृत्यु भएको उदाहरण पनि प्रसस्त छ। यस्तोमा भाइरसको लोडलाई मात्र (संख्या) जिम्मेवार गराउन सकिन्न। सँगै बस्यो भने भाइरसको मात्रा बढी हुने सम्भावना त भइहाल्छ, तर छुट्टै बसेका दाजुभाइमा पनि सङ्क्रमणले उस्तै सिकिस्त बनाएको देखेका छौं। दाजु नेपालमा भाइ बिदेशमा मृत्यु भएको केही घटनाले भाइरसको संख्यालाई मात्र दोष दिन मिल्छ भन्ने छैन। यस्तोमा जिनको प्रभाव छ भन्ने अनुमान लगाउन सकिन्छ।
भाइरसले फोक्सोका कोशीकामा आक्रमण गरेपछि कोशीकामा भएको भाइरसको रिसेप्टरसँग समाहित हुन्छ। त्यो रिसेप्टरलाई एसिइ टु रिसेप्टर भनिन्छ। एसिइटु रिसेप्टरमा (र टियमनिआरयसयस टु) गडबडी भएका मानिसलाई यो रोग सर्नसक्ने सम्भावना उच्च भएको केही अनुसन्धानले देखाएको छ।
यो रिसेप्टरमा भएको गडबडीले क्यानसरका बिरामी, पुरुष, मुटु र फोक्सोका दीर्घ रोगीलाई किन कोभिड १९ले जोखिम बढी छ भनेर उत्तर दिनसक्छ। एसिइटु एक्स क्रोमोजोममा हुने भएकाले पनि पुरूषमा सङ्क्रमणको जोखिम बढी भएको हुनसक्छ। अर्को जिन (टिएमपिआरएसएस टु) देखिएका मानिसलाई पनि कोभिडको जोखिम उच्च छ। उक्त जिन बच्चामा कम हुने भएकाले औषत रूपमा बच्चाहरू कोभिड १९ को कम जोखिममा हुन्छन् भन्न सकिन्छ। उक्त नतिजा अमेरिकामा गरेको एक अनुसन्धानको आधारमा हो। एक अनुसन्धानका आधारमा मात्र यकिनका साथ कुनै पनि भनाइ मान्न सकिन्न। यो खोजलाई अरू थप अनुसन्धानको आवश्यकता पर्छ।
हाम्रो शरीरमा २३ क्रोमोजोम हुन्छन्। त्यस मध्येको १२ क्रोमोजोममा भएको डिएनएको एक खण्ड (ह्यापलोटाइप) जो नियान्डरथलबाट (हाम्रा पुर्खा, आदिमानव) वंशानुगत रुपमा आएको छ। उक्त जिन भएका मानिसलाई सिकिस्त बिरामी हुने सम्भावना २२ प्रतिशतले घटेको देखिएको छ। यस्तो ह्याप्लोटाइप अफ्रिका बाहिरका मानिसमा प्रसस्त भेटिएको छ।
नियान्डरथल आदि मानवहरु युरेसियामा र डेनिसोभान आदिमानवहरू एसियामा (दिदीबहिनीहरु) ५ लाख वर्ष पहिले विकसीत भएको पत्ता लगाइएको छ। ४० हजार वर्ष पहिले उनीहरू विलुप्त भएर गए पनि उनीहरूका केही जिनहरु आजसम्म मानिसहरुलाइ प्रभाव पारिरहेका छन्। यस्ता जिनहरुले अफ्रिका बाहिर बाँच्न अनुकुलन (याड्याप्टेसन) गर्न सहयोग गरेको थियो। यस्ता जिनहरुका मद्धतले मानिसहरु सदाकालदेखि भइरहेका अनेकन महामारीबाट बच्न सफल भइरहेको छ। यस्ता जिनहरुमा रोगको प्रतिरोधात्मक क्षमता पनि (जो जन्मसिद्ध पाइन्छ अनि जो जन्मेपछि बन्छ) अन्तर्निहित भएको हुन्छ। यो (ओएस लोकस) जिनको खण्ड आर एन ए भाइरसहरु जस्तै हेपाटाइटिस सि भाइरस, वेस्ट नाइल भाइरस, सार्स भाइरसका विरुद्ध सुरक्षात्मक छ।
अर्को अनुसन्धानमा क्रोमोजोम तीनमा भएको जीनको समूहले सास फेर्न नसकेर (रेस्पिरेटरी फेलिएरले) गम्भीर बिरामी गराइदिने देखिएको छ। यस्ता जिनको समूह भएका मानिसहरू दुई गुणा बढी जोखिममा हुन्छन्। यो जिनलाई पनि नियान्डरथलबाट विरासत प्राप्त भएको मान्न सकिन्छ (विरासत धनमा मात्र हुँदैन रोगमा पनि हुन्छ।) दक्षिण एसियामा यस्तो जिन हुनेको संख्या ५० देखि ६५ प्रतिशत छ। युरोपमा यो १६ प्रतिशतमात्र छ। यो जिन पूर्वी एसियामा शून्य जस्तै छ।
पूर्वी एसियामा यो जिन नकारात्मक छनोटका (नेगेटिभ सेलेक्सन) कारणले विलुप्त भएको हुनुपर्छ। यसले अहिले नकारात्मक असर पारे पनि कुनै समयमा मानव विकासको क्रममा कुनै किटाणु विरूद्ध लड्न सहयोग पुर्याएको अनुमान गर्न सकिन्छ।
यस्ता जिनको अनुसन्धान विकसित देशमा भइरहेका छन्। हाम्रो जस्तो देशमा अनुसन्धान गर्न पर्याप्त स्रोत साधन छैनन्। तर हामीहरू पत्ता लगाइएका जानकारी सङ्कलन गरेर चिन्तन मनन् गर्न सक्छौ।
समग्रमा हेर्दा भाइरस र जीनहरुको एक अर्कामा सम्बन्ध भएको हाम्रो व्यक्तिगत अनुभव र केही लेखहरुले देखाएका छन्। यसको थप अनुसन्धान हुन बाँकी छ। तत्कालका लागि हामी सजक हुनपर्ने कुरा के छ भने कुनै परिवारमा कोही सिकिस्त बिरामी भइएको छ भने अरू परिवारका सदस्य उच्च सतर्कतामा बस्नुपर्छ। अब क्रमशः अस्पतालका बेडहरू खाली हुँदै गरेकाले सकेको खण्डमा अस्पताल लगेरै उपचार गराउदा राम्रो हुन्छ।
बिरामीलाई दोस्रो हप्तामा जोखिम बढी भएको व्यवहारीक अनुभवले सिकाएको छ। त्यसैले रोग लागेको दोस्रो हप्ता उच्च सतर्कता अपनाउनुपर्छ। यसका बाबजुद कोसँग कुन जिन छ भन्न नसकिने भएकाले हर कोही खतराको सूचीमा छ। स्वास्थ्यका आधारभूत मान्यताहरु सबैले अपनाउनुको अर्को विकल्प छैन।