दोस्रो लकडाउनले जनजीवन ठप्प भएपछि पोहरजस्तै महिलामाथि हुने हिंसात्मक घटनाहरु पुनः सतहमा आएका छन्। गएको वर्षको लकडाउनका बेला सुरक्षित रहन घरभित्र धेरै समय बित्न थालेपछि महिलाहरु पहिलाभन्दा बढी असुरक्षित हुने गरेका घटना बाहिरिएका थिए।
घटना १ : लकडाउन घोषणा भएको दुई सातापछि उदयपुर जिल्ला हट स्पट बनेको थियो। जिल्ला पूर्णरुपमा सिल गरिएको थियो। कोरोनाको बारेमा मानिसहरुमा एकदमै त्रास थियो।
त्रासको माहोलमा एक जना ३५ वर्षीया महिला हाम्रो कार्यालयमा आइपुगिन्। ‘कोरोना भाइरसबाट त बाँची पो हालौंला तर घरको भाइरसले मार्न आट्यो,’ भन्दै उनले आफ्नो ज्यान बचाइदिन गुहार मागिन्। श्रीमानले रक्सी खाएर दिनदिनै आमा छोरी सबैलाई मरणासन्न हुने गरि कुटपिट गर्न थाले पछि छोरीहरुको ज्यान जोगाइदिन महामारीको त्रासका बीच उनी घरबाट निस्किएकी थिइन्।
उनको उजुरी अनुसार प्रहरीले उनको श्रीमानलाई पक्राउ गरेर लगे पनि कोरोनाको डरले थुनामा राख्न नमिल्ने भन्दै साँझ फर्काइदियो। प्रहरीले घर पुर्याएकी राती उनले श्रीमती र छोरीहरुलाइ फेरि कुटेपछि न्यायिक समितिको पहलमा पिडकलाई चेतावनी सहित सम्झाएर मुद्दा साम्य भयो।
तर उनले सुरुमा भनेको कुरा पुरै लकडाउन अवधिभरि मस्तिस्कमा घुमिरह्यो, 'कोरोना भाइरसबाट त बाँची पो हालौला तर घरको भाइरसले मार्न आट्यो।'
घटना २ : उदयपुरको चौदण्डी नगरपालिकाकी २१ वर्षीया महिला लकडाउन सुरु भएको एकसातापछि घरबाट बेपत्ता भइन्। श्रीमान विदेशमा भएको बेला उनका सासुससुराले कुटपिट गरेको माइतीले आरोप लगाएका थिए। बिहे दर्ता गरी नागरिकता बनाइदिन आग्रह गरेपछि सासुससुराले उनलाई कुटेका रहेछन्। उनीघरबाट बेपत्ता पछि सासुससुराले खोजी नगरेर बसेको थिए। माइतीले खोजी सुरु गरेपछि मात्र उनीहरुले बुहारी माइत जान्छु भनेर गएको भनेर कुरा टार्न खोजेका थिए। लकडाउनको समय भएकोले पनि उनको खोजी गर्न समस्या भएको थियो।
घटना ३ : उदयपुरकै ताप्ली गाँउपालिकामा मावलीमा हजुरबा सँग बस्ने १३ वर्षीया बालिका माथि छिमेकीले बलात्कारको प्रयास गरे। बुवा कामको लागि काठमाडौं र आमाले अर्को बिहे गरेपछि ती बालिका आफना भाइबहिनी सहित मावल बस्दै आएका थिए। लकडाउनको समयमा घरमा कोही नभएको मौका छोपेर ६० वर्षीय छिमेकी वृद्धले बालिकालाई बलात्कारको प्रयास गरेको दिदीले देखेपछि पिडकलाई प्रहरीको जिम्मा लगाएर कानुनी प्रकृया अगाडि बढाइएको थिए। ती वृद्धले त्यसअघि पनि त्यस्तै घट्दा घट्दा सात हजार रुपिया तिर्न लगाएर घटना मिलाइएको रहेछ।
घटना ४ : लकडाउनकै समयमा कन्चनपुर जिल्लाको बेल्डाडी गाँउपालिका एक दलित युवतीमाथि सामूहिक बलात्कार भयो। गाँउकै कथित उपल्लो जातिको केटाले प्रेमको नाटक गरी उनलाई घरबाट राति बोलाएका थिए। घरबाट बाहिर निस्केपछि ती युवकले साथीहरुसहित बलात्कार गरेका थिए। युवतीको परिवारले खोजी गरेपछि तिनदिन पछि युवतीलाई गाँउ नजिकैको पुरानो उखु मिलबाट प्रहरीले उद्धार गरेको थियो। युवतीलाई बन्धक बनाइ बलात्कार गर्ने कार्यमा प्रहरी जवानसमेत संलग्न भएको थाहा भएपछि उनलाइ निलम्बन गरिएको थियो । उक्त घटनामा पीडकको राजनितिक पहुचका कारण घटनालाई लुकाउने र मिलाउने प्रयास भएको थियो। लकडाउनको समयमा भएकोले अधिकारकर्मीलाई त्यो घटनामा पनि मुद्दा दर्ताको पहल गर्न असजिलो भएको थियो।
घटना ५ : उदयपुरकै एक गाँउकी युवती पोहर सहयोग माग्न हाम्रो कार्यालयमा पुगेकी थिइन्। उनलाइ पनि गाउँको एक युवकले ललाइफकाइ शारीरिक सम्पर्क राखेर गर्भवती बनाएका थियो। अरुलाई भने मारिदिने धम्की दिएकोले उनको गर्भ आठ महिनाको भएपछि परिवारले थाहा पाए। त्यतिन्जेल पीडक गाँउबाट फरार भएकोले लकडाउनको समयमा उसलाई पनि पक्राउ गरि कार्वाही अगाडि बढाउन सकिएन।
माथि उल्लेख गरिएका घटनाहरु केही प्रतिनिधिमूलक घटना मात्र हुन्। दोस्रो लहरको कोरोना संक्रमण सुरु भएयता पनि पहिलेजस्तै घटनाहरु फेरि अभिलेख हुन थालेका छन्। केहीदिन अघि १८ वर्षकी एक युवती हाम्रो कार्यालयमा आइपुगिन्। छिमेकी गाँउको एक युवकले उनलाई प्रेमको नाटक गरी घर लगेका रहेछन्। घरमा केही दिन राखेपछि युवतीलाई कुटपिट गरी घर छोड्न बाध्य बनाएपछि उनी कानुनी सहायता माग्न आइपुगेकी थिइन्। ती युवकले यसअघि पनि तीन जना अरु केटीहरुलाई यसरी नै घरबाट निकालेको रहेछ। युवती अहिले उनी माथि ललाइफकाइ बलात्कारको मुद्दा अघि बढाउन चाहेकी छिन्। तर लकडाउनले गर्दा उनको प्रकृया अगाडि बढ्न सकेको छैन।
पश्चिम नेपालकी एक महिला, दुई सन्तानसहित अहिले काठमान्डौमा छिन्। श्रीमानले काठमाडौं ल्याएर अलपत्र पारेपछि उनी सम्बन्ध विच्छेदको लागि पहल गर्न खोजेकी छिन्। काठमाडौंबाटै सम्बन्ध विच्छेदको मुद्दा अगाडि बढाउन उनले काठमाडौंमा अस्थायी बसोबासको सिफारिस आवश्यक पर्यो तर घरबेटीको आनाकानीले उनले सिफारिस बनाउन सकिनन्। हाल लकडाउन भएरकोले यस्ता सबै सेवा स्थगित छन् र उनले न्याय पाउन अझै केही दिन कुर्नु परेको छ।
केही दिन पहिला मेरो एकजना मिल्ने साथीले उनको घटना सुनाए। उनको काकालाई कोरोना संक्रमण पुष्टि भएको रहेछ। संक्रमण पुष्टिहुँदा उनको अवस्था निकै कमजोर थियो। आफैं उठबस पनि गर्न नसक्ने भएपछि उनको काकीले समेत कुरुवाको रुपमा अस्पतालमा बस्नु पर्यो। १४ दिनको उपचारपछि काकालाई सन्चो भयो तर काकीलाई संक्रमण सल्केछ। काकीलाई सँक्रमण भए पछि भने काका कुरुवा बस्न मान्नु भएनछ । भर्खरै सन्चो भएका काकामा एन्टीबडी बनिसकेकोले
उनलाई फेरि संक्रमण हुने सम्भावना निकै कम थियो। पहिलो लहरको कोराना अलि कम भइसकेको त्यो बेला अस्पतालको आइसोलेसनमा अरु बिरामी नभएको बेला समेत उनी काकीलाई एक्लै छोडेर डिस्चार्ज भइ घर आएर बसे छन्। मोबाइलसमेत चलाउन नजान्ने काकीले १२ दिन अस्पतालको आइसोलेसनमा एक्लै बिताएर कोरोनालाइ जित्नु भएछ। यो घटनाले महिलाको स्वास्थ्यलाई दोस्रो प्राथमिकतामा राख्ने पितृसत्ताको सोच प्रतिनिधित्व गर्छ।
माथिका सबै घटनामा महिलामाथि महामारी र लकडाउनको समयमा कुन तहसम्मको हिंसा भएको भन्ने प्रष्ट पार्छ। केही घटना पुरानै हिंसाक्रमको निरन्तरता थिए भने केही कोरोना महामारीसँग जोडिएका थप हिंसाका घटना हुन्। अधिकांश घटनामा पीडक आफ्नै परिवारका मान्छे छन्। गत वर्ष ओरेक नेपालले लकडाउनको अवधिमा गरेको तथ्यांक अभिलेखीकरण अनुसार तीन महिनामा ८ सय ४३ महिला माथि हिंसाका घटना भएका छन्।
यो संख्याको झन्डै ५८ प्रतिसत अर्थात् ४९० घटना घरभित्रै भएका घटना हुन्। यी घटना मध्ये ३ सय ७७ मा श्रीमान, १ सय ३३ मा परिवारका सदस्य, १ सय ७६ छिमेकी, ४० जना प्रेमी, १६ जना साथी, १२ जना सेवाप्रदायक, ४ जना शिक्षक, ४ जना घरमालिक, र ६५ जना परिचित व्यक्ति पीडक रहेका थिए। अर्थात् कोरोना महामारीलाइ नियन्त्रण गर्न सरकारले निशेधाज्ञा र लकडाउन जारी गरे पनि यसले महिलालाई भने थप जोखिममा पारेको छ।
दोस्रो लहरको कोरोना नियन्त्रण हुन कति समय लाग्छ अहिले टुंगो छैन। तर यो समयमा पनि सयौं महिलाहले प्रभावित हुने कुरा चाहिँ निश्चित छ। गत वर्ष हाम्रो कार्यालयमा गुहार्दै माग्दै आएकी महिलाले भने झैं ‘कोरोना भाइरसबाट त बाँचिएला तर घरभित्रको भाइरसबाट कसरी बाँच्ने?’ ती महिलाले भनेको घरभित्रको भाइरस भनेको पितृसत्ताको भाइरस थियो। यस पितृसत्ताको भाइरसले वर्षैदेखि महिलालाई प्रभावित गर्दै आएको छ। यो भाइरसले कयौं महिलाहरुको ज्यान समेत लिइसकेको छ भने कयौं महिलाहरु तडपिएर बाँचिरहेका छन्।
कोरोना भाइरस त मानिसबीच निषेधाज्ञा, लकडाउन र दुई मिटरको दुरी कायम गरेर नियन्त्रण होला। तर पितृसत्ताको भाइरस लकडाउनमा झनै सल्बलाएको छ। कोरोना भाइरसभन्दा पनि खतरनाक पितृसत्ताको भाइरस पुस्तौंपुस्तामा निरन्तर सर्दै आएको छ।
अहिले कोरोना भाइरस निस्तेज पार्न सम्पूर्ण विश्व एकजुटजस्तै छ। पितृसत्ताको एकाधिकारवादको भाइरसलाई निस्तेज पार्न पनि सम्पूर्ण विश्व एक हुनु जरुरी छ। त्यसो भए मात्र महिला पुरुष र सबै लिंगका मानिसबीच समान सम्बन्ध कायम हुनेछ।