हिजो-अस्ति जस्तो लाग्छ, जाडोले थुरुथुरु कापेर न्यानो र गह्रौ सिरक र ब्ल्याङकेट भित्र लुकेको। अब त जाडो सक्कियो, समस्याबाट छुटकारा पाइयो भनेर खुसी भएको थिएँ। तर मेरो खुसी धेरै दिन टिक्न सकेन। किनभने गर्मी सुरु भएछ।
गह्रौ सिरक र जाडोबाट छुटकारा पाएर के गर्नू, अब त सर्प, लामखुट्टे र गर्मीको समस्या आइपर्यो। पहिला साँझ र रातिमा जता जाँदा पनि डराउन नपर्ने अवस्था थियो तर अहिले त साँझ पर्नासाथ बाहिर जान डर मान्नुपर्ने अवस्था आएको छ।
अब त साझ पर्दा बाहिर गइएन भनेपनि लामखुट्टे आफै भेट गर्न म भएको ठाउँमा आउँछ। अहिले त्यसको आवाज र त्यसले माया गरेर चुम्बन गरेको स्थानमा हातले सुमसुम्याउँदा फुर्सद छैन।
यमराजको दूतले मर्न लागेको मान्छेको पिछा गरे जस्तै गर्मीमा लामखुट्टेले मान्छेको पिछा गरेर हैरान छ। यो समस्या मेरो मात्र होइन, समग्र लामखुट्टे पीडित मानिसहरुको हो।
कहिलेकाहीँ लामखुट्टे देख्दा आफ्ना वीर पूर्खा गोर्खालीको याद आउँछ। गोर्खाली पनि मर्नदेखि नडराउने, लामखुट्टे पनि मर्नदेखि नडराउने। ज्यानको बाजी लगाएर आफ्नो उद्देश्य र काम प्रति सदैव अग्रसर हुने लामखुट्टे देखेर गर्व गर्न मन लाग्छ तर के गर्नू, आफ्नो शत्रु पर्यो।
मेरो शत्रु भएकाले प्रत्येक दिन साँझ परेपछि उसको र मेरो महासंग्राम हुने गर्दछ। मैले जितेको रात उसको सेनाका शवहरु यत्र तत्र सर्वत्र हुन्छन् भने म हारेको रात ऊ मोटाएर कुम्भकर्ण हुन्छ र मेरो शरीरभरि उसले दिएका चोटहरु हुन्छन्। झुल लगाएर सुत्दा पनि कताबाट छिर्छछिर्छ, रातभरि न आफू सुत्छ न मलाई सुत्न दिन्छ।
हजुरहरुलाई थाहै होला, लामखुट्टे अर्थोपोड वर्गको इन्सेक्टा कक्षामा पर्ने मेरुदण्ड नभएको जीव हो। यसका साथै यो बाह्य परजीवी पनि हो।
भाले लामखुट्टेले मानिस तथा अन्य जीवको रगत चुस्न सक्दैन् तर पोथी लामखुट्टेले मानिस तथा अन्य मेरुदण्डिय जीवको रगत सजिलै चुस्न सक्छ। यी कुरा त धेरैलाई थाहा होला तर लामखुट्टेले कसरी रगत चुस्छ भने कुरा सीमित मानिसलाई मात्रै थाहा छ।
लामखुट्टेको मुखपत्र (माउथपार्ट) घोच्ने र चुस्ने किसिमको हुन्छ। हाम्रो मुखमा विभिन्न किसिमका दात भएझैँ यसको मुखपत्रमा पनि विभिन्न कुराहरु हुन्छन्। ती हुन्ः ल्याबियम, ल्याब्रम-इपिफेरेनक्स, हाइपोफेरेनक्स, म्यान्डिबल र म्याक्जिलेइ।
लामखुट्टेजब कुनै मानिस वा अन्य कुनै जीवको शरीरमा बस्छ तब उसले आफ्नो सुड (ल्याबियम) को सहायताले छालामा घोच्न थाल्छ। त्यसपछि यसको मुखपत्रमा भएको म्यान्डिबलले छालामा घाउ वा प्वाल बनाउँछ।
त्यहाँ उपरान्त ल्याब्रम-इपिफेरेनक्स र हाइपोफेरेनक्स घाउ भित्र पसाल्छ र रगत चुस्न थाल्छ। म्याक्जिलेइको टुप्पोले घाउ खुल्ला राख्छ जसले गर्दा उसले रगत चुस्दा बाधा अड्चन आउँदैन।
त्यसैगरी यसले हाइपोफेरेनक्सबाट र्याल हाम्रो शरीरभित्र छिराउछ। यसको र्यालमा हेमोलाइसिन हुने भएकाले रगत जम्न पाउदैन। यसरी यसले सजिलै हाम्रो तातो अनि रातो रगत मजाले चुस्छ।
भाले र पोथी दुवैको मुखपत्र एउटै (घोच्ने र चुस्ने) भएपनि किन भालेले रगत नचुसेको होला? भन्ने प्रश्न हजुरहरुको मनमा आयो होला। भाले लामखुट्टेको सुड (ल्याबियम) फराकिलो र छाला छेड्न नसक्ने किसिमको हुन्छ भने पोथी लामखुट्टेको ल्याबियम वा प्रोबोसिस सुई जस्तो तिखो र छाला छेड्न सक्ने किसिमको हुन्छ।
यसका साथै पोथीले फुल परिपक्व पार्न र त्यसलाई आवश्यक पर्ने पौष्टिक तत्व प्रदान गर्न रगत चुस्ने गर्दछ तर भालेलाई फुल पार्नु नपर्ने भएकाले पनि रगत नचुसेको हो।
तपाईंहरुले देख्नु वा सुन्नु भएको होला, फलामले फलाम काट्छ, हिराले हिरा काट्छ भनेर। तर के तपाईंहरुलाई थाहा छ, लामखुट्टेले लामखुट्टेलाई नै नियन्त्रण गर्न सक्छ? लामखुट्टेबाट लामखुट्टे नियन्त्रण गर्नका लागि विभिन्न देशमा लामखुट्टे उत्पादन गर्ने कम्पनी छ।
हजुरहरुलाई थाहा छ? चीनमा विश्वकै ठूलो लामखुट्टे उत्पादन कम्पनी छ जसले एक हप्तामै १० लाखभन्दा बढी लामखुट्टे उत्पादन गर्दछ। यस्ता कम्पनी विश्वका विभिन्न देशमा छन्। यस्ता कम्पनीले मानिस मार्न वा मानिसमा रोग सार्नका लागि लामखुट्टे उत्पादन गर्दैनन्।
यी कम्पनीले लामखुट्टेको जनसंख्या नियन्त्रण गर्नका लागि लामखुट्टेको उत्पादन गर्दछन्। लामखुट्टे उत्पादन गरेर कसरी लामखुट्टे नियन्त्रण हुन सक्छ? भन्ने प्रश्न धेरैको मनमा आउन सक्छ। यी कम्पनीले उत्पादन गर्ने लामखुट्टे भाले र नपुंशक हुन्छन्। यसरी उत्पादन गरेका लामखुट्टेहरु प्राकृतिक वातावरण र लामखुट्टे पीडित क्षेत्रमा छोडिन्छ।
ती लामखुट्टेहरु प्राकृतिक वातावरणमा पाइने पोथी लामखुट्टेतर्फ आकर्षित हुन्छन् र तिनैसँग समागम गर्छन्। फलस्वरुप पोथीले फुल त पार्छ तर पारेका फुलबाट लार्भा बन्दैन र लामखुट्टेको सन्तान उत्पादन रोकिन्छ।
नपुंशक लामखुट्टे धेरै मात्रामा छोडियो भने प्राकृतिक वातावरणमा भएका भाले लामखुट्टेले पोथीलाई गर्भधारण नै गराउन पाउँदैनन्। त्यसै पनि लामखुट्टेको आयु छोटो हुन्छ। वास्तविक भाले लामखुट्टेहरु समागम गर्नै नपाई मर्छन्।
यसरी सजिलै लामखुट्टे नियन्त्रण गर्न सकिन्छ। लामखुट्टे नियन्त्रण भएपछि यसले सार्ने रोगहरु पनि स्वतः नियन्त्रण हुन्छन्। यसरी लामखुट्टे नियन्त्रण गर्दा वातावरण, अन्य जीव तथा मानिसको स्वास्थ्यमा कुनै नकारात्मक असर पनि हुँदैन।
यसका साथै यो विधि अत्यन्तै प्रभावकारी पनि छ। एउटा जीवको सहायताले अर्को जीवको जनसंख्या नियन्त्रण गर्नेविधिलाई जैविक विधि भनिन्छ। यसरी लामखुट्टेको सहायताले लामखुट्टे नियन्त्रण गर्ने विधि पनि जैविक विधि भित्रै पर्दछ।
प्रत्येक वर्ष अगस्त २० तारिखका दिन विश्व लामखुट्टे दिवस मनाउने गरिन्छ।