'थाहा छ बिराज, तिम्रो जवाफदेहिता र दायित्व/कर्तव्य कुनै पार्टीतर्फ होइन, नेपाल र जनताप्रति हुनुपर्छ। पार्टी राजनीतिभन्दा माथि उठेर देशको निम्ति राजनीति गर्ने हो। केही गरी कुनै लायकको मान्छे जुम्लाबाट उठ्छ भने, चाहे कुनै पार्टीबाट किन नहोस्, स्वतन्त्र नै उठेको होस्, हामीले त्यो मान्छेलाई मद्दत गर्न जुम्ला नै जानुपरे पनि जानुपर्छ।'
गाडीको छेउको सिटबाट उज्ज्वल दाइले भन्नुभएको कुरा सुनेर मैले पुलुक्क उहाँतिर हेरेँ।
हामी गत चैत ११ गते लुम्बिनी यात्रामा निस्केका थियौं। लुम्बिनी दाइलाई निकै मनपर्ने ठाउँ हो। त्यहाँ जाँदा भन्तेहरूसँग हामी घन्टौं कुरा गर्थ्यौं। कहिलेकाहीँ त्यहीँ विहारमा बास बस्थ्यौं।
गर्मी महिना सुरू हुन थालिसकेको थियो। मलाई इलेक्ट्रोनिक गीत मनपर्ने भएकाले गाडीमा त्यही गीत बज्दै थियो। उज्ज्वल दाइलाई चाहिँ पुराना हिन्दी गीत मन पर्थ्यो। त्यही भएर समय समयमा मैले लगाएको गीत बन्द गरेर आफूलाई मनपर्ने किशोर कुमारका गीत लगाउनु हुन्थ्यो। मन्दमन्द मुस्कानले मतिर हेर्नुहुन्थ्यो, मानौं भनिराख्नुभएको छ, 'अब मेरो पालो है?'
दाइसँग यसरी जिस्किँदै, झगडा गर्दै, फकाउँदै लामो यात्रा गर्दा बाटो कटेको पनि पत्तो पाइँदैन। लुम्बिनी पुगेपछि गर्मी भएर उहाँले 'आइसक्रिम खानुपर्ला बिराज' भन्नुभयो। दाइलाई आइसक्रिम पनि खुब मनपर्थ्यो।
आइसक्रिम किनेर गाडीमा बस्नासाथ दाइले भन्नुभयो, 'अब पनि नागरिक यसरी नै चुप बस्ने हो भने लुटतन्त्रले लोकतन्त्रलाई छिट्टै निल्नेछ।'
मैले उहाँको भनाइको तात्पर्य बुझिहालेँ।
हिजोआज नेपालको राजनीति र दलगत राजनीतिक संस्कारले उहाँलाई भित्र-भित्र पोलिरहेको थियो। त्यो पोलाइ आइसक्रिमले निभाउन सक्दैन थियो।
मलाई राजनीतितिर आकर्षित गराउनमा उज्ज्वल दाइको मुख्य हात छ। म काठमाडौंमा जन्मे-हुर्केको मान्छे। २०४६ सालको जनआन्दोलनलाई नजिकबाट देखेको र अनुभव गरेको मान्छे। त्यसपछि कुनै पनि प्रकारको राजनीतिमा संलग्न नभए पनि राष्ट्रिय राजनीतिलाई नजिकबाट नियालेको मान्छे। कुसंस्कृत राजनीति देखेर होला, ठूलो भएपछि म राजनीतिबाट टाढै बस्न खोज्थेँ।
उज्ज्वल दाइ परम्परागत राजनीतिभन्दा विवेकशील नागरिकहरूको राजनीति बुझ्ने र दखल गर्ने खुबी बढाउनमा विश्वास गर्नुहुन्थ्यो। म पनि केही गरी परिवर्तन ल्याउनुछ भने आफूबाटै सुरूआत गर्नुपर्छ भन्ने मान्यता राख्थेँ। भनिन्छ, अघिल्लो जन्ममा कसैको नासो तिर्न बाँकी छ भने यो जन्ममा तिर्नुपर्छ। हामी दुवैलाई एकअर्काको नासो तिर्नु थियो सायद। त्यही भएर मैले उज्ज्वल दाइले सुरू गर्नुभएको सुसंस्कृत राजनीतिक यात्रामा सहयात्री बन्ने निधो गरेँ।
यो सहयात्रामा कहिले दाइ मेरो गुरू हुनुहुन्थ्यो, कहिले मेरो शिष्य। यात्रा रमाइलो थियो। यात्राले उद्देश्य बोकेको त थियो नै, साथसाथै यात्राले हामीभित्र गुम्सिएको पीडा, छटपटी, आक्रोश र सम्भावनाहरूलाई पनि अभिव्यक्त गरिरहेको थियो।
लुम्बिनीको पोखरी किनार टोलाइरहेका बेला छेउमा उभिएर हाँसिरहेका केटाकेटीको स्वरले दाइको एकाग्रता टुट्यो। नीलो र सुन्तला रङ लगाएको दाह्री र हातमा आइसक्रिम बोकिरहेको मान्छे देखेर केटाकेटीहरू औंला तेर्स्याउँदै हाँसिरहेका थिए।
उज्ज्वल दाइ मक्ख परेर आफ्नो रंगीन दाह्री देखाउँदै जिस्किन थाल्नुभयो। मानौं, अघि भर्खरको छटपटीलाई भोलिको भविष्यले चिस्याएको थियो।
लुम्बिनी पुगेपछि हामी भन्तेहरूलाई भेट्न गयौं। उज्ज्वल दाइलाई लुम्बिनी आफ्नो घरजस्तै लाग्थ्यो। एक किसिमको अलगै मोह थियो। त्यही भएर लुम्बिनीलाई प्रदूषणले ढाकेकोमा उहाँलाई एकदमै चिन्ता थियो। कसरी यो विषयमा काम गर्न सकिन्छ भनेर तर्क-वितर्क गर्दै गर्दा घन्टौं बितेको पत्तै हुँदैन थियो।
पर्यावरण, जैविक विविधता र उद्यमशीलतामा दाइको गहन अध्ययन र रुचि थियो। खासगरी महिलाको उद्यमशीलता र राजनीतिमा निकै महत्त्वपूर्ण भूमिका हुनुपर्छ अनि मात्र समाज स्थिर बन्छ भन्ने उहाँको विश्वास थियो।
'बिराज, महिलाको जस्तो संवेदनशीलता र विवेक पुरूषमा हुँदैन। त्यही भएर देश हाँक्न महिलाकै बढी हात हुन्छ। महिलाको सहभागिता हरेक पाटामा निकै महत्त्वपूर्ण छ,' उहाँ सधैं भन्नुहुन्थ्यो।
उहाँ यो पनि भन्नुहुन्थ्यो, 'जो मान्छे प्रकृतिसँगको सामीप्यमा रमाउँछ, उसको आत्मा सफा हुन्छ र नियतमा छलकपट हुन्न।'
त्यसैले होला, उज्ज्वल दाइ लुम्बिनीमा मायादेवी मन्दिरनजिकै ठूलो रूखमुनि बसेर आनन्दसाथ घन्टौं प्रकृतिसँग मनका कुरा साटासाट गर्नुहुन्थ्यो। म दाइलाई बद्मास बुद्ध भनेर बोलाउँथेँ। चकचक गर्नुपर्ने, जानीजानी निहुँ खोज्ने अनि म रिसाएँ भने मन खोलेर हाँस्ने बद्मास हुनुहुन्थ्यो उहाँ।
दाइ फलफूल र घरको मीठो खाना मनपराउनुहुन्थ्यो। खाना खाँदै गर्दा कुकुरहरू हाम्रो वरिपरि बस्थे। जनावरलाई निकै मनपराउने मान्छेलाई जनावरले पनि चिन्छन् रे। त्यही भएर हामी आफ्नो खाना कुकुरहरूसँग र वरिपरिका चरासँग बाँड्दै, बुद्धबारे घन्टौं कुरा गर्दै बस्थ्यौं। मानौं समय हाम्रो लागि नै रोकेर बसिरहेको थियो।
राति आकाशमा म दाइलाई तारा र ग्रहहरू देखाउँथेँ। गुरुत्वाकर्षणले पृथ्वीलाई सूर्यको वरिपरि घुमाइरहेजस्तै उज्ज्वल दाइलाई काठमाडौंले आफू नजिक तानेको थियो। काठमाडौंप्रति दाइको अथाह प्रेम थियो। रैथाने ज्ञान, चलनचल्ती र वातावरण संरक्षणमा जनजातिको भूमिका प्रमुख हुन्छ भन्नेबारे हामीले कयौंचोटि लामो लामो छलफल गरेका थियौं।
वसन्तपुर डबलीमा बसेर नौ तल्ले दरबारको इतिहास बुझ्ने, क्षेत्रपाटीको गल्लीमा डुल्दै सेल खान जाने, इन्द्रजात्रामा रथ तानेको हेर्दै रम्ने, कुमारीघर अगाडि बसेर डोनट र चिया खाने, कृष्ण मन्दिरको पेटीमा बसेर कुल्फी खाने र इतुम्बहा:को चोकमा भूपि शेरचनका रचनाहरूबारे कुरा गरेर बस्दा दिन बितेको थाहा हुँदैन थियो। हामी आकाशका ताराहरू हेर्दै सुन्दर काठमाडौंका गफमा भुलिरहेका हुन्थ्यौं।
भगवान् विष्णुकी प्यारी भनिएकी विष्णुमती नदी ढल र फोहोर बोकेर हिँडेकी देख्दा चित्त दुखाउने दाइको मन नेपालको रैथाने र जनजाति संस्कृति बचाउनुपर्छ भनेर आत्तिइरहन्थ्यो। रैथाने ज्ञान, संस्कृति र जीवनशैली, पर्यावरण, प्रकृति र हाम्रो देशको मूल्य-मान्यता जोगाउनुपर्छ भन्ने राम्ररी बुझेका उज्ज्वल दाइको मुटु नै काठमाडौंमा गाडिएको थियो। अनि आत्माको एक भाग चाहिँ लुम्बिनीमा।
उज्ज्वल दाइले हाम्रो संस्कृति, भूराजनीति र पर्यावरणको महत्व राम्ररी बुझेर त्यसैअनुसारको योजना र संकल्प प्रस्तुत गर्नुभएको थियो। उहाँको विश्वास थियो, 'नेपाल विश्वको केन्द्रविन्दु बन्न सक्छ र मानवता, शान्ति, संस्कृतिक हिसाबले संसारको गुरू बन्न सक्छ।'
'थाकेको नेताले राजनीति गर्नुहुँदैन बिराज। त्यही भएर युवाको ऊर्जाले नै देशको ऊर्जा बढाउँछ। नेपाल हाम्रो घर हो नि डेरा होइन, होइन त?' त्यो बेलाका दाइका कुराहरू अहिले दीक्षाजस्तो लाग्छ।
त्यस्तै दीक्षा दिने भन्तेहरूसँग विदा माग्दै हामी 'छिट्टै आउँछौं है' भनेर लुम्बिनीबाट फर्केका थियौं।
'ल अब चाहिँ हामी छिट्टै लुक्ला जाने है?' गाडीमा बस्नासाथ दाइले भन्नुभयो।
'भैहाल्छ नि दाइ, म त तपाईंको श्रवणकुमार जस्तो भएछु, तीर्थ घुमाउँदै हिँडेको,' मैले हाँस्दै भनेँ।
फर्किँदा गाडीको अगाडिको सिटमा टाँसिएको पातले गाडी चलाउन अलि गाह्रो गर्यो। दाइको हात पुग्ने ठाउँमा भएकाले दाइ त्यो पात हटाइदिनुस् भनेर भनेँ। दाइ नसुन्याजस्तो गरेर बसिराख्नुभयो। मलाई रिस उठ्यो। गाडी छेउमा रोकेर आफैं निस्केर पात हटाएँ।
'ओहो हेर त अघि भर्खरै श्रवणकुमार भन्ने अहिल्यै रिसाउँदो रहेछ,' बद्मास बुद्धले यो कुरा भनेपछि म पनि हाँसेँ। यस्तो हुनुहुन्थ्यो दाइ! बच्चाजस्ता, बुद्धजस्ता सीधासाधा, जटिल, जानेका, बुझेका, अनि फेरि केही थाहा नपाएका।
काठमाडौं पुग्नै लाग्दा सुस्केरा हालेर मलाई भन्नुभयो, 'थाहा छ बिराज, राजनीतिमा लागेपछि एक पैसा पनि घरमा लगेको छैन। एरिकाले मलाई साथ नदिएको भए म केही गर्न सक्दिनथेँ। एरिकाजस्तो जीवनसाथी पाएकोमा म भाग्यमानी छु। उसको बुद्धिमता, शालीनता र व्यवहारिकता धेरै कममा भेटाएको छु। म सधैं आभारी छु।'
एरिका भाउजूप्रति उहाँको माया र प्रेम देखेर म नतमस्तक हुन्थेँ।
यस्तै कुरा साट्दै, नागढुंगा उकालो काट्दै गर्दा मलाई केही गरी त्यो यात्रा नै मेरो र उज्ज्वल दाइको अन्तिम यात्रा हुने थियो भन्ने थाहा भएको भए म त्यहीँबाट गाडी फर्काएर फेरि डोल्पा, जनकपुर वा दाइले भनेजस्तै लुक्ला यात्रामा निस्किने थिएँ।
मैले अनगिन्ती कुरा दाइबाट सिकेँ, अझै अनगिन्ती कुरा सिक्न बाँकी नै थिए। मेरो दाइ, सहयात्री, गुरू, मार्गदर्शक, मेरा साथी। हरेक बिहान उठ्नेबित्तिकै 'बिराज आज घुम्न जाम्' भनेर फोन आउँछ कि जस्तो लाग्छ।
दाइलाई सरल, सिधा, विद्वान, मायालु, बौद्धिक, पारदर्शी, दूरदर्शीजस्ता धेरै विशेषण दिइन्छ। तर मेरो लागि दाइ यीभन्दा धेरै बढी हुनुहुन्छ। उज्ज्वल दाइ एक स्वतन्त्र प्रकाश हुनुहुन्छ। कहिल्यै कम नहुने, कुनै दर्शनले बाँध्न नसकेको, कुनै प्रचलनले झुक्याउन नपाएको, कुनै राजनीतिक विश्लेषणले छुट्याउन नसकेको एक स्वतन्त्र प्रकाश, जुन केही समयका लागि यस भूमिमा अल्झिए।
म पनि उज्ज्वल दाइलाई स्वतन्त्र नै देख्न चाहन्छु। बाँध्न चाहन्न आफ्नो मोहले।
(लेखक श्रेष्ठ विवेकशील साझा पार्टीका बागमती प्रदेशसभा सांसद हुन्।)