कोभिडको दोस्रो लहर सुरु भएसँगै देशका सबैजसो क्षेत्र प्रभावित बनेका छन्। शिक्षण संस्था पनि यसबाट अछुतो रहन सकेका छैनन्। कतिपय विद्यालय तथा विश्वविद्यालय तहका पढाइ वैकल्पिक विधि मार्फत सञ्चालन गरिएका छन्।
यसको प्रभावकारिता कति छ, त्यो खोजिको विषय हुन सक्ला। साथै यसरी सञ्चालन गरिएका कक्षा पनि सबै विद्यार्थीको पहुँचमा पुग्न सकेको छैन जसका लागि सरोकारवाला निकायले पनि विकल्प दिन सकेका छैनन्।
तर सिकाइ कक्षाकोठामा मात्रै सीमित हुने विषय होइन। तसर्थ यो बन्दाबन्दीको समय सदुपयोग गरी कोभिडबाट सुरक्षित रहँदै ज्ञानको दायरा फराकिलो पार्न सकिने थुप्रै विकल्पहरु फेला पार्न सकिन्छ।
आफ्नो परिवेशका बारे अध्ययनमा विद्यार्थीलाई संलग्न गराउने कार्य यस्तै एउटा यस्तै विकल्प हुन सक्छन्। हामी हुर्केको परिवेशमा कस्ता किसिमका वनस्पती पाइन्छन्, कस्ता किसिमका जीवजन्तु पाइन्छन्, हामी मध्ये धेरैलाई थाहा हुँदैन।
अरुको मात्रै होइन, म वातावरण विज्ञान विषयमा स्नाकोत्तर तह उर्तिण गरेर त्रिचन्द्र क्याम्पसमा जैविक विविधता विषय नै अध्यापन गराउन लागेको तीन वर्ष बढी भइसकेको थियो। वातावरण अध्ययन तथा संरक्षण केन्द्रमा आवद्ध भएर भ्यागुताबारे चासो राख्न थालेको पनि २०१८ देखि हो।
तर मेरा घरबाट मात्रै ५० मिटरको परिधिमा विभिन्न छ प्रजातिका भ्यागुताका प्रजाति (इन्दुस भ्याली बुल फ्रग, मार्बल्ड टोड, कमन एसियन टोड, मास्केज बरोविङ फ्रग, स्केट्टेरिङ फ्रग) पाइन्छन् भन्ने थाहा पाउन मलाई गत वर्षको बन्दाबन्दी नै कुर्न पर्यो।
यता पाइने चरा, वनस्पति, किरा, सरीसृपको त मैले लेखाजोखा नै राखेको छैन। यस्ता धेरै प्रजातिहरु के कहाँ पाइन्छन् भन्ने बारेमा कुनै प्रकारका अभिलेखहरु नै छैनन्।
साथै, सन् २०१५ को अन्त्यतिर प्रकृतिका साथीहरुले सञ्चालन गरेको वन्यजन्तु अध्ययन विधि सम्बन्धी तालिमपछि चराहरु अवलोकन गर्ने बानीको विकास भएको थियो। कीर्तिपूर भाजगंलमा बस्ने म, आफू बस्ने घरको कौसी तथा कोठाको झ्यालबाट हेरेर मात्रै केही दर्जन चराहरु चिन्न सक्ने भएको थिएँ।
गत वर्षको क्रोकिङ मनसुन अभियानका बेलामा स्वर्गीय डा. मनकुमार धमलाले थुप्रै पटक ब्याक यार्डमा (हाम्रो घर वरपरको परिवेशमा रहेर) गर्न सकिने अनुसन्धानका विषयमा चर्चा गर्नु भएको थियो।
साथै, स्नातकोत्तर तहका विद्यार्थीहरुलाई पनि एसाइन्मेटका रुपमा आफ्नो परिवेशमा भएका जैविक विविधताका बारेमा खोजीनीति गर्न लगाउनु भएको थियो।
स्नातक तहमा मैले जैविक विविधता विषय अध्यापन गराएका र पछि वातावरण विज्ञान केन्द्रीय विभागमा स्नाकोत्तर तह पढ्दै गरेका विद्यार्थीहरुका सामाजिक सञ्जालमा राखेका फोटाहरु साथै अन्यले राखेका फोटाहरु उनीहरुले पहिचान गर्न सक्ने खुबीबाट पनि त्यो कार्यले विद्यार्थीको सिकाइमा रुचि सिर्जना गर्न मद्धत गरेको पाएको थिएँ।
कोभिडको दोस्रो लहरपछि आफ्नो घर पुगेका केही विद्यार्थी तथा जुनियर भाइ बहिनीहरुको सामाजिक सञ्जालमा देखिने पोष्टले उनीहरु निरन्तर यस्ता गतिविधिमा संलग्न हुने तथा स्थानीय स्तरमा देखिने आफ्ना रुचि अनुसारको विषयको खोजि नीतिमा संलग्न छन् भन्ने बुझ्न सकिन्छ। सो कार्य अरुका लागि पनि अनुसरणीय हुन सक्छ।
मानवीय गतिविधिका कारण जैविक विविधतामा ह्रास आइरहेको वर्तमान परिपेक्षमा हाम्रो देशमा मूलतः संरक्षण क्षेत्रभन्दा बाहिर रहेको जैविक विविधताहरुको उचित अध्ययन, अनुसन्धान तथा अभिलेख राख्ने कार्य हुन सकेको छैन। तर जैविक विविधताको संरक्षण तथा सम्बर्द्धनका निम्ती तिनीहरुको अभिलेख राख्नु अपरिहार्य छ।
तर सरकार वा संरक्षण सम्बद्ध निकायको ध्यान त्यतातर्फ पर्याप्त मात्रामा पुग्न सकेको छैन। धेरै विद्यार्थी आफ्नो घर पुगेको यो समय उनीहरुलाई अभिप्रेरित गर्न सक्दा त्यसले राम्रो परिणामा दिन सक्ने नेपालमा नै गरिएका केही अध्ययनले त्यतै तिर संकेत गर्छन्।
वातावरण अध्ययन तथा संरक्षण केन्द्र सहितको सहभागीतामा प्रत्येक वर्ष क्रोकिङ मनसुन अभियानका रुपमा हामीले गर्ने गरेको भ्यागुताहरुको अध्ययन तथा संरक्षणका लागि स्वंयसेवक परिचालन गर्ने कार्यक्रम गतवर्ष लकडाउनपछि अनिश्चित जस्तो बनेको थियो।
हामीले यो चनौतीलाई अवसरमा बदल्ने हेतुले कोबो टुलबक्स मार्फत फोटो पठाउन र सहभागी हुन आग्रह गरेको थियौं। जसमा देशभरबाट २०० भन्दा बढी सहभागी हुनुभयो र करिब १३ सय ६० आसपास फरक परिवेशका फोटो पठाउनु भयो जसले गर्दा कार्यक्रम भव्य रुपमा सम्पन्न हुन सक्यो। यस वर्ष पनि सो अभियान जारी छ।
भ्यागुता बाहेकका अन्य फोटोहरु पठाउन अनेकन उपायहरु छन्। चराहरुको फोटो इबर्डमा, र सम्पूर्ण खाले जैविक विविधताका फोटोहरुलाई नेचुरलिष्टमा अपलोड गर्न सकिन्छ।
यी एपहरुले फोटो संकलन गर्ने मात्रै होइन, त्यसलाई पहिचान गर्न पनि मद्दत गर्दछन्। अध्ययनको विधिहरुलाई स्ट्याण्डराइज्ड गर्ने हो भने यस्ता अनुसन्धान आफैमा स्वतन्त्र रुपमा प्रकाशित हुन सक्ने अध्ययन पनि बन्न सक्छ।
यसरी लकडाउनको सदुपयोग गर्दै निरन्तर रुपमा अध्ययन अन्वेषण गर्ने कार्य गर्ने हो भने घर वरपरको परिवेश आफैंमा अध्ययन स्थल हुन सक्ने देखिन्छ, जहाँ कोभिड सर्ने जोखिम विहीन अवस्थामा जैविक विविधता र त्यसका विविध आयमका बारेमा ज्ञान आर्जन गर्न सकिन्छ।
वातावरण, वन विज्ञान, वनस्पति शास्त्र, जीवशास्त्र, प्राकृतिक स्रोत व्यवस्थापन विषयका स्नातक वा स्नाकोत्तर तहका विद्यार्थीले यसरी सहभागी भएर प्रत्यक्ष लाभ लिन सक्छन् भने अरुलाई पनि परोक्ष लाभ हुन्छ।
यसरी सहभागी हुने सबैलाई मानसिक रुपमा तन्दुरुस्त पनि मद्दत गर्दछ। त्यसैले यो बन्दाबन्दीको समय आफ्नो परिवेशमा भएका स-सानादेखि सबै प्रकारका जीवजन्तु बारे जान्न तथा त्यसको अभिलेख राख्न सहयोग पुर्याउँ। अध्यापकहरुले पनि आफ्ना विद्यार्थीलाई यस्ता कार्यका निम्ती प्रेरित गर्रौं।
(लेखक पद्मकन्या बहुमुखी क्याम्पस (वातावरण विज्ञान) का उप-प्रध्यापक हुन्।)