मैले वैशाख १, २०७६ मा आफ्नो फेसबुक पेजमा यस्तो लेखेको थिएँः
‘चार वर्ष अगाडि भूकम्प ताका मैले कसैलाई फेसबुक, फोन इत्यादि सम्पर्क माध्यमबाट ब्लक गरेकी थिएँ। आजसम्म पनि उक्त व्यक्तिको छाया त परै जाओस्, नाम मात्र सुन्दा पनि पैतालादेखि नै रिस र घृणाको बाढी उर्लेर आउँछ।
आज चार वर्ष पछाडि मलाई अपरिचित फोन नम्बरबाट फोन आयो। मैले चार वर्ष अगाडिको उसका कर्तुतका पोल कसैलाई सुनाइँ कि भन्ने डर र चिन्ताको बादलले घेरिएको आवाज थियो त्यो। बोक्रे भलाद्मीपनमा नाम, परिचय, इज्जतको खोक्रे आवरणमा लुकेका ब्वाँसाहरु पनि आफ्नो आत्मादेखि त भाग्न नसक्ने रहेछन् नि!
चार वर्ष अगाडिका मेरा स्वरमा कमजोर कम्पन थियो। अहिले पनि मेरो स्वरमा कम्पन छ तर हाई म्याग्निच्युड वाला। हाइ म्याग्नच्युड कम्पनको असर कति परसम्म पुग्छ, त्यसको हेक्का राख्न नभुल्नू। अनि अब आइन्दाबाट नानू, बुनूजस्ता शब्दहरु त मसित पटक्कै प्रयोग नगर्नु। चेतना भया!’
वैशाख ९, २०७७।
यतिखेर हामी घरमै बसेको ठ्याक्कै २९ दिन भयो। सारा विश्व कोराना नामक भाइरससित लडिरहेको छ। कोभिड-१९ को प्रकोप २०७२ सालको विनाशकारी भूकम्पपछि अर्को ठूलो विपत्ति हो हाम्रा लागि।
विवाह वा अन्य कुनै शुभ कार्य हुँदा सुरुमा बाजा घन्किए जसरी विपत्तीले बाजा घन्काएर प्रवेश गर्दैन तर विपत्तिपछिको अवस्थाले नराम्रोसँग बेसुरमा बाजा पक्कै बजाउँछ जुन कसैको रोदन, वेदना, चिच्याहट र भोगाइले गुञ्जायमान हुन्छ।
हुनसक्ने विपत्तिको पूर्वानुमान गरी जोखिम न्यूनिकरण गर्ने उपाय अवलम्बन गर्दैछौं। हामीसित अरु विकल्प पनि त छैन। सम्पूर्ण विश्वको अर्थतन्त्र नै कोभिड-१९ रुपी सर्पले डसेको बेला नेपालमा यसले बेरोजगारी, गरिबी, सामाजिक वैमनष्यता आदिको विष, धेरै वा थोरै, छर्ने पक्का छ।
जब जब यस्ता विपत्तिले घरभित्र प्रवेश गर्छ, घरपरिवार समाजमा डाँफेको ढाल ओढेका गिद्दहरुको ताण्डव नाच सुरु हुन्छ।’ यहाँ केही भाइरस र विपत्तिसँग सम्बन्धित मेरा जीवनमा आइपरेका बिर्सनलायक केही अनुभूति प्रस्तुत छन्।
गरिबी भाइरस
म त्यतिबेला मात्र २ कक्षामा पढ्थें। अरुले भनेको, बच्चा बेला असाध्यै क्युट थिएँ रे। सबैले खैरेको बच्चाजस्तो भन्थे मलाई। म स्यानी तर खेल्न माहिर। मलाई खेल्न भनेपछि असाध्यै मन पर्थ्यो।
उफ्रने, दौडिने, घिस्रिने, लड्ने, कुद्ने यस्ता शारीरिक ऊर्जा लाग्ने खेल भनेपछि भुतुक्कै हुन्थें। लुकामारी, फाइभ-फिंगर, चोरपुलिस, क्रिकेट, ब्याडमिन्टन, चुङ्गी, साइकल मलाई औधी मनपर्ने खेलहरु थिए।
हामी चोकभरिका केटाकेटीहरु पूरै चोक थर्किने गरी हल्ला गर्थ्यौं अनि चोकको एउटा घरको साहु राज तबाः ले बेसी हल्का गरेबापत झ्यालबाट पानी छ्याप्नु हुन्थ्यो। हामी भागेर एकअर्काको घर घरमा लुक्थ्यौं।
राज तबाः झ्यालबाट आउट हुनु भएपछि फेरि हाम्रो चोकमा इन्ट्री र मस्ती सुरु भइहाल्थ्यो। हामी भाँडाकुटी, पुतली-पुतली पनि खेल्थ्यौं। साथीहरुका नयाँ, चिटिक्क परेका फेन्सी भाँडाकुटी र त्यत्ति नै राम्रा बार्बी, आलु, सुपरम्यानजस्ता पुतली हुन्थे।
मेरा भने दिदीहरुले सिलाइबुनाई गर्दा बचेका काम नलाग्ने कपडाका पुतली, माटाका भाडाकुटी र कागजका मान्छे, कागजकै लुगा हुन्थे। सायद त्यही भएर पनि होला म भाँडाकुटी, पुतली खेल्न मन गर्दिन थिएँ।
बरु ब्याडमिन्टनलाई गितार बनाएर झ्याङ झयाङ् गर्दै केटाहरुको हुलमा गीत गाउँदै बस्थें। गीत नै गाउन नजाने नि तालमा तालमा मिलाएर हावामा झ्याङ झ्याङ गर्दै बस्थें। अनि घरमा हुँदा भाइसित गुच्चा, दिदीसित भाँडाकुटी र एक्लै पुतली-पुतली खेल्थें।
विस्तारै म कक्षा ३ पढ्ने भएँ।
बालसुलभताअनुसार भएरभरका केटाकेटीहरु टोलको चोकमा भेला भएर हल्ला गर्दै खेल्ने हाम्रो समूह गजबको थियो। तीमध्ये हामी बस्ने घरको देब्रेतिर ठिक अगाडिको घर कंश (नाम परिवर्तन) दाइको थियो।
दाइ मलाई अर्कै खाले गोरो राम्रो लाग्थ्यो। उनी हामी बच्चा पार्टीको सबैभन्दा जेठो बच्चा। सायद किशोर वयका थिए। ती दाइले मलाई ‘सधैं फ्रक लगाऊ, फ्रकमा तिमी राम्रो देख्छ’ भन्नु हुन्थ्यो।
दाइको घर हामी बस्ने घरभन्दा पुरानो थियो। छिंडी फराकिलो तर निकै अँध्यारो। अगाडि र पछाडि दुई वटा ढोका थिए। छिंडीमै शौचालय थियो त्यो पनि अलि ठूलो तर बत्ती नभएको। लुकामारीका लागि पर्फेक्ट स्पट थियो त्यतिबेला।
जब जब हामी लुकामारी खेल्थ्यौं र लुक्थ्यौं, दाइले सधैं हातै तानेर मलाई आफूसँगै राख्नु हुन्थ्यो। भित्तामा मलाई राखेर आफ्नो जिउले मलाई थिचेर राख्नुहुन्थ्यो। उसको श्वासले मेरो कान तातो रातो हुन्थ्यो। म फुत्कन खोज्थें। ऊ मभन्दा बलियो थियो।
‘जीउले नथिचन दाइ’ भनेर गुनासो गर्दा ‘तिमीलाई डुमबाट जोगाउन त्यसो गरेको’ भन्नुहुन्थ्यो। विस्तारै उनका लागि यो दैनिकी बन्यो। मेरा लागि सकस।
सधैंजसो अरु खेलपछि लुकामारी अनिवार्य जस्तै हुनथाल्यो। अनि प्रत्येक खेलमा म जहाँ लुक्न भाग्थें, उनी त्यहीं आइपुग्थे। सुरुसुरुमा त मेरा अबोध मस्तिष्कले केही चालै पाउन सकेन। झल्याकझुलुक आउने सम्झनाहरुमा म दाइ लुकेकै ठाउँ नभई अर्को ठाउँतिर भागेको लुकेको सम्झन्छु।
म सम्झन्छु, उनका हातले स्तन नबनिसकेका छाती र मेरा मरन्च्यासे तिघ्रा सुम्सुम्याएको, उसका गुप्ताङ्गले थिचेको र जबर्जस्ती मेरा दुई हात बाँधेर उनको तातो श्वास मेरा कानमा प्रश्वास गरिरहेको। मलाई के गरेको थाहा थिएन तर मलाई एकदमै नराम्रो लाग्थ्यो, म डराउँथेँ।
त्यसपछि मलाई लुकामारी भनेपछि सबैभन्दा मन नपर्ने खेल हुँदै गयो। मैले चोकमा खेल्नै छोडें। दाइहरुको संगत पनि टुट्दै गयो। जब ती दाइ कक्षा ८ पुगे, उनको घरबाट खेल्न रोक लगाइयो, बल्ल मैले लुकामारी खेल्दा पाउने अनावश्यक सास्तीबाट छुटकारा पाएँ।
त्यतिबेला प्रत्यक्ष असर नदेखिएता पनि मेरो सबकन्सियस माइन्डमा पुरुष जाति भनेपछि डर र घृणाको जरा गाड्ने त्यही लुकामारी रहेछ। मलाई अझ के लाग्छ भने किशोरावस्थाको त्यो दाइले मलाई नै टार्गेट बनाउनुको दुईटा कारण छन्ः एक, उनलाई सही अर्थमा यौन शिक्षा सम्बन्धी जानकारी दिने वा गाइड गर्ने सायद कोही थिएन, न घरमा न स्कुलमा।
अर्को, मेरो परिवार चोककै सबैभन्दा आर्थिक रुपमा गरिब परिवार थियो। वर्गीय विभेदको स्वाद चाखिसकेको उसले ममाथि शोषण गर्नु सहज मान्यो, यो अपराध हो भन्ने बुझेन।
त्यो घटनाले मलाई मानसिक रुपमा कति पिरल्यो भन्ने त कुरै नगरौं। आजको दिनसम्म पनि राति बेलाबेला तर्सेर असिनपसिन भएर ब्युझिने गर्छु। मैले घरमा आजसम्म पनि यो कुरा कसैलाई भनेको छैन। त्यसैले त्यतिबेला मेरा लागि समाजमा व्याप्त वर्गीय विभेद र हाम्रो गरिबी नै अहिलेको कोरोना भाइरसभन्दा डरलाग्दो आतंक बनेको थियो।
पुरुष सर्वेसर्वा हो भन्ने मानसिकताबाट बनेको भाइरस
२०७२ वैशाख १२, बारपाकको भयावह दृष्य, थुप्रै सम्झना र घाउहरु अझै ताजा छन्।
त्यतिबेला पुरानो बानेश्वरको आइसरमा ΄आन्ना इन द ट्रपिक्स’ नाटकको रिहर्सल भइरहेको थियो। हाम्रो घरमा सिठी नखःको नखःत्या थियो। दिदीहरु सबै घरमा बिहानै आउनुभएको थियो। बिहानदेखि नै आकाश कालो बादलले छोपेर धुम्म थियो।
म बिहानै मासु, सागपात, फलफूल इत्यादि किनमेल र घरको काममा सघाएर खाना खाएपछि रिहर्सल जान तयार भएँ। मेरो ठूलो दिदीले म तिर हेरेर प्रश्नवाचक शैलीमा भन्नु भयो, ‘रोजी, रिहर्सलमा आज जान भ्याउदैनौँ। घरमा यत्तिका मान्छे आउँदै छन्, नजाँदा हुँदैन?’
दिदीको सोधाइ नटुंगिँदै मैले सदाझैं घरदेखि बाहिरिँदै भनेँ, ‘मेरो भाग त १ घण्टामै सक्छ। म गएर आइहाल्छु।’
चोकमा निस्कें। निलो सानो माइक्रोबस भित्र चढें। ड्राइभर दाइसँगैको अगाडिको झ्यालतिरको खाली सिटमा हतारहतार बसें। कृष्ण पाउरोटी नेर के पुगेको थिएँ, अचानक कहाँबाट धुलोले अगाडि केही नदेखिने गरी छोपिहाल्यो।
मान्छेहरु हतार हतार कुद्न थाले। बाटोमा ग्याँसका सिलिण्डरहरु गुल्टिरहेका थिए। मेरो मनले सोच्यो, सायद मान्छेहरु बीच झगडा परेर तोडफोड गरेका होलान्। केही खसेजस्तो लाग्यो, बुंगबुंग धूलो उडिरहेको थियो। मैले केही पनि देखिनँ।
केही सेकेण्डमै माइक्रोबस त पूरै खाली भइसकेको रहेछ। एउटा घर त माइक्रोबसतिरै पो खसेको रहेछ अनि त भागाभाग सुरु भयो। धन्नले म बचें, घाइते भइनँ।
मान्छेहरु रोएको, आँत्तिदै भाग्दै लड्दै गरेको, बाइक-स्कुटर पुर्लुक्क पुर्लुक्क ढलेको अनि अगाडि अजङ्गको दुईओटा टावरजस्ता घर पिङ मच्चेझैं घरि अगाडिपछाडि घरि दायाँबायाँ गरी हल्लेको, बाटोभरि मान्छेहरुको भिड।
चलिरहेको माइक्रोबस भित्र बसेकाले होला सुरुमा भूकम्प गएको थाहा भएन। जब आफ्नै अगाडि विभत्स कोलाहलमय वातावरण छायो, तब मात्र साँच्चै बेजोड विनाशकारी भूकम्प पो गएको रहेछ भन्ने थाहा भयो।
तर म आत्तिएको थिइनँ। भूकम्प किन जान्छ, त्यस्तो बेला के गर्ने भन्ने कुराको मलाई आधारभूत ज्ञान थियो। मैले घर जान हतार गर्नुभन्दा केही बेर कुर्नु उचित सम्झें।
केही बेरमै एक हुल मान्छे आत्तिँदै लड्दैपड्दै आए। तिनले धरहरा लडेको, वसन्तपुर ध्वस्त भएको फोटो मोबाइलमा देखाए अनि असन पूरै सोत्तर भएको पनि एकैसासमा बताए।
असन सुन्ने बित्तिकै मेरो मुटु बेजोड गतिमा ढुकढुक गर्न थाल्यो। दिमाग शून्य भयो। आँखा टिलपिल भयो। मलाई घरको पिरले सताउन थाल्यो। म घर जान सुरिएको मात्र थिएँ मोबाइलको घण्टी बज्यो।
‘नानी तिमी जहाँ छौ, त्यहीं बस। यताउता नजाऊ। हामी सबै यहाँ श्रीघः मा छौँ।’
घरपरिवार ठिक छ भन्ने ढुक्क भयो। जसोतसो साँझसम्ममा घर गएँ। असनतिर भत्केका घरहरुले ठाउँठाउँमा बाटो पूरै छेकेको थियो। डाँडाजस्तो बनेको थियो। हामीले केही दिन कन्यामन्दिर स्कुलमा आश्रय लियौं, अनि त्यहाँबाट केही दिन कीर्तिपुरमा माइली दिदीको जेठानी रिना दिदीको खेतमा बास गर्न पुग्यौं।
रिना दिदीको घरपरिवारतिर घर पूरै भत्केको थियो। घरमा मान्छे बितेको थियो। त्यही फोटो विभिन्न पत्रिकाको मुखपृष्ठमा छापेका थिए। तर उहाँले घरभित्र जस्तो पीडा छ, घर बाहिरको दुःख पनि त्यस्तै देख्नुभयो र हामीलाई रेस्क्यू गरेर आश्रय दिनुभयो। उहाँ र उहाँको पूरै परिवारको त्यो उदार स्वभाव र मन देखेर हामी असाध्यै भावुक भएका थियौं।
यसबीच यस्ता थुप्रै घटना घटे, विस्तारै जीवन जटिलताका बीच सामान्य बन्दै गयो तर भूकम्पले मेरो भाइको मस्तिष्कमा यस्तो गहिरो आघात पुर्यायो कि ऊ हाम्रो घरको दैलो त टेक्नै नमान्ने। रातभर नसुतेर भाग्ने खुला ठाउँ खोज्दै।
असन आयो कि फेरि भुँइचालो गयो भन्ने। घर भनेपछि तर्सिने। धेरै गाह्रो भएको थियो मेरो भाइलाई। स्थिति नबिग्रोस् भनेर हामीले उसलाई धरान पठायौं। मेरो असाध्यै मिल्नेसाथी दिवशको घरमा। त्यहाँ उसले आमाको माया पायो। साथीको साथ पायो। र, दाइको विश्वास जित्यो।
उसका दिनहरु विस्तारै सामान्य हुँदै थियो। एकदिन उसले मलाई भेट्न बोलायो। म धरान जान तयार भएँ। मेरो योजना अनुरुप ३ दिने यात्रा हुने भयो। पहिलो दिन धरान पुग्ने। दोस्रो दिन दिवशको परिवारसँग भेट्ने र भाइसित भेडेटार जाने, धरान घुम्ने अनि तेस्रो दिन फर्किने।
यहीं इन्ट्री भयो मेरो जीवनको भिलेन पात्रको।
राक्षस कुमार (नाम परिवर्तन) थियो त्यो दाइको नाम। ऊसित मेरो पहिलो भेट नृत्य आँगनमा लिरिकल डान्स प्रोजेक्टअन्तर्गतको बुद्ध वाणी नामक गीतिनाटकका सिलसिलामा भएको थियो।
त्यतिबेला म मैत्री एफएममा कार्यक्रम सञ्चालक थिएँ अनि डान्सरका रुपमा उक्त प्रोजेक्टमा छनौटमा परेको थिएँ। नाटकको विषयमा केही थाहा थिएन तर गुरुकुलमा आयोजित अन्तर्राष्ट्रिय नाट्य महोत्सवको रिपोर्टिङ गरिसकेको भएर दर्शक हुन सिक्दै थिएँ।
विस्तारै नाटक हेर्ने रस बस्दै गयो, म थिएटर भिलेजको पहिलो ब्याचमा विद्यार्थीको रुपमा छनोट भएँ। थिएटर भिलेजको पहिलो प्रस्तुती नाटक ‘चारुमती’मा मैले राजकुमारी चारुमतीको साथी एवम् सुसारे दिपाको चरित्र अभिनय गर्ने मौका पाएको थिएँ।
त्यो दाइ पनि सैनिकको भूमिकामा थियो। यसरी ऊसित चिनाजान हुँदै गयो। ऊ मलाई ‘बुनी बुनी’ भनेर सम्बोधन गर्थ्यो। त्यसबेलासम्म म उस्लाई एउटा दाजुको रुपमा हेर्थें। अर्थात्, हाम्रो सम्बन्ध दाजुबहिनीको जस्तो थियो।
मलाई याद भएको पछिल्लो कुराकानीमा उसले आफू उच्चशिक्षाको लागि नेशनल स्कुल अफ ड्रामा अथवा जेएनयू भारतमा जान चाहेको बताएका थिए। उसले मसंग कुराकानी गर्दा विभिन्न कलाकारहरुको उदाहरण दिँदै भन्ने गर्थे, ‘नेपालका सफल कलाकार हुने हो भने विशेषगरी महिलाहरुको हकमा निर्देशक वा निर्मातासित नै बिहे गर्नुपर्ने वा वरिष्ठहरुसित अफिएर हुनुपर्छ।’
तर उसको पछिल्लो कुरामा म बिल्कुलै सहमत थिइनँ। जब नाटक ‘मालिनी’को रिहर्सल हुँदै गर्दा ऊ थिएटर भिलेजसँग आबद्ध थियो, राति अबेलासम्म रिहर्सल हुँदा कहिले बिमल दाइ, कहिले मेरो साथी सुजन त कहिले उसले घर पुर्याउने गरेका थिए।
म स्वभावैले छिट्टै अपरिचित व्यक्तिसित घुलमिल हुन नसक्ने, खुल्न नसक्ने लजालु स्वभावको। त्यसैले त्यसबेला मेरो साथी सर्कल साह्रै सानो थियो। मलाई लाग्छ, मालिनीको समयमा हो ऊसित धेरै कुराकानी हुन थालेको तर म त्यत्ति घनिष्ठ पनि भइसकेको थिइनँ।
भूकम्पको समयमा हामी कीर्तिपुर हुँदा ऊ र मेरो साथी यचु कीर्तिपुरमै भेट्न आएका थिए। हामी असन क्षेत्रमा बस्ने हुँदा साह्रो पिर परेको सुनाउनु भएको थियो। ऊ र यचु मलाई सम्झेर भेट्न आएकोमा म खुब खुसी भएको थिएँ।
गफैगफमा म धरान जान लागेको कुरा निस्केपछि उसले आफ्नो घर पनि पूर्व उदयपुर भएको र आफू पनि त्यत्तै जानलागेको हुँदा बरु बाइकमा सँगै जाने कुरा गरे। उसले ‘साथी पनि हुन्छ, बाइकमा छिटो पनि हुन्छ’ भन्यो।
मैले एक्लै लामो यात्रा कहिले पनि गरेको थिइनँ र मलाई बाटो पनि थाहा थिएन। हुन त म कक्षा ८ हुँदा धरान गइसकेको थिएँ तर विराटनगरसम्म हवाइजहाजमा। त्यसपछि इटहरी हुँदै धरान। त्यसैले म पनि खुसी नै भएँ।
धरान जाने साथीको रुपमा उसलाई पाएँ भनेर खुसी लाग्यो। तर मेरो साथी दिवश र मेरो भाइले ‘त्यो दाइ अलि अर्कै खाले लाग्यो, बरु एक्लै बसमा नै आउनु’ भने।
मैले त्यो कुरालाई खासै वास्ता गरिनँ। धरान जाने यात्रामा ऊ साथी त थिए, तर मित्रताको नाममा विश्वासघात र पुरुषको नाममा कलंक रहेछ भन्ने पत्तै पाउन सकेका थिइनँ रहेछु।
हेटौंडाको बाटो र वर्षा, पहिलो दिन हामी धरान पुग्न सकेनौं। सर्लाहीमा चिनेको कलाकार दाइको घरमा बस्यौं तर चिनेको दाइ काठमाडौं हुनुहुँदो रहेछ। त्यतिबेला मलाई अलिक अप्ठेरो लागेको थियो। त्यो अनुभव सामान्य लागेको थिएन।
दोस्रो दिन उसले घुम्दै जाने भनेर राजविराज, आफू पढेको कलेज, फलाना नेता, फलानको यति पावर उत्ति पावर, फलाना साथी भन्दै फरक फरक व्यक्तिलाई भेटाए। भेट गराए। जुन मेरो न रुचिको विषय थियो न कुनै सरोकारको विषय। बल्ल बल्ल उसको घर पुग्यौं।
उसलाई उदयपुरमा आफ्नो घरपरिवारसँग भेटाउनभन्दा पनि मेरो यति जग्गा छ, उति जग्गा, यस्तो पावर, उस्तो पावर भनेर देखाउन बढी मज्जा आइरहेको थियो। उसको त्यस्तो स्वभावले मेरो मनमा थोरै अमिलो पसिसकेको थियो। तर मैले जिद्दी गरी गरी, ‘दाइ, धरान छिटो जाउँ’ भन्न छाडिनँ। त्यही दिन बेलुका तिर हामी धरान पुग्यौं र भोलिपल्ट भेडेटार गयौं।
काठमाडौंबाट हिंड्ने बेला उसले आफू घरमा केही दिन बस्ने कुरा गरेको थियो तर घरमा के कुरा भयो, मलाई थाहा भएन। म फर्किने भएपछि त ऊ पनि काठमाडौं नै जाने भनेर आए। अघिल्ला दिनहरुको खल्लो अनुभवले फर्किंदा म एक्लै फर्किन चाहन्थें तर सँगै आएपछि फेरि एक्लै कसरी जाऊ भन्ने!
म ऊसितै फर्कन बाध्य भएँ। मेरो साथीले ‘सिन्धुलीको बाटो भएर जानू, ६ घण्टामा काठमाडौं पुगिन्छ’ भनेको थियो। बाटोभरि उसका बकम्फुसे गफ, चर्तिकलाले मलाई अप्ठ्यारो महशुस हुन थाल्यो। उसले जसरी हुन्छ, ढिलासुस्ती गरेजसो भइरहेको थियो।
सिन्धुलीगढी पुगेर चिकेन-चिउरा खायौं। सिमसिम पानी परिरहेको थियो। उसले अकस्मात् म तिर फर्केर दबाबको शैलीमा भन्यो, ‘आज यहीं बसौं, भोलि काठमाडौं जाउँला।’
उसको हेराइ र भनाइ सुनेर म तर्सिएँ। मैले सरल र सहज रुपमा जिकिर गर्दै भनें, ‘हुँदैन दाइ, आजै घर जानुपर्छ।’
मैले जति जिद्धी गर्दा पनि उसले त्यति नै पटक सिन्धुलीगढी मै बास बस्ने कुरा गर्न छाडेन।
उसले ममाथि अप्रत्याशित आफ्नो हक जमाउने शैलीमा भन्न थाल्यो, ‘आज यतै रात काटौं। र, तिम्रो मेरो विषयमा कुरा गरौं, हुन्न?’
उसले भन्न खोजेको के हो बुझ्न नसकेर अक्क न वक्क भएँ। मैले मनमनमा सोचें, ‘यस्ले हिजोदेखि मेरो दिमाग चाटिरहेको छ। आज त मुखै फोरेर भन्ने आँट गर्यो।’
मेरो मनको चिसो आगोजस्तै दनदन्ती बल्न थाल्यो। उसको गतिविधि र बोलीचालीको शैलीबाट म छाँगाबाट खसेजस्तै भएँ। तर पनि मैले घर जाने कुरामा ढिपी गरिरहें। उसको नियत ठिक नलागेको भनक पाइसकेकाले सिन्धुलीगढीमै बास बस्न पुगेमा दुर्घटना हुने शंका लागेपछि झन् ढिपी गरें, ‘जसरी हुन्छ काठमाडौँ आजै जाने।’
मेरो ढिपीको अगाडि उसको केही नचलेपछि काठमाडौंतिर बाइक कुदाए। केही किलोमिटर पर पुगेपछि ‘बाटो अप्ठ्यारो छ। मलाई कसेर अंकमाल गर नत्र लड्छौ’ भने। उसलाई अंकमाल नगरी बाइकमा बस्दा दुर्घटना होला जस्तो गरी स्पीड कुदाउने।
बाइक चलाउँदा पनि एक हातले हेण्डल सम्हाल्ने अनि उसका हात मेरा तिघ्रामा पुर्याएर विस्तारै छाम्ने चिमोट्ने बानी निरन्तर जारी राखे। करिब ३० किलोमिटर पार गरिसक्दा पनि ‘आज यहीं कतै बास बस्ने, घुम्ने, भोलि मात्र फर्कने’ भन्दै मलाई रिस देखाउँदै तर्साए।
एउटा विश्वासले गर्दा म उसको बाइकमा बहिनीको रुपमा पछाडि बसेको थिएँ। तर मेरो विश्वास पलपल चकनाचुर भइरहेको थियो। त्यसबेला म यति धेरै आत्तिसकेको थिएँ कि धेरै डर त्रासले भित्रभित्रै कामिरहेको थिएँ।
मेरा मनभरि चिन्तै चिन्ता र तनाव छाइरहयो, ‘कतै एकान्तमा लगेर मलाई यसले जबरजस्ती त गर्दैन? त्यसबेला मैले के गर्न सकूँला? यस्ले मलाई बलात्कार गरेर पोल खोलिने डरले त्यही हत्या पनि गर्न सक्छ।’
मलाई बाटोमै क्रस भएका अन्य सवारी साधनका यात्रुसित गुहार मागुँ कि जस्तो भइसकेको थियो। उकुस मुकुस भएको थिएँ। उसको पछाडि बस्न घिन लागिरहेको थियो।
मैले उसको सामु आफू आक्रान्त भएको र डराएको स्पष्ट पार्नु हुँदैन भनेर जसोतसो आँसु थामिरहें। एकमनमा लाग्यो, ‘जे पर्ला पर्ला बरु दुर्घटना नै भए नदीमा हाम्फाल्ने।’ यसरी म मानसिक रुपमा आफू मर्न तयार भइसकेको थिएँ।
मेरो मनमा एउटा आइडिया फुर्यो। बाटोमा निकै कटेपछि मैले घरमा फोन गरेको जस्तो नक्कल गरें अनि भनें, ‘मेरो बाबालाई तुरुन्तै हस्पिटल लानु भएको रहेछ, बाबाले मलाई खोजिराख्नुभा’को छ। मलाई जसरी नि आजै घर जानु छ।’
त्यसपछि मैले एक शब्द बोलिनँ। धुलिखेल पुग्यौं। तर फेरि उही कुरा, भक्तपुर पुग्यौं, फेरि त्यही कुरा, ‘आज यतै बास बसौं, रात काटौं।’
मलाई मनमा आफैलाई दश झापड हान्न मन लागिरहेको थियो कि मैले मेरो भाइ र दिवशको कुरालाई किन वास्ता गरें भनेर। रातिको दश बजेतिर बल्लतल्ल असन पुग्नेबित्तिकै म त्यही झरें। उसले ‘घरसम्म पुर्याइदिन्छु’ भन्दै थिए। मैले मानिनँ।
म बाइकबाट झरेर हिँड्न मात्र के लागेको थिएँ, आवाज आयो- ‘बुनी, अघि बाटोमा जे-जे भयो सबै बिर्सिदेऊ है। अनि मैले जे जे भने त्यो कसैलाई नभन है।’
मेरो कन्पारा टिनीनीनी तात्यो, कान रातो भयो। आज यसले मेरो अस्मितामाथि आक्रमण गर्ने दाउ पो गरेको रहेछ।
उसले सिनियर सित अफियर हुनुपर्ने भन्नु, आफ्नो पावर-पैसाको रवाफ देखाउनु, आफ्नो घर जाने भनेर मसित जानु, बहिनीको झुटो नाता गाँस्नु सबैसबै केबल पुरुष कामबासनाको ध्येय पूरा गर्नको लागि मात्र रहेछ। जवाफमा मैले केही पनि बोलिनँ।
म रुँदैरुँदै घर गएँ। घर पुगेर दिदीहरुलाई बाटोभरिको घटना बेलीविस्तार लगाएँ। त्यसपछि फोन, फेसबुक सबबाट उसलाई ब्लक गरें। उसले मेरो दिदीहरुलाई फोन गर्ने, अरुको नम्बरबाट फोन गर्ने, घर बाहिर उभिने गरेर अझ थप मानसिक तनाव र यातना दिन भने छाडेन।
मलाई यो घटनापछि केटा मान्छे भन्ने बित्तिकै अनायसै रिस उठ्ने, घिन लाग्ने हुन थाल्यो। राति सुत्न सक्दिन थिएँ, जत्तिबेला नि धुरुधुरु रुन्थें। थिएटर जान बन्द गरें। मैले आत्महत्या गर्ने योजना पनि बनाएँ।
हरेक राति कौसीको छेउमा उभिन्थें अनि यहाँबाट हाम्फाले के हुन्छ भनेर कल्पना गर्थें। त्यो कल्पनाभित्र मेरो विभत्स लास देखेपछिको मेरो बाबा दिदीहरुको चित्कार पनि सुन्थें अनि रोकिन्थें।
मैले त्यो कुरा थिएटर भिलेजका निर्देशक विमल सुवेदी दाइलाई भनें। मेरा साथीहरु दिवश, सुजन, दिलीप, उत्पल, यचुलाई भनें। पछि मैले थाहा पाएँ, उसको गलत नियत र स्वभावका बारे थिएटर भिलेजका दुई छात्राले पनि गुनासो गरेका रहेछन्। साथै, रंगमञ्चका साथीहरुबीच म उनको गर्लफ्रेन्ड भएको दुष्प्रचार समेत गरेका रहेछन्।
त्यत्तिबेला मैले उसलाई आमा याद आउने गरी किन जोडले एक झापड हानिनँ भन्ने सधैं लागिरह्यो। त्यत्तिबेला मैले ऊ भित्र जुन महिसाशुरको दानवी स्वरुप देखें, म उनलाई कहिले पनि माफ गर्न सक्दिनँ।
मैले उसले गरेको केही स-साना सहयोग पनि भुलेकी छैन। चाहे गुणी होस् वा बैगुणी साँवा, ब्याज र प्याज सुद्दा जोडेर चुक्ता गर्नु भनेर मेरा हजुरबाले सिकाउनु भएको पाठ मैले आज पनि भुलेकी छैन।
अहिले मलाई लाग्छ, त्यत्तिबेला उसको मस्तिष्क, मनमा जुन पुरुष सर्वेसर्वा भन्ने निकृष्ट सोच थियो, त्यो नै कोरोनाभन्दा पनि डरलाग्दो रुपमा मानसिक भाइरस रहेछ। ऊ पुरुष भएपनि मानसिक रुपमा बिरामी मान्छे हुन्। उसलाई उचित मनोपरामर्श र उपचारको आवश्यकता छ।
एक वर्ष अगाडि म, झमक घिमिरे दिदी, आमा र अनिता लामा दिदी गफिँदै थियौं। मेरो मोबाइलमा अपरिचित नम्बरबाट फोन आयो। फोन गर्नेले बडो नरम शैलीमा कुरा गर्यो।
‘बुनी म फलाना, कुरा गर्न मिल्छ? तिमीले पेपर पढ्यौ होला नि थिएटरमा अहिले मि टू चलिरहेको छ। मेरो पनि नाम लिस्टमा छ रे। मेरो अरुसित खासै त्यस्तो केही छैन। तिमीसित परेको हो। त्यही भएर फोन गरेको। कतै तिमीले त मेरो नाम लेखेकी होइनौ नि?’
उसको कत्रो आँट, कस्तो बेसरम! वाह।
म रंगमंच, नाटक, फिल्म, पत्रकारिता, एफएमकर्मी, विज्ञानसम्बन्धी टेलिभिजन कार्यक्रम प्रस्तोता सगरमाथा आरोही हुँदै अन्तरिक्ष, उल्का पिण्ड, आकाशीय ग्रह, ब्ल्याक होल जस्ता खगोलशस्त्री बन्ने धुनमा हराइरहेकीले त्यसबेला चलेको मि टू का बारे थाहा थिएन।
पेपर पनि पढेकी थिइनँ। मेरो फेसबुक स्टाटस पढेपछि मलाई यही विषयमा सोधपुछका लागि केही पत्रकार साथी र केही रंगकर्मी साथीले कुरा पनि गर्नुभएको थियो तर मैले ‘म आफै लेख्छु, म सही समयको प्रतिक्षामा छु’ मात्र भनें।
यो लेखमार्फत मेरो उद्देश्य कसैको व्यक्तिगत वा पेशागत जीवनमा दख्खल दिनु पक्कै होइन। मैले आफ्नो भोगाइ जस्ताको तस्तै राखेको हुँ। म पुरुषजातिको विरोधी पनि होइन किनकि म केही महिला पात्रबाट पनि त्यति नै प्रताडित छु।
तर म त्यो सोचको विरोधी हुँ जसले आफूभन्दा सोझा, निमुखा र कमजोरलाई कुनै कुनै माध्यम वा तरिकाबाट शोषणको शिकार बनाउँछ अनि त्यसको मज्जा लिन्छ। मेरो युद्ध त्यो मानसिक रोगीसित हो र म प्रत्येक त्यस्ता मानसिक रोगीको उपचार होस् भन्ने चाहन्छु ताकि भोलि अर्को कुनै ‘राक्षस कुमार’ नजन्मियोस्।
वर्तमान परिप्रेक्क्ष्यले प्रत्यक्ष वा परोक्ष रुपमा यस्ता राक्षसहरुले ढुकेको बाटो नखोल्ला भन्ने छैन। त्यसैले हामीलाई प्रकृतिले दिएको यस अवसरमा आफ्ना घरपरिवार, छोराछोरी, दाजुभाइ तथा दिदीबहिनीसित समय व्यतित गर्ने, एकखाले खुला-निस्वार्थ मित्रताको वातावरण तयार पार्ने, फरक पुस्ताबीचको दूरी घटाउने र एकअर्काको कुरा सुन्ने सुनाउने ताकि हामी घरभित्रै यस्ता विषयमा खुलेर चर्चापरिचर्चा बहस गर्न सकौं।
एउटा स्त्रीलाई पुरुष सत्ताले ‘यौन माल, भोग्या, दासी’ ठान्ने मानसिक रोगी हुनुपूर्व नै रोग उत्पन्न नहुने संस्कार, सिर्जना र कर्म जुटाउन सकौं। जसरी मैले कक्षा २ मा पढ्दा भोगेको ‘डार्केस्ट सिक्रेट’ शेयर गर्न मास्टर गरिसकेरपनि आँट जुटाउन सकिनँ, आज मेरी दिदीको अभिप्रेरणाले शेयर गरें।
अरु कुनै रोजिताले यति समय कुर्न नपरोस्। कुनै कंश वा राक्षसको सामना गर्न कुनै लैंगिक दायरा वा घरपरिवार, समाज, जागिर, पढाइको दायराजस्ता कुरामा अल्झिन नपरोस्। प्रकृतिले मलाई मान्छेको स्वरुपमा पृथ्वीमा बास दिइन्। मान्छे हो, मान्छे भएर आफ्नो जीवन जिउने अधिकार त सबैको हो नि, होइन र?
(हायडेस तारापुञ्ज सम्बन्धी लाइडेन अव्जरभेटरीको उर्ट स्कलरशीपबाट पुरस्कृत बुद्धाचार्य हाल नेदरल्याण्ड्सको लाइडेन विश्वविद्यालयमा एस्ट्रोनोमी रिसर्च स्नातकोत्तर विद्यार्थी हुन्।)