कोरोनाले आक्रान्त परिरहेका नेपाली नागरिकलाई फेरि वर्षायाम सुरु भएसँगै बाढी पहिरोले सताउन थालेको छ। कोरोनाले घर भित्र निसासिएर बसेका नागरिकलाई बाढी पहिरोले अझै भित्र बस भन्दै छ।
विगत केही दिनदेखि पढ्न थालेको अविरल वर्षातका कारण विभिन्न ठाउँमा बाढी पहिरो गएर ठूलो मात्रामा धनजनको क्षति भएको सामाचार औपचारिक र अनौपचारिक दुवै तरिकाले सञ्चार माध्यमहरुमा आइरहेका छन्।
भनिन्छ, विपद बाजा बजाएर आउँदैन। तर प्रकृतिलाई राम्रोसँग बुझेर आफ्नो आफ्नो तर्फबाट आफ्नो गाउँघरमा विपदपूर्व तयारी गर्ने हो भने विपदलाई रोक्न त सकिँदैन तर विपदबाट हुने क्षतिलाई अवश्य पनि कम गर्न सकिन्छ।
विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहाडमा पहिरो तथा तराईमा बाढी र डुबानको प्रमुख समस्या छ। विगत १० वर्षको तथ्यांक केलाउँदा सबैभन्दा बढी सन् २०१४ मा २४७ जना र त्यसपछि सन् २०२० मा २४३ जना नेपालीको मृत्यु पहिरोको कारण भएको देखाएको छ।
यसरी हेर्दा २०१४ मा जतिको क्षति भएको थियो, त्यति नै मात्रामा २०२० मा भइरहेको छ भने नेपाल सरकार र स्थानीय निकायले पहिरोबाट हुने क्षति न्यूनिकरण गर्नको लागि कुनै तदारुकता देखाएको देखिदैन।
सरकारले केही गरेन भनेर चुपचाप हामी नागरिक बस्यौँ भने झन् धेरै धनजनको क्षति हुन सक्छ। त्यसैले जनस्तरले आफू आफूले के गर्न सकिन्छ भनेर यो लेखमा छलफल गर्न खोजिएको छ।
१. पहिरोका संकेतहरु
अविरल वर्षा सुरु भइसकेपछि आफ्नो घर तथा समुदायको वरिपरि राम्रोसँग निरीक्षण गर्नुहोस्। हात-हातमा मोबाइल पाएपछि हामी खाली त्यतै मात्र व्यस्त हुने भएकोले वरिपरि के भइरहेको छ र के हुँदै छ भन्ने बुझ्न छोडेका छौँ।
त्यसैले हामीले हाम्रो घर समुदायमा कतै चिरा परिरहेको छ कि, कतै पहिरो जान सुरु भएको छ कि, साथसाथै पानीको बहाब कति बढेको विचार गरिराख्नु पर्दछ। कति जना हामी पानी परिरहेको छ भनेर भित्रका भित्रै बसिरहने मात्र गरिरहेका हुन्छौँ।
त्यसैले पानी परिरहेको बखतमा पनि हामी बाहिर आएर बेला बेला हेर्ने, बुझ्ने गरिरहनु पर्दछ। साथसाथै जमिन धसिएको जस्तो भएको छ कि, घरको भित्ताहरुमा नयाँ चिरा परेको छ कि, माटो ढुंगा सहितको पानीको बहाब बढिरहेको छ कि, अथवा फेरि पानी परिरहेकै बखतमा पनि बगिरहेको पानीको बहाब एक्कासी कम भएको छ कि?
साथसाथै जमिनबाट कुनै किसिमको अनौठो आवाज आउँदै छ कि भनी यी कुराहरुलाई ध्यानपूर्वक हेर्ने र सुन्ने गर्नुपर्दछ। यदि त्यस्ता संकेत छन् भने ती पहिरोको संकेत पनि हुन सक्छन्।
२. सुरक्षित स्थानको पहिचान गर्नुहोस्
तपाईंले पहिरो जाने वा पहिरो जानसक्ने संकेत पाइसक्नु भएको छ भने पहिरो जानु पूर्व नै तपाईं लगायत अरुलाई सुरक्षित स्थानमा लैजानुहोस्। कसैलाई पनि कथंकदाचित गाह्रो अप्ठ्यारो भइहालेमा कता जाने भनेर सुरक्षित स्थानको पहिचान पहिले नै गर्नुपर्दछ।
हामी नेपाली जहिले पनि बाघ आएपछि मात्र कराउने गर्दछौँ। पहिरो गएपछि सुरक्षित स्थानको खोजी गर्नुभन्दा पनि पहिला नै सुरक्षित स्थानको खोजी गर्नुपर्दछ ताकि पहिरो गैहालेमा हामीलाई सुरक्षित रहन सहयोग गरोस्।
सुरक्षित स्थान चयन गर्दा सकेसम्म खोला र खोल्साभन्दा टाढा र माथिबाट ढुंगा माटो नखस्ने र चिरा नपरेको ठाउँ रोज्नु पर्दछ। सुरक्षित स्थान खोज्दा उक्त ठाउँ सुरक्षित रहेनछ भने पहिरोबाट भन्दा पनि झन् ठूलो नोक्सानी हुन सक्छ।
३. सुरक्षित स्थान जाने बाटोको पहिचान
सुरक्षित स्थानको पहिचान गरेर मात्र हुँदैन, सुरक्षित स्थानसम्म जाने सुरक्षित बाटोको पहिचान गर्नुपर्दछ। सुरक्षित स्थानसम्म जाने बाटो कतै पहिरो गइरहेको त छैन? त्यो हामीले विचार पुर्याउनु पर्दछ।
बाटो सकेसम्म बालबालिका, वृद्धहरुलाई सजिलो पर्ने खालको हुनुपर्दछ। ताकि बालबालिका र वृद्धवृदाहरु तोकिएको स्थानसम्म सहजै आफै पुग्न सकून्। अभिभावकले सुरक्षित स्थान र सुरक्षित स्थानसम्म जानको लागि तोकिएको बाटोको विषयमा परिवारको सबै जनालाई जानकारी हुनु पर्दछ र जानकारी गराउनु पर्दछ।
४. भेलको उपयुक्त निकास
गत वर्ष पहिरो गएका केही ठाउँहरुमा जाने मौका पाएको थिएँ। ती ठाउँहरुमा प्रायः क्षति पहिरोले गर्दा भन्दा पनि आकाशे पानीको उचित निकास नभएको कारणले क्षति बढी भएको महशुस गरेको थिएँ।
विशेषगरी गाउँठाउँमा सडक बाटो खन्ने तर बाटो खनिसकेपछि राम्रोसँग ढल निकास नगर्ने गर्दा रहेछौँ हामी। जसले गर्दा खोलामा आएको भेल आफ्नो सदाको बग्ने बाटो छोडर सडकबाटोबाट बग्छ र अनि बस्ती तिर झर्दछ र ठूलो क्षति पुर्याउँदछ।
त्यसैले बर्खा लागिसकेपछि आफ्नो घर वरिपरिमा रहेका भेलहरुको राम्रो निकास भएको छ कि छैन, यदि छैन भने भेलको उपयुक्त निकास दिनुहोस्। पहिरोबाट हुने क्षतिलाई कम गर्नुहोस।
५. मोबाइल, टर्च र सिठी
अहिले लकडाउनको समयमा फुर्सद भएकोले धेरै समयमा मोबाइलमा व्यस्त रहेका हुन्छौँ। तर अविरल वर्षाको कारणले सोलार पावरले पनि राम्रोसँग काम नगर्न सक्छ र साथ साथै पहिरोको कारणले बिजुली सुचारु अवरुद्ध हुन सक्छ।
तपाईंको मोबाइल र टर्च लाइटहरुमा चार्ज नहुन सक्छ जस्ले गर्दा राति विपद परेमा बाहिर निस्कन र कसैलाई सम्पर्क गर्न कठिनाई हुन सक्छ। घरको वरिपरि रातिमा पहिरो गएमा वा जान लागेमा तपाइलाई त्यहाँबाट बाहिर निस्केर सुरक्षित स्थानसम्म जानको लागि टर्चलाइट एकदमै आवश्यक रहन्छ।
साथसाथै, तपाईंसँग रहेको मोबाइलको ब्याट्री सधैँ साँचेर राख्नुहोस् जसले गर्दा तपाइलाई अप्ठ्यारो परेको बेला अरुसँग फोनमार्फत सम्पर्क गर्नसक्नु हुन्छ र आवश्यक परेको समयमा नजिकैका आफन्तसँग सहयोग माग्न सक्नुहुन्छ।
र सदा आफ्ना आफन्तसँग सम्पर्कमा रहिरहनु होस्। साथै अर्को छुटाउनै नहुने कुरा, थोरै भएपनि मोबाइलमा ब्यालेन्स राखिराख्नु होस्।
चारैतिर कुहिरो लागेर नदेखिन पनि हुन सक्छ जस्ले गर्दा उद्दारमा आएका मान्छेहरुले तपाईं नदेख्न पनि सक्छन् र उनीहरु उक्त तपाईंको ठाउँको लागि नयाँ हुने भएकोले त्यो भूगोलको बारेमा जानकारी नहुन सक्छ।
त्यसको सहजताको लागि आफूसँग सधैँ सिठी राख्नुहोस् र आवश्यक परेको खण्डमा जोडजोडले फुक्नुहोस्, उद्दारकर्ताले सुन्ने गरी।
६. केही खानेकुरा र पिउने पानी सुरक्षित राख्नुहोस्
सबैकुराको तयारी गर्दैगर्दा केही खानेकुरा र शुद्ध पिउने पानी पनि सुरक्षित तरिकाले राख्नुहोस ताकि उद्धारमा ढिलाइ हुँदा खान र पिउन काम लाग्छ।
खानेकुराहरुमा जस्तै चाउचाउ, बिस्कुट जस्ता पाकेटका खानेकुरा वा ती खानेकुरा छैनन् भने घरमा रहेका मकै भटमास जस्ता खानेकुरा भुटेर राखिराख्नु होस्। साथसाथै पानी राख्दा राम्रोसँग बिर्को लगाउन मिल्ने भाडोमा बिर्को लगाएर राख्नुहोस् जसले गर्दा पानी सुरक्षित र सफा रहन्छ।
७. प्राथमिक उपचार बाकस
प्राथमिक उपचार बाकस सबैको घरघरमा हुन जरुरी छ। साथसाथै यो वर्षाका समयमा त झन् बढी प्राथमिक उपचार सामाग्रीको जरुरत हुन सक्छ।
जस्तै सामान्य चोटपटक लाग्दा मलमपट्टी गर्ने सामाग्री, ज्वरो आउँदा खाने औषधि, टाउका दुख्दा खाने औषधि, जीवनजल आदि आफ्नो परिवारको सदस्यको उमेर अनुसारको औषधि स्वास्थ्यकर्मीको सल्लाहमा एउटा प्राथमिक उपचार बाकस बनाएर घरमा राख्नुहोस्।
घरको कोही सदस्यले नियमित औषधिको सेवन गर्नुहुन्छ भने ती औषधि पनि सुरक्षित राख्नु पर्दछ। साथै आफू सुरक्षित स्थान तिर जाँदा साथमै लिएर जानुपर्दछ।
८. जरुरी कागजपत्र र मूल्यवान वस्तुहरु सुरक्षित राख्ने
पहिरो गयो भन्दैमा आत्तिएर मात्र हुँदैन। आफ्नो र परिवारको ज्यान जोगिने अवस्था भैइसक्यो भने आफू घरबाट निस्कनुभन्दा अगाडि सक्नुहुन्छ भने आफ्ना महत्वपूर्ण कागजपत्र जस्तै, नागरिकता, लालपूर्जा, शैक्षिक प्रमाणपत्रहरु र आफ्नो घरमा रहेका सबै बहुमूल्य गरगहनाहरु पनि आफै सँगसँगै लिएर जाने कोसिस गर्नुहोस्।
साथसाथै, घरमा रहेका पशुपंक्षीहरुलाई पनि खुल्ला छोड्दिनुहोस् जस्ले गर्दा उनीहरु आफै सुरक्षित स्थानमा जान सकुन्।
९. खोला किनार र चिरा परेको भूभाग तिर नजानुहोस्
अविरल वर्षापछि खोलानालाहरु बढेर आउँछन् जुन हेर्न हामीलाई र हाम्रा बालबालिकालाई रमाइलो लाग्छ। तर रमाइलो हुन्छ भन्दैमा खोलाको डिलडिलमा गएर खोला हेर्न खोज्दा खोला वा नदीमा खसेर मान्छेलाई बगाउन सक्छ।
हामीले हेर्दा जमिन बलियो भएता पनि हामी उभिएको जमिन मुनिबाट पानीको बहाबले माटो बगाएर लगेको हुन सक्छ र तपाईं उभिएको ढिस्को जतिखेर पनि खस्न सक्छ।
जमिन चिरा परेको स्थानमा पनि नबस्नुहोस्, त्यो पहिरोको संकेत हुन पनि सक्छ। त्यसैले खोला किनार र जमिन चिरा परेको भूभाग तिर सकेसम्म आफू पनि नजाउँ र अरुलाई पनि जान नदिउँ।
१०. नआत्तिनुहोस् तर सजग हुनुहोस्
अविरल वर्षा भयो भन्दैमा आत्तिहाल्नु हुँदैन। पहिरो जानु भनेको प्राकृतिक कुरा हो, हामी मानवले रोक्न खोजेर रोकिँदैन। तर हामी नआत्तिकन सजग भयौँ भने अवश्य पनि पहिरोबाट हुने र हुनसक्ने क्षतिलाई कम गर्न सक्छौँ।
पहिरो गयो भनेर हामी हडबड गर्न थाल्यौँ भने हाम्रा बालबालिका झन् त्यसै डराउँछन् र झन् जोखिम ठाउँ तिर जान सक्छन्। त्यसैले आफूलाई काबुमा राखेर संयमित भएर हामीले आफ्नो र आफ्ना परिवारको सदस्यको ज्यान जोगाउनु छ र हुने क्षतिलाई न्यूनिकरण गर्नु छ।
११. आफ्नो अवस्था बारे जानकारी गराउनुहोस्
आफू जुन अवस्थामा हुनुहुन्छ, त्यो अवस्था बारे सम्बन्धित निकायलाई जानकारी गराउनुहोस्। यदि तपाईंहरु एकदमै आपतको अवस्थामा हुनुहुन्छ भने नेपाल प्रहरीको निशुल्क फोन नम्बर १०० जानकारी गराउनुहोस्।
साथसाथै आफ्नो स्थानीय स्वास्थ्य चौकी, जनप्रतिनिधि र बुद्धिजीवीहरुलाई जानकारी गराउनुहोस्। फोनमार्फत जानकारी गराउँदा शान्त भएर त्यहाँको यथार्थ जानकारी र सूचना दिनुहोस्।
उक्त जानकारी अनुसार सम्बन्धीत निकायले उद्धार गर्ने वा राहत मात्र दिए पुग्छ भन्ने विश्लेषन गरेर तपाईंहरुलाई सहयोग गर्न पुग्छ। थोरै मान्छे भएको ठाउँमा धेरै मान्छेको संख्या भन्दिने र अवस्था सामान्य भएता पनि आपतै परेको जस्तो गरी सूचना प्रवाह गर्ने नगर्नुहोस्।
त्यसैले हतोत्साहित नभएर सही सूचना र सही तथ्यांक सम्बन्धित निकायलाई दिनुहोस्। उद्धारको अथवा राहत तथा उपचारको पर्खाइमा बस्नुहोस्।
अन्त्यमा,
विभिन्न तथ्यांकहरु तथा समाचारहरु केलाउँदा के देखिएको छ भने प्राकृतिक प्रकोपबाट सबैभन्दा बढी प्रभावित कोही हुन्छ भने ती हुन्, बालबालिका। हामीहरुले समाचारहरु पढ्दा पनि थाहा पाउँछौ कि पहिरो, भूकम्प, बाढी जे आए पनि हताहती हुनेमा बालबालिकाको संख्या धेरै हुन्छ।
त्यो किन भने उनीहरु शारीरिक र मानसिक रुपले बलिया भइसकेका हुँदैनन्। उनीहरुलाई बाढी आउँदा होस्, पहिरो जाँदा होस्, कता भाग्ने थाहा नहुन सक्छ। अथवा उनीहरु अत्तालिएर झन् पहिरो गएकै स्थान तिर जान सक्छन्।
त्यसैले प्रकोपबाट बालबालिकालाई बचाउन अभिभावकले सकेसम्म आफैसँग राख्नुहोस र उनीहरुसँग कुरा गरिराख्नुहोस्। वर्षाको समय छ, आफू पनि सतर्क रहौँ र अरुलाई पनि सतर्क बनाउँ। बाढी पहिरोबाट हुने क्षतिलाई कम गरौँ।
(लेखक शिक्षा विकास अधिकृत हुन्।)