‘गर्भावस्थाभरि कुनै समस्याको अनुभव नगरेकी महिलाको सुत्केरी हुने बेलामा मृत्यु भयो।’ गाउँघरमा र शहरमा पनि यस्ता घटना कति सुनिन्छन्।
महिला स्वास्थ्य र सुरक्षाका धेरै कार्यक्रमहरू पनि स्वास्थ्य मन्त्रालयले ल्याएको छ। यसै विषयमा काम गर्ने धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ-संस्थाहरू पनि छन्। तर महिला स्वास्थ्यको कुरा गर्दा प्राय: सबैको ध्यान ‘महिला प्रजनन स्वास्थ्यमा’मात्र केन्द्रित हुन्छ।
महिलाको स्तन र पाठेघरको क्यान्सर, रक्तअल्पता र कुपोषण, पाठेघर खस्ने समस्याको बारेमा कहिले कहिले छलफल हुन्छ। तर ती पनि प्रजनन अंगसँगै जोडिन्छन्। यस प्रकार महिला स्वास्थ्यबारेको ९० प्रतिशत चिन्तन र प्रयास ‘पाठेघर र यसकै वरिपरि’ घुमेको पाइन्छ।
‘प्रजनन स्वास्थ्य’महिलाको स्वास्थ्यको एक महत्वपूर्ण मुद्दा हो, तर महिलाहरूलाई हुने रोग र मृत्युकै कुरा गर्दा यो समस्या जत्तिकै नसर्ने रोगहरू र विशेषगरी मुटुसँग जोडिएको समस्याहरू पनि महिला स्वास्थ्यका महत्वपूर्ण पक्ष हुन्। गरिबी, अशिक्षाले महिलाको प्रजनन स्वास्थ्यका साथै अनेकन नसर्ने रोगहरू पनि बढाउँछ। अनि मुटु रोगको कारणले प्रजनन स्वास्थ्यमा समेत समस्या पर्छ।
विश्व स्वास्थ्य संगठनका अनुसार अल्पायुमै हुने महिला मृत्युको ६५ प्रतिशत कारण (३ मध्ये २) नसर्ने रोग हो। नसर्ने रोगहरूमध्ये मुटुरोगको समस्या ४० प्रतिशत छ। यसको अर्थ हो नसर्ने रोगको समस्या र यसबाट महिलाको मृत्यु हुने सम्भावना धेरै छ। प्रजनन उमेरका महिला मृत्युको ठूलो कारण मुटु रोग हो र मुटु रोगमध्ये हृदयघात, उच्च रक्तचाप र बाथ मुटुरोग प्रमुख हुन्। तर महिला स्वास्थ्यको कुरा गर्दा यस विषयमा प्राय जनस्वास्थ्यकर्मीले छलफल गरेको पाइन्न।
सहरीकरण, औद्योगिकीकरण, सामाजिक, आर्थिक उत्थानसँगै जीवनशैलीमा आएको परिवर्तनले महिलामा हुने रोग र यसले पार्ने प्रभावमा पनि परिवर्तन आएको छ। तीन दसक अघिभन्दा अहिले नसर्ने रोगको समस्या तीन गुणाले बढेको छ।
यसबाट हुने अशक्तता र मृत्युबारे विचार गर्दा ‘महिला स्वास्थ्य’ बारेका परम्परागत सोचाई र दृष्टिकोणमा परिवर्तन हुनु आवश्यक देखिन्छ। महिला स्वास्थ्य नीति कार्यक्रम बनाउँदा केबल प्रजनन स्वास्थ्यका बारेमा मात्र होइन, नसर्ने रोगहरू जस्तै: मुटु रोग, बाथ रोग, मधुमेह, आदिलाई पनि समेट्नु पर्छ।
महिलाको सुत्केरी र गर्भवतीको बेला एक्कासी मृत्यु हुने धेरै कारण छन्। तर यसरी एक्कासी मृत्यु हुने कारणमध्ये बाथ मुटु रोग एक ठूलो समस्या हो भन्ने प्राय: स्वास्थ्यकर्मीले विचार गर्दैनन्।
बाथ मुटु रोग घाँटी र टन्सिलमा हुने ब्याक्टेरियाको संक्रमणबाट सुरू भएर हात खुट्टाका जोर्नीहरू दुख्ने र सुन्निने (बाथ) हुन्छ। भनिन्छ ‘बाथले जोर्नीलाई चाट्छ तर मुटुलाई खान्छ।’ यसको लागि दुख्न कम हुने दबाई खाइन्छ तर रोग भित्रभित्रै मुटुसम्म पुग्दछ। यसले मुटुको भल्भलाई नष्ट गर्छ र विस्तारै मुटुले काम गर्न छोड्छ। यदि सुरूमै उपचार नगरे सुत्केरी अवस्थामा महिलाको मृत्यु हुन सक्छ। विशेषगरी गाउँघरमा बाथ मुटु रोगको समस्याको बारेमा थाहा हुँदैन। यसको स्वास्थ्य चौकीमा निदान हुँदैन। अनि सुत्केरीको अकालमा मृत्यु हुनसक्छ। ती मध्ये ५० प्रतिशतभन्दा बढीलाई रोग भएको थियो भन्ने समेत थाहा हुन्न। यो भनाइ गरिब देशको सन्दर्भमा विश्व स्वास्थ्य संगठनको हो। यो तथ्यांक नेपालको पनि हुनसक्छ, तर यसको बारेमा कुनै अनुसन्धान भएको छैन।
बाथ मुटु रोगबाट पुरुषभन्दा महिलाहरू बढी संख्यामा पीडित हुन्छन्। विश्व स्वास्थ्य संगठनका अनुसार यस रोगबाट पीडित हुने सय जना बिरामीमध्ये ६० जना महिला हुन्छन्। गरीबी र अशिक्षाको असर पुरुषभन्दा महिलामा बढी छ भने स्वास्थ्य उपचारमा पहुँच पुरुषभन्दा महिलामा कम छ।
यसको साथै अनुवांशिक कारणले पनि महिलालाई बाथ मुटु रोग बढी हुन्छ। तर यो ‘भाग्यले वा प्रकृतिले ठगेको’ भन्ने चाहिँ होइन। यस प्रकार स्वास्थ्यमा जेण्डरको विषय उठाउँदा बाथ मुटु रोगलाई पनि चर्चामा ल्याउनु आवश्यक देखिन्छ। विदेशमा जहाँ प्राथमिक स्वास्थ्यका कार्यक्रमहरू सहज छन्, त्यहाँ यस्तो समस्या प्राय: छैन। भइहाले पनि उपचार छ र सुत्केरी बाथ मुटु रोगले मर्ने सम्भावना कम हुन्छ।
प्रजनन स्वास्थ्य सेवाको विस्तार र गर्भवती महिलाको मृत्युदर घटाउने नेपाल सरकारको नीतिले गर्भवती महिला परीक्षणका लागि स्वास्थ्य केन्द्रमा जाने र त्यही प्रसूति गराउने प्रवृत्ति बढेको छ। तर यस्ता स्वास्थ्य केन्द्रहरूमा प्रसूति जाँच गर्दा पेटभित्रको बच्चाको मुटुको धड्कन जाँच्ने गरिन्छ, तर गर्भवती महिलाको मुटुको स्थितिको प्राय: बेवास्ता गरिन्छ।
भारतमा गरिएको अध्ययन अनुसार एक प्रतिशत गर्भवती महिलामा मुटुरोग भएको पाइन्छ। यिनीहरूमध्ये ७० प्रतिशतलाई बाथ मुटुरोग भएको देखिन्छ। यो रोगबाट पीडित गर्भवतीहरूमध्ये एक तिहाइको बच्चा जन्माउने क्रममा मृत्यु हुन्छ। यो सँगै महिना नपुग्दै बच्चा जन्मिने र कम तौल भएको बच्चा जन्मिने अवस्था पनि धेरै हदसम्म बाथ मुटुरोगसँग जोडिएको छ।
भारतमा गरिएको अध्ययन अनुसार बाथ मुटु रोगबाट पीडित गर्भवती महिलाले जन्माउने बच्चाहरूमध्ये ३५ प्रतिशतको कम तौल भएको पाइयो र सात प्रतिशतले महिना नपुग्दै बच्चा जन्माए। यसरी जन्मिएका बच्चाहरूमध्ये धेरै जसोको एक वर्ष नपुग्दै मृत्यु हुन्छ। अनि हामीले निमोनिया र कुपोषणलाई दोष दिन्छौं। बाथ मुटु रोगबाट महिलालाई बचाउनेतर्फ लागेको भए यो अवस्था आउने नै थिएन होला। तर बाथ मुटु रोग प्राथमिकतामा नपरेको हुनाले कसैले ध्यान दिँदैनन्।
सुत्केरी हुँदा प्रसूति समस्याको कारणले मात्र महिलाको मृत्यु हुँदैन। तीमध्ये धेरै जना मुटुले काम गर्न नसकेर पनि मर्छन्। त्यसको कारणमध्ये उनीहरू वर्षौंदेखि पीडित भइराखेको तर निदान नभएको बाथ मुटु रोग प्रमुख हो। नेपालमा यसबारे आधिकारिक अध्ययनहरू कम भए तापनि मुटुरोग विज्ञहरूको अनुभव अनि विश्वव्यापी तथ्याङ्कले यही देखाउँछ।
यसकारण मातृ मृत्युदर घटाउने नेपाल सरकारको कार्यक्रममा बाथ मुटु रोगको निदान, उपचार र रोकथामले पनि उचित ठाउँ पाउनुपर्छ, तर जनस्वास्थ्यको बारेमा त्यती वास्ता नभएकोले त्यसो हुन सकेको छैन। ‘सुरक्षित मातृत्व’ अन्तर्गतको गर्भवती महिलाको स्वास्थ्य परीक्षण प्रोटोकोलमा अल्परक्तता, कुपोषण, भ्रुणको मुटुको धड्कनका साथै महिलाको मुटुको धड्कन पनि जाँच्ने र समस्या देखिए रोग निदान र उपचारका लागि सम्बन्धित ठाउँमा पठाउनु पर्ने नीति पनि समावेश हुनुपर्छ। यसो गर्दा गर्भवती र सुत्केरीको मृत्युमा कमी ल्याउन सकिन्छ। यसतर्फ महिला स्वास्थ्यबारे कुरा गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ-संस्थाहरू र यसबारे नीति कार्यक्रम बनाउन सरकारको ध्यान जानु आवश्यक छ।
बाथ मुटुरोगबाट बचाउन धेरै पैसाको जरुरत पर्दैन। कुशल व्यवस्थापन, तालिम र स्वास्थ्यकर्मीलाई यो समस्याको गहिराइ बुझाउने र केही साधारण औषधीको व्यवस्था मात्र गरे पुग्छ।
बालिकाहरूलाई बारम्बार घाँटी दुख्ने, जोर्नी दुख्ने भएको बेला यो कतै बाथ मुटु रोगको सुरुवात हो कि भनी शंका गर्न स्वास्थ्यकर्मीलाई सिकाउनु पर्छ। टन्सिल पाकेर आए ‘एन्टिबायोटिक’ पूर्ण मात्रामा दिनेु, उनलाई चिसोबाट बचाउने, स्वस्थकर खाना ख्वाउने, घाममा खेल्न दिने आदि गर्नुपर्छ भनी अभिभावकलाई बुझाउनु पर्छ। यति हुँदाहुँदै पनि कसैलाई मुटुमा समस्या देखिएमा उनलाई पेनिसिलिन सुई दिनुपर्छ। सुई हरेक तीन हप्तामा एकचोटि लगाउनु पर्छ। यो गर्दा वर्षभरिमा पाँच सय रूपैयाँ भन्दाबढी पर्दैन। तर यसले आमा र बच्चा दुबैलाई बचाउँछ। यो औषधी रोगको अवस्था हेरिकन पाँच देखि १५-२० वर्षसम्म गर्नुपर्छ। बाथ मुटु रोगको अपरेसनबाट उपचार गर्न सरकारले वर्षमा ३० करोड रूपैयाँ खर्च गर्छ तर बाथ मुटु रोग हुनै नदिन वा अपरेसन गर्न नपर्ने गराउन स्वास्थ्य मन्त्रालयले वर्षमा एक डेढ करोड पनि खर्च गर्न चाहिँदैन। अनि बाथ मुटु रोगबाट सुत्केरीहरूको मृत्यु भइरहन्छ।