मेलम्चीमा जे नहुनु थियो, भयो भनेर एक दुई दिन राहतको घुइँचो बढाएर, विभत्स तस्बिर छापेर र विपदमा परेका मानिसप्रति सद्भाव मात्रै देखाएर बस्ने छुट हामी कसैलाई छैन।
सर्वसाधारण, विज्ञ समुदाय, संघसंस्था तथा स्थानीय सरकार सबै उत्तिकै गम्भीर र जिम्मेवार हुनुपर्छ। विज्ञान र अध्ययनलाई अवमुल्यन गर्नु र मेलम्ची विपद् जस्ता घटनालाई कम आँकलन गर्ने र घटना भएपछि भगवान वैरि रहेछ, यो त नेपालीको नियति हो भन्नु मुर्खताको हद हो।
मेलम्चीमा के भएको हो ? विपद भएको यति दिनसम्म पनि चुरो कुरामा ध्यान गएको देखिदैन। कम्तिमा पनि सञ्चार माध्ययममा केही चर्चा हुनुपर्ने हो। सञ्चार माध्यममार्फत प्राप्त भिडियो तथा अन्य स्रोतका आधारमा र केही तथ्यका आधारमा भन्नुपर्दा मेलम्ची घटना सामान्य विपद् मात्रै होइन।
मनसुन पूर्वको मेलम्ची विपद् यसै वर्ष वा आगामी मनसुनमा नदोहोरियोस् भन्ने हेतुले तत्काल हाम्रा गाउँपालिका तथा नगरपालिकाले आफ्ना जोखिमयुक्त ठाँउको द्रूत अध्ययन गराई, तयारीको काममा जुट्नैपर्छ। नत्र आगामी दिनमा धैरै ठाँउहरु मेलम्ची बन्नेछन् र हामी निरन्तर यस्तै क्षति व्यहोरिरहने छौं । हाम्रा सामाजिक सञ्जाल सहानुभूतिका चित्रशब्द मार्फत जुर्मुराउनेछन् । मेलम्ची विर्सिइने छ र फेरि अर्को मेलम्ची जन्मिनेछ।
मेलम्चीलाई हामीले बाढी भनिरहेका छौं। अवश्य पनि पानी बगेको छ, खोलामा पानीको सतह बढेको छ। आकाशबाट पानी परेकै छ। यसैका आधारमा हामी सबैले बाढी भनिरहेका छौं। सम्भवतः सिन्धुलीमा भेटिएका वा हालसम्म हराईरहेका लासहरुले पनि बाढी आयो ‘म त पौडिन वा तुरुन्त भाग्न सक्छु’ भन्ठानेर पूर्व चेतावनीसमेत आलटाल गरे होलान्। तर लेदोको भेलले ती मानिसरुलाई न त पौडने क्षमता प्रदर्शन गर्न दियो न त पानीको बहावलाई जित्ने तिनका आँट कायम रहन दियो र अन्ततः लेदोमै लुटुपुटु गराई गर्भमा हरायो।
त्यसैले हामीले सिक्नुपर्ने पाठ के हो भने हामी जे तयारि गरिरहेका छौँ, त्यो पानी मात्र भएको बाढीलाई मात्र सोँचेर गरिरहेका छौं। विपद् जोखिम व्यवस्थापन तथा न्यूनीकरण प्राधिकरणले तय गरेका सोँच, अवधारणा र चेतावनीमासमेत पानीको सतह र पानीजन्य बाढीलाई मात्र ध्यान दिएको देखिन्छ।
लेदोजन्य बाढीको चर्चा कम छ। हामीले किन लेदोजन्य बाढीबारे सोँच्न सकेका छैनौँ त? अब किन हामीले लेदोजन्य बाढीको लागि काम गर्नै पर्छ त? हिजो लेदोजन्य बाढीको घटना धेरै किन नभएका होलान् ? किन बाढी, पहिरो र भूकम्प बढी चर्चामा छ तर अन्तरसम्बन्धको चर्चा छैन? के यहि हो त विज्ञानको नियति?
प्रश्न धेरै हुन सक्छन्। तर यी प्रश्नहरुको गर्भमा काम गरिएको छैन र त काठमाडौंमा गगनचुम्बी संरचनाहरु बनाउन निमाण सामाग्री दिने मेलम्ची त्यस्तै सामग्रीसँगै पुरिएको छ।
अब हामीले लेदोजन्य बाढीको चर्चा बढाउनुपर्छ र हाम्रो तयारीमा लेदोजन्य बाढीको अध्ययन र अध्ययनले भने अनुसार पूर्वतयारी गर्नुपर्दछ। हाम्रो पहाडी भूभागमा २०७२ को भूकम्पको प्रभाव यद्यपी छ। विभिन्न अध्ययनहरु र तिनका निश्कर्षको विश्लेषण गर्ने हो भने गोरखा भूकम्प प्रभावित क्षेत्रमा साना वा ठूला धेरै चिराहरु थपिएका छन् र विगत ४, ५ वर्षको वर्षातले ती चिराहरुलाई अझ कमजोर बनाएको छ र सानो वा ठूलो रुपमा बग्न बाध्य पारेको छ।
मेलम्चीको यो घटना हुनुमा गोरखा भूकम्पको प्रभाव देखिन्छ। हामीले माथिको चित्र हेर्ने हो भने पनि यो तथ्य पुष्टि हुन्छ। गोरखा भूकम्पपछि थपिएको चिराहरुको विषयमा गरिएको एक अध्ययनले यो देखाएको छ। र भन्न सकिन्छ कि, हेलम्बु गाउँको तल रहेको पहिरोको ठूलो रास जमिन आफैंमा कुनै समयमा झरेको पहिरो हो। र त्यो ठूलो पहिरोबाट श्रृजित जमिनको भाग गाउँ भन्दा तल खोलाको छेउमा लामो समयदेखि रहेको देखिन्छ। त्यो भूभागमा गोरखा भूकम्पका कारण थप चिराहरु भएको र विगतका वर्षमा भएको बर्षातको कारण विस्तारै चल्न थालेर अन्ततः नजिकको खोला थुनेर मेलम्चीमा ताण्डव गरेको हो भनेर दाबी गर्न सकिन्छ।
खोला थुनिएको ठाउँको फोटो नियाल्दा खोला १०–१५ मिनेट मात्र थुनिएको अनुमान लगाउन सकिन्छ र त्यहाँ रहेको विगत देखिको पहिरोको भग्नावशेषलाई हेर्दा अझ पर्याप्त बग्ने सामाग्री त्यहाँ देखिन्छ। फेरि पनि खोला थुनिन सक्ने र अबको मध्य वर्षातमा फेरि एक पटक मेलम्चीलाई तर्साउन सक्ने कुरालाई नजरअन्दाज गर्न मिल्दैन। किनकि, त्यहाँ चल्न शुरु गरिसकेको ढुंगा र माटोजन्य पदार्थ प्रशस्त छ। तसर्थ अझ सजग रहनुपर्ने हुन्छ।
मेलम्ची जस्तो खोलाको छेउको बजार क्षेत्र हाम्रो देशका धेरै ठाउँहरुमा छन् । सबै ठाउँमा लेदोजन्य बाढी नहोला तर गोरखा भूकम्पले जोखिम बढाएको पहिरो सम्भावित क्षेत्रमा लेदोजन्य बाढीको त्रास रहन्छ। चीनको सिचुवन भूकम्पपछि त्यहाँ पनि हाम्रो जस्तै मध्य पहाडका साना शहरहरुमा लेदोजन्य बाढी भएको घटना धेरै छन् र पछि लेदोजन्य बाढीले निम्त्याउने विपद्लाई ध्यानमा राखी गरिएका अध्ययन र प्रयासहरु हाम्रै माझमा छन्।
उसो भए अब के गर्न सकिन्छ त? अब गाउँपालिकाहरुले के गर्न सक्छन् त? गाउँपालिकाहरुले कम्तिमा पनि आफ्नो ठाउँमा भएका साना वा ठूला पहिरो, खोला र जोखिममा हुनसक्ने नजिकको बस्ती वा बजारको सूची बनाउन सक्दछन्।
यस्तो सूची बनाउन विज्ञ नै चाहिन्छ भन्ने छैन। स्थानीय पाका मनिसबीचको छलफलबाट यो सूची बन्न सक्छ। सूची बनाइसकेपछि विपद् जोखिम न्यूनीकरणका काम गर्न र योजना बनाउन सजिलो हुन्छ। जस्तो सिन्धुपाल्चोकको चाकु खोला नजिक नारायणथान गाउँको मुनि यस्तो पहिरो हुन सक्ने र त्यसले भोटेकोशीलाई केहि क्षण भएपनि रोक्न सक्दछ र चाकू बजारमा असर गर्न सक्छ।
त्यस्तै उता दोलखाको सिंगटी बजार जहाँ बजारको ठिक माथि हाल कृत्रिम तरिकाले काटिएको पहिरो विद्यमान छ, काटेर फालिएकोले स्थानीयहरु ढुक्क देखिन्छन् र गोरखा भूकम्पबाट सिर्जित त्यहीँ पहिरोका कारण केही ज्यान लिएको आज बिर्सिन थालिएको छ। त्यहाँ भित्र पारेको चिरा त पहिरो काट्दा डोजरले पक्कै टालेन होला? र त्यो नबग्ने अनुमान गर्नु ठिक होला र ? एउटा पहिरो त कम जोखिम गराईयो होला तर सिंगटी बजारले नदेखेको पहिरोको जोखिम रहन्छ नै। सिंगटी बजारले पनि मेलम्चीको नियति व्यहोर्नुपर्ने हुनसक्छ। सिंगटी जस्ता थुप्रै ठाउँहरु छन् जहाँ लेदोजन्य बाढी र पहिरोको जोखिम छ।
एउटै गाउँपालिकामा सबै सम्भावनाहरु नहुन सक्छन् तर पहाडी संरचनाको नेपालमा यस्ता घटना नदोहोरिएलान् भन्न सकिन्न। वास्तवमा गर्ने हो भने यो सानो प्रयासबाट पनि विपद्ले निम्त्याउने क्षति कम गर्न सकिन्छ। यति सानो काम पनि गर्न नसक्ने हो भने के का लागि गाउँपालिका?
निश्चय पनि मेलम्चीको घटना हुन खोलाहरुको सञ्जालमा पहिरो हुनु पर्यो, त्यो कमजोर भएको हुनुपर्यो, ठूलो पानी निरन्तर पर्नुपर्यो। अनि खोलाको किनारमा बस्ती हुनपर्यो। यी सबै सम्भावनाको योग भएका ठाउँ त प्रशस्तै छन्। यस्तै ठाउँमा त हो मेलम्ची घटना दोहोरिने। बस्तीहरु खोला नजिक हुदैमा आत्तिहाल्न त पर्दैन।
ज्ञान र विज्ञान मिसाएर निरन्तर काम गरे अवश्य जोगिन सकिन्छ। सबै घटना यसैपाली हुन्छ भन्ने पनि छैन। तर केहि नगरी बसे लेदोजन्य बाढीको चपेटा धेरै बस्तीले व्यहोर्नुपर्ने हुन्छ। विशेषगरी गोरखा भूकम्पले चिरा पारेका पहाड र त्यसमुन्तिरका बस्तीमा। गोरखा भूकम्पले हल्लाएका र चिरा पारेका ठाउँहरुबारे धेरै अध्ययन भएका छन्।
हाम्रा पहाडी जिल्लाले ती अध्ययनका निश्कर्षलाई सन्दर्भ सामग्री मानेर आफ्नो काम अगाडि बढाउन सक्छन्। थप ठाउँलाई मेलम्ची हुनबाट रोक्न हामी नेपालीको ज्ञान नै पर्याप्त छ। जागौँ लागौं लेदोजन्य बाढीबाट जोगिऔँ।
लेखक ढुंगेल भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यक्रम प्रबन्धक हुन्