यो कोरोना कालमा एकदमै चर्चामा आएका दुई शब्द हुन्- लकडाउन र आइसोलेसन।
कोरोनाका कारणले ठूलादेखि साना, महिला पुरूष सम्पूर्णसँग यी दुई शब्दको परिचय राम्रोसँग भएको छ। अझ कोरोना संक्रमित व्यक्तिसँग यसको गहिरो र आत्मीय सम्बन्धनै स्थापना भइसक्यो। कोभिड, लकडाउन, आइसोलेसन भनिरहँदा पुरै विश्वको नै ध्यान केन्द्रित विषय हो मानसिक स्वास्थ्य।
आइसोलेसनको भोगाइ र अनुभव
लकडाउन भए पनि काममा गइरहनुपरेको थियो। एकदिन अफिसबाटै सबै स्टाफको कोराना टेष्ट गराउनुपर्ने भनेर सूचना आयो। त्यसैले त्यहिँ दिन पिसीआर टेष्ट गरेर म घर फर्किएँ। मनमा अलिअलि डर र चिन्ता त थियो तर पनि त्यो रात आरामले नै सुतेँ।
भोलिपल्ट बिहान मोबाइलमा म्यासेज आयो,‘पिसिआर टेष्ट पोजिटिभ।’
आफ्ना साथीभाइ, नातागोता वा छरछिमेकमा कोरोना हुँदा आफैं आत्तिनु हुँदैन भन्दै आत्मविश्वास र हौसला बढाउने म मोबाइलमा आएको त्यो म्यासेज पढिसकेपछि हात काप्यो, निर्थुक्क पसिनाले भिजेँ, मुटुको गति तेज भयो, कोरोनाविरूद्ध लड्ने मेरो आत्मविश्वास पनि त्यो बेला छरपष्ट भयो। मनमा अनेकौं प्रायः नकारात्मक विचारनै आउन थाले।
करीब आधा घण्टापछिको मेरो मन र मस्तिष्कबीचको लडाइपछि अलि आफूलाई सम्हाल्ने प्रयास गरेँ र लामो सास फेरेँ। छरपष्ट भएको मेरो आत्मविश्वासलाई फेरि एकै ठाउँमा बटुलेर बलियो बनाउँदै बुवा र आमालाई अनि अफिसमा जानकारी गराएँ। त्यसपछि सुरू भयो मेरो आइसोलेसन यात्रा।
आइसोलेसनको अवधि यति तनावपूर्ण र कष्टकर हुन्छ भनेर सपनामा पनि कल्पना गरेको थिइनँ। घरको एक्लो छोरो म, अलिअलि पुल्पुलिएकोनै थिएँ, घरको कामहरू कहिल्यै त्यसरी गर्नुपरेको थिएन, त्यसैले जानेको पनि थिएन तर आइसोलेसनको बसाइले सबै कुरा सिकायो। खाना पकाउनबाहेक अरू सबै काम आफैंले गर्नुपर्यो। एक, दुई दिन पछि त कोरोनाको चिन्ताले भन्दा पनि भाडा माझ्ने, लुगाधुने चिन्ताले बढी पिरोल्न थाल्यो। कतै निस्कन नपाउने, साथीभाइसँत पनि भेट्न नपाउने, आइसोलेसनको जीवन मेरा लागि एक कैदीको जीवन सरह नै भयो।
स्वास्थ्यमा त्यस्तो खासै समस्या देखिएको थिएन। १४ दिन कहिले पुरा हुन्छ भनेर दिन गन्दै बस्थेँ तर १० औं दिनमा मेरो धैर्यताको बाँध टुट्यो र पिसीआर चेक गराएँ। बेलुका नै रिपोर्ट नेगेटिभ भनेर म्यासेज आयो। घरमा सबैजना खुसी हुनुभयो कोरोनाबाट छोरा मुक्त भयो भनेर। तर म चाहिँ कोरोनाबाट मुक्त भए भन्दा पनि भाडा माझ्ने, लुगा धुने ड्यूटीबाट मुक्त भएँ भनेर धेरै खुसी थिएँ।
अहिले आफ्नो त्यो सोचप्रति स्मरण गर्दा आफैलाई लज्जाबोध हुन्छ। मेरो जस्तै आइसोलेसन अनुभव अरू थुप्रै पुरूषले अवश्य नै गर्नुभएको होला। तर त्यसपछि हामी कतिको सोचमा परिवर्तन आयो त?
एकपल्ट महिनावारी र आइसोलेसनलाई सँगै राखेर हेर्ने प्रयास गरौं। महिलाले त हरेक महिना महिनावारीको आइसोलेसन चक्र कटाउनुपर्छ। महिनावारी हरेक महिना चार दिनका निम्ति ढोका ढकढकाउँछ र ढोका खोलिदिने बित्तिकै यहाँ नछोउ त्यहाँ नछोउ भनेर पावन्दी लाउँछ।
देश जतिसुकै प्रगति र उन्नतिमा लम्किए पनि महिनावारीको विभेद अझ पनि कायमै छ। फरक यति हो कतैतिर धेरै कतै थोरै। तर पनि महिलाहरू न त कुनै गुनासो गर्छन् न त केही र्फमाइस। आफ्नो महिनावारीमा गरिने आइसोलेसनलाई सहस्र स्वीकारछन्। त्यसैले नै सायद भन्ने गरिन्छ नारी महान् हुन्।
कोभिडको लहर आउने बित्तिकै आइसोलेसनको बेलामा मानसिक स्वास्थ्य सबैका निम्ति चासोको विषय बन्यो तर महिनावारी जुन मानवकालको सिर्जना देखिनै छ, यो बेलामा मानसिक स्वास्थ्यका निम्ति कसैको ध्यान गएन।
अहिले सामान्यतया महिनावारी हुँदा सबैको जोड महिनावारी सरसफाइ र व्यवस्थापनतर्फ हुन्छ तर महिनावारीसँग सम्बन्धित मानसिक एवं भावनात्मक पाटोमा हामीले जोड पुर्याएका छौं त?
महिनावारीको अवधिमा वा आउनु केही पूर्व सबै महिलाले धेरै थोरै केही न केही मानसिक एवं भावनात्मक संवेग (Mood Swing) भोगेका हुन्छन्। यी मानसिक कठिनाइलाई हामी बेवास्ता गर्छौ जसले भविष्यमा विकराल रूप लिन सक्छ। जसरी आइसोलेसनको समयमा पौष्टिक खाना, सरसफाइका साथ साथै आफूभन्दा ठूलाको माया, सान्तवना र सुरक्षाको धेरै आवश्यक हुन्छ।
महिनावारीमा पनि यी कुराहरु उत्तिकै आवश्यक हुन्छ। जसरी शारीरिक, मानसिक र भावनात्मक सबै पाटोलाई समेटेर आइसोलेसनको बसाई सहज बनाउँछौ। महिनावारीलाइ पनि केही फरक नठानी उहीँ महत्व र दृष्टिकोणका साथ हेरौं।
कोभिड सकिएपछि आइसोलेसनको त समाप्ति होला। तर महिनावारी कहिले समाप्त नहुने निरन्तर चलिरहने प्रक्रिया हो, त्यसैले केही सोच्ने कि!