मेरा हितैषी मित्र प्रकाशचन्द्र मिश्रको फेसबुक स्टाटस देखें। उहाँ लेख्नुहुन्छ, ‘बाढी पहिरो भूगोलको समस्याभन्दा पनि भद्रगोल नीतिको अवस्था हो।’
मलाई ठिकै लाग्यो। नीति निर्माता नेता, गण्यमान्य, विज्ञ सबैलाई थाहा छ नेपालमा बाढी पहिरोको जोखिम क्षेत्र कहाँकहाँ छ? हुनुपर्ने र गर्नुपर्ने के हो? उनीहरुलाई प्रष्ट थाहा छ।
यस्तो प्राकृतिक प्रकोप कसरी न्यूनिकरण गर्ने भनेर चेतनामूलक कार्यमूलक कार्यक्रमहरु भइरहेका छन्। त्यस्ता जोखिम क्षेत्रमा रहेका बस्तीहरुलाई हटाउने, सुरक्षित क्षेत्रमा व्यवस्था गर्ने। राज्यले गर्नैपर्ने काम हो यो। तर गर्दैन।
नागरिकहरु पनि जे-जे होला होला भनेर बस्छन्। वास्तवमा खोला त आफ्नो बाटो बगेको हो नि। थुप्रै जनधनको क्षति भइरहेको छ। बाढी पीडितहरुको उद्धार र सहयोगका लागि सरकारले द्रुत गतिमा शक्ति परिचालन गर्नुपर्छ।
मेरो छिमेकी दाजु विद्याराज शिवाकोटी र मैले छलफल गर्यौं। उहाँ भन्नुहुन्छ, ‘वास्तवमा विश्वभरिका हरेक सरकार चलाउनेले प्रमुख गर्नुपर्ने काम के हो भने आफ्नो देशमा कुनै पनि नागरिक घरबारविहीन हुनुबाट बचाउनु हो। प्रत्येक नागरिकलाई बासको व्यवस्था गर्नु हो।’ तर यसो हुन सकेको पटक्कै छैन किन होला?
चन्द्रमा, मंगल ग्रहमा पुग्ने देशले आफ्नो देशको नागरिकहरु पुलमुनि र सडकमा गुजारा गरिरहेको कसरी हेरेको होला? नेपालबाट गएका हाम्रा नेपालीहरु बरु व्यवस्थित भएर बसेका देखिन्छ तर त्यहींका नागरिकहरु पुलमुनि बाँचेको युटुबमा देख्दा त्यहाँका शासकहरुप्रति उदेक लागेर आउँछ।
चिया बेचेर गुजारा गरेर हुर्किएको बालक अहिलेको भारतका प्रधानमन्त्री छन् तर भारतमा गरिबहरु ऋण तिर्न नसकेर आत्महत्या गरेको, सडकमा आफ्ना नागरिकहरु घिसिपिटी जिन्दगी बाँचेको कसरी हेरेर बस्न सकेको होला?
सरकार निरीह देखिएको बेला पोहोरदेखि निरन्तर अलपत्र परेका हजारौं नागरिकहरुलाई अभिनेता सोनु सुदले उनीहरुलाई घरजान बस, रेल रिजर्भ गरिदिए। उनलाई भगवान मान्छन्। नारायण गोपालले गाएको गीत जस्तोः एउटा मान्छेको साथले कति फरक पर्दछ जिन्दगीमा।
हाम्रो प्रम ओली सामान्य किसान परिवारमा हुर्किएका हुन्। अहिले देशको प्रम छन् तर उनले किसानहरुको हितमा र भुइँ मान्छेको जीवनमा परिवर्तन ल्याउने खास काम केही गरेजस्तो लाग्दैन।
बहुमतको सरकार बनेका उनका हरेक कर्म र वचन विवादित बनिरहेका छन्। चाहने हो भने सुकुम्बासी समस्या, घरबारविहीन हुनेको समस्या सजिलै सल्टाउन सकिन्छ। तर यसैमा राजनीति गरिरहने र मजा लिइरहने भएपछि कसको के लाग्छ र?
गौरवकै कुरा हो कि देशले मधेशी र महिला राष्ट्रपति पायो। तर खोई त नि मधेशमा के परिवर्तन आयो? नेपाली महिलाहरुको हक अधिकार न्यायमा के भयो? बलात्कारी हत्यारा खोई पत्ता लागेको? उनीहरुले आम मानिसहरुको जीवनमा प्रभाव र प्रगति हुने केही गरिदिए हुने थियो नि।
बाराक ओबामा राष्ट्रपति हुँदा विद्यालयमा पुगेर बन्दुकधारीले गोली चलाई निर्दोष बालबालिकाहरु मारे। उनी रोए। र संसदमा बन्दुक नियन्त्रण गर्नेसम्बन्धी प्रयास गरे। तर उनले सकेनन्। के यस्तो हो र? संसारभरि सरकारलाई सीमित व्यापारिक समूहले प्रयोग गर्छ र? उनीहरुको स्वार्थमा सरकारले काम गर्छ कि?
हरेक राष्ट्रका सरकारलाई, विज्ञलाई पढेलेखेका सबैलाई थाहा छ। चुरोट रक्सी सुर्तीले मानिसको अंगभंग गर्छ, रोग लगाउँछ यो हानिकारक छ। तर उक्त पदार्थ उत्पादन र बेचबिखन गर्न अनुमति दिन्छ।
अर्को पाटोबाट यो हानिकारक छ, नखाऊ है पनि भन्छ। जब हानिकारक छ भने उत्पादन नै बन्द गरे हुन्न? किन अनुमति दिने त नि? यस्तो नाटक किन गर्नु?
तर विश्वभरिका मानिसहरुलाई निराशाबाट आशा, अस्वस्थबाट स्वस्थ, रोगभोकबाट रोकतोक, समस्याबाट समाधान, मरणबाट शरण, अशान्तिबाट शान्ति, दुःखबाट सुख, आँसुबाट हाँसोमा ल्याउन धार्मिक सामाजिक व्यक्तिहरुबाट गरिएको प्रयासहरु, अभ्यासहरु देवत्व लाग्छ। पुजनीय लाग्छ।
जस्तो किः गौतम बुद्धले जीवन सरल, सफल, सन्तुष्ट बनाउन उपायहरुको खोजी गरिदिए। जिसस क्राइस्टले दीनदुःखीहरुको सेवा गर्ने शिक्षा दिए। आफ्ना भक्तहरुलाई गरिब, पीडितहरुको सेवा गर्न अह्राए।
फलस्वरुप, इटलीदेखि मदर टेरेसा भारत आइन् र करोडौं दुःखी, रोगी, पीडित, अपहेलित भारतीय नागरिकहरुको सेवा गरिन्। जुन निरन्तर जारी छ। यसले गरेको सेवा सहयोग अतुलनीय, पुजनीय, अनुकरणीय छ। एक क्रिस्चियन विदेशी महिलाले भारतमा हिन्दुहरुको सेवा गर्नु आफैमा महान् हो। त्यसैले उनलाई मदर, आमा भनेर विश्वले पुज्दछ।
एकजना दाजुले साइबाबाको महिमा गान गाए। श्रीमतीलाई नेपालको उत्कृष्ट डाक्टरहरुबाट उपचार गराउँदा पनि ठिक नभएपछि हायलकायल भएका उनी भारतमा साइबाबाले सञ्चालन गरेको अस्पताल पुगेपछि रोग पहिचान भएछ र औषधि उपचारले स्वस्थ भइछन्। पूरै निःशुल्क। भारतभरि धार्मिक समूहले चलाएका संस्थाहरुले धेरै गरिबहरुको रोगभोकको उपचार गरिरहेका छन्। त्यसैले साइबाबालाई भगवानको रुपमा पूजिएको छ।
आइफोनका आविष्कारक स्टिभ जब्सले भने अनुसार उनी आफ्नो देश अमेरिकामा भोक मेटाउन दैनिक आठ/दश किलोमिटर हिँडेर हिन्दुहरुको मन्दिरमा गई त्यहाँ निःशुल्क बाँडिएको खाना कैयौं दिनसम्म खाए रे। एक क्रिस्चियनले हिन्दुको मन्दिरमा निःशुल्क बाँडिएको खाना खाएर जीवन धाने। योभन्दा ठूलो धार्मिक सहिष्णुता के हुन सक्छ?
भक्तपुरबाट आएका तीन नेवार परिवारले कलात्मक घर निर्माण गरी बस्नलायक बस्ती बसाएको बन्दीपुर पछि सदरमुकाम दमौली सरेपछि उजाड उराठ भयो। त्यही बेला एक बन्दीपुरका चिजकुमार श्रेष्ठ अमेरिका पढेर आफ्नै देशको शिक्षा क्षेत्रमा केही गरौं भनी नेपाल आई काम गरे।
आफ्नो गाउँका छरिएर बसेकाहरुलाई एकतामा बाँध्न काठमाडौंमा बन्दीपुर सामाजिक विकास समिति संस्था स्थापना गरे। गाउँ फर्किएर केही गरौं भन्ने सन्देश दिन आफै लागि परे। सबैलाई डोहोर्याए।
आफ्नो उजाड भएको गाउँमा शिक्षाले मात्र परिवर्तन ल्याउन सक्छ भन्ने ठम्याई आफ्नो चिनजानमा रहेको फादर रविनसँग सेन्ट जेभियर्स जस्तै विद्यालय खोल्न मद्धत मागे। फादरसँग दुई शिक्षक समूह रहेछ। उनले जापानी सिस्टरको समूह रोजे।
त्यहाँकै नेवारहरुले जग्गा जमिन दान दिए। नोट्रेडेम विद्यालय स्थापना भयो। दीनदुःखी पिछडिएका वर्गका छोराछोरीहरु पनि निःशुल्क पढ्न पाए। जापानदेखि त्यो सानो गाउँमा तीन दशकदेखि जापानी गुरुआमाहरु निरन्तर बसी दूरदराजका बालबालिकाहरुलाई शिक्षा दिक्षा दिइरहेका छन्। बन्दीपुर पनि धपक्क पर्यटकीय नगरीको रुपमा विकसित भइरहेको छ। ती बन्दीपुरेहरु र हाम्रा महान् जापानी गुरुआमाहरुप्रति सदा सम्मान रहिरहनेछ।
रामेछापका जगदीश घिमिरेलाई सम्झन चाहन्छु। विदेशी जीवन छोडेर देश फर्किएर तामाकोसी सेवा समाज स्थापना गरेर त्यहाँका मानिसहरुलाई अवसर सिर्जना गरिदिए। उनको किताबबाट धेरै कुराहरु बुझ्न सिक्न पाइन्छ।
बझाङी राजा पृथ्वीबहादुर सिंह मानव सेवाका कारण सम्झिइन्छ। शंखधर साख्वा गरिबहरुको ऋण मोचन गरिदिएर विभूति कहलिएका छन्। अरनिको, सीता, भृकुटीहरु राष्ट्रिय विभूतिले सुसज्जित छन्।
आदिकवि भानुभक्त आचार्य, आँसुकवि मोतीराम भट्ट भाषा निर्माताका कारण सम्मानित छन्। राजा रामशाह कुशल न्याय सम्पादन गर्ने भएर सम्झिरहेका छौं। पृथ्वीनारायण शाहले त झन् एक नेपाल र नेपालीलाई एकतामा बाँधे। यस्ता धेरै ऐतिहासिक पात्रहरु हुनुहुन्छ जसले मानिसहरुलाई सामाजिक भावना र एकतामा बाँध्न सानातिना र महत्वपूर्ण कर्महरु गरेका छन्।
राजा महेन्द्रले राष्ट्रिय गाउँ फर्क अभियान चलाए। गाउँघर फर्किएर आफूले पाएको सीप, शिक्षा र ज्ञान प्रयोग गरी त्यहाँ बसोबास गर्नेहरुको जीवनमा केही सुख सुविधा थप्ने यो महान योजना थियो।
असल र सफल पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीले आफ्नो गाउँ आफै बनाउँ भनेर ल्याएको कार्यक्रम एक कोसेढुंगा सावित भएको छ। यसले निरन्तरता पाएको छ। उहाँले ज्येष्ठ नागरिकहरुलाई भत्ता दिन सुरु गरेको योजनाले जेष्ठ नागरिकहरुमा नेपाली नागरिक हुनुको आत्मसम्मान जागेको छ। यसलाई अझ बलियो साथ सुदृढ र निरन्तरता र चेतना जगाउन आवश्यक देख्छु म।
मेरो एकजना गाउँले भतिजो सौगात श्रेष्ठ सामाजिक कार्य विषय पढेछन्। उनको बुवा चाहन्थे कि आफूले चलाइरहेको होटल चलाओस्। तर उनी मानवसेवा आश्रममा लागेछन्। र अहिले काठमाडौं हेटौंडामा सडकमा आश्रित हजारौं अलपत्र नागरिकहरुलाई लालन पालन गरिरहेका छन्।
मैले यो कुरा थाहा पाएपछि उनको बुवाआमालाई जन्माउनु भएकोमा धन्यवाद दिएँ। उनलाई पनि भेटेरै धन्यवाद भनें र तिमीले गरेको महान् कार्य हो भनेर बधाई दिएँ। मैले सोधेको थिएँ उनलाई, पढेर जागीर खाएर पैसा कमाउने बेलामा किन यस्तो सामाजिक काम रोजेको?
उनले भने, 'अंकल, मेरो हृदयले यही रोज्यो। काम गरिखान र पैसा कमाउन बुवाको होटल छँदैछ म जहिले पनि गर्न सक्छु। तर म यी दीनदुःखीहरुको सेवामा लाग्छु। व्यक्तिगत जीवनमा पनि फर्कन्छु तर यसलाई पनि निरन्तरता दिन्छु।'
आहा! २० वर्षे ठिटोको कस्तो सोच।
हेल्प नेपाल नेटवर्क नामबाट अस्ट्रेलियाबाट भाइ केशव बानिया क्षेत्रीले निरन्तर सहयोग गरिरहेका छन्। मेरो साथी सचिन श्रेष्ठ लन्डनबाट सोही संस्थाबाट आर्थिक संकलन गरी नेपालका विभिन्न ठाउँहरुको स्वास्थ्य शिक्षामा सहयोग गरिरहेका छन्।
अक्सिजन अभावले राष्ट्र हायलकायल हुँदा खाडी क्षेत्रमा रहेका नेपाली दाजुभाइहरुले रकम जोहो गरी अक्सिजन खरिद गरी नेपाल पठाउँदा धेरैले जीवनदान पाए। डा. सन्दुक रुइतले लाखौंलाई संसार देख्न सक्ने बनाइरहेका छन्। कुलमानले अँध्यारो युगबाट नेपालमा उज्यालो ल्याइदिए।
महावीर पुनले आफ्नै देशमा केही गर्न हजारौं युवाहरुलाई ठाउँ बनाइदिएका छन्। बाटो देखाइदिएका छन्। पुष्पा बस्नेतले जेलमा रहेका व्यक्तिहरुका छोराछोरीलाई लालनपालन, शिक्षा दिक्षा दिइरहेकी छिन्।
अनुराधा कोइरालाले लाखौं चेलीको मुहारमा फेरि जीवन जिउने सपना र साहस कोरिदिएकी छन्। इन्द्रेणी समूह कृष्ण कँडेलले सांगीतिक मनोरञ्जनका साथसाथै असहाय, पीडितहरुका लागि नगद सहयोग जुटाइरहेका छन्।
यस्तो विषम् परिस्थितिमा पनि डाक्टर नर्स र स्वास्थ्यकर्मीहरुले आफ्नो पेसागत धर्म पालना गरी लाखौं बिरामीहरुको उपचार गरिरहेका छन्। उनीहरुप्रति मान सम्मान रहिरहनेछ।
सन्तोष र खुसी लागेको कुरा, विदेशमा बसेर पनि हाम्रा दाजुभाइ दिदीबहिनीहरुले आफ्नो देशको उन्नति प्रगतिको लागि चिन्तन मनन र नेपालीहरुलाई आफूले सकेको सहयोग गरिरहेको देख्दा सुन्दा हो। साँच्चै उहाँहरुको हृदयमा राष्ट्रप्रेम, भक्तिभाव छ।
राजनीतिले मान्छेलाई भाग लगाउँछ, बाँड्छ। यो मान्छे हाम्रो त्यो मान्छे उसको भन्छ। सेवा सहयोग भन्ने कुरा मान्छेका लागि मान्छेले नै गर्ने हो। यो केवल मागेर, दिएर, लिएर र काम गरेर हुन्छ।
हामी जे गर्छौं, स्वच्छ सामाजिक भावना र चिन्तनसाथ गरौं। सामाजिक सहिष्णुता, समावेशीता र विश्व एकतामा विश्वास गरौं।