के विषय उठान गरेको हो यो बेला न कुबेल भन्ने लाग्यो होला यहाँहरुलाई, यो शिर्षक देख्दा। हो, यस्ता विषय कि त नारी दिवस कि त लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सेरोफेरोमा उठ्ने गर्दछन्।
तर यो विषय उठाउन कुनै नारी दिवस हुनु पर्दैन। एक नारीको लागि प्रत्येक पल उठिरहने विषय हो यो। अन्तरमनबाट चिहाइरहने विषय हो। कहिले देखिने गरी कहिले सुषुप्त रुपमा। कहिले विद्रोह तथा कहिले दलनको रुपमा।
विवाहपछि पुरुषको जीवनमा खासै केही परिवर्तन आउँदैन तर महिलाको पुरै संसार बदलिन्छ। विवाह गर्ने मुख्य कारण सामाजिक सुरक्षा हो। हामी जीवनभर सुरक्षित रहनको लागि विवाह बन्धनमा बाधिन्छौँ। त्यो सुरक्षामा महत्वपूर्ण आर्थिक सुरक्षा हो। त्यसपछि सामाजिक, सांस्कृतिक लगायत पर्दछन्।
तर के पुरुष बिना नारी सुरक्षित नै हुन नसक्ने हो र? विवाहका मल्टि-डाइमेन्सनल पक्ष तथा असर हुन्छन्। यसको एउटा प्रमुख पक्ष शारीरक आवश्यकता पनि हो। जुन उमेर अनुसारको प्राकृतिक कुरा हो। सामाजिक मूल्यमान्यता अनुसार यसको उचित व्यवस्थापन आजको आवश्यकता हो।
मेरो निक नेम परी। जब परिवारले मलाई मेरो विवाह गर्ने बेला भएको जानकारी गराइयो, म १८ वर्षको मात्रै थिएँ। विवाहपछि नागरिकता बनाउँदा थर गौतम भयो, माइतीको थर पौडेल। तर मैले यहाँ मेरा कुनै पनि थर राखिनँ।
यसमा त्यस्तो कुनै विशेष कारण नभई यो मेरो स्वतन्त्रता हो भन्ने लाग्छ। म रीना हो, थर जेसुकै भएता पनि त्यसले कुनै फरक पार्छ जस्तो लाग्दैन। मलाई परी नाम साह्रै मन पर्ने भएर यो नाम राखेको हो।
मेरा प्यारा परीहरु,
नेपालको संविधानमा पैतृक सम्पत्तिमा बिना लैंगिक भेदभाव समान वंशीय हक हुने व्यवस्था गरिएको छ। त्यस्तै मुलुकी ऐनमा पनि यो व्यवस्था छ तर व्यवहारमा कति लागु भए त?
पैतृक सम्पत्तिकै सवालले गर्दा दाजुभाइलाई संसारका सबभन्दा ठूलो दुस्मन भन्ने भनाइ छ। अब दिदीबहिनीले पनि दुस्मनीको खतरा मोल्ने? यो पनि एउटा बहसकै विषय भएकोले प्रसंग बदलौँ।
अहिलेको महिलाको स्थिति सामान्यत सहरबासीमा शिक्षा, स्वास्थ्य लगायतमा छोरीलाई विभेद नगरिएतापनि एउटा उमेर पुगेपछि उसलाई अब बिहे गर्ने बेला भो है भन्ने जानकारी गराइन्छ। बिहे नगर्ने भन्ने उसको जवाफ भएमा परिवारमा पहाड खस्छ।
'जिन्दगी एक्लै कसरी बिताउँछेस्? हामी सधैँ रहदैनौं अनि कोसँग बस्छेस्?' लगायत। तर एउटी महिलाले आफ्नो खुसीले स्वतन्त्र भई एक्लै जीवन बिताउन नसक्ने हो र? कहिलेसम्म? अब यो स्थिति बद्लिनु पर्छ जस्तो लाग्छ।
छोरा र छोरीमा अहिले फरक गरेको नदेखिएता पनि छोरा र बुहारीमा भने पक्कै फरक छ। बिहेपछि महिलामाथि जिम्मेवारीका चाङ लाग्छन्। मन लागे पनि नलागे पनि उसले त्यो जिम्मेवारी पूरा गर्ने अपेक्षा राखिन्छ र गरिराखेकै पनि छन्।
विभिन्न भूमिका मध्ये सबभन्दा गाह्रो तर प्यारो भूमिका मातृत्वको हुन्छ। बच्चा अस्तित्वमा आएदेखि एउटी महिलाको मृत्यु पर्यन्त यो जिम्मेवारी सकिँदैन। यो कुरा एउटी महिलालाई मात्र थाहा हुन्छ। तर यसमा अभूतपूर्व आनन्द पनि छ।
यो पनि एउटी महिलालाई मात्र प्राप्त हुन्छ। तर यही नै सबैथोक हो र? अहिलेको परिवेश, पढाइ लेखाइमा गरेको लगानी, अवसर, चुनौती माझमा एउटी केटीले आफ्नो लागि कुनै न कुनै सपना देखेकी हुन सक्छे वा भनौँ देखेकै हुन्छे। त्यो सपना पूरा गर्न उसको वैवाहिक जीवनले कतिको सहयोग गर्छ वा गर्दैन त्यो सोच्नु जरुरी छ।
अहिले सामाजिक सुरक्षाको नाममा कुनै महिला कसैमा निर्भर हुनै पर्ने अवस्था छ र? ऊ आफै सक्षम छैन र? बिहे गरेर सबै खतम हुन्छ भन्न खोजिएको होइन। वैवाहिक सम्बन्धकै सहायताले कतिपय सपना पूरा पनि गर्न सकिन्छ। मैले दुई वटा सन्तान जन्माइसकेपछि लोकसेवा आयोगको परिक्षा उतीर्ण भई अहिले सरकारी जागिरे छु।
मेरो श्रीमान् घरधन्दा मैलेभन्दा धेरै गर्नुहुन्छ। उहाँको अधिकांश समय भान्सा कोठामै बित्छ। मेरो लागि यो सहयोगले अझै अगाडि बढ्ने प्रेरणा प्राप्त हुन्छ। तर सबैलाई यो सहयोग पाच्य नहुने रैछ।
मेरो आफन्त लगायतबाट कहिलेकाहीँ मेरो श्रीमानले हद (अति) गर्छ भन्ने सुन्न पाइन्छ। महिलाको हद कहाँसम्म हो? उसले आफूलाई पूर्णरुपमा परिवारकै लागि समर्पित गरेपनि त्यो त उसको नैसर्गिक जिम्मेवारी न हो, गर्नै पर्छ नि भन्ने पितृसत्तात्मक सोच व्याप्त छ।
आफ्नी श्रीमतीलाई माया, सहयोग, सम्मान गर्ने व्यवहारलाई हाम्रो समाजले अझैसम्म सकारात्मक रुपमा लिन सकेको छैन, चाहे त्यो शिक्षित परिवार नै किन नहोस्।
प्रायः घरमा अहिले पनि बिहान पहिले उठ्ने काम महिलाकै हुन्छ। ऊ राति अबेरसम्म पढेकी हुन सक्छे, अफिसको काम नै पनि हुन सक्छ वा मनोरञ्जनका विषय पनि हुन सक्छन्। कि रमाइलो गर्न उसले नपाउने हो?
तसर्थ सोच्नुहोस् परीहरु, मेरो जस्तै अपवाद वा हद गर्ने केटा भेटेमा मात्र बिहे गर्नुहोस्। सामाजिक संरचना जोगाउने जिम्मा महिलाको मात्रै होइन, यो त सहकार्य तथा सह-सम्बन्धमा चल्ने कुरा हो।
संसारमा कति ठूला-ठूला काम गर्न सकिन्छ। कति नाम कमाउन सकिन्छ। हामी सक्षम भएमा सफलता झक मारेर हाम्रो पछि आउँछ। सबैमा केही न केही प्रतिभा लुकेका हुन्छन्। तर जब त्यसको प्रस्फुटन हुने बेला आउँछ अनि एउटी परीको बिहे गर्ने बेला हुन्छ।
यसरी कति प्रतिभा, कति सपना, कति क्षमता, अनि कति नयाँ आविष्कारहरुलाई हामीले जन्मनै नदिई भ्रुण हत्या गरे जस्तो लाग्छ। नेपालको संविधानमा प्रजनन स्वास्थ तथा प्रजनन सम्बन्धी हकले महिलालाई सुशोभित गरिएको छ।
यसमा कतिवटा बच्चा जन्माउने मात्रै नभई नजन्माउने हक पनि महिलाको छ है भन्ने तर्फ मैले ध्यानाकर्षण गराउन खोजेको हो। आफ्नो शरीरको बारेमा पनि हामीले निर्णय गर्न नपाउने अवस्था आउनु जस्तो विडम्बना अरु के हुन सक्छ र!
छोरा पाउनु पर्ने दबाबमा कति महिला भ्रुण हत्या गर्न बाध्य पारिएका छन्। मेरी एकजना मित्रको बिहे भएको ३ वर्ष भएछ। सरकारी जागिर गर्दे छन्। उपल्लो तहमा जान संघर्ष गर्देछन् तर अब बच्चा जन्माउनु पर्ने दबाब अप्रत्यक्ष रुपमा पर्न थालेको अवस्था हुँदा कसरी एकाग्र भएर स्वतन्त्र रुपमा परीक्षाको तयारी गर्न सक्छिन्?
एक, दुई दम्पत्तिले बच्चा नजन्माउँदैमा हाम्रो जनसंख्यामा त्यस्तो उल्लेख्य असर के नै पो पर्छ र फेरि श्रोत साधनको अनुपातमा जनसंख्या बढी भैराखेको वर्तमान अवस्थामा केहिले नजन्माउँदा नै राहत हुन्छ। चिनमा जस्तो देशको सेवा गर्नको लागि धेरै बच्चा जन्माइदिनु पर्ने जस्तो राष्ट्रिय दायित्व पनि हामीलाई छैन। तर अब निर्णय आफूले गर्न पाउनु पर्छ।
एकछिन मेरो प्यारो नाम परी तिर जाम। परी भनेको त्यो प्रतिनिधि पात्र हो जसको बाहिरी रुप मात्र राम्रो भनेको हैन, उसमा सबै थोक गर्ने क्षमता हुन्छ अर्थात जादुई क्षमता हुन्छ। तर यथार्थमा त त्यो संभव छैन। त्यसैले हामीले आफूमा परीलाई विकसित गर्न सक्नु पर्छ।
ऊजस्तै सक्षम, सबल, सशक्त तथा सबै समस्या आफै समाधान गर्न सक्ने क्षमताको विकास जरुरी छ। त्यसैले मेरा प्यारा परीहरु आफ्नो क्षमता, प्रतिभा चिनेर भविष्यको लक्ष्य कोर्नुहोस्।
विवाह गर्नु त छँदै छ तर हतार नगरौं किनकि महिलालाई प्रकृतिले नै मल्टि-टास्कर बनाएको छ। हामी एकै समयमा चार हात भएकी देवी जस्तो फरक फरक काम गर्न सक्ने क्षमता राख्दछौँ। आफ्नो क्षमताको कदर गरौं।
हामी २१ औं शताब्दिका महिला। मेरी आमा, हजुरआमा लगायतको समयमा अर्थात् ४/५ दशक अगाडि बिहे गर्नु र बच्चा जन्माउनु नै महिलाको प्रमुख कर्तब्य हो भन्ने मान्यता थियो र अहिले पनि छ।
उबेला शिक्षा स्वास्थ लगायत सबै क्षेत्रमा महिला-पुरुष पछि मात्र आउँथे। उचित शिक्षा-दिक्षा तथा सूचनामा कम पहुँचका कारणले पनि सपना कमै देख्थे होलान्। किनकि भोगाइ, देखाइ तथा सिकाइ जति फराकिलो हुन सक्यो, सपनाको आकार पनि त्यसैले नै निर्क्यौल गर्दछ।
त्यसैले तपाईंहरुका सपना पक्कै फराकिला छन् भन्ने मलाई विश्वास छ। यस सन्दर्भमा महाकविको एउटा प्रख्यात उक्ती याद आयो- उद्देश्य के लिनु उडु छुनु चन्द्र एक।
तसर्थ, सपना ठूलो देखौँ र त्यसलाई पूरा गर्ने कोसिस गरौँ। यसमा विवाह गर्ने, बच्चा जन्माउने जस्ता सामाजिक संस्कार बाधक हुने देखिएमा एकछिन सोचौं।
२१ औं शताब्दीको महिला आफ्नो भरण पोषण गर्न, आश्रीतको हेरचाह गर्न, आफ्ना प्रतिभा फलाउन फुलाउन, आफ्ना सपनामा बाँच्न (स्वतन्त्रतापूर्वक) सक्षम छौं जस्तो लाग्छ। तसर्थ विवाह गर्न हतार नगर्ने कि भन्ने आशय मात्रै हो मेरो।