आजभन्दा ९ वर्ष अगाडि पोल्यान्ड र युक्रेनले संयुक्त रूपमा युरो २०१२ को आयोजना गर्दै थिए। त्यसको तरङ्ग युरोप हुँदै नेपालका ग्रामीण क्षेत्रमा पनि आइपुगेको थियो। हामी १३-१४ वर्षका बालबालिकामा त्यसको खुसी कति थियो त्यसको कुनै मापन नै छैन।
खेलाडी चिन्ने, देशहरूको टिमबारे जान्ने र फुटबल बुझ्ने बेला हुँदै गरेको त्यो समय कौतुहलताले भरिएको थियो। त्यति बुझाइ राखेर फुटबल हेर्ने त्यो हाम्रो लागि पहिलो अवसर थियो।
हुन त हामीले सन् २०१० को विश्वकप पनि हेरेका थियौँ। तर, त्यो बेला फुटबललाई हामीले बुझ्ने अवसर कम नै पाएका थियौँ।
ग्रामीण क्षेत्रमा सन् १९९० दशकको अन्त्यतिर जन्मिएका हामीले २००६ को विश्वकपकबारे रेडियो नेपालमा सुनेका थियौँ। २००८ को युरोकपबारे पत्रपत्रिकामा पढेका थियौँ। अनि २०१० को विश्वकप चाहिँ बल्लतल्ल टेलिभिजनमा हेरेका थियौँ। त्यसैले २०१२ को युरोकप हाम्रा लागि अन्तर्राष्ट्रिय फुटबललाई नजिकबाट सहज किसिमबाट हेर्ने पहिलो अवसर थियो।
त्यसभन्दा अगाडि गाउँमा एकदुई वटा मात्र टेलिभिजन थिए। भरपर्दो टेलिभिजन सेवा प्रदायक नहुनु र ग्रामीण क्षेत्रको कमजोर आर्थिक अवस्था यसका कारण थिए। जब गाउँघरमा डिसहोमको चर्चा चल्न लाग्यो, हामीले पनि घरमा जोडयौँ।
गाउँघरमा डिसहोम आएपछि हाम्रो खुसीको सिमाना रहेन। गाउँमा नयाँ नयाँ टेलिभिजन आए। पहिला त गाउँमा टेलिभिजन नै कम थिए। भएका पनि पुराना मोडेलका। अब त नयाँ नयाँ मोडेलका टेलिभिजन आए।
पहिला त टेलिभिजन हेर्न एन्टेना यता र उता सार्दै हामी हैरान हुन्थ्यौँ। त्यति गर्दा पनि राम्रो पिक्चर क्वालिटी आउँदैन्थ्यो। थोरै पानी पर्यो वा हावा चल्यो भने खेल खत्तम, टेलिभिजन हेर्ने आशा त्यो दिनलाई मार्न पर्थ्यो।
२०१० को विश्वकप हेर्दाको पीडा कति कति! त्यत्रो व्यग्र प्रतीक्षा गरेको विश्वकपको उद्घाटन खेल नै हामीले हेर्न पाएनौँ। बीचमा कति खेल हेर्न पाइएन, कति पूरा हेर्न पाइएन। त्यसैले फाइनल खेल हेर्न हामी २ घन्टाको बाटो हिँडेर सदरमुकाम गएका थियौँ। यसको एकमात्र कारण राम्रो सिग्नल नटिप्नु थियो। टिपेको बेलामा पनि क्वालिटी राम्रो नहुने, भ्यारभ्यार आउने। खेलाडी चिन्नै गार्हो!
तर डिसहोमबाट मज्जाले युरोकप हेर्न पाउनेमा हामी विश्वस्त भइसकेका थियौँ। पिक्चर क्वालिटी त डाँडामा राख्नुपर्ने एन्टेनाले दिने भन्दा कति राम्रो, राम्रो!
युरो हामी त्यो खुशीमा यति धेरै रोमान्चित भयौँ कि जर्मन गायिका ओसियानाले युरो २०१२ को लागि गाएको आधिकारिक गित गाउँथ्यौँ। युरोकपको गित यो हो भनेर अरू साथीलाई सुनाएर छाती फुलाउनु हाम्रो चाहना थियो, गितको लिरिक्ससँग हाम्रो कुनै मतलब थिएन।
समय यस्तो थियो, जुन साथीलाई जता भेटे पनि फुटबलकै कुरा गर्नुपर्ने। भर्खर फुटबल हेर्न लागेकाले टिमहरूबारे हामीलाई खासै जानकारी थिएन तर व्यक्तिगत रूपमा केही खेलाडीहरू को चर्चा खुब हुन्थ्यो।
पोर्चुगलका रोनाल्डो हामी धेरैका प्रिय थिए। उनको चर्चा पत्रपत्रिका र टेलिभिजनका समाचारमा पनि खुब हुन्थे। हामी केहीका लागि पो रोनाल्डो निर्विकल्प थिए। तर अरू ले त त्यो मान्नेवाला थिएनन्।
मेसीलाई मन पराउने अर्को टोली थियो। मेसी त युरोकप खेल्ने खेलाडी होइनन् भन्दा नखेलेर के भयो त? हामी मेसीका फ्यान हौँ भन्थे। उस्तै परे रोनाल्डो र मेसीमा को जान्ने? भनेर विवाद हुँदा झन्डै हातहालाहालकै अवस्थामा आउँथ्यो र यो अवस्था अहिले पनि कायमै छ।
गाउँमा दाइहरू को एउटा समूह थियो जसले कक्षा ९ को नेपाली किताबमा पेलेको जिवनी पढेर आएको थियो। उनीहरू चाहिँ पेलेका फ्यान थिए। पेले फुटबलका राजा हो भनेर सिकाउँथे। हाम्रो पालाको किताबबाट पेलेको जिवनी हटिसकेको हुनाले हामी चाहिँ उनीहरूका गफ खुब चासो दिएर सुन्थ्यौँ। पेलेको जिवनीबाट प्रभावित भएर मोजाको लात्ते भकुण्डो बनाएर हामीलाई फुटबल खेल्न सिकाउने तिनै दाइहरू थिए।
अर्काथरी पाका मान्छेहरू लाई म्याराडोना खुब मन पर्ने फेरि। तिनीहरू ले चाहिं पहिला दार्जीलिङ जाँदा फुटबल हेरेका रहेछन्। त्यो बेलामा म्याराडोनाको चर्चा जताततै रे, त्यही मौकामा नीहरू पनि म्याराडोनाका फ्यान भएछन्।
कुरा निकलिँदै जाँदा थाहा भयो फुटबलबारे केही नबुझेका गाउँका एकजना नेता दाइ पनि म्याराडोनाका फ्यान निस्किए। उनलाई म्याराडोना मन पर्नुको कारण चाहिँ फुटबल नभएर म्याराडोनाको ल्याटिन अमेरिकी कम्युनिस्ट आन्दोलनप्रतिको सामिप्यता रहेछ।
पृष्ठभुमि युरोकपको थियो तर मौकाको फाउदा उठाउँदै हामी भने आफुले जानेका सबै कालखण्डका खेलाडीका बारेमा चर्चा गर्नतिनिहरू का बारेमा आफुले सुनेका सत्य असत्य कुराहरू सुनाउन र कतिपय अवस्थामा आफैं पटकथा रचेर अरू को ध्यान खिच्न तल्लीन हुन्थ्यौँ।
आज ९ वर्ष पछाडि फर्किएर यो लेख लेखिरहँदा केही रोमान्चकता, केही अचम्म र केही पीडा एकैसाथ उपस्थित भएका छन्। उत्सुकताले भरिएको उमेरमा रेडियो,पत्रपत्रिका र अरू कसैको माध्यमबाट सुनेका खेलाडीलाई आफूले चाहेजस्तै टिभी र सोचेजस्तै गुणस्तरमा हेर्न पाउनु पक्कै रोमान्चित बनाउने कुरा थियो। यो एउटा उमेरको विशेषता पनि थियो जस्तो लाग्छ। भलै आज युरोकपलाई कुरिरहँदा त्यो रोमान्चकतामा कुनै कमी आएको छैन।
समयको गतिशीलता देखेर पक्कै हामी सबैलाई अचम्म लाग्छ। केवल ९ वर्ष अगाडिको परिवेश र अहिलेको परिवेशमा आकाश जमिनको फरक छ। ओहो! त्यो परिवेशमा कति रहरको कुरा थियो टेलिभिजन हेर्न पाउनु, घरमा एकसेट टेलिभिजन किनेर ल्याउनु र डिसहोम जोडेर कतै नरोकि टेलिभिजन हेर्नु। टेलिभिजन रहर थियो त्यो परिवेशमा।
आजका रहरहरू त्यसभन्दा माथि उक्लिएका छन्। आज मन लागेका कुराहरू आफ्नै मोबाइल ,ल्यापटप र अरू-अरू डिभाइसबाट हेर्न सकिने भएको छ। टेलिभिजन ऐच्छिक भएको छ तर त्यही त्यो परिवेशमा अनिवार्य थियो। इन्टरनेट विस्तारको जमानामा आफ्नै व्यक्तिगत डिभाइसमा युरोकप हेर्न सकिन्छ। यो साँच्चै नै अचम्म लाग्दो छ।
सम्पन्न परिवार र केही विकसित भनिएका ठाउँमा जन्मिएका र सतही ढङ्गले सोच्नेहरू लाई यो सामान्य लाग्न सक्छ तर यो हामीले प्रत्यक्ष भोगेको सत्य हो। अझ हामीभन्दा अघिल्ला पुस्तालाई यी कुराहरू आज कति अचम्म लाग्दा हुन!
केही पिडाहरू पनि स्वभाविक छन्। विश्व कुन स्तरमा पुगिरहँदा हामी २०१२ मा हाम्रा ग्रामीण बस्तीहरू एकथान टेलिभिजन जोड्नका लागि संघर्ष गर्दै थिए। त्यो संघर्ष अहिले पनि नेपालका धेरै ग्रामीण बस्तीहरू गर्दैछन्।
जे जस्तो भए पनि २०१२ मा हामीले धित फुकाएर युरोकप हेर्यौँ। प्रायः सबै खेल हेर्यौँ। परिवार र साथीहरू एकैठाउँ जम्मा भएर हेर्यौँ। सायद ग्रामीण बस्तीले अन्तर्राष्ट्रिय फुटबलको यसरी मज्जा लिएको त्यो पहिलो अवसर थियो।
हामी बालबालिकाका लागि भने त्यो युरोकप अझै धेरै यादगर थियो। किनकी यहि युरोकप भएकै बेलामा हामो बर्खेबिदा पनि पर्ने। हुन त युरोकप आएर बर्खेबिदा हुने होइन। यस्ता प्रतियोगिता असारतिर हुने र असारमा धान-कोदो रोप्ने समय भएकाले ग्रामीण भेगका विद्यालयमा बर्खे बिदा अनिवार्य वार्षिक कार्यक्रम नै हो।
यहि बर्खेबिदाका कारण धक फुकाएर फुटबल हेर्न पाइने। उमेर सानो भएकाले काम पनि गर्न नपर्ने, बाआमालाई अलि अलि सकेको सहयोग गरे पुगिहाल्ने, बचेको समयमा राती फुटबल हेर्दा नपुगेको निन्द्रा पुर्याउने र रातिका खेलका हाइलाइट हेर्ने अनि आउने रातमा हुने खेल हेर्ने तयारी गर्ने! त्यो साँच्चै सुनौलो समय थियो।
अहिले भने परिवेश फरक छ, बढेको समयसँगै जिम्मेवारी बढेको छ, कोरोनाले गर्दा सबै जम्मा भएर फुटबल हेर्ने माहोल छैन र मानिसमा समूहमा बसेर हेर्ने, खेल्ने र केही काम गर्ने सामूहिक भावना कमजोर हुँदैछ। मानिस मानिससँग होइन भौतिक वस्तुसँग बढी रमाउने भएका छन्। यस बीचमा पनि युरोकप हेर्दै रमाउने योजना भने बनिरहेकै छ।
युरोपका विभिन्न ११ देशका ११ सहरमा हुन गइरहेको यो वर्षको युरोकप हेर्ने योजना सुनाइरहँदा ९ वर्ष अगाडि युरोकप हेर्न बनाएका योजना स्मरणमा नआउने कुरै भएन। त्यस समयका योजना र युरोकप हेराइलाई संक्षेपिकरण गर्दा भन्नैपर्ने हुन्छ -९ वर्ष अगाडिको युरोकप, डिसहोम र बर्खेबिदाको संयोजन साँच्चै, साँच्चै बेजोड थियो।
-कालिन्चोक -०९, दोलखा