कुनै पनि औषधी जसको सेवनले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुको साथै प्रयोगकर्ताहरुको भावना तथा सोचाइमा परिवर्तन ल्याउँछ भने यसलाई लागुऔषध भनिन्छ। औषधी भन्नाले शरीरको व्यवस्थापनलाई परिवर्तन गर्ने अथवा असर पार्ने रासायनिक पदार्थ हो। बैध र अवैध गरी औषधीलाई दुई किसिमले हेर्न सकिन्छ। स्वास्थ्य उपचारमा प्रयोग हुने तथा चिकित्सकले सिफारिस गरेको औषधी वैध औषधी हो भने स्वास्थ्य उपचारको लागि नभएर व्यक्तिगत प्रयोजनको लागि पसलमा किन्न नपाइने र कानुनले प्रतिबन्ध लगाएका अवैध औषधीहरू लागुऔषध हुन्।
लागुऔषधले मानसिक चेतना, अनुभूति र मनोभावलाई प्रभावित पारी बुझ्ने, सम्झने र सोच्ने शक्तिलाई विकृत तुल्याउँछ। मानिसले विभिन्न कारणले अवैध औषधी अर्थात् लागुऔषध प्रयोग गर्ने गर्दछन्। कसैले व्यक्तिगत समस्याबाट टाढा रहन वा दिक्दारी हटाउनका लागि प्रयोग गर्दछन् भने कतिले उत्सुकतावश: यसबाट राम्रो अनुभव पाउनको लागि प्रयोग गर्ने गर्दछन्। मानिसले समूहमा आफ्नो फरक पहिचान देखाउन आफूप्रति आकर्षण बढाउन वा समाजमा आफू विद्रोही भएको देखाउन यसको प्रयोग गर्दछन्।
लागुऔषध नियन्त्रण ऐन, २०३३ का अनुसार गाँजा, औषधोपयोगी गाँजा, आफिम वा तयारी अफिम,औषधोपयोगी अफिम, कोकाको झारपात, अफिम वा कोकाको सारतत्व, मिश्रण वा लवणसमेत मिलाई तयार गरिने पदार्थ र सरकारले तोकिदिएका प्राकृतिक वा कृत्रिम लागुऔषध तथा मनोद्दिपक पदार्थ र तिनका लवण र अन्य पदार्थ सम्झनु पर्दछ। गाँजा प्रायःजसो चुरोटमा भरेर प्रयोग गरिन्छ र खैरो डल्ला बनाएर बिक्री गरिन्छ।
एम्फेटामिन्स र एक्स्टेसी प्रायः जसो टेब्लेटमा बिक्री गरिन्छ र पेय पदार्थमा मिलाई सजिलै निल्ने गर्दछन्। कोकिन, जुन सेतो वा खैरो धुलोका रुपमा उपलब्ध हुन्छ, त्यसलाई नाकको माध्यमबाट तान्ने गरिन्छ र हेरोइनलाई प्रायः जसो सुईको माध्यमबाट प्रयोग गरिन्छ।
विभिन्न प्रकारका लागुऔषधको असर शरिरमा फरक-फरक प्रकारले हुने गर्दछ। साथै यसका असर मान्छे मान्छेमा पनि फरक हुन सक्दछ। साधारणतयाः गाँजाले सुरूमा चरम आनन्द दिन्छ। रिङ्गटा लागेको, हल्का भएको अनुभवका साथै आरामदायी आनन्दको अनुभव दिने गर्छ। एम्फेटामिन्सले शक्ति बढाउने र प्रयोग गर्ने व्यक्तिलाई अबेरसम्म निन्द्रा नलगाउने र धेरै काम गर्ने वा नाच्ने काममा पनि सहयोग गर्दछ। कोकिनले प्रयोगकर्तालाई सुरू सुरूको प्रयोगमा एकदम खुसीको अनुभव दिने गर्दछ। तर प्रयोग गर्ने व्यक्तिलाई भोक लागेको र थाकेको कुरा बिर्साउने गर्दछ।
यी असरहरू राम्राजस्ता लागे तापनि लामो समयसम्म रहन्नन्। धेरैजसो मानिसहरू निराश र एक्लोपनको अनुभव गर्न थाल्दछन् र पछि बिरामी पनि हुन्छन्। त्यसैगरी लागुऔषध प्रयोग गर्ने व्यक्तिहरू अलमलमा पर्ने, आँखा रातो हुने, धेरै पसिना आउने र आफ्नो स्वास्थ्यको ख्याल नराख्ने हुनुका साथै लतमा लागेर यसैमा फस्न सक्ने जोखिम पनि त्यति नै हुने गर्दछ।
लागुऔषधले व्यक्तिको जीवनमा विभिन्न क्षेत्रमा असर पार्दछ। यसले सामाजिक, शारीरिक र मानसिक असर पार्दछ। उदाहरणको लागि सुईद्वारा लागुऔषध प्रयोग गर्ने व्यक्तिहरूमा एचआइभी तथा हेपटाइटिस जस्ता विभिन्न सङ्क्रमण हुन सक्दछ। साथै लागुऔषध प्रयोगकर्तामा अन्य विभिन्न स्वास्थ्य समस्या जस्तैः लिभर सम्बन्धी समस्या, महिनावारी सम्बन्धी समस्या र मुटु सम्बन्धी रोगहरू देखा पर्न सक्दछन्। अध्ययनहरूले देखाए अनुसार युवा अवस्थामा चुरोट र रक्सी खाने व्यक्तिहरू, नखानेहरू भन्दा अवैध लागुऔषध प्रयोग गर्ने जोखिममा रहेका हुन्छन्।
लागुऔषधको प्रयोगको समस्या विश्वव्यापी रुपमा बढ्दै गइरहेको छ। नेपाल पनि यो समस्याबाट दिन प्रतिदिन झन् बढी ग्रसित हुँदै गएको छ। सन् १९६० को दशकदेखि लागुऔषधको प्रयोगलाई नेपालमा समस्याको रुपमा लिन थालिएको हो। यस दशकमा विशेषगरी विदेशीहरूको आगमनसँगै नशाको रुपमा गाँजा र चरेसको प्रयोगको संस्कृति नेपालमा भित्रिएको मानिन्छ। त्यसपछि यसको प्रयोगको मात्रा निरन्तर रुपमा बढ्दै गएको छ। हाल नेपालमा कति जना लागुऔषध प्रयोगको दुश्चक्रमा फसेका छन् भन्ने विषयमा यस क्षेत्रमा कार्यारत् विभिन्न संघ-संस्थाहरूका आ-आफ्नै अनुमान रहेका छन्।
कसै-कसैले त यसलाई लाखौंको संख्यामा अनुमान गर्ने गरका पनि छन्। वि .सं. २०६३ सालमा नेपाल सरकारले लागुऔषध नियन्त्रण राष्ट्रिय नीति जारी गर्दा समेत दस वर्षअगाडि नै यो संख्या पचास हजार नाघिसकेको प्रक्षेपण गरेको थियो। त्यो अनुसार र प्रतिवर्ष दस प्रतिशतका दरले यो संख्या बढिरहेको मान्ने हो भने पनि यो संख्या हाल करिब दुई लाखको हाराहारीमा पुग्न सक्छ। तर खुसीको कुरा २०६३ सालमानै सार्वजनिक भएको आधिकारिक सरकारी तथ्याङ्क (केन्द्रिय तथ्याङ्क विभागले गरेको सर्वेक्षण)ले भने त्यति ठूलो संख्या नभएर व्यवस्थापन गर्न सकिने साइजमा कूल ४६,३१० नै यस्ता प्रयोगकर्ताहरू भएको देखाएको छ।
सन् ६० को दसकतिर नै हिप्पी संस्कृतिको असर नेपाली समाजमा देखा परिसकेको भए पनि लागुऔषध दुरुपयोग नियन्त्रणको सरकारी प्रयास चाहिँ २०३३ सालपछि मात्रै सुरू भएको मान्न सकिन्छ। २०३३ सालको लागुऔषध नियन्त्रण ऐनले गाँजा, चरेस लगायत लागुऔषधको उत्पादन, बिक्री वितरण, सञ्चय, ओसारपसार तथा सेवनलाई समेत बन्देज लगाएपछि बल्ल यस किसिमको कार्यहरू गैरकानुनी मानिन थालिए।
२०३५ सालको औषधी ऐनले औषधजन्य लागुपदार्थलाई नियन्त्रण र नियमित गर्ने काम गर्यो। यति हुदाँहुदै पनि नेपालमा लागुऔषधको बढ्दो प्रयोग नियन्त्रण हुन सकेन। बरु यसको प्रयोगमा नयाँ-नयाँ प्रविधिहरू सुरू हुन गए। प्रशोधित लागुऔषध हेरोइनको प्रयोगसँगै नेपाललाई यसको ओसारपसारको लागि समेत पारवहन बिन्दुको रुपमा प्रयोग गर्ने प्रयास समेत सुरू भयो। नेपाल भौगोलिक रुपमा गोल्डेन ट्याङ्गल (लाओस, म्यानमार र थाइल्यान्ड समूह) को नजिक परेको हुनाले पनि लागुऔषधको कारोबार गर्ने माफियाहरूले नेपाललाई अन्तर्राष्ट्रिय पारवहन बिन्दुको रुपमा प्रयोग गर्न सहज भयो।
लागु औषध नियन्त्रणका मुलभूत दुई खम्बाहरू आपूर्ति नियन्त्रण र माग घटाउ हुन्। जस अन्तर्गत नेपाल सरकार, गृह मन्त्रालयले लागुपदार्थको अवैध ओसारपसार, कारोबार एवम् आपूर्तिमा कडाइका साथ नियन्त्रण गरी यसलाई निरुत्साहित गर्न विभिन्न दबाबमूलक कार्याक्रम सञ्चालन गर्दै आइरहेको छ। लागुऔषध नियन्त्रण ऐन २०३३, लागुऔषध नियन्त्रण राष्ट्रिय नीति २०६३, लागुऔषध नियन्त्रण कार्ययोजना २०७५ अन्तर्गत नेपाल सरकार गृह मन्त्रालयले लागुऔषध नियन्त्रण कार्य गर्दै आइरहेको छ।
त्यसैगरी विभिन्न संघ-संस्थाहरूले लागुपदार्थको माग घटाउ अभियानलाई निरन्तरता दिई विभिन्न उपचारजन्य कार्याक्रमहरू जस्तै: लागुऔषध उपचार केन्द्र, स्कुल सचेतना कार्यक्रम,सामुदायिक सचेतना कार्यक्रम, रेडियो तथा टेलिभिजन कार्याक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। साथै लागुऔषधको प्रयोगबाट हुने विभिन्न क्षतिहरू जस्तै: रगतजन्य संक्रमण, एब्सेस, घाउ आदिलाई न्यूनीकरण गर्ने उद्देश्यले विभिन्न संघ-संस्थाहरूले सुई, सिरिन्ज तथा व्यवहार परिवर्तन शिक्षाजस्ता कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेकोछ।
लागुऔषध सेवनले सेवनकर्ताको एकाग्रता घटी सोच्ने, बुझ्ने र सम्झने शक्तिमा ह्रास आउने मात्र होइन, उसलाई भ्रमित तुल्याई गलत निर्णय गर्नमा प्रेरित गर्दछ। यसले सेवनकर्ता, उसको परिवार र समाज मात्र होइन राष्ट्रलाई नै ठूलो क्षति पुर्याउँछ। सेवनकर्ताको अकाल र असामयिक मृत्यु र समाज विकासको गतिरोध नै लागुऔषधको परिणाम हो। त्यसैले, हामी सबै मिलेर यसको प्रभावलाई अन्त्य गर्न जरुरी छ।