प्रायः प्रश्नहरुबीच नै उत्तर लुकेको हुन्छ। तर उत्तरले कतिसम्म प्रश्नको गहिराइ बुझ्न सक्छ त्यो अलग कुरा हो।
शुभ-लाभ लेखेको, स्वस्तिक चिन्ह, पाँच वटा किलाबाट बनेको मण्डपमा उच्चारित केही वेदका मन्त्रले के कुनै सम्बन्ध अमर बनाउन सक्छ होला र? अवश्य सक्छ। यदि सक्दैनथ्यो भने सत्य यति पवित्र मानिँदैन थियो।
ती सम्बन्ध एक पछि अर्को गर्दै गाँसिदैन थिए होलान्। सम्बन्धलाई अमर बनाउने विवाह प्रथा आज जिउँदो हुने थिएन। जसले दुई मन, दुई परिवार, अझ भनौँ भने दुई समाज, परिवेश र परिचयलाई एक बनाइरहेछ।
विवाह एक पारिवारिक र भावनात्मक नाताको संगम हो। जन्ती जान होडबाजी गर्ने मान्छेहरु विवाहको अर्को पाटो तर्फ फर्किएर बसेका छन्। तर बेहुलीपट्टिको वियोग र नयाँ सम्बन्धका चुनौती र अवसरहरु बुझ्न र जान्न आफ्नै परिवारको सदस्यको ठूलो भूमिका हुँदो रहेछ। मलाई यति बुझ्न मेरै दिदीको विवाह कुर्नुपर्यो।
विवाहको तयारी केही दिन अगाडिबाटै सुरु भयो। केही रमाइला साँझसँगै कसैको स्वागत गर्न निर्माण गरिएका गेट, पाकेका सेलरोटी, कसारका डल्ला, आफन्तले टोकेका सुपारी। सबै सबै एकै ठाउँमा बसेर हरेक तवरले विवाहमा केही कमि कमजोरी नहोस् भन्दै मेलोमेसो मिलाउँदै छन्।
कही यसरी नै मिल्ने छ एउटा परिवार कही छुट्टाछुट्टै हुनेछन् मुटुका टुक्रा। अनि गल्ने छ भित्रभित्रै त्यहीँबाट अर्को परिवार।
बिहानैबाट जन्तीको भोजनको लागि सामग्री तयार पारियो। अर्कोतिर मण्डप सजाउने काम सुरु भयो। पण्डितले साल, उखु, बास र केराबाट मण्डपको निर्माण गरे।
जन्ती घरको धुरी नजिक आएपछि स्वागत गर्न बेहुलीपट्टिको लामो लाइन लाग्यो। म त्यही लाइनको एक छेउमा उभिएर हेरेँ। मण्डपको हवनमा आगो बल्न सुरु भयो। जन्तीको स्वागत पछि। आगो बालिरहेको हवनमा घिउको अर्घ दिँदै पण्डितले मन्त्र उच्चारण गरे।
परिवारको हाँसो कही लुक्दै थियो। कहीँ हराउँदै थियो। मेरो मन बेस्मारी धड्की रह्यो। दिमागमा चैते हुरी मडारिरह्यो। दाइ भन्थ्थो 'यसलाई केही थाहा छैन, घरमा हामीसँग झगडिँदै बसे पनि ऊ मनमै थिई।'
उसका बोली कसैले मनसम्म पुराइएन, किनकि ऊ नै मन बाटो अरु केही आउन दिँदैन थिई। बुवा-ममीको अनुहारको रङ उडिसकेको थियो। लाग्थ्यो मेरी दिदी यहीँ घरमा जस्तै अन्त पनि खुसी हुन्छे कि हुन्न होला?
कसैले भने लाभा लिएर आऊ। म लाभा लिएर मण्डपमा गए। दिदी लिएर उभिएको सुपोमा लाभा राखिदिए। कसैले दिदीको हातसँगै सुपो समायो। त्यही कसै अब मेरो भिनाजु हुनेवाला थिए।
सोच्छु, के दिदीको अबको जीवन हवनमा राख्नभन्दा अगाडिको फुलेको सेतो लाभा जस्तो पर्फुलित भएर फुल्ला कि फुल्दैन होला? कि हवनमा परिसकेपछिको कालो लाभा जस्तै होला?
एकदुई जना बोल्छन्। माइतीपक्ष भित्र जान पर्यो। म अचम्म मान्छु। कसैले फ्याट्ट भन्छ, 'बेहुलीलाई सिन्दुर हालेको माइतीपक्षले हेर्नु हुँदैन।'
म आफैसँग सोध्छु- किन हेर्नु हुँदैन? आफ्नै क्यानभास कसैले रंग पोतेको, आफ्नालाई अरु कसैले हक जमाएको कसले देख्न सक्छ र! सायद यो चलन त्यसैले चलाएको हुनु पर्छ। मसँग यो नै हो भन्ने जवाफ छैन।
केही समय पछि मण्डपमा बेहुला र बेहुलीको लगनको गाठो कस्ने बेला भयो। भन्छन् गाठो जति बलियो बन्छ त्यति नै सम्बन्ध चिरायु बन्छ भनेर। यदि त्यही हो भने म त्यो लगनको गाठो जुनिभरि कसिरहन चाहन्छु। ताकि दिदी र भिनाजुबाट जोडिएका हरेक सम्बन्ध र यसले जोडेका हरेक नाताहरु सधैँ अमर रहिरहुन। त्यसपछि सम्धीहरुले सम्धेरो लगाएर रातै भए।
बेहुलीको बिदाइको समयमा, बेहुलीलाई मण्डपबाट उसका दाइभाइले बोकेर अलि परसम्म पुर्याउने चलन रहेछ। मैले मेरी दिदीलाई बोकेर मण्डपको तीन फन्को लगाएँ। त्यसपछि बोकेरै दिदीलाई केही पर पुर्याएँ। दिदी रुँदै थिई, म खुसी देखाउन हाँसेको अभिनय गरेँ।
म त केटा मान्छे, मलाई बाल! केटा मान्छे रुन हुँदैन। केटा मान्छेको मन त कठोर हुन्छ! सबैले यसै भन्थे। तर आज दिदीलाई बिदाई गर्दै गर्दा म त्यो भनाइको कठोर केटा मान्छे बन्न सकिनँ।
खै किन सकिनँ! दाइ आफ्ना आँखाभरि आँसु भरेर बुबाको आँखाका आँसु पुछ्दै थियो। मेरा आँखा नि कुहिरोले ड्याम्मै ढाकिसकेको थियो। ममीलाई खोजेँ। उहाँलाई अरुले सम्झाउँदै थिए।
त्यसपछि म खाली कोठाभित्र गएँ, चुकल लगाएँ र बेस्मारी रोएँ। मेरा आँखाले केटा मान्छे रुन हुँदैन भन्ने कुरा पत्याउन सकेन। फेरि सम्झिएँ जन्तीको स्वागत, खाना र बिदाइको जिम्मा दाइले मलाई दिनु भएको थियो। आँखा पुछेँ। बाहिर निस्केर हेरेँ। जन्तीले दिदीलाई लिएर एक घुम्ती पार गरिसकेछन्।
दिदी गएको बाटो हेरेर भनेँ- दिदी याद छ तँलाई, हामीले सानैमा बाजी लगाएका थियौं नि म तेरो विवाहमा रुन्न भनेर। आज तैले बाजी जितिस् दिदी। मैले हारेँ। म रोएँ। बाजी जितेकी छेस्, हाँस्दै जानू है घर।
नयाँ घर जाँदै छेस्, त्यो घर पनि यो माइतीघर जस्तै श्रृंगार्नू। दिदी तलाई कहिल्यै तपाईं भन्न आएन। आज भन्छु- 'दिदी तपाईंलाई वैवाहिक जीवनको आकाशजति शुभकामना। चाँडै भेट्न आउनु है?'