टिनमा सुनिएको आवाजले बाहिर बेस्सरी पानी परेको प्रमाणित गरिदियो।
'असार पनि लाग्यो क्यारे, बिउ त तयार भयो अब खेत रोप्ने चाजोपाजो मिलाएर एउटा दिन तोकिहालौँ। फेरि अरुसँग रोप्ने दिन जुध्यो भने रोपारहरु पाउन गाह्रो हुन्छ' आमाले बाबालाई भनिरहनु भएको थियो।
असार महिना नामैबाट प्रष्ट झरी पर्ने महिना। आजबाटै यसरी पानी परे यो वर्ष कुनै किसानलाई खेत रोप्न समस्या हुँदैन। बाबा-आमाको आँखा अनि मुहारमा खुसी फुलेको थियो, पानी परेको भएर अनि योपालि बाली सप्रने भयो मैले मनमनै विचार गरेँ।
बाहिर परेको पानीले घरमा मात्रै होइन मनमै छुट्टै हर्ष ल्यायो।
वर्षदिनको प्रतिक्षापछि दसैँ बिदा हुँदा जसरी एउटा बालक खुसी हुन्छ, परदेशिएकाहरु घर फर्किँदा फर्किएको त्यो रौनक जस्तो हुन्छ अनि अन्माइएर आफ्नो कर्म घर गएकी चेली जसरी फेरि माइती घर आएकी हुन्छे। त्यस्तै हुन्छ कृषकहरुलाई असारमा पानी पर्दाको त्यो पल।
घरमा म, बाबा, आमा अनि हजुरआमा गरेर ४ जना थियौं। बाबाको पेसा नै कृषि! असार महिना छुट्टै महत्त्व कृषकहरुमा यो महिनाको।
नसम्झिँदा नि असार भन्नासाथ ३/४ चिज दिमागले टिपिहाल्छ झरीको महिना, धानको महिना, मानो रोपेर मुरी फलाउने महिना अनि किसान र कृषकको महिना।
अघिल्लो वर्षको बाली, चलन चल्ती, साचाइ आदि विभिन्न चिजले नेपालको विभिन्न ठाँउमा अलग अलग समयमा धान रोप्ने चलन छ। हुन त एउटै ठाउँमा पनि रोपाइँ छुट्टाछुट्टै दिनमा राखिन्छ अनि पर्म तिर्ने चलन छ।
वर्ष दिनपछि धान रोप्न आतुर हातहरुले धान मात्रै रोप्दैनन्, असारे गीतमा हात हल्लाएर नाच्छन् पनि।
किसानलाई असार महिना कुनै चाडपर्वभन्दा कम हुँदैन, असार महिना लाग्दा नलाग्दै किसानहरुमा चहलपहल सुरु भइसक्छ।
हिलो छ्यापेर रमाइलो गर्ने, लोप हुन लागेका असारे भाका गुनगुनाउने, बाजा बजाउने नाच्ने अनि रमाइलो हुने भएर नै हो असारलाई किसानले पर्वकै रुपमा हेर्ने।
बउ रोप्दै गरेका किसानहरु पछि झुल्ने लहलह बालाको सपनामा आफ्नो थकाइ बिर्सन्छन्।
अरु बेला अलिकति माटो लाग्दा पनि झिजिने मान्छे आज हिलोमा हिलाम्मे भएर अरुलाई हिलो छ्यापेको देख्दा अचम्म लाग्छ।
हिलोमा छुपुछुपु गर्दै धान रोप्न तम्सिएका रोपारहरु त्यही हातले अन्नलाई भित्र्याउने सपनामा लठ्ठ बनेका होलान्।
खै आज के भाको हो मलाई, कृषक परिवार भएको नाताले पुराना दिन याद आइरहेछन्। समयसँग साँच्चै नै बेखबर हुँदै बितिरहेका छन् मेरा दिनहरु। गाउँ आएपछि कति गते, कुन बार अनि कुन महिना चलिरहेको छ, केही पत्तो नहुने। आज आमाले, 'मसान्त गैसक्यो र?' भन्नुहुँदा पनि उत्तर थिएन मसँग।
छेउमा टपरी बुनिरहनु भएकी हजुरआमाले मेरो उत्तरको प्रतिक्षा नगरी सहजै भनिदिनु भयो, 'साँझमा झ्याउकिरी कराउन सुरु गरिसक्यो, पँधेराको मूल नि बढिसक्यो, पाटाको मकैघारीले पारि पाटो देखिन मुस्किल हुन लागिसक्यो। बरु १५ असार पो कति टाढा छ, पात्रो हेर त।' यति भनेर हजुरआमा फेरि सालको पात र सिन्को ल्याउन भित्र जानु भयो।
असार लागिसकेछ, मलाई भने केही पत्तो छैन। झसंग हुँदै पात्रो हेरेँ। १५ असार नजिक आइसकेछ। पढ्नलाई सहर छिरेको जति वर्ष भयो, त्यति नै बर्खाको रौनक मनाउन पाएको छैन मैले।
सानैदेखि मेरो असार महिनाप्रति अति नै मोह थियो। महिनाभरिको लागि स्कुल छुट्टी हुन्थे। गाउँको सरकारी स्कुल पढेको म, होमवर्कको केही चिन्ता नहुने। असार लाग्न नपाउँदै बनको काफल, ऐंसेलु, आल्चा, आरु सबै सकिसकेका हुन्थ्यौँ, हामी भुरा टोलीले।
बिहानमा धानकिरी समात्ने, दिउँसोभर कुलोमा खेल्ने, बाँडिचुँडी खाने अनि हरेक बेलुकी पख झ्याउकिरी समातेर उडाउने हाम्रो दिनचर्या हुन्थे। साँच्चै नै ती मेरा जीवनका सुवर्ण युग थिए।
सानो हुँदा हजुरआमासँग खाजा बोकेर खेतमा जाने गर्थे। अनि सबै खेतलाहरु जम्मा हुन्थे खाजाको लागि। सबै जनालाई खाजाको टपरी बाँड्ने जिम्मा मेरो हुन्थ्यो। आली माथि बसेर हिलो फ्याँक्न पाउँदा र भकारी राखेको पैसा टिप्न पाउँदा त खुसीले सीमा नाघ्थे।
कसैले मलाई हिलो फ्याँके भने चिम्से आँखा झनै बन्द हुनेगरी हाँस्थेँ र खेतको आली-आली भाग्थेँ। असारे भाकाले वारि भेग अनि खहरे खोलाले पारि भेग सुसाउने गर्थे।
हुर्किंदै गर्दा आफ्नो दौंतरीहरुसँग मेलापात धाउन थाले। मेला सक्काएर जूनको उज्यालोमा घर फर्कन्थ्यौँ। हाम्रो हाँसोको आवाजले उर्लेर बग्ने खोलालाई चुनौती दिन्थे।
साँच्चै नै ती मेरा स्वार्णिम उमेर थिए। साँच्चै नै क्या गज्जबका हुन्थे नि ती असारे महिनाहरु।
कोरोनाको महामारीबाट ग्रसित मेरो मनस्थितिले आज धेरैपछि सुनौलो आभास महशुस गरेको छ। लकडाउनमा अन्धाधुन्ध बितिरहेको दिनचर्यामा आज असारे रौनक फेरि भेटें, फेरि ती अमूल्य पलहरु बिताउने आशा छ।
यी रौनकहरु महशुस गर्दा गर्दा म डुबेछु सपनामा। बाबा आएर मलाई भन्दा बल्ल पो याद गरेँ, म त कति सुनौला आभास गरिरहेको रहेछु। त्यो आभासले मेरो मन मस्तिष्कमा एकदम डेरा जमाएर बसेछ क्यार, कहिले प्रश्न नगर्नी म आज बाबालाई प्रश्न गर्दै छु।
बाबा के पहिला जस्तै महत्त्व छ असार पन्ध्रको, त्यसैगरी दही-चिउरा खाइन्छ त? अनि कहिले जिज्ञासा नाराख्ने आफ्ना सन्तानको प्रश्न सुनेर, बाबाको उत्तर यसरी आयो मानौ उहाँ आज लोकसेवा दिँदै हुनुहुन्छ।
'बाबु, रोपाइँ सकेको खुसीयालीमा भोजस्वरूप दही र चिउरा खाने दिन। सरकारले यस दिनमा धान दिवससमेत मनाउँदै आएको छ। नेपाली समाजमा परम्परागत रूपमै असार १५ मा दहीचिउरा खाने प्रचलन छ।'
कहिल्यै जिज्ञासा नराख्ने म खै! आज के भएको छ, फेरि प्रश्न गर्न मन लागिहाल्यो! 'तर असार १५ मै किन खाइन्छ दही-चिउरा?'
प्रायःको एउटै उत्तर हुने गर्छ, पहिलेदेखि खाँदै आएको त्यसैले। आखिर किन असार १५ को सांस्कृतिक महत्व छ त? संस्कृतिकर्मीका अनुसार असारमा समयमै रोपाइँ सकिएको खुसीयालीमा दहीचिउरा खाइन्छ। परापूर्वकालदेखि नै यो प्रचलन चल्दै आयो।
रोपाइँ नसकिएसम्म दही-चिउरा खाइँदैन तर अहिले रोपाइँ सकियोस् या नसकियोस्, प्रत्येक वर्ष असार १५ मा दहीचिउरा खाने गरिन्छ। हुन त अहिले दहीचिउरा खान असार १५ सम्म पर्खन पर्दैन। तर परापूर्वकालमा समयमै रोपाइँ सकिएको खुसीयालीमा भोजस्वरूप दहीचिउरा खाने चलन रहँदै आएको छ।
मानो रोपेर मुरी फलोस् भन्ने कामना लिएर सुरु गरिएको रोपाइँ सकिएको खुसीयालीमा दही-चिउरा खाने गरिएको हो।
रोपाइँमा सबैलाई भ्याइनभ्याइ हुने भएकाले पकाइरहन पनि नपर्ने र तयार गर्न धेरै समय पनि नलाग्ने भएकाले दही-चिउरा खाने अनि असारमा कामको व्यस्तताले अरू खानेकुरा जोहो गर्ने समय हुँदैन। त्यसैले पकाउनु नपर्ने र सरल रूपमा सबैका घरघरमा उपलब्ध हुने भएकाले असार १५ मा दही-चिउरा खाने थिति नै बसेको हो।
उसबेला सबैसँग आजजस्तो माछा, मासुलगायतका पौष्टिक आहार खाने क्षमता थिएन। रोपाइँले थाकेका किसानलाई माछामासु पकाएर बस्ने फुर्सद पनि हुँदैन। उसबेला सबैजसो किसानका घरमा गाईभैंसी पालिएको हुन्थ्यो।
गाईभैंसीले दिने दूधले गर्दा घरघरमा दही, मही र घिउ खाली हुँदैन थियो। त्यस्तै खेतीकिसानी गर्ने भएकाले चिउरा पनि घरमै हुने भइहाल्यो। त्यसैले घरमै रहेको दहीचिउरालाई महत्व दिएर असारमा रोपाइँ सकिएको खुसीयालीमा भोज गर्ने प्रचलन रहेको हो।
दही-चिउरा पौष्टिक आहार पनि भयो। धेरै समय लाग्ने गरी दहीचिउरा अरू खानेकुरा जसरी पकाइरहन पनि पर्दैन।
बुवाको अनुसार असार १५ नेपालीको आत्मनिर्भरताको प्रमाण हो। यतिबेर बुवाको कुराले खुसी भएको म, बुवाको यी अन्तिम लाइनले मुटु पोल्यो- 'बाबु, पहिले दही र चिउरा घरकै हुन्थे तर अहिले दही र चिउरा दुवै किन्नुपर्छ।’