कार्यालयबाट फर्किएर कोहीसँग नबोली ब्याग फ्यात्त दराजमा फ्याँकेर बाथरुम छिरें भाइरस पखाल्न। आजभोलि कोभिड संक्रमण बढेपश्चातको दैनिकी यस्तै छ, बाहिरबाट घर छिरेपछिको पहिलो काम भाइरस पखाल्ने।
निषेधाज्ञाको कारण आकलझुकलमात्र कार्यालय जानुपरेको छ। कहिले काहीँ बाहिर निस्कने काम परे बाहेक घरमै बसिएको छ। सुरक्षित बसिएको छ।
बाथरुम बाहिर निस्कले वित्तिकै म्यासेन्जरमा ट्वाङ्ग म्यासेज आयो। यसो हेरें महेन्द्रनगरबाट नवराज पन्त दाइले पठाउनु भएको रहेछ 'के छ भाइ खबर?'
'ठिकै छ दाइ, तपाईंको नि?' भनेर औपचारिकता पूरा गरें। म घर भित्र छिर्ने वित्तिकै गफ गर्ने मुडमा थिइनँ, भोक लागेको थियो। कार्यालयमा पकाउने सामान थिएन रे, क्यान्टिन बन्द छ आजभोलि। आफ्नो ध्यान के खान पाइन्छ भन्नेमा केन्द्रित थियो।
उताबाट जवाफ आयो 'कार्वनडाइअक्साइड लिने काम जारी छ, बाँचिएको छ।'
मनमनै हाँसो चल्यो, मैले 'हा, हा' मात्र लेखेर जवाफ फर्काएँ।
दाइले निवर्तमान वन मन्त्रीलाई झटारो हानेको त्यक्ति चित्त बुझेन मलाई किनकि मेरो विचारमा त्यत्रो राजनीति गरेर सार्वजनिक लेखासमितिमा बसेर गहन जिम्मेवारी पूरा गरेर मन्त्री भएको मानिसको बोल्ने क्रममा जिब्रो चिप्लिएको जस्तो मात्र लागेको थियो मलाई।
त्यसैले थुपै मानिसले निजको अभिव्यक्तिमा व्यंग गरिरहँदा मलाई हाँसो मात्र लागेको थियो। यसमा मेरो केही थप प्रतिक्रिया थिएन।
दाइले थप्नु भयो 'वन मन्त्रीले रुखहरुलाई अक्सिजनको खाँचो नहोस भनी स्टिकर टाँसेर आफ्नै खर्चमा अक्सिजन पठाएका छन्। अब रुखले धमाधम कार्वनडाइअक्साइड फ्याक्छन्, चिन्ता छैन मस्त कार्वनडाइअक्साइड लिइन्छ, बाँचिन्छ भाइ।'
मलाई अब हाँसोको सीमा रहेन, नियन्त्रणको बाँध फुटाएर हाँसो छुट्यो। तल्लो तलाबाट वर्क फ्रम होममा रहेकी श्रीमतीले हाँस्दै सोधिन् 'के भयो?'
मैले जवाफ फर्काएँ, 'केही होइन, च्याट गरिराछु।'
उताबाट जवाफ आयो 'अलि विस्तारै हाँस्नु डिस्टर्ब हुन्छ।'
म मौन रहेँ।
दाइलाई जवाफ फर्काएँ 'अति हसाँउनु भयो दाइ।'
दाइको जवाफ आउनु अगाडि नै मैले कुरा मोडनलाई सोधेँ 'अरु के छ नयाँ नौलो।'
मेसेज सेन्ड गर्ने वित्तिकै सम्झेँ 'के जहिले नयाँ नौलो भनेको हौ थेगो जस्तो! एकछिन अगाडि कुरा गरेको मान्छेसँग पनि अनि नयाँ नौलो भनिहाल्ने कस्तो बानी लागेको!' भनी श्रीमतीले सधैं गर्ने सुझाव सम्झें।
उताबाट एकछिन जवाफ आएन। मैले सोचें ठिकै भयो। खाजा खाने समय पाउने भएँ। म मोबाइल माथि नै छोडेर किचनमा झरें। कचौरामा छोपेर राखेको खाजा खान मात्र आँटेको थिएँ, दाइले केही पठाए कि भन्ने मनमा आयो। माथि चढें।
मेसेज आइसकेको रहेछ। 'के हुनु र नयाँ केही छैन। दिनदिनै चिने जानेका युवाहरु मरिरहेका छन्। मजस्ता स्वास्थ्य समस्या भएकालाई अलिक गाह्रो छ। संक्रमण फैलियो भने अस्पताल पाउन पनि कठिन छ।'
दाइले अब भने विषयवस्तुलाई गम्भीर मोडतर्फ लाने भएजस्तो सोच्दै मैले जवाफ फर्काएँ 'होनि दाइ, संक्रमण बढेर अप्ठ्यारो भएको अवस्थामा अस्पताल पाउन गाह्रो छ। त्यहीँमाथि अक्सिजनको त कुरै नगरौं।'
जवाफ पठाउने वित्तिकै झसंग भएँ, फेरि बुढाले कार्वनडाइअक्साइडको कुरा निकाल्ने भए जस्तो लाग्यो।
तर फरक प्रसंग निकाल्दै उताबाट आयो 'स्वास्थ्यकर्मीहरुले लामो समय ड्युटी गरेपश्चात लुगा फेरेको युट्युब भिडिओहरु हेर्यो भने त सम्मान जागेर आउँछ, यस्तो गर्मीमा पसिनै पसिनामा भिजेर सेवा गरिरहेका छन्।'
अब भने प्रसंग बदलियो भनी यसो खुसी हुँदै हतार हतार जवाफ फर्काएँ 'होनि, यस्तो संक्रमणको समय मानिसहरु संक्रमण सर्छ भनी डराएर घरमै बसेको अवस्थामा परिवार, अझ बाल-बच्चालाई घरमा छोडेर लामो समय ड्युटी गरेका छन्। सम्मान त गर्नै पर्यो नि। स्वास्थ्यकर्मीहरु भएर नै हामी आनन्दले घरमा बस्न पाएका छौं।'
मेरो जवाफ उता नपुग्दै उताबाट मेसेज आयो 'तर अब त पिपिई पनि घाँटीमा फलाम राखेर बनाउनु पर्ने भयो नि भाइ।' कीर्तिपुर बस्दा एउटै घरमा बसेका दाइले हिन्दी तथा नेपाली साहित्यका किताबहरु पढेको देखेको थिएँ, त्यसैले दाइले पारा ल्याउँदैछन जस्तो लाग्यो।
मैले नबुझेजस्तै गरी जवाफ फर्काएँ 'बुझ्न गाह्रो भयो।'
उताबाट जवाफ आयो 'कति चाँडै बिर्सिनु भयो अस्ति भेरी अस्पतालमा देख्नु भएन आफन्तको मृत्यु भएपश्चात भएको आक्रमण।'
मैले जवाफ फर्काएँ 'ए ए होनि, छानबिन भइरहेको छ रे त, केही आउला नि सत्यतथ्य कुरा बाहिर।'
मेरो मेसेज नपुगी दाइले पुनः पठाए 'पिपिईमा फलाम राखेरमात्र पनि नहुने रहेछ, उपचार कक्षको झ्याल पनि खुल्लै राख्नु पर्ने अवस्था छ।'
'हा हा, हो र' मैले आफैंले केही लेख्नुभन्दा दाइले नै दमदार फ्याक्छन जस्तो लागेर लामो लेखिनँ।
उताबाट आयो 'हाम फाल्नु परेन। ज्यान त सबैलाई प्यारो लाग्छ नि।' दाइको सेन्स अफ ह्युमर राम्रै थियो। हाँसिरहने हँसाइरहने दाइ डिप्रेशनको बिरामी हुन् भन्दा मलाई विश्वास लागेको थिएन सुरुका दिनहरुमा तर कहिले काहीँ दाइले चिटचिट पसिना निकालेर अप्ठ्यारो भयो भन्दा होकि जस्तो लाग्थ्यो।
अब बुढाले बालुवाको पनि कुरा ल्याउलान् भनेको बिर्सिएछन् कि क्या हो, कुरै गरेनन्। समाचारमा पढेनछन् कि के हो बुढाले, स्वास्थ्यकर्मीले बालुवाको थुप्रोमा हामफालेर ज्यान जोगाएको।
'गाह्रो छ हौ ज्यान जोगाउन, दिनदिनै मानिसहरु मरिरहेका छन्। आफू त झन् दीर्घरोगी, डरले घर बाहिर निस्केको छैन। यसो सम्झियो अस्पतालमा बिरामीको भिड, बेडको अभाव, अक्सिजन लेभल घटेर अक्सिजन चाहिएमा अक्सिजनको जोहो गर्न परिवारले झेल्नु पर्ने दुःख। सबैलाई मनन गर्दै घरमा नै सावधानी अपनाएर बसेको छु' प्रसंग बदल्दै दाइले गम्भीर विषय पस्के।
'होनि, यो समय घरभित्र नै बसेर आफू र समुदायमा संक्रमण फैलिन नदिन प्रयत्न गर्नुपर्छ हैन र दाइ?' मैले उनको धारणा बुझ्न खोजें।
'हामी गाउँमा छौं, आफ्नै बारीको तरकारी चुड्यो, पकायो सजिलो छ। तपाईंहरुलाई काठमाडौँमा गाह्रो होला नि। तरकारी लिन बाहिर जानै पर्छ होला हैन र?'
'होनि तरकारी खाद्यान्न लिन त जानै पर्यो नि दाइ। दुवै डोज भ्याक्सिन लगाएको म मात्र छु घरमा, त्यसैले म निस्कन्छु प्रायःजसो सामानहरुको जोहो गर्न।'
मैले भ्याक्सिनको कुरा के मात्र उठाएको थिएँ दाइले लेखे 'आफ्नो त पहिलो डोज लगाएको धेरै समय भयो, दोश्रो डोज अनिश्चित छ।'
'आउला नि दाइ, सरकारले प्रयत्न गरिरा होला। छिटै आउँछ दाइ चिन्ता लिन हुँदैन।'
मेरो मेसेज नपुगी दाइले पठाए 'चिन्ता केही छैन। कार्वनडाइअक्साइड लिइएकै छ, बाँचिएकै छ।'
'हा हा... चिन्ता लिएर के गर्नु र दाइ, आफ्नो नियन्त्रणमा केही नभएको कुरामा चिन्ता लिनुभन्दा आफू र समुदायमा संक्रमण नफैलियोस् भनेर जति अनुशासित भएर बस्न सकिन्छ, त्यतिमात्रै गर्ने हो,' मैले जवाफ फर्काएँ।
'अस्ति तपाईंको तिरको स्थानीय निकायले राम्रो आइसोलेसन संचालन गरेको, अक्सिजनको व्यवस्था गरेको समाचार सुनेको थिएँ।'
मैले भनें 'होनि दाइ, हाम्रो बुद्धशान्ति गाउँपालिकाले गरेको सकारात्मका प्रयासको बारेमा समाचार आएको थियो।'
दाइले झापामा उत्कृष्ट आइसोलेसन व्यवस्थापन गरेको भनी मेरो गाउँपालिकाले गरेको राम्रो कामको बारेमा आएको समाचार हेरेका रहेछन्, खुसी लाग्यो।
'बाठा झापालीहरुले नाम पनि राम्रो राखेछन् त बुद्धशान्ति।'
'हो र' मैले नाकको पोरा ठूलो बनाउँदै जवाफ फर्काएँ।
'अहिले त स्थानीय निकायले प्रयत्न गरे राम्रो आइसोलेसनको व्यवस्था, एम्बुलेन्सको व्यवस्थापन, अस्पताल खोज्न संक्रमितलाई सहयोग गर्न सक्ने रहेछन् जस्तो लागेको छ।'
'हो नि' मैलै संक्षिप्त जवाफ दिन उचित ठानेँ।
मोबाइल तात्तिन थालेकोले मैले लेखेँ 'दाइ, खुसी लाग्यो निकै समयपछि कुराकानी गर्न पाइयो। बाँकी अर्को दिनलाई पनि साँच्नु पर्ला।'
उताबाट तारान्तार जवाफ आयो-
'आफ्नो ख्याल गर्नु होला।
मेडम र छोरीहरुलाई सम्झना सुनाइदिनु होला।
कार्वनडाइअक्साइड लिन नबिर्सनु होला।
हा हा...'
मैले जवाफ फर्काएँ-
'अक्सिजन होला हौ दाइ।
मेरो पनि सबैलाई सम्झना।
घर भित्रै बस्नु होला।
स्वस्थ रहनु होला।
सुरक्षित रहनु होला।'
मन हलुका भयो। मनमनै सदगुरुले भनेको एउटा प्रसंग दाइलाई सुनाएको भए हुन्थ्यो जस्तो लाग्यो। सदगुरुका अनुसार मानिस भ्रममा यतिसम्म रहन्छ र आफ्नो बारेमा, आफ्नो ओहोदाको बारेमा, आफ्नो सम्पत्तिको बारेमा यतिसम्म घमण्ड गर्दछ कि आफ्नो छेउको अर्को मानिस पनि मानिस नै हो भन्ने बिर्सन्छ।
आफूलाई पूर्ण सम्झन्छ तर उसले यो बिर्सिन्छ कि आफूले लिने श्वास-प्रश्वासको पूर्ण स्वामित्व त उसँग रहँदैन भने ऊ कसरी पूर्ण छ र? श्वास-प्रश्वास प्रक्रियाको आधा अंश अर्थात श्वास लिने प्रक्रियाको सहजिकरण गरिदिने रुख विरुवाहरुसँग निर्भर हुनु पर्ने प्राकृतिक सिद्धान्तलाई उसले चुनौती दिन सक्दैन।
हरेक चिज बीच सह-अस्तित्वको सम्बन्ध रहन्छ भन्ने उसले बिर्सन्छ। चाहे बिरामी र डक्टर होस् या अक्सिजन र कार्वनडाइअक्साइड होस। हामी त्यही रुख विरुवाहरुले सित्तैमा दिएको फगत अक्सिजन लिएर घमण्ड गरिरहेका छौं।
त्यसैका लागि संघर्ष गरिरहेका छौं। त्यही अक्सिजन केही समयका लागि सहज रुपमा पाउन नसकेर मरिरहेका छौं। ठूला ठूला कुरा गर्ने हामी मृत्यु शय्यामा अक्सिजनका लागि तड्पिरहेका छौं।
मेरा मित्र कवि सुरेश हाँचेकालीले आफ्नो कविता दिनहरु र वधशालामा भने झैँ जिन्दगीको वधशालामा हामीले हजारौं दिनहरुको वध गरेका छौं तर एकदिन यस्तो दिन आउँछ, हजारौं दिन मार्नेलाई एकैदिनले मारिदिन्छ।
अझ मेरो विचारमा त एकैछिनले मारिदिन्छ, अस्तित्व विहीन बनाइदिन्छ। अस्तित्वको नै टुंगो नभएका हामी फगत अक्सिजन लिएर दिनहरु कटाउँदै दम्भको लडाइँमा उत्रिएका छौं।