असारको मुसलधारे पानी होस् या मंसिरको घमाइलो दिन, गैह्रीको धाप सम्झिन्छु। त्यो टाउकै चक्कराउने घाम होस् या सिरसिरे बतास, त्यही डाँडाको खेत सम्झिन्छु।
स्कुल छुट्ने बित्तिकै सबैभन्दा अगाडि घर पुगेर लुगा फेर्ने र आफ्नै घर नजिकको बाटो हुँदै घर फर्किँदै गरेका अरु विद्यार्थीलाई हेर्न मलाई औधी मनपर्ने। आमाले घ्यू र नुन हालेर कराइमा पर्ल्याङ पुर्लुङ पारेको भात चियासँग खाँदै त्यो बाटोतिर हेर्दा खै किन हो, आफूले जितेको महशुस हुन्थ्यो।
५० को दशकका केटाकेटीले बाचेको बाल्यकाल अहिले जस्तो कहाँ थियो र? घरको खाजा खाइसक्ने बित्तिकै अघिनै स्कुलमा सल्लाह भएबमोजिम सबै साथीहरु कविता, लिला, उमेस, भाइ ५\६ जनाको समूह बनाएर नजिकैको जंगलको सफारी सुरु हुन्थ्यो। खाली खुट्टा।
बाह्रफाले खोलापारि एउटा सानो जंगल छ। खोलाको बगरमा खेल्दै अंगेरी, जामुन, असारे खादै बालुवाको ढुंगाले बारेर बनाएको घरमध्ये कस्को राम्रो भन्ने होड चल्थ्यो। त्यो असारे र जामुन अनि अंगेरिको स्वाद धरोधर्म मुखैमा झुन्डिएको छ।
आफ्नै देशका कति ठाउँ पुगियो। युरोप अमेरिकासम्मको यात्रामा पनि त्यो खालको मिठो केही पाइएन, कतै भेटिएन। अब खेल्दाखेल्दै खोलाको बगरमै झमक्कै साँझ परेपछि ती मध्य एकजनाको घरबाट बोलावट आएपछि त्यो दिनको भाडाकुटी सकिन्थ्यो।
झापाको तातो घामले तातेका बगरका ढुंगाहरुमा खालीखुट्टा बेपर्वाह दौडिँदा अहिले भए पैताला डाम्थ्यो होला, त्यो बेला खै किन त्यसको हेक्का नभएको! बा-आमाले चप्पल नै नकिनिदिएको भने होइन। बगरमा पुग्न अरुभन्दा पछि परिएलाका कि भनेर चप्पल पाखुरामा घुसारेको हुन्थ्यौं, फित्तावाले हवाइ चप्पल।
बालुवाको घर बनाउँदा पिर्का बनाको चप्पलले घर फर्किँदा गाली खाने डरले मात्र खुट्टामा टाँसिन पाउँथ्यो।
असार-साउनको महिना त झन् स्कुलमा बर्खे बिदा। अब स्कुल जान नपरेपछि धेरैजसो केटाकेटी ठूला मान्छेहरुसँगै खेतबारीमै समय बिताउँथे। घरघरमा रोपाइको चटारो।
हिल्याउने, बिउ काढ्ने, आली लागाउने यस्तै यस्तै काम गरिरहेका ठूलो मान्छेको अघिपछि हुँदै हिँड्न पाउँदा अहो! आफूलाई ठूलै भइयो जस्तो लाग्ने। कहिलेकाहीँ जानी जानी हिल्याएको गह्रा, कुलोमा लड्दा नजिकैको पाटा खाडीमा एकछिन भएपनि पौडिन पाइन्थ्यो, कम रमाइलो हुन्थेन।
एउटाको खेतबाट अर्को छिमेकसँग खेतखेतै ठूलठूलो स्वरमा बाबाआमाले गफ गरेको सुन्न कस्तो मजा आउने। वर्षातको यो समयमा बारीमा आँप, लिच्ची र कटहर पाक्ने बेला।
बेलुका सुत्नु अघि भोलि सबैभन्दा छिटो उठेर बोटमै पाकेर झरेको आँप बाल्टिनभरि कस्ले टिप्ला भन्ने पिर पर्ने, आफू ढिला भइयो भने दिदीदादाले टिपिसकेको हुने पो होकि भन्ने छटपटी। वास्तवमा त्यो बेला आँप खानुभन्दा पनि जम्मा गरेर चारबीस कट्नु भएका बाजेको अगाडि राखिदिँदा जुन मायालु स्याबासी खाइन्थ्यो, त्यसको बडो लोभ हुन्थ्यो।
आफ्नो घरमा रोपाइँ भएको दिनको रौनक झनै गज्जबको। बिहानदेखि आमाहरुको हल्लाखल्ला र केके पाकेको बास्नाले कहाँ निन्द्रा पर्नु। बिहानै आँखा खुल्ने। रोपाइँमा सबैको घरमा पाक्ने पाकन चाही मटर, चनाको र आलुको झोल। पाकेको फर्सी। आलु र काक्राको अचार, सोयाबिन यस्तै-यस्तै हुन्थ्यो। आमाले सुत, अहिले बेला भएको छैन उठ्ने भन्दा पनि यस्सो सुतेजस्तो मात्र गरिन्थ्यो।
रोपाइँ भन्ने बित्तिकै नजिकका छिमेक, आफन्त दिदी, सानिमाहरु घरमा काम सघाउन बिहानैदेखि आउने हुँदा घरमा सानोसनो उत्सवनै हुन्थ्यो हाम्रा लागि। एकैछिनमा फेरि माथ्लोघर तल्लोघरबाट हलगोरु सहित पुण्य दाइ, मनिराज दाइहरु आउनुहुन्थो।
त्यसको केहीबेरमा हल्ला गर्दै कोही सालको पातको, कोही प्लास्टिकको घुम लिएर छोटाछोटा लुङ्गी रसुरुवाल लगाएका रोपारहरु खलङ्मलङ् गर्दै आफ्नो घरतिर आउँदा मलाई भने कति जना होलान् भनेर गन्नै फुर्सद हुँदैनथ्यो।
एक त मान्छेको जमघट मन पराउने म अर्कोतिर योपालि बेलैमा धान रोप्न पाइयो भनेर पनि होला, मनमनै खुसी हुन्थे सायद। सिँचाइको सुविधा राम्रो नभएकाले पनि हाम्रो ठाउँमा रोपाइँ गर्न टिमाई खोलामा बाढी आएको मौका छोप्नु पर्थ्यो।
रोपाइँको दिनको अर्को केटाकेटीलाई मनपर्ने पाटो, पटामा चढ्न हुन्थ्यो। अलि आफूलाई माया गर्ने दादाहरुले गह्रा सम्याउने क्रममा पटा लागाउँदा आइज चढ्न, भनेर डाक्नु हुन्थ्यो। हामी केटाकेटी कस्ले बोलाउलान् र पटामा चढ्न पाइन्छ भनेर गह्राको डिल, आलीमा कुरेर बस्थ्यौँ।
हिलाम्मे गह्रामा राखिएको पटामा केटाकेटीलाई टुक्रुक्क बस्न भनेर पछाडिबाट पहरा दिँदै हल गोरुलाई दौडिन इसारा गर्नुहुथ्यो दाइहरुले। गह्रामा गोरु कुदेपछि पटामा बस्दाको अनुभव अहिले अन्तर्राष्ट्रिय उडान गर्ने जहाजमा चडे जस्तैजस्तै हो तर त्योभन्दा बढी सरररररररर…..हररररररर मन त कहाँ-कहाँ।
कुनैकुनै घटनाहरु मनमा यसरी गढेर बस्छन् नि, लाग्छ मनकै भित्तामा लिपिबद्ध छन्। छापिएका छन् शिलालेख झैँ।
एकदिन यस्तै असारको महिना हुँदो हो। मकैबारी फाडेर धान रोपाइँको तयारी गर्दैगर्दा तल्लो घर डिल्लु दाइहरुले खरायोको बच्चा भेट्नु भएछ। म सानी भएकोले बोलाएर दिनुभयो। म र भाइ कस्सिएर खरायोको बच्चा लिन गयौँ।
भाइले आफै बोक्ने जित गर्यो। मलाई आफूलाई त्यो सानो खरायो बोक्न मन नभएको कहाँ हो र? ऊ मभन्दा सानो भएकोले मात्र मैले हुन्छ भनिदिएँ। लिएर आउँदै थियौँ।
भाइ आली उक्लन सकेनछ, सानो खरायो आलीमा राखेर उक्लने भएछ। खरायोको बच्चा एकैछिनमा दगुरेर अलाप भयो। कता गयो कता। म धेरैबेर त्यसैलाई सम्झिएर रोइरहेँ।
माथ्लोघर बडाकोमा रोपाइँको दिन थियो। सबै ठूला मान्छे जति खेतमा। हामी केटाकेटी मात्र खेल्दै थियौँ। कुखुराको खोर छेउमा काक्रा फलेको रहेछ। भाइले लहरामै झुन्डिएकै अवस्थाको एउटा काक्राको चिचिला टोकिहाल्यो। दाँतको दागै स्पष्ट देखियो।
अब सब केटाकेटी डरायौँ। दिउँसोतिर सबैजना घर आउनु भयो। दिनेशले अघि नै बडालाई घटनाको वृतान्त सुनाइसकेछ। त्यसपछि बडाले सबैलाई भेला पारेर उठबस गर्न लगाउनु भयो। यस्ता बिज्याइँ त कति-कति, यहाँ सबै लेख्न थाल्यो भने यो लेख सायद किताब बन्छ।
हरि प्रावी, जहाँ मैले प्राथमिक शिक्षा लिएको र मेरो बाल्यकाल बिताएको विद्यालय। पढाइमा राम्रो भएकाले सबै शिक्षकको प्यारी विद्यार्थी म। विद्यालयको हाजिरी पुस्तिकामा सबैभन्दा धेरै हाजिर भएको र विद्यालय आउँदा सरसफाई र चिटिक्क परेर जाने विद्यार्थी भनेर पुरस्कारसमेत हात पारेकी थिएँ त्यसताका।
पुरस्कार खै के थियो, अहिले बिर्सिएँ। चार कक्षातिर पढ्दाको कुरा हो, स्कुलमा एकजना केटा आयो। कति कक्षामा पढ्थ्यो अहिले सम्झना छैन। त्यो केटा बोल्न नसक्ने तर बाँकी सबै बुझ्ने। ऊ साह्रै छुच्चो र जिद्दी स्वभावको थियो।
स्कुलमा ऊ भनेपछि केटीहरु त डराउने नै भए, समान उमेरका केटाहरुसमेत हच्किन्थे। किनकि उसले सबलाई कुटेर र लडाएर थर्कमान पारेको थियो। जसको पनि कक्षामा छिर्ने पिटेर भाग्ने।
स्कुलमा अरु केटाहरुले उक्साएको भरमा खेलिरहेका केटीहरुलाई लडाउने, जिउमाथि चढ्ने गर्थ्यो। उसको त्यो हर्कत अरु केटाहरुलाई हाँसोको बाहना बन्थ्यो। सरहरुले उसलाई सजाय नदिएको होइन, कतिसम्म भने पिटाइ खाएर पनि ऊ हाँस्दै हाँस्दै आउथ्यो। त्यस्तो जब्बर थ्यो।
उसको नाम के हो मलाई अहिले पनि थाहा छैन। तर सबैले एटेबेटे भनेर बोलाउँथे। म पनि उसलाई त्यही नामले चिन्छु। एकदिन क्लासमा आफू बस्ने बेन्चतिर जाँदै थिएँ, एटेबेटेले मलाई छिर्के लगायो।
म हुत्तिएर पर पुगेँ, लगभग लडेँ। मलाई असह्य भयो। त्यत्तिनै बेला त केही गरिनँ तर मनमा यसलाई म ठिक पार्छु भन्ने अठोट गरेँ। उसँग मनमा अलिअलि डर त थियो नै।
जब ४ बजे स्कुल छुट्टीको घण्टी बज्यो। म एटेबेटेलाई हेर्दै थिएँ, ऊ त मेरै कक्षाबाट निस्किँदै रहेछ बाहिर। हुलमुलमा पछाडिबाट उसको ढाडमा तीन मुक्का लगाएँ। र यसरी भागेँ कि त्योभन्दा अघि त्यति बल लगाएर दौडेकै थिइनँ।
पाँचसय मिटर परसम्म उसले मलाइ पछ्यायो। झण्डै-झण्डै छुला गरी। तर म यसरी दौडिएँ कि उसले मलाई भेटेन। केहीबेर दौडिएपछि पर पुगेर पछाडि फर्केर हेरेँ, ऊ जाँदै रहेछ। अब म पनि घर गएँ। मनमा सफलताको हर्ष र मुहारमा मन्द मुस्कान लिएर।