केही दिनअघि काठमाडौंमा भाडामा दिइसकेको कोठा दलित भन्ने थाहा पाएपछि नदिएको घटनामा घरधनी पक्राउ परेपछि समाजमा तीव्र प्रतिकृयाहरु आए। विशेषगरी समाजिक सञ्जालमा रुपाको पक्ष र विपक्षमा चर्को बहस भयो।
काठमाडौंबासी विशेषगरी नेवार समुदाय चर्को रुपमा विपक्षमा उत्रियो। रुपाको पक्षमा झिनो आवाज आयो। केही औंलामा गन्न सकिने संख्यामा राजनीतिकर्मीहरुले दलितहरुले आवाज उठाए। प्रमुख राजनीतिक व्यक्तित्वहरु यसमा तटस्था बसे।
तटस्थ अर्थात् किनारामा बसे त छिटा नलाग्ला। एउटा घर भाडामा लगाउने कुरामा किन पो बोल्नु पर्यो र? यसले खासै के फरक पर्ला र? बरु बहालवाला एकजना मन्त्रीले यसलाई भोटमा भजाउन सक्ने सम्भावना देखे।
धेरै नेताहरुलाई रुपाको पक्षमा बोलौं नेवार समुदाय रिसाउला कि भन्ने डर, रुपाको विपक्षमा बोलौं जातीय भेदभाव अन्त्यको त्यत्रो प्रतिवद्धता विपरीत हुने भन्ने विरोधाभास भएको हो कि जस्तो दृखियो। आफूलाई प्रत्यक्ष फाइदा छैन भने कोही नबोल्नु र तटस्थ रहनु समकालीन राजनीतिकर्मीहरुको विशेषता नै हो।
उकासेर होस् वा स्वतस्फूर्त होस्, भेदभाव भएकै छ। दिइसकेको कोठा दलित भएकै कारण दिन नसकेको कुरा उनले फोन संवादमा प्रष्टसँग भनेकी छन्। तर घर धनीले जुन किसिमको नरम व्यवहार गरेकी छन्, त्यस्तो नरम व्यवहार आम गैरदलितहरुले दलितहरुलाई गर्दैनन्।
उनले नरिसाउनु है, आउँदै गर्नु है भनेर आफ्नोतर्फबाट आत्मग्लानी व्यक्त गरेकी छन्। तर आत्मग्लानी वा पछुतो मान्दैमा त्योभन्दा पहिले गरिसकेको गल्ती क्षम्य हुन सक्दैन। तथापि यो घटनामा घरभाडामा खोज्ने महिलाको व्यवहार केही महिना अघिसम्म अख्तिायारले गर्ने गरेको स्टिङ अपरेसन जस्तो लाग्छ।
घुस तयार गरेर अख्तियारले सेवाग्रहीमार्फत कर्मचारीलाई घुस दिएकै शैलीमा रुपाले सरस्वतीलाई फन्दामा पारेको देखिन्छ। जसरी कर्मचारीतन्त्रमा भ्रष्टाचार व्याप्त छ त्यसैगरी समाजमा जातीय भेदभाव व्याप्त छ।
केही समय अघि अख्तियारले स्टिङ अपरेसनमा रोक लगाउनु र हालसालैको घटना प्रमाण नपुग्नु एउटा संयोग मात्र होस् भन्ने कामना गरौं।
यो समाज रुपान्तरणका लागि राज्य पक्ष अनुदार हुँदै गएको लक्षण नहोस्। राज्यका अंगहरुले दुवै विषयहरुमा भविष्यमा सकारात्मक भूमिका खेल्नेछन् र कृष्णगोपाल प्रवृत्ति दोहोर्याउने छैनन् भन्ने कामना पनि गरौं।
हाम्रो समाजमा गैरदलितहरुमा दलितहरुप्रति हेयभाव जमेर बसेको छ। आम मानिसले सामाजिक सञ्जालमा व्यक्त गरेको धारण त्यही कुराको प्रमाण हो। आम जनधारणाभन्दा पनि चिन्ताको विषय राज्यको उच्च पदमा आसिन व्यक्तिले खुल्लमखुल्ला गरेको समर्थन र सम्भवतः नदिखिने गरी दिएको दबाब हो।
मानिसहरुमा जातीय भेदभाव र हेयभाव गडेर बसेको छ भन्दैमा एक्काइसौं शताब्दीको राज्य र समाजले पनि त्यही व्यवहारलाई सही देख्नु लाजमर्दो कुरा हो। समाजले र राज्यले गर्ने व्यवहार परिवर्तन नभएमा आममानिसमा भएको जातीय भेदभाव निर्मूल गर्न अझै कैयौँ पुस्ता र सयौं वर्ष लाग्नसक्छ।
राज्यको यस्तै व्यवहार रहिरहेमा गतवर्ष रूकममा भएको जस्तो नरसंहार भविष्यमा दोहोरिरहनेछ र हालैको कोठाभाडाको घटना त जातीय भेदभावसँग सम्बन्ध नै नभएको मानिने छ।
धर्म र संस्कारको नाममा आधुनिक समाजमा छुवाछुत स्वीकार्य छैन। यदि कुनै स्वरुपमा यसलाई राखिराख्ने चाहना हो भने त्यो हाम्रो देश र समाजको लागि निधारमा लगाएको कलंक हो। यो समुद्रपारिबाट हेर्दा पनि टलक्कै टल्किएको देखिनेछ।
झापास्थित हाम्रो गाउँमा माइला किस्कू नामका एकजना दाइ हुनुहुन्छ। उहाँको जात सतार (सन्थाल) हो। सतारलाई परम्परागत रुपमा दलित वा अछुतको रुपमा लिइन्छ।
करिब २० वर्ष जति पहिले गाउँमा एउटा मन्दिरको स्थापना गरियो। त्यो मन्दिर माइला दाइ बस्ने घरसँगै जोडिएको थियो। सतारहरुमा खस हिन्दुहरुले जस्तो मन्दिरमा पूजा गर्ने चलन हुँदैन। मन्दिरमा गाउँका सबैजना पूजा गर्न गए पनि माइला दाइ र उहाँको परिवार सुरुसुरुमा पूजा गर्न जाँदैन थिए।
त्यसका पछाडि समाजको र उहाँको परिवारको त्यही परम्परागत सोचाइले काम गरेको थियो सायद। उहाँलाई पूजा गर्न जानू पनि कसैले भनेन, नजानू पनि कसैले भनेन। तर केही समयपछि उहाँ आफै मन्दिर परिसरमा हुने भजनमा आउन थाल्नु भयो। विस्तारै मन्दिरको ढोका बाहिरबाट पूजा गर्नु भयो।
केही दिनपछि उहाँ मन्दिर भित्र नै पसेर पूजा गर्न थाल्नु भयो। उहाँलाई फेरि पनि कसैले केही भनेन। भन्नुपर्ने आवश्यकता पनि थिएन। दलितले मन्दिरमा पसेर पूजा गरेकोमा केही व्यक्तिले गरेको खासखुस समाजका अगुवाहरुले सामसुम पारे।
त्यो मन्दिरमा गाउँका दलित तथा गैरदलित सबै आफ्नो इच्छाअनुसार पूजा तथा भजन कीर्तनमा जान्छन्। त्यो बेला मलाई आमाले शनिबारको दिन बिहानै नुहाएर पिपलको बोटमा पानी चढाउन लगाउनु हुन्थ्यो।
पुस महिनाको एउटा शनिबारको दिन म पिपलको पातमा पानी चढाउन गएको थिएँ। माइला दाइ कल (ट्यूबवेल) मा नुहाउँदै हुनुहुन्थ्यो। म पिपलमा पानी चढाएर मन्दिर दर्शन गर्दै थिएँ। माइला दाइ पनि अम्खरामा पानी लिएर आउनु भयो।
उहाँ पनि म जस्तै शनिबार बिहानै नुहाएर पिपलमा पानी चढाउनु हुँदोरहेछ। करिब २० वर्ष अगाडिको यो दृष्य मेरो कल्पनाभन्दा बाहिरको थियो। मेरो दृष्टिकोणमा माइला दाइको यो कार्य उहाँलाई गाउँलेहरुले अरु समान मानेर अंगालेकोले माइला दाइले पनि समाजमा एकिकृत हुन गरेको व्यवहार थियो।
माइला दाइको धर्म र संकारप्रतिको आस्था र लगाव माइला दाइको स्वविचार हो। माइला दाइ वा उहाँ जस्तै दलितहरुले अरुको जस्तै संस्कार गर्नु वा नगर्नु विशुद्ध व्यक्तिगत वा पारिवारिक छनौट हो। यसमा समाजले न त यो गर्नैपर्छ भन्न सक्छ या ता यो गर्नै हुँदैन नै भन्नसक्छ।
अन्त कतै दलित भएको आधारमा भएको भेदाभाव र हिंसाका घटनाहरु सुन्दा मलाई मेरो गाउँ सम्झेर गर्व लाग्छ। यस गाउँसँग केही छ देशमा देखाउनका लागि।
झापाबाट नै प्रतिनिधित्व गर्ने वर्तमान प्रधानमन्त्रीको अघिल्लो कार्यकालमा दमकमा भ्यू टावरको योजना बन्दै गर्दा हाम्रा गाउँबासीहरु सात किलोमिटर टाढाको सदरमुकाम जान ५० रुपैयाँ तिरेर डुंगाबाट देउनियाँ खोला पार गर्दै थिए।
केन्द्रमा प्रभावशाली मानिनेहरुले प्रतिनिधित्व गरे पनि चरम उपेक्षित मितेरी गाउँ हाल हल्दीबारी गाउँपालिका वडा नम्बर २ र ३ को सिमानामा पर्छ।
समाजलाई कस्तो बनाउने भन्ने कुरा समाजकै व्यक्तिहरुको निर्णय हो। हरेक समाजमा संयोजक र विभाजक तत्वहरु हुन्छन्। राज्य सत्ता नै विभाजक बनेर कृष्णगोपाल प्रवृत्तिको रुपमा निस्किनु विडम्बना हो।
त्यसो त राजनीतिले सत्य र औचित्यको बाटो बिराएको धेरै भयो। जब राजनीति भिडको पछि लाग्छ तब कृष्णगोपाल प्रवृत्ति हावी हुन्छ। समाजमा हालैको घटनामाभन्दा धेरै माथिल्लो स्तरको जातीय छुवाछुत मान्ने मान्छेहरु छन् वा धेरै जनाले यो छुवाछुत होइन भनेको भरमा यो छुवाछुत नहुने भन्ने हुनै सक्दैन।
अथवा उनीभन्दा उग्र विचार राख्नेहरु समाजमा प्रशस्त छन् भन्दैमा उनी निर्दोश हुँदिनन्। मेरो समाज र राज्यले समाजमा संयोजकको काम गरोस् अविभावकको हैन। यदि यो कसरी गर्ने भन्नेमा सन्देह भए मेरो गाउँबाट सिकोस्।
म कामना गर्दछु दमकमा बन्ने भ्यूटावरको डिजाइन यस प्रकार गरियोस् ताकि त्यहाँबाट चढेर हेर्दा मेरो गाउँ, त्यहाँको मन्दिर र पिपलको बोट दिखियोस्। र, माइला दाइ जस्तै अन्यले पिपलमा पानी चढाएको देखियोस्।
कुनै दिन भ्यूटावरमा चढेर त्यहींको क्षेत्रलाई प्रतिनिधित्व गर्ने वर्तमान कार्यकारी प्रमुख र वरिपरि बस्ने कृष्णगोपाल प्रवृत्तिले पनि मेरो गाउँ हेरोस् र केही सिकोस्।