‘म प्रत्येक पल क्रिश्चियन इरिक्सनलाई सम्झिन्छु।’
माथिका भनाइ हो डेनमार्कका प्रशिक्षक कास्परका। इरिक्सन युरोकपको पहिलो खेलमैं बेहोस भएर मैदानमा ढलेका थिए। त्यसबखत् डेनमार्कका खेलाडी तथा सिंगो फुटबल स्तब्ध बनेको थियो। बेहोस इरिक्सनका वरिपरि डेनिस खेलाडीहरू थिए। सबैका आँखा रसाएका थिए। एउटा महाविपत्ति, मानौं एउटा प्रलय आएको थियो।
भनिन्छ, संकटको घडी नै साहसको घडी हो। जसलाई कुशलतापूर्वक रेफ्री र खेलाडीले निर्वाह गरे। रेफ्री र खेलाडीले सही निर्णय गरेकै कारण आज इरिक्सन जीवित छन्। चिकित्सकसमेत रेफ्री र खेलाडीको प्रशंसा गरिरहेका छन्। केही मिनेट मात्रै ढिलो भएको भए उनको मृत्युसमेत हुनसक्ने चिकित्सकको भनाइ छ। इरिक्सनको उपचार भइरहेको छ। उनी ठिक हुँदैछन् तर अब उनी फुटबलको मैदानमा तत्काल देखिने छैनन्। शायद डेनिस खेलाडीलाई त्यो चोट नै प्रेरणा भएको हुनसक्छ किनकि, युरोकपका सुरूवाती दुई खेल हारेको डेनमार्क युरोकपको सेमिफाइनलमा पुगिसकेको छ। इंगल्याण्ड र डेनमार्कबीचको सेमिफाइनल यहीँ बुधबार वेम्बली स्टेडियममा हुनेछ।
युरोपको चिसोमा फुटवलको ज्वरोलाई आश्चर्य मानिदैन बरू फुटबल नहेर्नुलाई आश्चर्यको रूपमा लिइन्छ। विश्वकप अथवा युरोकपमा छनोट नहुनुलाई राष्ट्रिय विपत्ति नै मानिन्छ। यसलाई फुटबलको पागलपन भनौं अथवा खेलप्रतिको प्रेम। अझ इटालीमा त फरक फरक क्लबको समर्थक हुँदा लोग्ने स्वास्नीका बीचमा डिभोर्स भएका कैयौं उदाहरण छन्।
युरोप आधुनिक फुटवलको सबैभन्दा उर्वर भूमि। फुटबललाई व्यवसायिक बनाउनुमा युरोपको निकै महत्वपूर्ण भूमिका छ। आज विश्व फुटवलले पाएका जति प्रतिभाहरू छन् तीमध्ये धेरै जसो युरोपकै प्रतिष्ठित क्लबबाट व्यावसायिक फुटबल खेल्ने गर्छन्। पैसा र प्रतिष्ठा दुवै हिसाबले आकर्षणको केन्द्र बनेको युरोपियन फुटवलको चर्चा बीना आजको विश्व फुटवलको चर्चा नै अधुरो हुन्छ।
समवेदना, कोलाहल अनि आतंक। चौतर्फी मृत्युको साइरन। युरोप प्रारम्भमैं कोरोनाले सबैभन्दा बढी पीडित बन्यो। युरोकप सञ्चालनले भाइरस विरूद्धको लडाइँमा थप चुनौती थपिएको छ। डब्लुएचओको अनुमानलाई आधार मान्ने हो भने युरोप तेस्रो कोरोना कहरको सन्निकट उभिएको छ।
युरोकप सेमिफाइनल र फाइनल खेल हेर्न ६० हजार दर्शकहरूले प्रवेश पाउने भएका छन्। ब्रिटेनमा कोरोनाका कारण प्रतिवन्ध कायम रहेको भए पनि जुलाई ६ र ७ तथा ११ मा क्रमश सेमिफाइनल र फाइनलका लागि अनुमति दिइएको छ। दर्शलाई मैदानमा प्रवेश पाउन भने सहज छैन। उनीहरूले १४ दिन अघि कोरोनाको खोप लिएको प्रमाण पेश गर्नु पर्नेछ अथवा कोरोना नेगेटिभ भएको रिपोर्ट पेश गर्नु पर्नेछ।
युरोकप पहिले जस्तो रोमाञ्चक भने छैन। भाइरसका कारण लगभग लुगा धुने फल्याक जस्तै भएका युरोपका शहरहरू आफ्नो पुरानो परम्परागत लयमा फर्किन संघर्षरत छन्। आजको संकटापन्न घडीमा सञ्चालित युरोकप नयाँ दिनको नयाँ घाम हुने या भाइरसको नयाँ इपिसेन्टर अनुमान लगाउन भने निकै कठिन छ। नयाँ हावा या नयाँ जीवन प्रश्न भने सोझिएकै छ।
आजको यो छोटो आलेखमा युरोकपको समीकरण, सम्भावित नायकहरू तथा भिडन्तको रोमाञ्चक मोडका बारेमा निकै समष्टिमा विवेचना गर्ने कोशिश गरिएको छ। फुटवल पण्डितका अनुमानहरूलाई मात ख्वाउँदै फ्रान्स, जर्मनी, पोर्चुगल र बेल्जियम जस्ता देशहरू घर फर्किसकेका छन्। स्वीजरल्याण्ड पराजित भए पनि सबैको मन जित्दै प्रतियोगिताबाट बाहिरियो। कहिलेकाहीँ फुटबलमा हार्नेहरू जित्नेभन्दा बढी सम्मानका लायक हुन्छन् भलै उनीहरूका हातमा कुनै ट्रफी नहोस्।
फ्रान्स विश्व च्याम्पियन थियो। धेरैको अनुमान थियो फ्रान्स युरोपियन च्याम्पियन बन्न सक्छ। हरेक पोजिसनमा फिट खेलाडी थिए। एकसेएक स्टार थिए। फ्रान्सका प्रशिक्षक डेस्क्याम र खेलाडीहरू बीचमा भएको त्रुटि र विवादका कारण विश्व च्याम्पियन फ्रान्स पराजित भयो भन्नेहरू पनि छन्। ग्रुप अफ डेथबाट छनोट भएको फ्रान्स स्वीजरल्याण्ड विरूद्ध ३–१ को अग्रता हुँदासमेत समालिन नसक्दा पेनाल्टीमा पराजित भएको थियो। पोग्वा, रामियो र किंग्से कोमनका बीचमा समेत विवाद भएको थियो। एम्बापे, एनगोलो कान्टे जस्ता खेलाडीहरू आफ्नो लयमा नदेखिनु तथा आन्तरिक टकरावको पनि भूमिका रहेको समाचारहरू आइरहेका छन्। कहिलेकाहीँ राजनीतिमा जस्तै फुटबलमा जुँगाको लडाइँ हुने गर्छ शायद त्यही लडाइँको शिकार फ्रान्स भएको हुनुपर्छ।
अनुमानमा बदलाव आएको छ। स्पेन इटाली, इंगल्याण्ड र डेनमार्क सेमिफाइनलमा भिड्दैछन्। डेनमार्कले इंगल्याण्डको सामना गर्दैछ भने स्पेन इटालीसँग भिड्दैछ। १९६८ यता इटालीले युरोकप जितेको छैन् तर यही टिम हो जसले पछिल्ला ३२ खेलहरूमा पराजय भोग्नुपरेको छैन। २०१८ को विश्वकपमा छनोटसमेत हुन नसकेको इटालीको आजको सफलताको राज पूर्व म्यान सिटीका म्यानेजर रोवर्टो मानसिनीलाई जान्छ। इटालीले वेम्बलीमा हुने सेमिफाइनलमा स्पेनको सामना गर्दैछ।
स्पेनको कथा भने बेग्लै छ। १९६४ मा युरोपियन च्याम्पियन्ससिप जितेयता स्पेन ठूला प्रतियोगितामा क्वाटरफाइनलबाट अगाडि बढ्न सकेको थिएन। तर २००४ मा लुइस आरागोनेस स्पेनको प्रशिक्षक नियुक्ति भएपछि भने स्पेनको फुटबलमा सुधारका संकेतहरू देखिए। प्रारम्भमा निकै चुनौती र आलोचनाको सामना गर्नुपर्यो। आरागोनेसले स्पेनको खेल्ने शैलीलाई नयाँपन दिए। २००८ मा स्पेनले ४४ वर्ष पछि उपाधिको खडेरी मात्र तोडेनन् स्पेनको फुटबलमा स्वर्णयुगको जन्म नै भयो। २०१० को विश्वकप तथा २०१२ को युरोकपसमेत स्पेनले जित्यो तर आज स्पेन आफ्नो साख बचाउन संघर्ष गरिरहेको छ।
अर्को दाबेदार इंगल्याण्ड १९६६ पछि पहिलोपटक फाइनलमा पुग्ने सपना र लक्ष्यका साथ मैदानमा देखिने छ। जर्मनीलाई हराएर मनोबल उच्च बनाएको इंगल्याण्ड युक्रेनलाई ४–० ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो। जुनबेला इंग्ल्याण्डमा एक से एक स्टार खेलाडीहरू थिए त्यो बेला इंग्लैंडले एउटा पनि उपाधि जित्न सकेन। बेकह्याम, कोल, फर्डिनान्ड, टेरी, ल्यामपार्ड, स्कोल्स, जेरार्ड, रूनी, ओवेन, नेभिल जस्ता खेलाडीले भरिएको टिम सधैं प्रतियोगिताको दाबेदार त मानिन्थ्यो तर सफलता भने कहिल्यै पाउन सकेन।
विश्वकप २०१८ पछि भने केही फरक देखिएको छ। २०१८ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको इंग्लिश टोलीमा दबाबभन्दा आत्मविश्वास देखिएको छ। युरोकपको सेमिफाइनल आफ्नै घरेलु मैदानमा हुने छ जसको फाइदा इंगल्याण्डलाई हुन सक्छ। प्रशिक्षक ग्यारेथ साउथगेटले युवा खेलाडीलाई टिममा समावेश गरेका छन्। भनिन्छ फुटबल इंगल्याण्डमा जन्मियो तर त्यसलाई हुर्काउने काम भने ब्राजिलले गर्यो।
आशा गरौं, मृत्यु र त्रासका असिनपसिन जीवनहरूमा खेलको माध्यमबाट नयाँ आवाजहरू घन्किने छन्। पोखिनेछ सडकभरि खुशी, उज्योलो र अन्तर्राष्ट्रिय भाइचाराका गुञ्जनहरू! कोरोनाको कहरमा सञ्चालित युरोकपमा फुटबलको ज्वरोसँगै खेलाडीहरूको आँशु मिसिएको छ।
बस् कामना गरौं इरिक्सनको स्वास्थ्यको! कामना गरौं युरोकप सफलताको।