प्रिय साथी रोजिता,
तिम्रो आलेख पढेको दिनदेखि मन निकै खिन्न छ। सहज वातावरणमा पाइला पाइलामा नयाँ कुरा सिक्दै हुर्किनु पाउनु पर्ने बाल्यकालको समयमा तिमी र तिमी जस्तै थुप्रै रोजिताहरुले केटी भएकै कारणले हिंसाको त्रासमा हुर्किनु परेको देख्दा मन एकतिर विक्षिप्त अनि अर्को तिर आक्रोशित भैरहेको छ।
सधैँ केही न केही श्रृजनशील काममा लागिरहने, र विषम् परिस्थितिमा पनि संयम रहेर रचनात्मक समाधान निकाल्ने तिम्रो जीवनका 'डार्केस्ट सिक्रेट'हरु पढेपछि अनेकौँ विभेद र हिंसाहरुसँग संघर्ष गरेर विभिन्न क्षेत्रमा उदाहरणीय काम गरेका तिमी र तिमी जस्तै सम्पूर्ण नारीहरुलाई मेरो सलाम छ।
'मि टू मुभमेन्ट' सुरु भएपछि एउटा कुरा के प्रष्ट भैसकेको छ भने लिंगको आधारमा हुने विभेद र हिंसा खुला भनिएका पश्चिमादेखि पुरातनवादी जस्तो देखिने पूर्वीय समाजमा कुनै न कुनै रुपमा व्याप्त छ।
खासगरी सामाजिक संरचना र परम्पराहरुका कारणले हाम्रो समाजमा नारीहरुमा घरबाट नै विभेद सुरु हुन्छ। व्यवहार र सोचाइ दुवै किसिमका विभेद र कतै-कतै हिंसाका उदाहरणहरु हाम्रै वरिपरि प्रशस्तै छन्।
उदाहरणको लागि मेरै अनुभव सुनाउँछु। म कक्षा दशसम्म गाउँमा पढेर प्लस टु पढ्नको लागि काठमाडौँ आएको थिएँ। सबै केटा साथीहरुमात्रै बास्केटबल खेलिरहेको बास्केटबल कोर्टमा रोजिता एकमात्र केटी देख्दा त्यो बेलामा 'केटी भएर पनि केटाहरुजस्तै बास्केटबल खेल्ने रहेछौ' भन्ने सोच्ने म एक्लो थिइनँ।
पछि आएर मात्रै महसुस भयो कि सतहमा सोच्दा सामान्य देखिने यस्तो सोचाइ म हुर्किँदैदेखि प्रत्यक्ष वा परोक्ष रुपमा समाजले मलाई सिकाएको वैचारिक रुपमा हुने लैङ्गिक विभेदको उदाहरण थियो।
केटी मान्छेले यस्तो गर्नु हुन्छ अनि त्यस्तो गर्नु हुँदैन भनेर अघोषित रुपमा विद्यमान सामाजिक कार्य विभाजन देखे-भोगेका हामीलाई यो सोचाइमा समस्या नलाग्न पनि सक्छ। कुरा ठिकै त हो जस्तो लाग्न सक्छ। तर यी र यस्तै छोरीमान्छेको दैनिकीमा अंकुश लगाउने चलनहरुबाट नै लैङ्गिक विभेदको सुरुआत हुन्छ।
सूचना, संचार र शिक्षाको प्रभावले आजभोलि नारी माथि हुने सामाजिक विभेदको बारेमा बहस र चेतनाको स्तर बढेको छ। तर यौन हिंसा र शोषणको बारेमा भने अझै पनि कमै मात्र कुरा चल्छ।
हरेक वयस्क मानिसको जीवनको महत्वपूर्ण विषयको बारेमा कुरा गर्नु नै लज्जाको विषय हुने यही खराब चलनको कारणले कतिपय अवस्थामा यौन हिंसामा पीडित नारीलाई नै नराम्रो नजरले हेर्ने र दोष लगाउने कामसम्म हुन्छ।
कतिसम्म भने यौन हिंसामा पीडित हुने नारीले पीडकको इज्जत तथा प्रतिष्ठा बचाइदिन आफूमाथि हुने हिंसाको बारेमा कुरा नगर्न दबाब दिनेसम्मका घटना हुनु भनेको निन्दनीय हो।
साथी रोजिता, तिमीले लेखमा भने जस्तै हामीकहाँ दुई थरीका समस्या छन्। एक त हामी माझ के गर्दा यौन हिंसा हुन सक्छ भन्ने जस्तो आधारभूत चेतनको खडेरी छ। अर्कोतर्फ हिंसा विरुद्धमा कानुनहरु बने पनि पीडकलाई कानुनी कारबाहीको दायरमा ल्याउन विभिन्न सामाजिक तथा संरचनात्मक समस्या छन्।
हिंसा जोसुकैले जेसुकै कारणले गरोस्, पीडितलाई न्याय र पीडकलाई सजाय मिल्नै पर्छ। सँगसँगै यौन हिंसा एउटा यस्तो विषय हो जुन न्यूनिकरण गर्न समाजमा यौन हिंसाको बारेमा चेतना अनि उचित यौन शिक्षा हुनै पर्छ।
अवस्था कस्तो सम्म छ भने हुर्किँदै गर्दा विपरीत लिङ्गी साथी वा सहकर्मीसँग कसरी व्यवहार गर्नु पर्छ भनेर न घरमा कसैले सिकाउँछ न त स्कुल कलेजका कक्षाहरुमा बहस हुन्छ।
जबसम्म यसको बारेमा खुलेर कुरा हुँदैन, जबसम्म हुर्किँदै गरेका किशोर किशोरीहरुलाई यौन हिंसाको बारेमा जानकार बनाइँदैन, तबसम्म हिंसा विरुद्धको कानुनले पीडकलाई कारबाहीको दायरामा त ल्याउँछ तर कलिलै उमेरदेखि हुने लैँगिक विभेद र हिंसाका घटनाहरु रोकिँदैनन्।
लैङ्गिक समानता, यौन हिंसा विरुद्ध कारबाही र यौन शिक्षामा वृद्धि पुरुषहरुले महिलाहरुको लागि गरिदिने कुरा होइन। यो त हामी आफू बस्ने समाज अझै सभ्य अनि विकसित बनाउने काम हो।
जबसम्म हाम्रो समाजको आधा हिस्सा डर-त्रासमा बाँच्न बाध्य हुन्छ, तबसम्म हामी कसैगरी सफल समाजको नागरिक बन्न सक्दैनौँ। समस्या देख्दादेख्दै पनि तैँ चुप मै चुप नगरौँ।
लैङ्गिक समानता र यौन शिक्षाको बारेमा सिक्ने मात्रै होइन, सिकेका कुराहरु व्यवहारमै लागु गरौँ। र सबैभन्दा महत्वपूर्ण कुरा के भने यी विषयमा जानकारहरुले आफ्नो घरबाट नै परिवर्तको सुरुआत गरौँ।
अन्त्यमा,
रोजिता, तिमीमार्फत सबैजनालाई आग्रह गर्न चाहान्छु, हाम्रो समाज सुरक्षित र समान बनाउन हातेमालो गरेर अगाडि बढौँ। प्रतिज्ञा गरौँ- हामी बदलिने छौँ, हाम्रो समाज बदल्ने छौँ। आउँदा दिनहरुमा कसैले पनि यौन हिंसाको शिकार बन्नु नपरोस्।
यो पनिः
मैले भोगेका ‘डार्केस्ट सिक्रेट्स’