हामी छोरीलाई धेरै राम्रा शब्दहरुले पारिभाषित गरेको पाइन्छ समाजमा। छोरी फूल हो, छोरी घरको गहना हो, छोरी इज्जत हो, छोरी ममताको मूर्ति हो, छोरी प्रेरणाको स्वरुप हो, छोरी आदर्श हो इत्यादि।
यी अति सुन्दर शब्दले चिनिँदा पक्कै पनि गर्व र खुसीको अनुभूति त हुन्छ नै होला। तर यसभित्र अनेकौँ त्याग लुकेका छन्, ठूलो जिम्मेवारी बोकाइएको छ कि यी सुन्दर शब्दको संरक्षण गर्दै गर्दा कयौँ सपनाहरु दबिएका छन्। हामी धेरै राम्रो बनाउन खोज्दा नराम्रो पो भएको छ कि।
मानिस चाहे छोरा होस् या छोरी, असल हुनु आफैमा धेरै राम्रो कुरा हो। हामी सबैले असलको बाटो अंगाल्नु पर्दछ तर, असलको नाममा बोझको भारी त बोकाइएको छैन भन्ने कुराको पनि हेक्का राख्नु जरुरी छ।
छोरी हामी जन्म त एउटा घरमा लिन्छौँ तर जीवन अर्कैको घरमा बिताउनु छ भन्ने कुराको छाप उसलाई बालक हुँदा नै उसको मस्तिष्कमा बसालिएको हुन्छ। घर परिवार सम्हाल्नु छ, कुनै घरको देवी, लक्ष्मी भएर जानु छ, पराईलाई आफ्नो बनाउनु छ आफ्नालाई पराई मान्नु छ भन्दै बालकदेखि नै उसको तालिम सुरु हुन थाल्छ।
भाइका लुगा धुनदेखि सुरु भएको पुरै घर सम्हाल्ने बनाएर निकाल्नु त्यो घरको ठूलो उत्तरदायित्व हुन्छ। छोरी भएर सोच्दा कसरी सकिएला त जस्तो महसुस हुन्थ्यो। फेरि बुवा-आमाको सम्बन्ध, दाइ-भाउजूको सम्बन्ध, इस्टमित्रको सम्बन्ध, वरपर समाजमा गाँसिएका सम्बन्ध देख्दा सजिलै सकिने भएर नै त होला सबै खुसी नै देखिन्छन् जस्तो पनि लाग्थ्यो।
तर यो प्रक्रिया त एक सत्य थियो, प्राकृतिक नियम र चलिआएको चलन जो थियो। विवाहको परिभाषा नै गर्ने हो भने विवाह भनेको त भावना र मन खुसी भएर गाँसिएको सम्बन्ध, दुई भिन्न परिवारबीच गाँसिने सम्बन्ध, दुई आत्माको मिलन, सँगै बाच्ने सँगै मर्ने वचनका साथ गाँसिएको पवित्र बन्धन मानिन्छ।
विवाह आफैमा कति सुन्दर छ र यस सम्बन्धको बारेमा सोच्दा मुहारमा मुस्कान आउनुका साथसाथै अनौठो किसिमको खुसी छाउन पनि बेर लाग्दैन थियो। फेरि उति बेलै, घर परिवारमा गरिएका, समाजमा सुनिएका कुराहरु जस्तै- घर गरेर खान सजिलो नभएको, आफ्नो घर जस्तो नहुने, घर राम्रो-नराम्रो पर्ने कुराले मन तर्सिन र अतालीन पनि समय लाग्दैन थियो।
अनि म सोच्न बाध्य हुन्थेँ, के साँच्ची नै गाह्रो हो त? आफ्ना रहर, खुसीको कुनै औचित्य छैन त? छोरी हुँदैमा आफ्नाभन्दा पहिले अरुका खुसीको बारेमा सोच्नु पर्ने र जीवन सुम्पिन पर्ने हो त? यस्ता अनेकौ प्रश्नहरुको पहिरो मनमा खस्न पनि बेर लाग्दैन थियो।
आखिर सत्य के हो त? छोरीको जीवन विवाह नहुन्जेल माइती र विवाहपश्चात श्रीमानमा नै भर पर्नु पर्ने हो त? छोरी हुँदैमा हामी कहिलेसम्म भाग्यमै भरोसा गर्ने? छोराले जुन घरमा जन्म लिन्छन्, उनीहरुलाई जन्मना साथ अधिकारको आभास गराइन्छ। कुल धान्ने, मरेपश्चात काजकृया गर्ने,स्वर्गको बाटो खुल्ने र सम्पत्ति खाने इत्यादि।
यस्तो परिवेशमा हुर्केका हुन्छन् छोरा मान्छे जसले गर्दा उनीहरुको आत्मबल बलियो बनाउन मद्दत गर्छ। पारिवारिक आर्थिक स्रोत कति, ऊप्रतिको जिम्मेवारी कति जस्ता कुराको ज्ञान उसलाई पहिले नै थाहा हुन्छ जसले गर्दा उसलाई आफ्नो भविष्यको मार्ग निर्देशन गर्न पनि सहज हुनुका साथै भाग्यमा नभई ऊ आफ्नो कर्म गर्न तिर प्रेरित हुन्छ।
किनकि उसको आफ्नो निश्चित घर छ तर छोरी मान्छेको घर एउटा नभई दुई वटा हुने गर्छ- जन्म घर र कर्म घर। तर उसले निर्धक्कसँग यो नै मेरो आफ्नो घर भन्न भने पाएकी हुँदिन।
म मेरै घरको सानो उदाहरण दिन्छु। सायद म भाग्यमानी थिएँ र मेरो जन्म यस घरमा भएको महसुस हुन्छ मलाई। मेरा बुवा-आमा अशिक्षित भएता पनि उहाँहरुको सोच भने समाजमा शिक्षित परिवार गनिने मानिनेको भन्दा धेरै फराकिलो थियो।
बुवा-आमाले आफूले नपढेका कारण धेरै दुःख पाएका कुरा सुनाउनु हुन्थ्यो। हाम्रो परिवारमा हामी ४ जाना सन्तान छौँ जसमध्ये ए छोरा र हामी तीन छोरीहरु। हामीलाई बुवा-आमाले कहिलै फरक व्यवहार गर्नु भएन। हामी सबैलाई अंग्रेजी मिडियम विद्यालयमा पढाउनु भयो।
त्यो बेला उस्तै शिक्षित परिवार मानिने घरमा पनि छोरीलाई पढाइयो भने पनि सरकारी र छोरालाई अंग्रेजी मिडियम विद्यालयमा पढाउने चलन थियो। यस कदम विरुद्ध आफन्तजानबाट धेरै विरोध खेप्नु पर्यो। 'उम्लिएका छन् कुन दिन पोखिने हुन्, घाँटी हेरी हाड निल्नू, अर्काको घर जाने जातलाई लगानी गरेर गल्ती गरेको' भनी सम्झाउन आउनेको कमी भएन।
दाइको पढाइलाई लिएर भने कोही केही बोल्दैन थिए। चित्त दुखाइ त सिर्फ छोरीलाई बराबर खर्चको हकदार सम्झिएकोमा थियो। अनि त्यो विरोधलाई खपेर बुवा-आमाले हामीप्रति गरेको समानता देखेर अमूल्य उपहार पाएको महसुस हुन्थ्यो।
उपहार भनेको आफू खुसी भएर सम्झना स्वरूप, करकाप, जोर-जबरजस्ती नभई अरु-कसैलाई केही भौतिक वस्तु अथवा सेवा दिइन्छ र त्यसको फलको आशा गरिँदैन।
उपहार भनेको अकस्मात र स्वेच्छाले दिइने कुरा हो। रहर गर्दैमा र हक हो भन्दैमा उपहारमा पाइने कुरा होइन। यस्ता उपहार पाउने हामी मात्र नभई अरु पनि होलान् तर बिरलै हुन्छन्। हामी सँगैका कति साथीहरु त्यही उपहारबाट पनि बन्चित भए यो कुनै नौलो कुरा थिएन।
नपाएकोमा दुखी त थिए होलान् तर हामी हकदार पनि त होइनौँ भन्ने कुरा बच्चा हुँदाबाट सुनाइएको, गरिएको व्यवहारले हुन सक्छ जति दुखी हुनु पर्ने त्यति हुँदैन थिए। हामी पनि अरुले उपहार नपाएको र हामीले पाएकोमा अत्यन्तै खुसी थियौँ।
के हामी छोरी हुँदैमा उपहारको आशामा बस्नु पर्ने हो? उही कोख उही प्रक्रियाबाट जन्म हुँदा कोहीलाई अधिकार कोहीलाई उपहार किन? दाजुभाइबीच अंशबन्डा गरिने जब कि बुवा-आमाको संरक्षणको जिम्मा एकजनाले लिएका हुन्छ। यस्तो बाडफाडमा सबैको चित्त बुझाइ हुन्छ।
छोरीलाई भने अंशको हकदार मानिँदैन। कतिपय परिवारमा छोरीलाई पनि बराबर छोरा सरह अंश दिइएको पाइन्छ भने कुनै परिवारमा बराबर नभई अंशको थोरै भाग छुटाइएको पाइन्छ। यी परिवार साँच्चीकै सराहनीय छन् तर यी परिवारले छोरीको हक नसम्झी उपहार नै सम्झिएर दिएका हुन्छन्। किनकि हकको उत्तरदायित्व हुन्छ भने उपहारको हुँदैन।
कानुनी रुपमा हुनु र व्यत्तिगत सो विवेकले गरिने व्यवहारमा धेरै फरक छ। कानुनले सबैलाई हकदार बनाउछ भने व्यत्तिगत सो विवेकले सीमित परिवारलाई।
पराई घर जानु पर्ने भएकै आधारमा विभेद गरिँदै छ भने जन्मिनु, मर्नु प्राकृतिक नियम हो। त्यसैगरी विवाह पनि सृष्टि धान्ने अत्यावश्यक सम्बन्ध हो। हामी यो सम्बन्धलाई लिएर किन विभेद गर्दैछौँ?
छोरा जन्मिँदा हाम्रा अग्रज बुवा-आमालाई अब विस्तारै हाम्रो काँधको सहाराको जन्म भएको छ भन्ने महसुस हुन्छ। त्यो महसुस हामी छोरी जन्मिँदा किन गर्न सकिरहेका छैनौ? र, अझ बढी काँधमा भारी थपिएको महसुस गरिन्छ किन?
छोरी जन्मिँदा पनि काँधको भारी नसम्झी सहाराको उदयमान प्रकाश सम्झी हेर्ने प्रयास गरौँ त, छोरीलाई पनि छोरा सरहको अधिकार र उत्तरदायित्व सहित हुर्काउने प्रयत्न गरौँ त।
छोरीलाई बराबर पढाइ लेखाइ गरेका छौँ भनेर गर्व गर्नुभन्दा कहीँकतै आफ्नै सन्तानमा विभेद भयो कि भनि सोचौँ त। माया र दयाको प्रालोभन नदेखाइ बराबर हिस्साको हकदार सम्झी हेरौँ त।
जन्मघर भनेको कलिलो माटोलाई कस्तो आकार दिने भनेर निर्धारित गर्ने पहिलो घर हो। त्यसैले हामी छोराछोरीलाई बराबर अधिकार र उत्तरदायित्वको आभास गराउने प्रयत्न गरौँ त। काजक्रिया गर्नेदेखि लिएर भावी दिनमा बुवा-आमाको हेरचाहा गर्ने कार्यको उत्तरदायित्व हामी छोरीलाई पनि सुम्पिन सक्ने बनौँ त।
त्यो कलिलो माटोको आफ्नै अनौठो आकार बनिसकेपश्चात हामी बल्ल वैवाहिक सम्बन्धमा गाँसिन पुग्छौँ। त्यसैले विवाह पछिको घरमा हामी अधिकार खोज्न तिर नलागौँ, त्यो कलिलो माटोलाई राम्रो स्वरूप, आकार दिने तर्फ लागौँ।
बनिसकेको आकारलाई दोहोराएर नयाँ बनाउन खोज्नु कठिन हुनुका साथै बन्ने नबन्नेको पनि निश्चित नरहेको र बनिहाल्यो भने पनि त्यसको सम्भावना न्यूनतम रहेकाले न्यूनतमको बाटो नरोजी सत-प्रतिशत खोजेको जस्तो आकार तयार पर्ने तिर अग्रसर हौँ त।
विवाहपश्चात श्रीमानको आफ्नो हकको आधा हिस्सा अधिकार श्रीमतीलाई दिने कानुनमा परिमार्जन गरी छोरीले आफ्नो अधिकार जन्म लिएको घरमा खोज्ने बनाउँदा धेरै समस्याको समाधान हुन सक्थ्यो कि?
यसो गर्नसाथ हामी छोरीको आत्मबल बढाउने, स्वावलम्बी बनाउने, स्वतन्त्रका साथ जिउन दिने, आफ्नो रक्षा आफै गर्ने, अन्याय र अत्याचार विरुद्ध लड्ने, भाग्यमा नभई आफूले गरेको कर्ममा विश्वास राख्ने, आफ्नो घर आफै बनाउने इत्यादीको वृद्धिमा टेवा पुर्याउन मद्दत गर्छ कि?
जसको प्रतिफल स्वरूप दाइजो प्रथाको उन्मुलन, दासीसरह गरिने व्यवहारको उन्मुलन, पैसा/सम्पत्तिको प्रलोभनले गर्दा निम्तिने सम्बन्ध विच्छेद, सामाजिक असमानताले निम्त्याउने दुर्घटना जस्ता कुराको उन्मुलन हुन सक्छ कि।
छोरीलाई जन्मघरको सम्पत्ति दिने कि पराई घरमा अधिकार खोज्न पठाउने भन्ने बारे चिन्तन गर्नु जरुरी छ। छोरीलाई उपहार नभई उसलाई आफ्नो अधिकार सहितको उत्तरदायित्वको खाँचो छ।