यो लेख सार्वजानिक वृत्तमा समाजका अगुवा, बुद्धिजीवी र रोल मोडेल भनेर चिनिने, नेता, शिक्षक, व्यापारी, समाजसेवी, लेखक, कलाकार, डाक्टर, राजनीतिक विश्लेषक, गाउँका अगुवा र अन्य सार्वजानिक जीवन बिताउने (केही अपवाद बाहेक) व्यक्तित्वहरुप्रति समर्पित छ जसले सिंगो समाजको प्रतिनिधित्व गर्दछन्।
ती व्यक्तित्वहरु, जो समाजमा फरक फरक जिम्मेवारी निर्वाह गर्दै आएका छन् र कुनै न कुनै रुपमा सार्वजानिक जीवनसँग सम्बन्धित छन्। यस्ता व्यक्तिहरु सार्वजानिक कार्यक्रमहरुमा, सामाजिक संजालमा र चिया पसलहरुमा, गोष्ठी र सेमिनारहरुमा, विकासे बैठकहरुमा आफ्ना विचारहरु सहित प्रस्तुत भइरहन्छन् र मानिसहरुलाई आफ्ना विचारहरु पस्किएर प्रभावित पार्न हरसम्भव कोशिशरत हुन्छन्।
तर निराशाजनक कुरा के छ भने, हरेक सहर र गाउँमा चलायमान यी बौद्धिक, अगुवा भनेर चिनिने जमात सामाजिक न्यायका मुद्दाहरुमा भने प्रायः मौन बस्न रुचाउँछन्। विभेद, हिंसा, अन्यायका विरुद्ध न घर भित्र, न त घर बाहिर, न त कार्यस्थलमा, न त सार्वजानिक स्थानहरुमा, न त सामाजिक संजालमा नै चुइक्क बोल्दैनन्।
मानिसका विचारहरु, व्यवहारहरु, कुनै घटनामाथि हुने प्रतिक्रियाहरु फरक फरक हुन्छन्। त्यो कुनै नौलो कुरा भएन। कुनै एउटा घटनाले समाजका सबै वर्ग, जात, लिंगका मानिसहरुमा एकै प्रकारले प्रभाव पार्छ वा पार्नु पर्छ भन्ने होइन।
आफ्नो परिवेश, आफूले भोगिरहेको जीवन, अनुभव वा अन्य धेरै कारणहरुले सबै मानिसले सबै घटनालाई अलग-अलग दृष्टिकोणले परिभाषित वा विश्लेषण गरिरहेको हुन्छ। कुनै निश्चित घटनामा व्यक्त गर्ने प्रतिक्रिया पनि व्यक्ति अनुसार फरक हुन सक्छ वा कसैले कुनै प्रतिक्रिया जाहेर नगर्न पनि सक्छ।
हरेक व्यक्ति आफ्नो विचार बनाउन र त्यही अनुरुप समाज वा सार्वजानिक रुपमा प्रस्तुत हुन वा नहुन अवश्य स्वतन्त्र छ। तर जब सामाजिक न्यायका कुराहरु उठ्छन्, विभेदका, अन्यायका घटनाहरु सार्वजानिक हुन्छन्, पीडित वा प्रभावितका पक्ष वा विपक्षमा विचार र बहसहरु अगाडि आउँछन्, तब समाजमा विविध भूमिका निर्वाह गर्ने प्रत्येक व्यक्तिका मत महत्वपूर्ण हुन्छन्।
यस्तो अवस्थामा मतहरु स्वभावत पक्ष र विपक्षमा बाँडिन्छन्। यसरी व्यक्त हुने मतहरुले समाजको विकासक्रम कुन दिशातर्फ बढ्दो छ भनेर विश्लेषण गर्न पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याइरहेको हुन्छ।
त्यसैकारण माथि उल्लेखित समाजको एउटा ठूलो भलाद्मी वर्ग, जसले चाहेको खण्डमा (खासगरी स्थानीय स्तरमा जहाँ प्रायःजसो घटनाहरु घट्ने गर्छन्) सामाजिक न्यायका पक्ष वा विपक्षमा निर्णय लिन निकै महत्वपूर्ण भूमिका खेल्न सक्छ।
यो समूहले कुनै घटनाको प्रतिक्रिया स्वरुप कतातिर मत जाहेर गर्छ भनेर सामान्य मानिसहरुले नियालिरहेको हुन्छन्। यसमा लिइने अडानले वा उठाइने आवाजहरुले प्रभावितको न्यायिक प्रक्रियामा, वा भावी जीवनमा नै उल्लेख्य प्रभाव पार्न सक्छ।
खासगरी पक्षमा उठ्ने आवाजहरुले घटनाबाट प्रभावितको आत्मविश्वास बढाउनमा मद्दत पुग्छ। न्यायमाथि पहुँच बढाउने पहल गर्न अग्रसर गराउँछ। साथै पीडकलाई आफूले गरेको कार्य गलत हो भन्ने महसुस गराउन सक्छ।
सामाजिक न्याय खासगरी सीमान्तकृत, महिला, दलित, अल्पसंख्यक आदिका मुद्दाहरुमा मौनता साँधेर बस्नु भनेको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यस्ता विभेदलाई निरन्तरता दिनु नै हो। यसरी मौन रहने चरित्र विपक्षमा उभिने जमातभन्दा पनि बढी घातक र डरलाग्दो हुन्छ।
यसरी मौन रहन रुचाउने समूह आफू भने संरचनात्मक लाभांशमा चुर्लुम्म डुबेको हुने गर्दछ। निश्चय नै यस्ता जमातमा उच्च जात भनिइने पुरुषहरुको बाहुल्यता रहेको छ, यद्दपि अन्यको हुँदै नभएको होइन।
तपाईं किन बोल्नुहुन्न भन्ने प्रश्नमा यस समूहका मानिसहरुका विचार सुन्न लायक हुन्छ। जस्तैः हालै घटेको रुपा सुनारको घरभाडा सम्बन्धी घटनालाई नै लिऔं। यो त समाजमा भइरहने कुरा हो, नयाँ कुरा भएपो बोल्नु, यो त वर्षौंदेखि चलेको चलन हो अहिले नै कहाँ हट्छ र, यो चलन त नराम्रो हो विस्तारै परिवर्तन हुन्छ नि।
म एकले बोलेर के हुन्छ र? बेकारमा अर्काको मामलामा किन बोल्ने? डलरे र मानवअधिकारवादी भनाउँदाहरु बोलेकै छन् नि, यो त उनीहरुकै काम हो हामी किन बोल्ने? आदि आदि। यसमा धरै थप हुन सक्छ।
सन्दर्भ रुपा सुनार घटनाको भएता पनि यहाँ उठाइएको विषय यस घटनासँग मात्र सीमित होइन। यो त हरेक हिंसा, विभेद, शोषण, बलात्कार आदिजस्ता घटनाहरु घटिरहँदा वा बाहिर आए पश्चात देखिने प्रवृत्तिको हो। हाम्रो समाजको चरित्रको हो। र यो मौन बस्ने चरित्र घातक मात्र होइन कि यो नै यस्ता विभेदहरुलाई मलजल गर्दै हुर्काउने सबैभन्दा बलियो हतियार हो।
यी कस्ता घटनाहरु हुन् त जसमा यो विद्धान जमात मौन बस्न चाहन्छ? केही उदाहरणहरु हेरौँ-
गाउँमा कथित गैर दलित र दलितका लागि अलग्गै धारा छन्। त्यही समुदायका उच्च जाति भनिनेहरु शिक्षित छन्, ठूला ठूला पदमा आसिन छन्। राजधानी वा सहरमा बस्छन्। कहिलेकाहीं गाउँको विकास गर्न वा गाउँ पर्यटन गर्न त्यहाँ पुग्छन् तर त्यो धाराको बारेमा कहिल्यै चर्चा गर्न चाहँदैनन्।
कहीं कतै मुखै खोल्दैनन्। गाउँमा जनप्रतिनिधि छन्, गाउँ विकास गर्ने ठूला योजनाहरु बन्छन्, बजेट छुट्न्छि तर यो धाराको चर्चा कहीं कतै उठ्दैन। मौन रहनुमै सबैको भलाइ जो छ। बोले त सामाजिक सद्भाव भत्किहाल्छ नि।
गाउँमा प्रशस्त छाउघर छन्। एउटा कथित उपल्लो जातको घरमा खानेपानी सम्बन्धि बैठक हुँदैछ। ओठ निचोरे दूध आउने नानी छाउ भएर त्यहाँ बसेकी छन्। गाउँका गन्नेमान्ने र सहरका विकासे सबै भेला भएका छन्। सबैले छाउघरतिर पालैपालो हेर्छन् र मौन बस्छन्। बोल्नु किन र? फेरि अर्काको देवता रिसाउने काम गर्नु पनि भएन।
सहरको चल्ति लोकल कुखुरासँग थकाली खाना खाने ठाउँ छ। सरकारी र गैरसरकारी सबै कर्मचारीको भिड लाग्छ। करिब १२ वर्षको बालक आँखा खुलेदेखि भाँडा माझिरहेको छ।
'ओई कान्छा सकिनस् अझै?' भन्दै उसैको छेउमा उभिएर चुरोट सल्काउँछन्। बालश्रम कानून बर्जित अपराध हो। सबैलाई थाहा छ तर किन बोल्ने? बोलेर के गर्ने? कमसेकम खान त पाइरहेको छ! निष्कर्ष यही छ सबै विद्धानहरुको। बेकारमा बोलेर को टाउको दुखाउने?
बालिकालाई स्कुलमा शिक्षकले यौन शोषण गर्दै आएको घटना अगाडि आउँछ। घटना उजुरीमा गएन किनकि परिवारलाई इज्जतको डर छ। शिक्षकलाई स्कुलले चुपचाप बर्खास्त गर्यो तर घटना सार्वजानिक गरेन किनकि स्कुलको पनि त इज्जत छ नि। तै चुप मै चुप। मौन रहनु नै बेस!
यस्ता घटना त घटिरहन्छन् नि। गानगुन बाहेक कसैले यसको खुलेर चर्चा गरेन, अपराधीलाई सजाय हुनुपर्छ नत्र घटना दोहोरिन्छन्, अपराधीको मनोबल बढ्छ पनि भनेन। बेकारमा लफडामा किन पर्ने? बोलेर हुन्छ नै के र!
एउटा तालिम केन्द्रमा सानो तहमा काम गर्ने महिला कर्मचारी छन्। लोग्नेको हिंसा सहिनसक्नु छ। कुटेर हरेक दोस्रो हप्ता घाइते हुन्छिन्। उनले काम गर्ने ठाउँमा महिला सशक्तिकरणमा काम गर्ने एनजिओहरुको भिड लागिरहन्छ तर तिनका लागि बोल्ने र कानुनी लडाइँ लड्न सहयोग गर्ने कसैसँग पनि प्रोजेक्ट छैन।
मतलब पैसा र समय छैन। उनको हिंसाका बारेमा सबै मौन छन्। यस्ता घटना त कति छन् कति क-कसका बारेमा बोलेर साध्ये हुन्छ र? मौन बस्नु नै बेस।
माथिका केही उदाहरणहरु मात्र हुन्। यस्ता उदाहरण त घर भित्र र बाहिर हजारौँ छन्, यहाँ लेखेर साध्यै छैन। तर विद्धानहरु हरेक पटक मौन रहनुनै उचित सम्झन्छन्। किनभने यस्ता विषय उहाँहरुका सरोकारका विषय हुँदै होइनन्। उहाँहरुलाई फुर्सद पनि त छैन।
देश, राजनीति, राष्ट्रियता, संविधान जस्ता विषयमा पो कुरा र बहस गर्ने हो त। जाबो महिला हिंसा, यौन शोषण, जातीय भेदभाव यी पनि कुनै विषय हुन् र विचार राख्ने?
सामाजिक न्यायको लडाइँमा पीडितका पक्षमा बोल्नु भनेको कमजोरका पक्षमा उभिनु हो। र यो वर्ग (माथि उल्लेखित) लाई थाहा छ कि यो कमजोर पक्षले न्यायका लागि पहल गर्नु भनेको फलामको चिउरा चबाउन खोज्नुजस्तै हो। किनकि पीडकसँग घटनालाई दबाउने वा हराउने सबै प्रकारका संयन्त्रहरुमाथि पकड रहेको छ।
यस अवस्थामा हार निश्चित हुने पक्षसँग किन उभिने? फेरि यसो गर्नु भनेको संरचानाले निसर्त दिएका र आफूले खाइपाई आएको लाभांशहरु गुम्ने जाखिम पनि त हो। त्यसो गरेर आफ्नै खुट्टामा बन्चरो किन हान्ने?
पीडितका पक्षमा बोल्नु/उभिनु भनेको सामाजिक संजालमा दुई शब्द लेख्नु मात्र होइन। यो आवाज आफ्नो भूमिका जहाँ छ त्यहीं उठाउने हो। जहाँ विभेद भइरहेको छ, त्यहीं उठाउने हो र त्यो आवाज सबैभन्दा पहिला आफ्नै घर, काम गर्ने स्थान र आफ्नो वरपर दैनिक बिताउने स्थानहरुबाट नै हो।
निश्चय नै सामाजिक संजाल आजको समयमा एउटा सशक्त माध्यम हो आफ्ना मतहरु जाहेर गर्ने, तर यो मात्रै सबैथोक होइन। हाम्रो समाजको सन्दर्भमा समाजको एक महत्वपूर्ण तह ओगटेर बसेको यो भलाद्मी वर्गको मौनता नै विभेद र अन्यायलाई टिकाइराख्ने आजको सबैभन्दा बलियो अदृश्य संरचना बनेर उभिएको छ, जसले दण्डहीनता मौलाउनमा बलियो भूमिका समेत खेल्दै आएको छ।
त्यसैले विद्धान वर्ग, तपाईं कहिलेदेखि यो समाजको संरचनामा सबैभन्दा तल पारिएकाहरुका पक्षमा बोल्ने? बोल्नुहोस् किनकि तपाईंको आवाज तपाईंले देख्न चाहेको सभ्य समाजको निम्ति निर्णयक छ र यो नै एउटा प्रभावित व्यक्ति वा समुदायका पक्षमा 'गेम चेन्जर' हुन सक्छ।