आइए पढ्न म बिहुँकोट स्थित गाउँको घर छाडेर बागलुङ बजारमा डेरा गरी बस्थें। मेरो डेरा जीवनको सुरुआत थियो यो। घरबेटी नेवार हुनुहुन्थ्यो र उहाँलाई घर परिवार र समाजले मनस्थिति बिग्रिएको ठान्थेँ।
मलाई उहाँ अंग्रेजीमा प्रायः सोध्नु हुन्थ्यो- डिड यु ह्याब योर फुड? कहिलेकाहीँ उहाँ मेरै थालको खानेकुरा झिकेर खानु हुन्थ्यो। उहाँ जातपात मतलब गर्नु हुन्नथ्यो। घरबेटीका छोरा मभन्दा केही वर्षले जेठा अनि कम्युनिष्ट हुनुहुन्थ्यो।
एक वर्ष हुँदै थियो म त्यो डेरामा बसेको। एकदिन घरबेटी बा बेपत्ता हुनुभयो। छोरा र मैले लगातार तीन सातासम्म उहाँलाई आसपासका भिरपाखा, गाउँ सहर सबैतिर खोज्यौं। २३ दिनपछि उहाँको शव फेला पर्यो। मृत्युको कारण यकिन भएन।
घरमा विधिवत् काजकिरिया सुरु गर्ने तयारी चल्यो। त्यही बेला मेरो परीक्षा सुरु हुँदै थियो। उसै पनि दैनिक घरबेटी बाको खोजीमा समय खपत हुँदा पढाइ प्रभावित भएको थियो। म त्यो शोकसँगै परीक्षाको चिन्तामा थिएँ।
काजकिरियाकै तयारीका क्रममा घरबेटीका नातागोता एवं छरछिमेक घरमा जुटेका रहेछन्। म साथीकोमा पढेर अबेर साँझ फर्केको थिएँ। त्यहाँ जुटेका मान्छेहरुमध्ये एकजना माओवादीका परिचित जिल्ला नेता पनि हुनुहुन्थ्यो।
उहाँ एमए पढेको शिक्षित र नाताले घरबेटीका ज्वाइँ हुनुहुन्थ्यो, त्यसमाथि जिल्ला नेता। उहाँले मलाई भन्नु भयो- 'गिरी गाह्रो नमान, तिम्रो सामान सार्नु पर्यो। कोठा खाली गर्नु पर्यो। काजकिरिया नसकिँदासम्म यहाँ बस्न नमिल्ने भयो।'
उहाँका अनुसार मैले उही रात कोठा छाड्नु पर्ने भयो। बाहिर झमझम पानी परिरहेको छ। भोलिको परीक्षा छ। कोठा नसरी नहुने भयो। बागलुङको पुरानो सिनेमा हल गेट अगाडिको पसलमा सामान सारियो।
मैले जसोतसो गरेर त्यहीँ त्यो रात कष्टसाथ बिताएँ। झरी परिरहेकै थियो। मेरा आँखा रातभर ओभानो भएनन्। म ठाउँ अभाव भएर त्यो घरबाट निकालिएको थिइनँ। समाजले दलितलाई घरमा राख्दा काजकिरिया अपवित्र हुन्छ भन्ने ठानेर त्यसकै उपजमा त्यो घरबाट म निकालिएको थिएँ।
रात रोएरै कट्यो। अर्को दिन परीक्षामा सहभागी त भएँ तर खल्बलिएको मस्तिष्कले उत्तरपुस्तिकामा कलम चलाउन हम्मे पर्यो। जाँच बिग्रियो।
मैले आफूलाई सम्हाल्ने कोसिस गरें। तर मन भतभती पोल्थ्यो र आँसु आँखाबाट बर्सिन्थे। मैले कसैलाई मुद्दा हाल्ने सोचिनँ। त्यो चेतना पनि थिएन। अहिले जस्तो सामाजिक संजाल पनि उबेला थिएन। मिडियाले जातपात र हेलाहोचोका मुद्दालाई अहिले जस्तो संवेदनशील ठान्दैन थिएँ। अहिले जस्तो जातीय विभेद विरुद्धको कडा कानुन पनि थिएन।
मैले आफ्नो मनलाई सम्हाल्ने सुत्र बनाएँ, उनै मेरा प्रिय घरबेटी बालाई। समाजले मगज बिग्रेको भनिएका उनै मेरा घरबेटी बा जात व्यवस्थाका कट्टर विरोधी थिए। उनीप्रति मेरो सम्मान भाव झन्-झन् बढ्यो। एकै थालमा उनले मसँगै खाना खाएको याद गाढा बन्यो।
मैले अन्तरमनमा कुरा खेलाएँ- मगज ती घरबेटी बाको बिग्रेको होला कि यो मान्छे-मान्छे बीच भेदभावको संस्कार पाल्ने कथित सद्ये मगजवालाहरुको? असली कम्युनिष्ट त मेरा दिवंगत उनै घरबेटी बा नै हुन् भन्ने मलाई गहिरो छाप पर्यो।
यो दर्दनाक भोगाइले मलाई लामै समय बिथोल्यो। दिन, साता, महिना र वर्षहरु बित्दै गए। समयक्रममा थुप्रै अन्य जाति समुदायका मेरा मित्रहरु भए। धेरैजसो त नेवार साथीहरु नै भए। बाहुन, क्षेत्री साथी पनि जीवनमा गाँसिदै गए।
ती साथीहरुको संगत र उनीहरुका परिवारसँगको घुलमिल पछि मलाई लाग्यो- जातपात सबैतिर, सबैले मान्छन् भन्ने गलत रैछ। कथित उपल्ला जाति सबै उस्तै हुन् भन्ने धारणा गलत पुष्टि भयो। मेरो परिवार र नाताकै दाजुभाइ खलकभन्दा भावना र संगतले पछि जोडिएका साथीहरु र दाजुभाइसँगको सम्बन्ध झनै गाढा र आत्मीय हुँदै गयो।
समय क्रममा मैले रातारात कोठा छोड्नु परेको त्यो घटना स्मरण मधुरो हुँदै गयो। कहिले काहीँ सम्झनामा आएपनि त्यो एउटा नमिठो सपना थियो भन्ने ठानेर मैले पन्छाइदिन्छु। किनकि अहिले मलाई जाति वा समुदायको आधारमा कतै पनि भेदभाव सहनु परेको छैन।
तर म उत्तिकै जानकार पनि छु कि जात व्यवस्थाको शिकार अहिले पनि थुप्रै भैरहेका छन्। ग्रामीण भेगमा यो कुरीति अझै पनि जब्बर छ। काठमाडौं जस्तो सहरमै विभेद अझै पनि व्याप्त छ।
कम्युनिष्टका घरबाट म दलित भन्दै निकालिएको त्यो घट्ना नमिठो याद बनेर सधैँ रहनेछ। तर पछि एकजना नेपाली कांग्रेसका जिल्ला सभापतिका घरमा पनि म डेरा लिएर बसेको छु। उनी पनि नेवार थिए। उनको घरमा मैले कहिल्यै विभेद महसुस गर्नु परेन।
कम्युनिष्ट र कांग्रेस नामले फरक पार्दैन, फरक त व्यक्तिको सोच र व्यवहारले पार्छ भन्नेमा म स्वयं भुक्तमान छु। विभेदी त कांग्रेस पनि छन्, कम्युनिष्ट पनि छन्। समताको सोच राख्ने असली कम्युनिष्ट पनि छन् कांग्रेस पनि छन्।
ठिक त्यसैगरी कुनै जातिका सबै खराब पनि हुँदैनन्, सबै असल पनि हुँदैनन्। एक व्यक्तिको आचरण र व्यवहारलाई उसको समग्र जात, थर, समुदायसँग जोड्नु र प्रहार केन्द्रित गर्नु गलत हुनेछ।
समयक्रममा जात व्यवस्था पनि सति प्रथा जस्तै निमिट्यान्न हुनेछ। म पूर्ण विश्वस्त छु। तर त्यसो भन्दैमा अहिले भैरहेका जातीय विभेदलाई सहने र मौनता साध्ने भन्ने अर्थमा बुझ्नु मूर्खता हुनेछ।
कानुन बमोजिम सम्बन्धित मुद्दा र व्यक्ति उपर सुनुवाइ र कारबाही हुनै पर्छ। तर एउटा मुद्दा वा व्यक्तिलाई आधार र प्रमाण मानेर त्यसलाई साम्प्रदायिक वा समष्टिमा उछाल्ने र द्वन्द्व बढाउने प्रायोजित मानसिकताबाट सजग र टाढा रहनु पनि उत्तिकै बुद्धिमानी हुनेछ।