कोभिड महामारीका कारण युरो २०२० समयमै हुन नसके पनि जारी युरो कपलाई आयोजक युनियन अफ फुटबल एसोसिएसन (युएफा) ले युरो २०२० नै नामाकरण गर्यो।
युरो २०२० महामारी फैलिएपश्चात सफलतापूर्वक आयोजना भएको पहिलो ठूलो अन्तर्राष्ट्रिय खेल हो। यसले टोकियो ओलिम्पिक आयोजकलाई पनि केही उत्साहित बनाएको छ। मैदानमा उच्च गुणस्तर र रोमाञ्चक हुनुको साथै युरो २०२० ले मैदान बाहिर पनि प्रशस्त सवाल र मुद्दा उठाएको छ।
युरोपेली पहिचान के ?
सन् २०१५ को जनमत संग्रहपछि बेलायत युरोपियन संघ (इयु) बाट बाहिरियो। तर आज राति हुने फाइनलमा बेलायतको एउटा भाग इंल्याण्डले इटालीसँग उपाधिका लागि प्रतिश्पर्धा गर्दैछ।
इयुमा हाल २७ वटा सदस्य राष्ट्र भए पनि युएफामा दुई गुणा बढी ५५ राष्ट्रका फुटबल संघले सदस्यता लिएका छन्। जसमा इयुसँग सम्बन्धविच्छेद भएको रूस, बेलायत तथा इयु सदस्यता पाउन नसकेको टर्की र मध्य एसिया मानिने इजरायलसमेत छन्। यसले फुटबलमा समावेशिता झल्काउँछ।
ओर्बान बनाम ब्रसेल्स
इयु सदस्य राष्ट्र हंगरीमा प्रधानमन्त्री विक्टर ओर्बानले चरम जनवादी राष्ट्रवादी र इयु सन्देहवादीको लहर ल्याए। ओर्बानले आफूलाई फुटबलको महाफ्यानको रूपमा प्रस्तुत गर्ने गरेका छन्। नभन्दै हंगरीको फुटबल इतिहास लामो र महान छ। ५० र ६० को दशकमा तीन वटा ओलिम्पिक स्वर्णपदक र दुई पल्ट विश्वकप फाइनल पुगेको, लेजेन्डरी खेलाडी फेरेन्क पुश्काससँग ओर्बानले आफ्नो शक्ति र लोकप्रियता सुदृढ गर्न फुटबलको प्रयोग गरे।
फुटबलका विभिन्न पूर्वाधारमा पौने तीन अर्ब डलरको लगानी गरेको सरकारले निजी कम्पनीलाई लगानीमा कर छुटसमेत उपलब्ध गराएको थियो। यसमध्ये ७० करोडको लगानीमा बनेको बुडापेष्टस्थित पुस्कास एरिनाले युरो २०२० को चार खेल खेलायो।
कोभिडबाट ३० हजार बढी व्यक्तिको ज्यान गएको हंगरीले बिना मास्क रंगशालाको पूर्ण क्षमतामा दर्शक राखेर प्रतियोगितालाई सफल बनायो। यद्यपी रंगशाला बाहिर सबै किसिमको सभा र सम्मेलनमा रोक लगाए पनि खेलकुदमा सम्भावना देखाउन मैदान भित्र प्रतिबन्ध खुला गर्यो।
हालै हंगरीको संसदले पारित गरेको कानुनले युवालाई समलैंगिकताबारे सूचना पहुँचमा ल्याएको बाधा इयुको प्रगतिशील नीति विपरित भएको भनि ब्रसेल्समा आलोचना भयो।
हंगरीले आफ्नो समूह चरणको अन्तिम खेल म्युनिकमा जर्मनी विरुद्ध खेलिने मौका पारेर म्युनिक शहर परिषद् र अभियन्ताले उक्त कानुनको विरोध गर्न रंगशालालाई ईन्द्रेणी रंगमा प्रकाश पार्ने गरेको अनुरोधलाई युएफाले राजनीतिक ठहर गरी अस्वीकार गर्यो।
यद्यपी मैदानमा जर्मन समर्थकमाझ ईन्द्रेणी रंगमा झण्डा र ब्यानरहरू प्रशस्त देखिएका थिए। क्पटान मानुयल नोयरले समेत ईन्द्रेणी आर्म-ब्यान्ड लगाएर हंगरीका युवाको समर्थन गरेका थिए।
ग्रुप अफ डेथमा परेको हंगेरीले समूहको अन्तिम खेलमा जर्मनीसँग २-२ गोलको बराबरी खेले पनि अघिल्लो चरण बढ्न सकेन।
२-१ ले अग्रता लिइरहेको हंगेरीमाथि खेलमा ८४ औं मिनेटमा लियन गोरेट्जको गोल गर्दे जर्मनीलाई अर्को चरण पुर्याउँदा हंगेरी प्रतियोगिताबाट बाहिरिएको थियो। उनले हंगरीका समर्थक अगाडि हातले मुटुको आकार बनाई मायाको सन्देश दिँदै गोलको खुसी मनाए। तर हंगेरीका एक समर्थक प्रधानमन्त्री ओर्बान अन्तिम क्षणमा खेल हेर्न नजाने निर्णय गरेका थिए।
के राजनीतिक हो र के होइन ?
जर्ज अर्वेलले ‘द स्पोर्टिङ स्पिरिट’ शीर्षकको निबन्धमा औपचारिक खेलकुदलाई इंगित गर्दै लेखेका थिए, ‘खेलकुद गोली नचलाउने युद्व हो। यहाँ घृणा, ईर्ष्या, घमण्ड र द्वन्दको पीडामा खुशी लिने गरिन्छ।’
फिफाको खेल कानुन अनुसार खेलमा प्रयोग हुने सामाग्रीमा राजनीति, धार्मिक तथा व्यक्तिगत नारा वा बिम्ब प्रतिबन्ध गरिएको छ। तर वास्तविकता त्यति सोझो छैन।
युरो २०२० प्रारम्भ हुनअघि रूसले युक्रेनको नयाँ जर्सी ‘राजनीतिक’ भएको भनेर आपत्ति जनाएको थियो। जर्सीमा दुई देशबीच विवादित क्षेत्र क्राइमियालाई समेटेर युक्रेनको नक्सा र ‘ग्लोरी टु द हिरोज’ को नारा छापेको थियो।
युएफाले अन्तर्राष्ट्रिय कानुन अनुसार क्राइमिया युक्रेनकै भाग रहेको भन्दै नक्सा जर्सीमा रहन दियो तर उक्त नारा सैन्यवादी भएको ठहर गर्दै हटाउन आदेश दियो। यस्तो तनावग्रस्त वातावरणमा छुट्टै समूहमा भएकोले युक्रेन र रूसको युरोमा भिडन्त नहुन हामी दर्शकका लागि ठूलै घाटा भयो।
समूह चरणको दोस्रो राउण्डको खेलमा अस्ट्रियाका स्ट्राइकर मार्को अर्नाउटोभिचले उत्तर म्यासिडोनिया विरूद्ध गोल गरेपछि विपक्षी खेलाडी एजगान आलियोस्कीलाई अपमान गरेको आरोपमा एक खेलको लागि प्रतिबन्धमा परे। अर्नाउटोभिच सर्बियन मूलका हुन भने आलियोस्की अल्बेनियन मूलका।
स्वीट्जरल्याण्डका कप्तान ग्रानित झाका र स्टार खेलाडी जेर्दान शकिरी पनि अल्बेनियन मूलका हुन्। सन् २०१८ फुटबल विश्वकपमा दुवैले सर्बिया विरूद्ध गोल गर्दै आ-आफ्ना हातले दुई टाउके चिल बनाइ खुसीयाली मनाएका थिए। दुई टाउके चिल अल्बेनियाको राष्ट्रिय प्रतिक हो। दुवै खेलाडीलाई राजनीतिक सन्देश प्रवाह गरेको आरोपमा हजारौ डलरको जरिवानासमेत तिर्नुपरेको थियो।
अधिकांश अल्बेनियन जनसंख्या रहेको कोसोभोलाई सर्बियाले स्वतन्त्र मान्दैन। ९० को दशकमा टुक्रेको युगोस्लाभिया र त्यसको सेरोफेरोका युद्वको आत्माले अहिलेसम्म युरोपको एकतालाई तर्साउँछ। खेलाडीबीच यस किसिमका अन्तर्क्रियाले युरोपेली महादेशमा रहेका अनेक द्वन्द र दरारलाई प्रतिबिम्बित गर्छ।
कुन देशको को ?
अस्ट्रियाका सर्बियन स्ट्राइकरले उत्तर म्यासिडोनियाका अल्बेनियन खेलाडीलाई अपमान गरे रे । वेस्टफेलिया सन्धीमार्फत नेशन-स्टेटको अवधारणा अघि सार्ने राजनेता र कूटनीतिज्ञले यो वाक्यलाई अच्चम्बित भएर पढ्थे होला।
फिफाका नियमानुसार खेलाडीले आफ्नो मात्र नभई आफ्ना आमा-बुवा र हजुर आमा-बुवाका जन्मभूमिका आधारमा कुन राष्ट्रलाई प्रतिनिधित्व गर्ने भनि छान्नसक्छ । यसले अथाह अवसरको साथै नौलो चुनौती सिर्जित गरेको छ। ऐतिहासिक युरोपेली उपनिवेशवादको फलस्वरुप आधुनिक युरोपेली राष्ट्रहरू, खासगरी उपनिवेशवाद शक्तिहरू बहुजातीय र बहुसांस्कृतिक जनसांख्यिकी हुन पुगेको छ र यो तथ्य यी देशका फुटबल टोलीमा बिम्बित छ। ९८ को विश्व विजयी टोली फ्रान्सलाई यसको चरम उदाहरण मानिन्छ।
बेल्जियमका चर्चित खेलाडी रोमेलु लुकाकुका अभिभावक कंगोका हुन् भने फ्रान्सका करिम बेन्जिमा अन्ल्जिरियन मूलका हुन्। यी दुवैलगायत जर्मनीका टर्किस मूलका मेसुत ओजिलले आफ्ना समर्थक तथा देशवासीबाट लगातार जातीय विवेधको सामना गर्नुपरेको छ। ‘खेल जित्यौं भने हामी बेल्जियन वा फ्रेन्च हौ तर खेल हारे भने अफ्रिकन वा अरबी हौ’ समर्थक तथा राजनीतिज्ञबाट यस्ता खालको टिप्पणी आउँछ।
युरो २०२० का उत्कृष्ट खेलाडीमध्ये हुन् इंगल्याण्डका रहिम स्टर्लिङ र इटालीका जर्जिन्यो जसले आ-आफ्ना टोलीलाई फाइलनसम्म पुर्याए । यी दुवै ‘आफ्ना देश’ मा जन्मेका होइनन्।
जर्जिन्यो ब्राजिलमा जन्मेर आफ्नो हजुरबुवाको नाताले इटालीलाई प्रतिनिधित्व गर्ने मौका पाए। जर्जिन्योले स्मरण गर्लान कि, इटालीका प्रशिक्षक रोबर्टो मान्चिनीले सन् २०१५ मा विदेशमा जन्मेका र नाताको आधारमा खेलाडीले इटालीको राष्ट्रिय फुटबल टोलीलाई प्रतिनिधित्व गर्नयोग्य नहुने र इटाली टोलीमा इटालियनले मात्र मौका पाउनु पर्ने भन्दै आलोचना गरेका थिए।
स्टर्लिङ ब्रिटिश उपनिवेश जमैकामा जन्मेपश्चात आमासँग इंगल्याण्ड सरे। चरम गरिबीमा हुर्केको स्टर्लिङलाई इंगल्याण्डको कुख्यात ट्याबलोइड मिडियाले बारमबार उसको खर्चिला जीवनशैलीको लागि निशाना बनाएको छ।
स्टर्लिङले आफू एउटा अश्वेत युवा भएकोमा यसरी विवेदकारी रुपमा ‘मिडिया वायस’ ले प्रस्तुत गरिएको भनेर आवाज उठाउँदै आएको छ। विडम्बना, त्यहीँ ट्याबलोइड मिडियाले आज स्टर्लिङको वाहवाही गर्दैछन्।
युरो २०२० मा इंगल्याण्डले जातीय विवेद विरूद्धको अभियानको समर्थन गर्दै सबै खेलअघि घुडाँ टेक्ने गरेको छ। फाइनल खेलमा पनि गर्ला। धन्न युएफाले यो कुरालाई चै राजनीतिक ठहर गरेन।